२०८२ फाल्गुन २०
२०८२ फाल्गुन २०

आरके श्रीवास्तव,राैतहट,२७ गते मंसिर । 

रौतहट जिल्लाको मध्य भाग सुकदेव चोकमा रहेको डा. मधुरेन्द्र यादवद्वारा सञ्चालित नेपाल तराई सिटी हस्पिटलले अत्याधुनिक सी–आर्म मेसिन जडान गरी औपचारिक रूपमा सेवा सुरु गरेको छ । यस प्रविधिबाट हड्डी–जोर्नी, शल्यक्रिया तथा ट्रमा केयरमा उपचार अझ सुरक्षित, छिटो र प्रभावकारी हुने अस्पतालले जनाएको छ ।

 

रियल–टाइम एक्स–रे सुविधायुक्त सी–आर्मले अपरेशनका क्रममा तुरुन्तै सही निर्णय लिन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ । आज सञ्चारकर्मीहरू सँग कुराकानी गर्दै अस्पतालका सञ्चालक डा. मधुरेन्द्र यादवले आधुनिक, विश्वसनीय र सुलभ उपचार समुदायसम्म पुर्‍याउनु हस्पिटलको प्राथमिकता रहेको बताए ।

यसैबीच, स्थानीय नागरिकको स्वास्थ्य सेवा सहज र किफायती बनाउने उद्देश्यले हस्पिटलले पुस १ गतेदेखि माघ १ गतेसम्म विशेष शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको छ । यस अवधिमा बचेदानी, एपेन्डिक्स, हर्निया, हाइड्रोसिल, बावसीर/भगन्दर तथा सिजेरियन जस्ता अपरेसनहरू अत्यन्त न्यून शुल्कमा उपलब्ध गराइनेछन् ।

अनुभवी चिकित्सक टोली, आधुनिक अपरेसन थिएटर, डिजिटल तथा भिडियो एक्स–रे सुविधासहित नेपाल तराई सिटी हस्पिटलले आगामी दिनमा पनि नयाँ स्वास्थ्य प्रविधि र सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ । सीमित समयका लागि लागू यो विशेष अफरको लाभ लिन इच्छुक बिरामीलाई समयमै सम्पर्क गर्न अस्पतालले अनुरोध गरेको छ ।

आरके श्रीवास्तव,राैतहट,२७ गते मंसिर । 

रौतहट । रौतहटको वृन्दावन नगरपालिका–८ मा सञ्चालित कुन्ती इट्टा उद्योगमा आजदेखि भट्टी बाल्ने काम सुरु गरिएको छ । प्रहरी प्रशासनले इट्टा पोल्ने कार्य तत्काल सुरु नगर्न निर्देशन दिएपछि त्यहाँ कार्यरत कामदारहरू प्रतिकारमा उत्रिएका छन् ।

इट्टा उद्योगसँग आफ्नो रोजीरोटी प्रत्यक्ष रूपमा जोडिएको बताउँदै कामदारहरूले उद्योग सञ्चालनमा अवरोध नलगाउन माग गरेका छन् । इट्टा व्यवसायी संघले प्रहरी प्रशासनसँग मिलेर इट्टा पोल्ने कार्यमा रोक लगाउन खोजेपछि आफूहरू आक्रोशित बनेको कामदारहरूको भनाइ छ ।

उद्योगमा कार्यरत सबिर अन्सारीले भने, “मेरो पूरा परिवार यही इट्टा उद्योगमा निर्भर छ । यहाँ काम गरेर आएको पैसाले घर चल्छ । उद्योग चलेन भने तलब कहाँबाट पाउने ? परिवार कसरी पाल्ने ? प्रहरी र संघ मिलेर हामीमाथि दमन गर्न खोजिरहेका छन् । यदि उद्योग चल्न दिइएन भने हामी जे पनि गर्न तयार छौं ।”

कामदारहरूका अनुसार हाल आर्थिक मन्दीका कारण रोजगारीको अभाव छ । इट्टा उद्योग सञ्चालन भए सयौँ श्रमिकले रोजगारी पाउने उनीहरूको दाबी छ । सरकारले इट्टा सञ्चालनका लागि निश्चित समयसीमा तोकेको भए पनि मौसम प्रतिकूल भई पानी परेमा उद्योगीहरूले लाखौँ रुपैयाँको क्षति बेहोर्नुपर्ने अवस्था रहेको उनीहरू बताउँछन् । यस्तो क्षतिमा न त कतैबाट क्षतिपूर्ति पाइने, न त सहयोग नै हुने गरेको गुनासो छ ।

