२०८२ फाल्गुन २०
२०८२ फाल्गुन २०

आरके श्रीवास्तव, मधेस,११ पुस । 

जनकपुरधाम । मधेस प्रदेशका युवाहरूलाई गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रदान गर्ने लक्ष्यसहित सञ्चालन हुने ‘क्वालिटी’ परियोजना कार्यक्रम आज जनकपुरधाममा औपचारिक रूपमा उद्घाटन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी रहिन् ।

 

कार्यक्रमको उद्घाटन अवसरमा मन्त्री तिवारीले यस पहलको महत्वमा जोड दिँदै भनिन्-“यस कार्यक्रमले प्रदेशका युवाहरूलाई आवश्यक सीप र दक्षता विकास गर्न मद्दत पुर्‍याउनेछ। यसले उनीहरूलाई रोजगारीका नयाँ अवसरहरूमा जोड दिने मात्र होइन, मधेस प्रदेशको शैक्षिक र आर्थिक समृद्धिमा पनि महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु।”

 

कार्यक्रमले युवाहरूलाई प्राविधिक तालिम, उद्यमशीलता विकास, र रोजगारीका अवसरहरूमा पहुँच सुनिश्चित गर्ने विभिन्न पहलहरू समेट्ने बताइएको छ । यस पहलमार्फत मधेस प्रदेशका युवाहरूलाई सक्षम, आत्मनिर्भर र समृद्ध नागरिक बनाउने लक्ष्य राखिएको छ ।

मन्त्री तिवारीले प्रदेशका युवाहरूलाई गुणस्तरीय तालिम र दक्षता विकासमार्फत प्रतिस्पर्धी र रोजगारमुखी बनाउने प्रदेश सरकारको प्रतिबद्धतामा पनि जोड दिइन् । उनीहरूलाई आवश्यक मार्गदर्शन, सीप, र अवसर उपलब्ध गराएर प्रदेशको दीर्घकालीन विकास र समृद्धिमा योगदान पुर्‍याउने योजना रहेको बताइन् ।

आरके श्रीवास्तव, मधेस, १० पुस

महोत्तरी । मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले प्रदेश सरकारको लगानीमा सञ्चालन भइरहेको “एक निर्वाचन क्षेत्र, एक सडक” योजना अन्तर्गत महोत्तरी निर्वाचन क्षेत्र नं. ३ (ख) मा सडक निर्माण योजनाको शिलान्यास गर्नुभएको छ ।

बिहीबार आयोजित कार्यक्रममा मन्त्री तिवारी प्रमुख  अतिथिका रूपमा सहभागी भई सकरी बोर्डरदेखि हलखोरी–एकडारा–साँढा हुँदै जाउख चोकसम्म निर्माण हुने सडक योजनाको औपचारिक शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री तिवारीले यो सडक योजना क्षेत्रीय समृद्धि, सहज आवागमन र यातायात पूर्वाधार सुदृढीकरणतर्फको महत्वपूर्ण कदम भएको बताउनुभएको छ । उहाँका अनुसार भौतिक पूर्वाधार मन्त्रालय, मधेस प्रदेश अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य लिइएको छ ।

हाल उक्त सडक खण्डमा ३ किलोमिटर कालोपत्र निर्माणको काम सम्पन्न भइसकेपछि आगामी दिनमा आवश्यकता र बजेटको उपलब्धताअनुसार थप विस्तार गरिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

मन्त्री तिवारीले यस योजनाको बजेट १३ करोड रुपैयाँ रहेको जानकारी दिनुभएको छ । उहाँले यो योजना स्थानीयवासीका लागि आवागमन सहज बनाउने, व्यापार–व्यवसाय प्रवर्द्धन गर्ने तथा ग्रामीण क्षेत्रको विकासमा टेवा पुग्ने विश्वासका साथ अघि बढाइएको पनि बताउनुभयो ।

