बज्जिकाञ्चल संवाददाता,रौतहट, १४ पुस ।
राैतहट । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) मा पुनः एकीकरण भएको छ । मिति २०८२ पुस १३ गते जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र पार्टीकी सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरूबीच पार्टी एकीकरण भएको हो ।
आइतबार जारी गरिएको प्रेस विज्ञप्ति अनुसार रेणु यादव नेतृत्वको समूह औपचारिक रूपमा जसपा नेपालमै समाहित भएको छ । यससँगै पार्टीभित्र विगत केही समयदेखि देखिँदै आएको आन्तरिक विभाजन अन्त्य भई संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक परिस्थितिमा समाजवादी शक्ति एकजुट हुनु अपरिहार्य रहेको उल्लेख गर्दै एकीकरणले पार्टीलाई जनताको मुद्दामा अझ मजबुत ढंगले अघि बढ्न सहयोग पुग्ने बताए ।
सह–अध्यक्ष रेणु यादवले पनि एकीकरणपछि लोकतन्त्र, संघीयता, समावेशिता र सामाजिक न्यायका मुद्दामा पार्टी एकढिक्का भएर संघर्ष गर्ने प्रतिबद्धता जनाइन् ।
एकीकरणसँगै जसपा नेपालले संगठन विस्तार, जनआधार मजबुत बनाउने तथा मधेस सहित देशव्यापी रूपमा राजनीतिक गतिविधि तीव्र बनाउने तयारी गरेको जनाएको छ । आईतवार जसपा नेपाल र लाेसपा नेपाल एकीकरण गर्ने सहमति जनाएका थिए ।
आरके श्रीवास्तव,रौतहट,१३ गते पुस ।
विजयपुर । रौतहटको फतुवा विजयपुर नगरपालिकामा आइतवार बसेको कार्यपालिका बैठक कुनै ठोस निष्कर्षबिना सकिएको छ । बैठकमा प्रस्तुत गरिएका एजेन्डाहरूमा सहमति जुट्न नसकेपछि निर्णयविहीन बनेको हो । छलफल अधुरै रहेकाले ती विषयहरू आगामी कार्यपालिका बैठकमा पुनः छलफल गर्ने सहमति भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापाले बैठकमा हिउँदे नगरसभा, विद्युत महसुल, कार्यालय व्यवस्थापन तथा विविध सम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए । बैठकको अध्यक्षता कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले गर्नुभएको थियो । यसअघि पुस ११ गते सम्पूर्ण कार्यपालिका सदस्यहरूलाई पत्र काटी बैठकका लागि डाकिएको थियो र नगरपालिका कार्यालयमै बैठक बसेको थियो ।
हिउँदे नगरसभा सम्बन्धमा कुल बजेटको ६० प्रतिशत खर्च भइसकेपछि मात्र नगरसभा गर्न सकिने कानुनी प्रावधान रहेकाले यस विषयमा तत्काल निर्णय हुन सकेन । नियमअनुसार कसरी प्रक्रिया अघि बढाउने भन्नेमा थप छलफल आवश्यक देखिएपछि यो विषय पनि अर्को बैठकमा लैजाने निर्णय गरिएको छ ।
विद्युत महसुलका विषयमा नेपाल सरकार, अर्थ मन्त्रालयको परिपत्र अनुसार विद्युत महसुल नतिर्न भनिएको उल्लेख गरिएको छ । कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले हालसम्म कुनै बजेट सञ्चालनमा नरहेको बताउँदै आवश्यक निर्णय सबैको एकमतमा गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले परिपत्र जारी हुनु अघिसम्मको विद्युत महसुल मात्र तिर्न सकिने बताउनुभएको छ, जसमा वडा अध्यक्षहरू सहमत रहेको जनाइएको छ । उनले कार्यपालिका बैठक नबाेलाउने गरेको आफूमाथि आराेप लगाउँछन् तर बैठक हुँदा वडा अध्यक्षहरूले उपस्थितिमा समेत हस्तान्तरण गर्दैनन् । यसरी नगर्नुपर्ने हाे ।
बैठकबारे जानकारी दिँदै फतुवा विजयपुर नगरपालिका वडा नम्बर–२ का वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव ‘सञ्जय’ले विद्युत महसुलका लागि २ करोड रुपैयाँ बराबरको बजेट समानिकरण अनुदानबाट छुट्याइएको र सो रकम आन्तरिक स्रोतमा इन्ट्री गरिएको दाबी गर्नुभयो । उहाँले उक्त बजेट कार्यवाहक नगरप्रमुखले आफ्नै शीर्षकमा राख्न लगाएको आरोपसमेत लगाउनुभयो ।
तर कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले आरोपलाई निराधार भन्दै अस्वीकार गर्नुभएको छ । वडा अध्यक्ष यादवले कार्यालय व्यवस्थापनका लागि बजेट उपलब्ध रहेको र हिउँदे अधिवेशन ६० प्रतिशत बजेट खर्च भएपछि मात्र गर्न मिल्ने नियमअनुसार आफूहरू छलफल गर्न तयार रहेको बताउनुभयो ।
बैठकबाट कुनै ठोस निर्णय ननिस्किएपछि नगरपालिकाका महत्त्वपूर्ण विषयहरू अर्को कार्यपालिका बैठकमा पुनः छलफल गरी टुंग्याउने तयारी गरिएको छ ।
आरके श्रीवास्तव,राैतहट,१३ गते पुस ।
गरुडा । देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक सुविसु इन्टरनेट गरूडा र चन्द्रपुर शाखाले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रौतहटको गरुडा नगरपालिकामा रहेको श्री बंशीराम जयसवाल अनाथालयलाई सहयोग गरेको छ ।

सुविसु इन्टरनेटले अनाथालयमा आश्रित बालबालिकाहरूको दैनिक जीवन सहज बनाउन दैनिक उपभोग्य खाद्यान्न सामग्री सहयोग गर्नुका साथै इन्टरनेट सेवा निःशुल्क रूपमा जडान गरिदिएको हो ।
सहयोग कार्यक्रममा रिजनल मैनेजर सुनिल ठाकुरको नेतृत्वमा सुविसु इन्टरनेटको टिम सुविसु गरूडाका सेल्स सुपरभाइजर नन्दकिशोर यादव ,चन्द्रपुरका शाखा प्रबन्धक बासु उपाध्याय र सुविसुका अन्य कर्मचारीहरू अनाथालयमा पुगेर सामग्री हस्तान्तरण तथा इन्टरनेट जडान कार्य सम्पन्न गरेको थियो ।

कार्यक्रमका क्रममा सुविसु इन्टरनेटले ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै समाजप्रति आफ्नो दायित्व निर्वाह गर्दै आएको उल्लेख गरिएको छ । कम्पनीले भविष्यमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
स्थानीय स्तरमा गरिएको यस सहयोगले अनाथालयमा बसोबास गर्ने बालबालिकाहरूको शिक्षा, सूचना पहुँच र दैनिकीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । सामाजिक उत्तरदायित्वमार्फत समुदायसँग सहकार्य गर्दै अघि बढ्नु सुविसु इन्टरनेटको प्रशंसनीय पहल भएको स्थानीयवासीहरूको प्रतिक्रिया छ ।