आरके श्रीवास्तव,राैतहट,कार्तिक ३० गते ।
रौतहट जिल्लामा तीव्र रूपमा फैलिँदै गएको लागू औषध (नशा) दुर्वयसन नियन्त्रण तथा न्यूनीकरणका लागि रौतहटका युवाहरूले आज जिल्ला प्रशासन कार्यालय, गौरमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई औपचारिक ज्ञापनपत्र बुझाएका छन् ।
जेनजी नेपालका प्रतिनिधिहरूले बुझाएको ज्ञापनपत्रमा गाउँ–सहरमा बढ्दो लागू औषध दुर्वयसनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल प्रभावकारी कदम चाल्न प्रशासनलाई आग्रह गरिएको छ । ज्ञापनपत्रमा विद्यालय, कलेज तथा समुदायस्तरमा सचेतना कार्यक्रम सञ्चालन, स्थानीय प्रशासन–प्रहरी–सशस्त्रबीच समन्वय सुदृढीकरण, लागू औषध कारोबारमा संलग्न व्यक्तिमाथि कडा निगरानी तथा प्रभावित युवाहरूका लागि पुनर्स्थापना एवं मनोसामाजिक परामर्श केन्द्र स्थापना जस्ता मागहरू अघि सारिएको छ ।
कार्यक्रममा शैलेन्द्र यादव, अरुण पटेल, सुबोध पासवान, पूजा कुमारी, भुनेश्वर यादव, मुनावर आलमलगायत दर्जनौँ युवा सक्रिय सहभागितासहित उपस्थित थिए । युवाहरूले बढ्दो नशा समस्याले समाजमै असर पारिरहेको भन्दै यसको रोकथामका लागि प्रशासनले द्रुत र ठोस कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।
ज्ञापनपत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी भुसालले युवाहरूको पहल प्रशंसनीय रहेको उल्लेख गर्दै ज्ञापनपत्रमा राखिएका विषयहरू कार्यान्वयनतर्फ आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आरके श्रीवास्तव,राैतहट,कार्तिक ३० गते ।
रौतहट — मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले असंवैधानिक रूपमा होटलमा सपथ ग्रहण गरेको भन्दै सातदलीय गठबन्धनले आज रौतहटको सदरमुकाम गौरमा शक्तिशाली विरोध प्रदर्शन गरेको छ ।
लोसपा नेपालका मधेश प्रदेश सचिव ओमलोक पटेलका अनुसार लोकतान्त्रिक अभ्यास र संवैधानिक मर्यादामाथि भएको “गम्भीर अपमान” को विरोधस्वरूप गठबन्धनका नेता तथा कार्यकर्ताहरू सडकमा उत्रिएका थिए ।

