२०८२ फाल्गुन २०
२०८२ फाल्गुन २०

 

बज्जिकाञ्चल संवाददाता,रौतहट, ५ पुस ।

जनमत पार्टीका कार्यकारिणी समिति, केन्द्रीय कमिटी सहित विभिन्न जिम्मेवारीमा रहेका दर्जनौं नेताहरु पार्टी परित्याग गरी आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको गृहनगर रौतहटको मौलापुर नगरपालिकाको पतौरा बजारमा आयोजित एक कार्यक्रमका बीच नेताहरु जनमत पार्टी परित्याग गर्दै आजपामा प्रवेश गरेका हुन ।

यसरी पार्टी प्रवेश गर्नेहरुमा जनमत पार्टीका कार्यकारिणी समिति सदस्य सुनिल यादव, केन्द्रीय सदस्य सियाराम जयसवाल, केन्द्रीय सदस्य विनोद यादव, सांस्कृतिक जनमत संघका केन्द्रीय सदस्यद्धय दिपक बैठा, रामबाबु यादव रहेका छन् ।

यसैगरी जनमत पार्टी बाराका सदस्य एवं सुवर्ण गाउँपालिकाका इन्चार्ज कामेश्वर मुखिया, देवताल गाउँपालिका अध्यक्ष संदिप यादव, महागढीमाई नगरपालिका सचिव राजेश यादव, देवताल गाउँपालिका सचिव कौशल कुशवाहा, वडा नं. ६ का वडा अध्यक्ष कपिलदेव पण्डित, महागढीमाई नगरपालिका वडा नं. ६ का पूर्व वडा अध्यक्ष कुबेर यादव, सचिव हरिन्द्र यादव, बारा जिल्ला सदस्य उमाशंकर दास, पुन्देव चौरसिया, पतौरा ९ का वडा अध्यक्ष सविन्द्र यादव लगायतका नेताहरु आजपामा प्रवेश गरेका छन् ।

जनमत पार्टी परित्याग गरी आजपा प्रवेश गर्ने नेताहरु बारा जिल्ला क्षेत्र नं. २ का बढी रहेका छन् । पछिल्लो समय जनमत पार्टी परित्याग गर्दै आजपामा प्रवेश गर्ने नेताहरुको संख्या बढदै गइरहेको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।

उनीहरुलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले टिका, माला, अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् । आजपामा स्वागत गर्दै उनले सफल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरेका छन् ।

यसअघि जनमत पार्टीका केन्द्रीय सदस्यहरु विक्रमबहादुर बम, उदयपुर जिल्ला इन्चार्ज पुष्पराज भण्डारी, तिलक भण्डारी सहितका नेताहरु गत बुधबार आजपामा प्रवेश गरेका थिए ।

जनमत पार्टी परित्याग गरी आजपामा प्रवेश गर्ने नेताहरुले जनमतले मुलुकको नेतृत्व गर्दै नेपाली जनताको आवश्यक्ता, चाहना पुरा गर्न नसक्ने भएकाले आफूहरुले आजपामा प्रवेश गरेको जनाएका छन् ।

आजपाले लिएको रणनीति, उठाउदै आएको मुद्धाले मुलुक र नेपाली जनताको पक्षमा रहेको र आजपाले मुलुकको नेतृत्व गर्दै समृद्धिको स्पष्ट खाका सहित अगाडी बढेकाले आजपामा प्रवेश गरेको उनीहरुले जनाएका छन् । आजपाको नेतृत्व, नीति, विचार नै अहिलेको आवश्यक्ता भएकाले अन्य नेतालाई समेत उनीहरुले आजपामा गोलबद्ध हुन आह्वान गरेका छन् ।

 

आरके श्रीवास्तव,राैतहट,०५ गते पुस । 

रौतहट । आउँदो फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तथा छलफलका लागि नेपाली कांग्रेस रौतहट निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय भेला आज कटहरिया बजारमा सम्पन्न भएको छ ।

भेलामा प्रतिनिधि सभा निर्वाचनका विषयमा व्यापक छलफल गरिएको थियो । सो क्रममा नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति जितेन्द्र यादव (शुनिल) ले आउँदो प्रतिनिधि सभा चुनावमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सभापति यादवको उक्त घोषणापछि भेलामा सहभागी नेताहरूले प्रतिनिधि सभा सदस्यका लागि नाम सिफारिस प्रक्रिया अघि बढाएका थिए ।

नाम सिफारिसका क्रममा नेपाल शिक्षक संघका अध्यक्ष रामकृपाल यादव, ज्ञानेन्द्र यादव, वाल्मीकि यादव, ओमप्रकाश जयसवाल लगायतले प्रतिनिधि सभा सदस्य पदका लागि आ–आफ्नो नाम प्रस्ताव गरेका थिए । जयसवाल यस अघि पनि संघिय सांसद पदका प्रत्यासी हुन् ।