इट्टा उद्योग सञ्चालकहरूले सहयोग गर्न नसक्ने अवस्था भए कम्तीमा काम गर्न दिने वातावरण बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन् । उनीहरूले उद्योग सञ्चालनमा अनावश्यक अवरोध नलगाई श्रमिकको जीविकोपार्जनलाई ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

आरके श्रीवास्तव,रा‌ैतहट,२६ गते मंसिर । 

गरुडा (रौतहट) । रौतहटको गरुडा नगरपालिकामा रहेको श्री नमूना माध्यमिक विद्यालय, गरुडा बैरियाले विद्यार्थीको सिर्जनात्मक र बौद्धिक विकासलाई लक्षित गर्दै ‘बुक फ्री फ्राइडे’ अवधारणाअनुसार नमूना काम गरिरहेको छ।

यसै अवधारणाअन्तर्गत हरेक शुक्रबार विद्यालयमा हैण्ड राइटिङ्ग तथा चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूबीच चित्रकला तथा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूबीच हैण्ड राइटिङ्ग प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कारसमेत प्रदान गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक प्रभु राउत पटेलका अनुसार विद्यालयको वार्षिक कार्ययोजनाअनुसार प्रत्येक शुक्रबार पुस्तकविहीन अतिरिक्त क्रियाकलाप सञ्चालन हुँदै आएको छ । उहाँले भन्नुभयो, “विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि वादविवाद प्रतियोगिता, हाजिरी जवाफ, मिनिङ्ग कम्पिटिसन, चित्रकला, हैण्ड राइटिङ्गजस्ता विविध अतिरिक्त क्रियाकलापहरू नियमित रूपमा गर्दै आएका छौँ। यसले विद्यार्थीहरूको आत्मविश्वास, सिर्जनशीलता र सिकाइ क्षमतामा सकारात्मक प्रभाव पारेको छ।”

यस कार्यक्रमले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई उत्साहित बनाएको र कक्षाबाहिरको सिकाइमा रुचि बढाएको प्रधानाध्यापक पटेलले बताउनुभयो । प्रतियोगितामा शिक्षकहरूको पनि सक्रिय सहभागिता रहेको थियो ।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष साहले विद्यालयले सुरु गरेको ‘बुक फ्री फ्राइडे’ जस्ता कार्यक्रम प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता क्रियाकलापले सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको विश्वास बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलापमा जोड दिनु आजको आवश्यकता हो । विद्यालयले थालेको यो पहललाई निरन्तरता दिन व्यवस्थापन समिति पूर्ण रूपमा सहयोग गर्न तयार छ।”

विद्यालयको यस पहलले विद्यार्थीहरूको बौद्धिक, सिर्जनात्मक तथा व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,२६ गते मंसिर । 

रौतहटबाट नियमित रूपमा प्रकाशित हुँदै आएको स्थानीय पोष्ट साप्ताहिक पत्रिका पछिल्लो समय पाठक मात्र होइन, नवसर्जकहरूबीच पनि अत्यन्त लोकप्रिय बन्दै गएको छ । हरेक सोमबार प्रकाशन हुने यस पत्रिकाले नव प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले पृष्ठ ७ मा “नव सर्जक साहित्य चौतारी” शीर्षकअन्तर्गत कविता, लेख तथा साहित्यिक रचनाहरूलाई प्राथमिकताका साथ प्रकाशित गर्दै आएको छ ।

यस पहलपछि नव साहित्यकारहरूमा लेखनप्रतिको उत्साह बढ्दै गएको छ भने उनीहरूले आफ्ना रचना नियमित रूपमा पत्रिकामा पठाइरहेका छन् ।

शुक्रबार स्थानीय पोस्ट साप्ताहिक का प्रकाशक तथा सम्पादक आर.एन. पटेल रौतहटको गरुडा स्थित माध्यमिक विद्यालय गरुडामा पुगेर विद्यार्थीहरूको हातमै पत्रिका वितरण गर्नुभएको थियो । आफ्नै कविता र लेख पत्रिकामा प्रकाशित भएको देख्दा विद्यार्थीहरू अत्यन्तै खुशी देखिन्थे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तोष साहले विद्यार्थीहरूलाई पत्रिका वितरण गर्दै लेखन क्षेत्रमा अगाडि बढ्न प्रेरणा दिनुभएको थियो । उनले स्थानीय पोष्ट साप्ताहिकले विद्यार्थी तथा नवसर्जकहरूको सिर्जनालाई निरन्तर स्थान दिँदै आएकोमा प्रशंसा गर्दै पत्रिकाप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