विरोधसभामा लोसपा नेपालका नेता बाबुलाल साह, अनिल सिंह, रेवन्त झा सहित सयौं कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
सभा सम्बोधन गर्दै वक्ताहरूले मुख्यमन्त्री सरोज यादवको “असंवैधानिक” सपथलाई तत्काल खारेज गरी उनलाई पदबाट बर्खास्त गर्न माग गरेका छन् ।
वक्ताहरूले जनकपुरमा सात दलका सांसद तथा कार्यकर्तामाथि भएको भनिएको प्रहरी दमनको कडा शब्दमा निन्दा गर्दै तत्काल छानबिन गरी दोषी सुरक्षाकर्मीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
उनीहरूको भनाइमा, “शान्तिपूर्ण आन्दोलन लोकतान्त्रिक अधिकार हो, त्यसमा भएको अनावश्यक बल प्रयोग स्वीकार्य छैन्।”
विरोधसभाका नेताहरूले मधेश प्रदेशमा संवैधानिक मार्गविपरीत सरकार गठन गर्ने प्रयास देशको संघीय संरचना र जनमतको धज्जी उडाउने काम भएको जिकिर गरेका छन् ।
उनीहरूले भने, “सत्ता प्राप्तिका लागि नियम र प्रक्रिया मिच्ने काम अस्वीकार्य छ। संविधानमाथि प्रहार हुने कुनै पनि कदमका विरुद्ध सात दलीय गठबन्धन दृढतापूर्वक उभिन्छ।”
सातदलीय गठबन्धनले आन्दोलनलाई क्रमिक रूपमा बिस्तार गर्दै सरकारलाई संवैधानिक बाटोमा फर्किन बाध्य पारिने चेतावनी दिएको छ ।
हनुमत कुमार यादव,गाैर,२९ गते कार्तिक ।
नेकपा एमाले रौतहट जिल्ला कमिटीद्वारा आयोजना गरिएको जनप्रदर्शन तथा जनसभा कार्यक्रम आइतबार देवाही गोनाही नगरपालिकामा भव्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम जिल्ला अध्यक्ष सचिदा नन्द साहको अध्यक्षतामा तथा प्रमुख अतिथि केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज अजय कुमार गुप्ताको उपस्थितिमा सम्पन्न गरिएको छ ।
कार्यक्रममा ठूलो संख्यामा स्थानीय जनता, पार्टीका कार्यकर्ता तथा अग्रज नेताहरूको सहभागिता रहेको आयोजनाकर्ता पक्षले जनाएको छ । जनप्रदर्शनपछि भएको जनसभामा पार्टीका केन्द्रीय तथा जिल्लास्तरीय नेताहरूले वर्तमान राजनीतिक स्थिति, एमालेको आगामी रणनीति तथा स्थानीय विकासका मुद्दाहरूमा सम्बोधन गरेका थिए ।

केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले वर्तमान राष्ट्रिय राजनीति, सुशासन, विकास र स्थिरताका लागि एमालेको भूमिका महत्वपूर्ण रहेको बताउँदै पार्टी संगठनलाई अझ सुदृढ बनाउन सबै तहका कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिए । जिल्ला अध्यक्ष सचिदा नन्द साहले जनताको हकहितका मुद्दामा एमाले सदैव अग्रसर रहने र रौतहटमा पार्टी संगठन विस्तारमा नयाँ उर्जा प्रवाह भएको बताए ।
कार्यक्रम विभिन्न नाराबाजी, जुलुस सहित शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको थियो । स्थानीयवासीले पनि जनप्रदर्शन तथा जनसभाप्रति उत्साहपूर्ण समर्थन जनाएका थिए ।
आरके श्रीवास्तव,राैतहट,कार्तिक २९ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले होटेलमा असंबैधानिक रूपमा सपथ लिएको आरोप लगाउँदै शनिबार रौतहटको गरुडा बजारमा ७ दलिय गठबन्धनले विरोध प्रदर्शन गरेको छ । विरोधको जानकारी लोसपा नेपालका मधेश प्रदेश सचिव ओमलोक पटेलले दिनुभयो ।
विरोध कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका नेता व्रिजकिशोर यादव, रामभरोस यादव, लोसपा नेपालका नेता बाबुलाल साह, अनिल सिंह,रामप्रवेश दास, लोसपा रौतहटका अध्यक्ष भरत साह, नेता रेवन्त झा,जसपा नेपालका नेता राजकुमार दास सहित ७ दलिय गठबन्धनका सयौँ नेता–कार्यकर्ताहरूको उपस्थिति थियो ।
वक्ताहरूले मुख्यमन्त्री सरोज यादवले संवैधानिक मार्गबाट विचलित हुँदै होटलमा सपथ लिएको भन्दै कडा विरोध व्यक्त गरे । उनीहरूको भनाइमा यस्तो कदमले प्रदेशमा राजनीतिक अनिश्चितता र अस्थिरता बढाउने तथा लोकतान्त्रिक परम्परा कमजोर पार्ने खतरा छ ।
लोसपा नेपालका मधेश प्रदेश सचिव ओमलोक पटेलले भने,
“मुख्यमन्त्रीले होटलमा बसेर सपथ लिनु पूर्ण रूपमा असंबैधानिक, अमर्यादित र मधेश प्रदेशको प्रतिष्ठामाथिको चोट हो । यस्तो कदमलाई स्वीकार गर्न सकिँदैन। लोकतन्त्र र संविधानको रक्षा गर्न हामी ७ दलिय गठबन्धन सडकमा उत्रिएका छौँ।”