भेलामा सहभागी वक्ताहरूले पार्टी संगठन सुदृढ बनाउँदै चुनावमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । साथै, क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको जित सुनिश्चित गर्न सबै कार्यकर्ता र नेताहरू मिलेर काम गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।

आरके श्रीवास्तव,मधेस,०५ गते पुस । 

महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) महोत्तरी निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय भेलाले पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरलाई प्रतिनिधि सभा सदस्य पदका लागि प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सर्वसम्मतिले एकल नाम सिफारिस गरेको छ ।

क्षेत्रीय भेलाको निर्णयसँगै पार्टीका नेता–कार्यकर्ताहरूले ठाकुरलाई हार्दिक बधाई दिँदै आगामी निर्वाचनमा विजयको अग्रिम शुभकामना व्यक्त गरेका छन् । भेलामा सहभागी वक्ताहरूले मधेशको अधिकार, पहिचान र सम्मानका लागि निरन्तर संघर्ष गर्दै आएका ठाकुरको नेतृत्व आज पनि जनतामाझ विश्वासिलो रहेको बताए ।

महन्थ ठाकुर यसअघि सोही निर्वाचन क्षेत्रबाट दुई पटक संघीय सांसदमा निर्वाचित भइसकेका अनुभवी नेता हुन् । सरल जीवनशैली, सिद्धान्तनिष्ठ राजनीति र स्वच्छ छविका कारण उनी ‘सन्त नेता’का रूपमा चिनिँदै आएका छन् । सत्ता राजनीतिमा अवसर हुँदा पनि मन्त्री पदप्रति आकांक्षा नराखी आफूभन्दा अन्य दर्जनौं नेतालाई मन्त्री बन्न सहयोग गरेको उनको राजनीतिक आचरणलाई पार्टीभित्र मात्र होइन, आम जनताले पनि सकारात्मक रूपमा लिएका छन् ।

“मरे तो मुक्ति, जिए तो मधेश” भन्ने चर्चित नारासहित मधेश आन्दोलनको अगुवाइ गरेका ठाकुरको राजनीतिक विचार र प्रतिबद्धता अहिले पनि जनस्तरमा चर्चामा रहेको छ । पार्टीका नेताहरूले महोत्तरी–३ मा ठाकुरको उम्मेदवारीले लोसपा नेपाललाई थप बलियो बनाउने र मधेशी जनताको मुद्दा फेरि सशक्त रूपमा संसदमा उठ्ने विश्वास व्यक्त गरेका छन् ।

 

आरके श्रीवास्तव,राैतहट,०५ गते पुस ।

रौतहट । राजपुर नगरपालिकामा कार्यरत हल्का सवारी चालक रोज कमरूल होदा (शेख कमरूद्दिन) को असामयिक निधन भएको छ । उहाँको मिति २०८२/०९/०४ गते राति करिब ९ बजे निधन भएको नगरपालिकाले जनाएको छ ।

स्व. होदाको निधनप्रति राजपुर नगरपालिका परिवारले गहिरो शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। नगर कार्यपालिकाको कार्यालय, राजपुर नगरपालिकाबाट जारी सूचनाअनुसार मिति २०८२/०९/०६ गते आइतबार नगरपालिकाको कार्यालय तथा मातहतका सबै कार्यालयहरूमा शोक विदा दिइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरद्वारा हस्ताक्षरित सूचनामा स्व. होदाको योगदानप्रति सम्मान व्यक्त गर्दै शोक विदा दिइएको व्यहोरा सबैलाई जानकारी गराइएको छ ।

यसैबीच, राजपुर नगरपालिकाका नगरप्रमुख डा. राजिक आलमले सामाजिक सञ्जालमार्फत शोक सन्देश व्यक्त गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, “राजपुर नगरपालिकाको हल्का सवारी चालक रोज कमरूल होदा (शेख कमरूद्दिन) को असामयिक निधनले हामी सबै स्तब्ध भएका छौं । उहाँको आत्माको चिर शान्तिको कामना गर्दछौं र शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी प्रार्थना गर्दछौं।”

स्व. होदाको निधनले नगरपालिकामा शोकको वातावरण छाएको छ । स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि तथा स्थानीयवासीहरूले उहाँलाई एक इमानदार र कर्तव्यनिष्ठ कर्मचारीका रूपमा स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

आरके श्रीवास्तव,राैतहट,०५ गते पुस । 

रौतहट । नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रले मौलापुर सब–स्टेसनदेखि हर्षाहा सब–स्टेसनसम्मको ३३ केभी प्रसारण लाइनमा बुस कटिङ तथा मर्मत कार्य गर्नुपर्ने भएकाले मिति २०८२/०९/०५ गते शनिबार विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मौलापुर सब–स्टेसनबाट प्रसारण हुने सम्पूर्ण क्षेत्रको विद्युत् सेवा बन्द रहनेछ । मर्मत तथा सुधार कार्य सुरक्षित र प्रभावकारी रूपमा सम्पन्न गर्न लाइन अवरुद्ध गर्नुपरेको प्राधिकरणले स्पष्ट पारेको छ ।