आरके श्रीवास्तव,मधेस,१० गते पुस । 

राैतहट । मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको पदभार ग्रहणसँगै मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने पहिलो निर्णय कार्यान्वयनतर्फ अघि बढाइएको छ । सोही क्रममा मधेश प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले २०८२ साल पुस ९ गते केन्द्रीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय महावीर पुनसँग भेटवार्ता गर्नुभएको छ ।

भेटका क्रममा मधेश प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने लक्ष्यसहित केन्द्र र प्रदेश सरकारबीच गरिने सहकार्य, प्रदेशमा हाल रहेको शिक्षाको अवस्था तथा आगामी दिनमा सञ्चालन गरिने शैक्षिक कार्यक्रम र योजनाका विषयमा विस्तृत छलफल भएको थियो ।

छलफलमा साक्षरता अभियानलाई प्रभावकारी बनाउन नीतिगत सहयोग, प्राविधिक समन्वय र स्रोत व्यवस्थापनमा केन्द्र सरकारको भूमिका महत्वपूर्ण रहने विषयमा समेत सहमति भएको बताइएको छ ।

मन्त्री रानी शर्मा तिवारीका अनुसार मधेश प्रदेशलाई साक्षर घोषणा गर्न आवश्यक तयारीका लागि विशेष विज्ञ कार्यदल तथा प्रदेशस्तरीय समिति गठन गरिसकिएको छ । ती समितिहरूले प्रदेशभर साक्षरता अवस्था मूल्याङ्कन, कार्यक्रमको कार्ययोजना निर्माण र कार्यान्वयनको अनुगमन गर्ने जिम्मेवारी पाउनेछन् ।

प्रदेश सरकारको यस अभियानले मधेश प्रदेशमा शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धि गर्दै समग्र सामाजिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

अर्जुन यादव,रौतहट,१० गते पुस ।

रौतहटको बौधिमाई नगरपालिकामा लागू औषध दुव्र्यसनविरुद्ध विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जेन्जी २.० र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त आयोजनामा तथा समुदाय–प्रहरी साझेदारीअन्तर्गत सञ्चालन गरिएको उक्त अभियानको उद्देश्य लागू औषध दुव्र्यसनको रोकथाम र नियन्त्रणका उपायबारे जनचेतना फैलाउनु रहेको थियो।

नगर प्रमुख प्रदीप कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको उपस्थिति रहेको थियो। कार्यक्रममा लागू औषधले समाज, विशेषगरी युवापुस्तामा पार्ने नकारात्मक प्रभाव, यसको कारण तथा रोकथामका उपायबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमकै क्रममा प्रहरी उपरीक्षक रविन कार्की र प्रमुख जिल्ला अधिकारी भुसालले बौधिमाई नगरपालिका अन्तर्गत पर्ने बन्कुल बजार क्षेत्रमा संयुक्त अनुगमन गरेका थिए। अनुगमनले बजार सुरक्षा, व्यापारिक गतिविधि तथा समग्र शान्ति–सुरक्षाको अवस्थाबारे अवलोकन गरेको जनाइएको छ।

यस्तै, वडा नंम्बर ५ कोपवाको सामुदायिक भवनमा कक्षा ८, ९ र १० मा अध्ययनरत सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षक–प्रधानाध्यापकहरूको उपस्थितिमा जनचेतनामूलक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा प्रहरी नायव निरीक्षक तेजप्रताप सिंहले लागू औषधका प्रकार, असर, कानुनी प्रावधान तथा बच्ने उपायबारे जानकारी गराएका थिए।

कार्यक्रममा जेन्जी २.० का जिल्ला संयोजक सोनू कुशवाहा, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, शिक्षक, सुरक्षाकर्मी तथा सयौँ विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागी वक्ताहरूले लागू औषधमुक्त समाज निर्माणका लागि परिवार, विद्यालय, समुदाय र राज्यको संयुक्त भूमिका अपरिहार्य रहेकोमा जोड दिएका थिए।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।