पटेलले मुख्यमन्त्री सरोज यादवको तत्काल बर्खास्ती र प्रदेशमा संवैधानिक प्रक्रियाअनुसार नयाँ सरकार गठन गर्न माग गर्दै आन्दोलन अझ व्यापक रूपले निरन्तर चल्ने चेतावनी दिए ।
नेता व्रिजकिशोर यादवले बिना प्रक्रिया सपथ लिनु ‘राजनीतिक नैतिकताको पतन’ भएको बताए ।
रामभरोस यादवले मधेश प्रदेशका नागरिकको अपमान भएको जिकिर गरे ।
बाबुलाल साह,अनिल सिंह र रामप्रवेश दासले लोकतान्त्रिक प्रक्रियाविपरीत चल्ने प्रवृत्तिलाई कुनै हालतमा स्वीकार्न नसकिने बताए ।
लाेसपा नेपाल राैतहट अध्यक्ष भरत साहले ७ दलिय गठबन्धनले वैधानिकता जोगाउन सडक संघर्षमा उत्रिन बाध्य भएको बताए ।
रौतहट, २९ कात्तिक ।
रौतहटको मौलापुर नगरपालिका वडा नं. ७ पिपरियामा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन आज (शनिबार) उद्घाटन गरिएको छ ।

सुविधा सम्पन्न आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्दै आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं रौतहट क्षेत्र नं. ३ का पूर्वसांसद समेत रहेका प्रभु साहले मौलापुर नगरपालिकामा शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा गरेको उदाहरणिय कामको प्रशंसा गरे ।

‘मौलापुर नगरपालिकाले शासक होइन, सेवकको काम गरिरहेको छ । नगरप्रहरी होइन, नगर शिक्षक, स्वास्थ्यकर्मी राखेर जुन यहाँको जनतालाई सेवा दिइरहेको छ त्यो कार्य अन्य पालिकाले समेत कार्यान्वयन गर्नुपर्ने आवश्यक छ,’ पूर्वमन्त्री समेत रहेका साहले भने, ‘जनताको मन जितेको मौलापुर नगरपालिकाले अगामी दिनमा पनि यस्तै सेवालाई निरन्तरता दिदै जनताको आवश्यक्ता, चाहना अनुसार अगाडी बढोस, मेरो शुभकामना छ ।’