स्थानीय प्रतिभाको पहिचान र साहित्यिक विकासमा स्थानीय पोस्ट साप्ताहिकले खेलेको भूमिकाले आगामी दिनमा अझ धेरै नवसर्जक जन्मिने अपेक्षा गरिएको छ ।

 

बज्जिकाञ्चल संवाददाता,पर्सा,मंसिर २६ गते । 

वीरगंज । कमन जेनजी नेपाल र जेनजी नेपालले आज वीरगंजमा खबरदारी मोटरसाईकल र्याली निकालेको छ । जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, जेनजीसंग गरिएका नक्कली सम्झौता खारेज गर्नुपर्ने लगायतका माग गर्दै खबरदारी मोटरसाईकल र्याली निकालिएको हो ।

वीरगंजको लालबंगलाबाट निष्केको सो मोटरसाईकल र्याली घण्टाघर, माइस्थान, नारायणी अस्पताल, रजतजयन्ती चौक, आदर्शनगर हुँदै घण्टाघरमा पुगेर समापन भएको थियो । सुशीला कार्की नेतृत्वको सरकारले जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाही गर्न असफल भएको भन्दै उनीहरुले प्रधानमन्त्री सुशीलाको राजीनामा समेत माग गरेका छन् ।

जेनजी हत्यारा र भ्रष्टाचारीलाई कारवाही गर, जेनजी आन्दोलनलाई संस्थागत गर, निकास बिना निर्वाचनको औचित्य छैन, देखावटी सम्झौता हाम्रो माग हैन, जेनजीको माग सुनिश्चित गर, जेनजी माथिको दमन बन्द गर, हत्यारा र भ्रष्टाचारीलाई कारवाही गर, सुशीला तिम्रो पाराले दुख पाए साराले, सुशीला सरकार मुर्दाबाद, हत्यारालाई पक्राउ गर, भ्रष्टाचारीलाई कारबाही गर, पक्राउ परेका जेनजीलाई यथाशिघ्र रिहाइ गर लगायतका नारा लगाउदै र्याली निकालिएको हो ।

वीरगंजमा मोटरसाईकल र्याली निकाल्नुभन्दा अघि कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालै सरकार र जेनजीबीच भएको सम्झौता धोखा हो भन्दै च्यातेर विरोध गरेका छन् ।

जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनकारीलाई धरपकड बन्द गर्नुपर्ने र पक्राउ परेकालाई रिहाई गर्नुपर्ने लगायतका माग आफूहरुको रहेको कमन जेनजी नेपालका अध्यक्ष साहले जनाएका छन् ।

‘जेनजी हत्यारा, भ्रष्टाचारीलाई पक्राउ गर्न नसक्ने सुशीला सरकारले जेनजी आन्दोलनकारीलाई पक्राउ गरेर बहादुरी देखाइरहेका छ । जेनजी हत्यारा केपी ओली, रमेश लेखक लगायतलाई यथाशिघ्र पक्राउ गरी कारबाही गर्न हामीले माग गर्दैआएका छौ,’ साहले भने, ‘तर यो बहिरा सरकारले हत्यारालाई पक्राउ गर्न सकेको छैन् । नाटक मात्रै गरिरहेको छ । फेक आइडीबाट बनेको सरकारले फेक जेनजीलाई राखेर सम्झौताको नाटक गरिरहेको छ ।’

सरकारद्वारा हालै प्रस्तुत गरिएको सम्झौतापत्रले जेनजी जनआन्दोलनको वास्तविक मर्म, मुद्दा र जनआवाजलाई पूर्ण रूपमा वेवास्ता गरेको जेनजी नेपालका संयोजक कृष्णमोहन सहनीले जनाएका छन् । सरकारले देशको राजनीतिक संकट समाधान गर्न आवश्यक मूल प्रश्नहरूलाई सम्बोधन गर्न असफल भएको सहनीले बताए ।

‘फेक आईडीबाट बनेको सुशीला सरकारले अझै पनि आफ्नै निर्देशनमा चल्ने फेक जेनजीहरूलाई राखी गरेको समझौता मान्य छैन । देशव्यापी रूपमा उभिएको परिवर्तनको चाहना, युवाहरूको बलिदान र जनताको भरोसालाई कमजोर बनाउने यस्तो समझौताप्रति कमन जेनजी नेपाल कडा विरोध गर्दछ,’ कमन जेनजी नेपालका अध्यक्ष साहले भने ।

र्यालीमा कमन जेनजी नेपालका अध्यक्ष विकेश साह, जेनजी नेपालका कृष्णमोहन सहनीका साथै निकोलस भुसाल हजारौंको विशेष सहभागिता रहेको थियो ।