यद्यपि, तोकिएको समयभन्दा अगाडि नै कार्य सम्पन्न भएमा निर्धारित समयभन्दा पहिल्यै लाइन सञ्चालन गरिने पनि सूचनामा उल्लेख गरिएको छ । यसबाट प्रभावित उपभोक्ताहरूलाई आवश्यक पूर्वतयारी गर्न नेपाल विद्युत प्राधिकरणले अनुरोध गरेको छ ।

उक्त सूचना जिल्ला प्रशासन कार्यालय, गौर तथा मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुर लाई बोधार्थ पठाइएको छ ।

नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रले असुविधाप्रति क्षमायाचना गर्दै उपभोक्ताको सहकार्यका लागि आग्रह गरेको छ ।

बज्जिकाञ्चल संवाददाता,काठमाडौं,०४ गते पुस । 

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि बागमती प्रदेश अन्तर्गत काठमाडौँ जिल्लाका विभिन्न निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ । सो सूचीमा काठमाडौँ क्षेत्र नं. ४ बाट मनिष कुमार मिश्रलाई प्राथमिकताका साथ प्रत्यक्ष उम्मेदवारका रूपमा अघि सारेको छ ।

बागमती प्रदेश समितिको निर्णयअनुसार सार्वजनिक गरिएको उम्मेदवार सूचीमा पार्टीले पहिचान, संघीयता र लोकतान्त्रिक समाजवादको मूल मर्मलाई आत्मसात् गर्दै योग्य, सक्रिय र जनसमर्थन भएका नेताहरूलाई अघि सारेको जनाएको छ। काठमाडौँ–४ बाट उम्मेदवार सिफारिस भएका मनिष मिश्र पार्टीभित्र एक सक्रिय, संगठन निर्माणमा योगदान पुर्‍याउँदै आएका र जनसम्पर्कमा मजबुत नेताका रूपमा चिनिन्छन् ।

लोसपाले काठमाडौँका १० वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवार सिफारिस गरेको छ । जसअनुसार काठमाडौँ–१ बाट प्रकाश नायजु, क्षेत्र नं. २ बाट मधुसुधन पुडासैनी, क्षेत्र नं. ३ बाट प्रनिल ध्वज कार्की, क्षेत्र नं. ५ बाट दानेन्द्र जोशी, क्षेत्र नं. ६ बाट शशि श्रेष्ठ, क्षेत्र नं. ७ बाट दिप्ती नायजु, क्षेत्र नं. ८ बाट सन्तोष देउला, क्षेत्र नं. ९ बाट रणविर क्षेत्री सिंह र क्षेत्र नं. १० बाट रविन श्रेष्ठलाई उम्मेदवार बनाइएको छ।

पार्टीका बागमती प्रदेश अध्यक्ष करण श्रेष्ठले लोकतान्त्रिक समाजवादी विचारधारालाई संसदमा मजबुत रूपमा प्रस्तुत गर्न यी उम्मेदवारहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । विशेषगरी काठमाडौँ–४ बाट मनिष मिश्रको उम्मेदवारीले स्थानीय स्तरमा पार्टीको संगठन थप सुदृढ हुने अपेक्षा लिइएको छ ।

रवि आज (पुस ४) बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा आउने तयारीमा थिए । तर, गौतमबुद्ध विमानस्थलको भिजिबिलिटी कम भएर उडान नभएपछि भरतपुरसम्म विमान र त्यहाँबाट गाडीमा रुपन्देही आएका थिए । उनलाई नेपाल प्रहरीको रोहबरमा रुपन्देही भैरहवा ल्याइएको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बिहीबार (पुस ३) उच्च अदालत बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न उनी आज रुपन्देही आएका हुन् ।

रवि लामिछानेले अदालतमा कानुनी प्रकृया गर्दैगर्दा समर्थकहरुले रविको पक्षमा प्रदर्शन गरेका छन् । सभार बाह्रखरी

काठमाण्डौ – मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाउनुभएको छ । हिजो बसेको प्रदेशसभा बैठकमा उपस्थित सबै सदस्यहरूले उहाँलाई विश्वासको मत दिएका हुन् ।

उहाँको पक्षमा प्रदेशसभाको पूरै ९२ मत खसेको थियो । उहाँलाई सत्तापक्षका सबै दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलले समेत विश्वासको मत दिएका हुन् ।

६ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मंसिर १९ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँले मंसिर २१ गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । सभार उज्यालाे

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।