मौलापुर नगरपालिकाले शुन्य कर नीति, बिजुली, खानेपानी निशुल्क एवं विद्यार्थीलाई दिदै आएको विभिन्न सुविधा लगायतकाले मधेसमा मात्रै नभई नेपालमै एक चर्चित र उदहरणिय नगरपालिकाको रुपमा स्थापित भएको छ । जनताको मन जितेर राम्रा काम गरिरहेकी मेयर रिना साह सहित त्यहाँका जनप्रतिनिधि लगायत सबैमा उनले धन्यवाद ज्ञापन गरे ।
मौलापुर नगरपालिकाद्वारा निर्मित सुविधा सम्पन्न भवन सहितको उक्त स्वास्थ्य केन्द्रबाट यस क्षेत्रको आम नागरिकले पुरै लाभान्वित हुने विश्वास समेत साहले व्यक्त गरे । साथै आउँने दिनमा यस स्वास्थ्य केन्द्रबाट थप सेवा विस्तार गर्ने उदेश्यका साथ भव्य भवन निर्माण गरिएको समेत उनले बताए ।
२ करोड ५० लाखमा जग्गा सहित भव्यभवन निर्माण गरेर आउँने दिनमा बर्थिङ सेन्टर समेत सञ्चालन गर्न सकिने गरी भवन निर्माण गरिएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जनाएका छन् । नेपाल सरकारको मापदण्ड अनुसार अहिले यस सेवा केन्द्रबाट प्राथमिक सेवा प्रदान गर्ने काम भइरहेको छ ।
अहिले मौलापुर नगरपालिकामा आधारभूत स्वास्थय सेवा केन्द्र २, स्वास्थय चौकी ३ र प्राथमिक स्वास्थय केन्द्र १ वटाबाट नगरबासीलाई स्वास्थय सेवा दिइरहेको छ । मौलापुर नगरपालिकाका मेयर रिना साहको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका जनप्रतिनिधि, सर्वसधारण लगायतको विशेष सहभागिता रहेको थियो ।
आरएन पटेल,रौतहट, कार्तिक २९ गते ।
रौतहटको गरुडामा विश्व–संजय बज्जिका साहित्य कोष अन्तर्गत “अक्षय कोष” स्थापना गरिएको छ । महम्मदपुर बैरेजस्थित गोपाल सेवा सदनको सभाहलमा आयोजित विशेष समारोहमा विभिन्न साहित्यप्रेमी, समाजसेवी तथा पदाधिकारीहरूको सहभागितामा कोषको औपचारिक स्थापना सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख उद्घोषक तथा सर्लाही निवासी डा. बिजय झाले १ लाख रुपैयाँको सहयोग हस्तान्तरण गर्दै अक्षय कोष उद्घाटन गरे । बज्जिका भाषा केवल साँस्कृतिक धरोहर मात्र नभई एक पूर्ण पहिचान भएको बताउँदै उनले यसको संरक्षण र विकास सबैको साझा जिम्मेवारी रहेको धारणा राखे । उनले स्थापित कोषले बज्जिका साहित्यिक सिर्जनामा नयाँ उर्जा र दिशानिर्देशन प्रदान गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, पर्सास्थित कृषि ज्ञान केन्द्रका प्रमुख तथा रौतहट निवासी साहित्यप्रेमी हरिशंकर प्रसाद जयसवालले पनि आफ्नो तलबका विभिन्न भत्ताहरू समेटेर १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे । उनले अक्षय कोषलाई दीर्घकालीन र मजबुत बनाउने हेतुले निरन्तर समर्थन आवश्यक भएको बताए ।
बज्जिका साहित्यमा समर्पित बिन्दा सहनीले रौतहटको खेसरहियास्थित आफ्नै जग्गामा “बज्जिका साहित्य भवन” निर्माण गरी उपलब्ध गराउने घोषणा गर्दै कोषका लागि थप २५ हजार रुपैयाँ प्रदान गर्ने प्रतिज्ञा गरे । यस्तै, यमुनामाई गाउँपालिका–२ का वडा अध्यक्ष सीताराम यादवले पनि २५ हजार रुपैयाँ सहयोग घोषणा गर्दै कोषलाई सबैको साझा गर्वको विषय बनाउने प्रतिवद्धता व्यक्त गरे ।
यी सबै योगदानसँगै अक्षय कोषको प्रारम्भिक जम्मा रकम २ लाख ५० हजार रुपैयाँ पुगेको आयोजकहरूले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि भाषा आयोगका पूर्व माननीय गोपाल अश्क रहेका थिए । कार्यक्रमको अध्यक्षता बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल यादव ‘श्रीकृष्ण’ ले गरेका थिए भने सञ्चालन साहित्यकार तथा बज्जिका सेवक संजय साह मित्रले गरेका थिए ।
समारोहमा सर्लाहीका विशिष्ट अतिथि महानन्द झा सहित अवधेश कुमार राय, बालदेव प्रसाद साह, विनयराज गौतम, बिरेन्द्र यादव, दिपेन्द्र यादव, रेणु गुप्ता, संजयराज महतो, बिगन साह रौनियार, शिवचन्द्र प्रसाद साहलगायत विभिन्न क्षेत्रका कवि, साहित्यकार, बुद्धिजीवी र सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो ।

कार्यक्रममा वक्ताहरूले बज्जिका भाषा–साहित्यको संरक्षण, अभिवृद्धि र आगामी पुस्ताका लागि समृद्ध साहित्यिक वातावरण निर्माण गर्न अक्षय कोष महत्त्वपूर्ण मीलका पत्थर सावित हुने विश्वास व्यक्त गर्दै सबैलाई यस अभियानसँग जोडिन आह्वान गरेका थिए ।