बज्जिकाञ्चल संवाददाता,सर्लाही,२६ गते मंसिर । 

सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नं. ४ को राजनीतिक वातावरण पछिल्ला महिनाहरूमा उल्लेखनीय रूपले परिवर्तन हुँदै आएको छ। स्थानीय तहदेखि जनसमुदायबीचका छलफलसम्म, नेपाली कांग्रेस मधेश प्रदेशका उप–सभापति, पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेश सांसद बिरेन्द्र प्रसाद सिंहको नाम फाल्गुनमा हुने प्रतिनिधि सभाको उमेदवारमा जनचाहनाको केन्द्र बन्दै गएको देखिएको छ।

नेपाली कांग्रेस मधेश प्रदेशका सूचना तथा सञ्चार विभागका सचिव निकेश त्रिपाठीले आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै जनमत स्पष्ट रूपमा सिंहतर्फ मोडिएको दाबी गरेका छन्।

उनका अनुसार, “बिरेन्द्र प्रसाद सिंहको नाम बनावटी रूपमा होइन, जनताकै आग्रह र आशाबाट बलियो रूपमा अघि आएको हो। सर्लाही–४ का नागरिकहरूले विकास, सुशासन र जवाफदेही नेतृत्वका लागि सिंहलाई सबैभन्दा उपयुक्त व्यक्तित्वका रूपमा पहिचान गरेका छन्,” त्रिपाठीले बताए।

सर्लाही–४ भित्रको राजनीतिक बहस र जनस्तरको प्रतिक्रिया हेर्दा सिंहप्रतिको समर्थन दिनानुदिन बढिरहेको जनाइएको छ। स्थानीय समस्यामा प्रत्यक्ष सहभागिता, जनतासँगको निरन्तर सम्बन्ध, र स्पष्ट रूपमा उठाइने स्थानीय मुद्दाहरूले सिंहलाई जनताको पहिलो विकल्पका रूपमा अघि सारेको बुझिएको छ।

स्थानीय बासिन्दाहरूले क्षेत्रका प्रमुख प्राथमिकता—सडक तथा पूर्वाधार, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार, कृषि प्रवर्द्धन तथा युवामैत्री योजनाहरू—अगाडि बढाउन सक्ने सम्भावित नेता सिंहलाई ठानिरहेका छन्। गाउँदेखि बस्ती, टोलदेखि बजारसम्म सिंहबारे भइरहेका सकारात्मक चर्चा र समर्थनले आगामी राजनीतिक समीकरणमा उनको प्रभाव झनै बलियो हुँदै गएको देखिन्छ।

समग्रमा, सर्लाही क्षेत्र नं. ४ मा बिरेन्द्र प्रसाद सिंहको उभार आकस्मिक होइन; यो जनताले निर्माण गरेको प्राकृतिक नेतृत्वको परिणाम भएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

बज्जिकाञ्चल संवाददाता,सर्लाहि, मंसिर २६ गते । 

सर्लाहीको एक सामुदायिक बिद्यालयका विद्यार्थीलाई न्यानो कपडा (स्विटर), टोपि, मोजा तथा बिद्यालयलाइ खेलकुद सामग्री र शैक्षिक सामग्री बितरण गरिएको छ । नारी श्रस्टा समाज नेपालकि अध्यक्ष साहित्यकार ममता मृदुलले बिद्यालयमा शुक्रबार आयोजित एक कार्यक्रम बिच विद्यार्थीहरुलाई स्विटर, टोपी र मोजाका साथै बिद्यालयलाइ खेलकुद सामग्री र शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।
समाजकी अध्यक्ष साहित्यकार मृदुलले सर्लाही गोडैता नगरपालिका -५ रामबन स्थित श्रीमती सरस्वती देवि कुशवाहा सामुदायिक आधारभूत विद्यालय तथा त्यहा अध्ययनरत विद्यार्थीलाई उक्त सामग्री वितरण गर्नुभएको हो ।

कक्षा १ देखि ८ सम्म पढाइ हुने उक्त विद्यालयमा अध्ययनरत करिब २५ जना विद्यार्थीलाई न्यानो स्विटर , टोपि र मोजाका साथै बिद्यालयलाइ भलिबल, फुटबल, बास्केटबल, ब्याडमिन्टन लगायतका खेलकुद सामग्री र विभिन्न कितावहरु वितरण गरेको समाजकी अध्यक्ष साहित्यकार मृदुलले बताउनुभयो ।

उहाँका अनुसार विद्यार्थीलाई एक–एक वटा न्यानो स्विटर, टोपी र मोजा वितरण गरिएको छ । सामुदायिक बिद्यालयका अति बिपन्न विद्यार्थीलाई जाडोको समयमा नियमित विद्यालय आउने वातावरण बनाउन साथै उनीहरूको पढाइलाई सुधार तथा गुणस्तरीय बनाउनमा सहयोग पुर्‍याउने उद्देश्यले बिद्यालयलाई शैक्षिक सामग्री र खेलकुद सामग्री वितरण गरेको उहाँको भनाइ छ ।

समाजकी अध्यक्ष साहित्यकार मृदुलले वितरण गर्नुभएको स्विटर, टोपी , मोजा , खेलकुद सामग्री र शैक्षिक सामग्रीले विद्यार्थीका साथै बिद्यालयलाई राहत मिलेको विद्यालयका संरक्षक तथा बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतोले बताउनुभयो ।

अहिलेको जाडो मौसममा न्यानो स्विटर, टोपि, मोजा पाएपछि विद्यार्थी हर्षित भएका छन् । साहित्यकार मृदुलको सहयोगको कदर गर्दै बिद्यालयका तर्फबाट कदर गर्दै उहाँलाइ मायाको चिनोद्वारा सम्मान गरिएको बिद्यालयका प्रधानाध्यापक रामप्रकाश महतोले बताउनुभयो । सामग्री बितरण कार्यक्रममा विश्व नेपाली साहित्य समाज ललितपुरका अध्यक्ष निता श्रेष्ठ, बज्जिका साहित्य समाज सर्लाहिका सचिव मुकेश मिश्र लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

आरके श्रीवास्तव,राैतहट,मंसिर २६ गते । 

रौतहट । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री एवं उज्यालो पार्टीका नेता कुलमान घिसिङले ऐतिहासिक शिवनगर महादेव मन्दिरमा पुग्न पाउँदा अत्यन्तै खुशी लागेको बताएका छन् ।

शिवनगर महादेवको संरक्षण तथा सम्बर्द्धन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री घिसिङले यस विषयमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । “यो मन्दिरका लागि सम्बन्धित निकायमा म पहल गर्नेछु,” उनले भने ।

स्थानीय नागरिकले उठाएका तीन प्रमुख विषयहरूमध्ये वर्षौंदेखि बन्द रहेको गरुडास्थित श्रीराम सुगर मिल र खानेपानी समस्याबारे ध्यानाकर्षण गराइएको बताउँदै मन्त्री घिसिङले खानेपानी विषय आफ्नो मन्त्रालयअन्तर्गत नपरे पनि सम्बन्धित मन्त्रालयसँग समन्वय गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । शिवनगर महादेव, विश्वकर्मा मन्दिर लगायतका धार्मिक स्थलको संरक्षणका लागि विशेष पहल गर्ने उनको भनाइ थियो । उनले निर्वाचनपछि बन्ने सरकारमा अवसर दिए आवश्यक सबै काम अघि बढाइने आश्वासन पनि दिए ।

मन्त्री घिसिङको शिवनगर आगमनमा स्थानीयवासीले भव्य स्वागत गरेका थिए । सो अवसरमा उनले शिवनगरस्थित शिवमन्दिर, विश्वकर्मा मन्दिर र गन्निनाथ गोविन्द मन्दिरलगायतका मन्दिरमा पूजा–अर्चना गरे ।

कार्यक्रममा प्रखर वक्ता विवेक शर्माले गरुडास्थित बन्द रहेको श्रीराम सुगर मिल सञ्चालन, खानेपानी समस्या तथा अन्य स्थानीय मुद्दाबारे मन्त्री घिसिङको ध्यानाकर्षण गराएका थिए । जेनजी युवाहरूले मन्त्री घिसिङलाई उपहारस्वरूप गीता प्रदान गरेका थिए भने नेपाल विश्वकर्मा लोहार संघले सम्मानपत्रद्वारा सम्मान गरेको थियो ।

शर्माको नेतृत्वमा मन्त्री घिसिङ शिवनगर पुगेका हुन् । सोही क्रममा मन्त्री घिसिङले रौतहटको बागमती नदीस्थित बडहर्वा घाटमा रहेको निर्माणाधीन पुलसहित अन्य पुलहरूको अनुगमन गर्ने कार्यक्रम रहेको विवेक शर्माले जानकारी दिएका छन् । यस राैतहटकाे चन्द्रपुरमा पनि एक कार्यक्रममा उनी सहभागी भएका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।