२०८३ जेष्ठ १२
२०८३ जेष्ठ १२

रामानन्द साह,देवाहीगाेनाही,कार्तिक २७ गते । 

राैतहटकाे देवाहीगोनाही नगरपालिकामा O.C.M.C. (One-Door Crisis Management Center) अन्तर्गत लैङ्गिक हिंसा सम्बन्धी एक–दिने तालिम सम्पन्न भएको छ । तालिममा विद्यालयका शिक्षक, स्थानीय प्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्देश्य समुदायमा हुने लैङ्गिक हिंसाका घटनाहरू पहिचान गर्ने, रोकथामका उपायहरूबारे जागरूकता बढाउने तथा पीडितहरूलाई सहयोग पुर्‍याउन आवश्यक प्रक्रिया, सेवा पहुँच र समन्वय प्रणालीबारे जानकारी प्रदान गर्नु रहेको आयोजकले बताएको छ ।

सहभागीहरूले विद्यालय तथा समुदायस्तरमा प्रभावकारी प्रतिवेदन प्रणाली सञ्चालन गर्ने तरिका, पीडितलाई प्राथमिक सहयोग प्रदान गर्ने विधि तथा सम्बन्धित निकायसँग समन्वय गर्ने व्यावहारिक सीपसमेत सिकेका छन् । तालिमले लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय तहमा आवश्यक क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउने सहभागीहरूको धारणा आयाेजक संस्थाका राेशन अधिकारीले जानकारी गराएका हुन् ।

 

बुटवल, २७ कात्तिक ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार, एमाले र कांग्रेस नै चुनाव भाँड्ने गतिविधिमा लागेको भन्दै आलोचना गरेका छन् । चुनाव गराउने दायित्वमा रहेको सुशीला कार्की नेतृत्वको सरकारको तयारी चुनाव गराउनेभन्दापनि आफ्नो सत्ता लम्ब्याउने र नियन्त्रित अस्थिरता निम्त्याउनेतर्फ केन्द्रित रहेको साहको आरोप छ ।

आजपा लुम्बिनी प्रदेश कमिटीको विशेष बैठकलाई बुटवलमा आज (बिहीबार) सम्बोधन गर्दै आजपा अध्यक्ष साहले प्रजातन्त्रको हिमायती भन्ने कांग्रेस अहिले केन्द्रीय समितिको बैठकसमेत सही तवरले चलाउन नसक्नेगरि ‘कुहिरोमा हराएको काग’झैं भएको भन्दै कांग्रेसको गतिविधि पनि चुनाव हुन नदिने षड्यन्त्रतर्फउन्मुख रहेको आरोप लगाए ।

जेन–जी युवाहरुको हत्या गर्दापनि कुनै पश्च्ताप र सार्वजनिक आत्मग्लानी नगरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले त चुनाव नचाहनु स्वभाविक भएपनि कांग्रेसले समेत आफूलाई ओलीको पुच्छर बनाउनु युवाहरुको बलिदानी र जेन–जी पुस्ताको त्यागप्रति ठूलो धोका भएको साहको टिप्पणी छ । नेपाली कांग्रेस विगतमा ओलीकै पिछलग्गु बन्दा भदौ २३ गते जेनजीहरुले सचेत विद्रोह गरेको कुरा कांग्रेसत्रिभ विपी कोइरालाका अनुयायीहरुले बुझ्नुपर्ने उनको सुझाव छ ।

उनले एमाले नेतृत्वको हठले मुलुकले दुर्गति भोग्नुपरेको र कलिला युवाहरुको हत्या भएको भन्दै अहिलेपनि कांग्रेसीजन ओलीको बाटोमा हिँड्न खोज्नु मुलुक र जनताको लागि ठूलो दुर्भाग्य हुने भन्दै सचेत हुन र चुनावको पक्षमा दृढताका साथ उभ्याउन सुझाव दिएका छन् । उनले प्रतिनिधिसभाको चुनाव हुन नदिनको लागि एमाले नेतृत्वले पूनःस्थापनाको नाटकमञ्चन गरेको भन्दै सचेत नेपालीले अब चुनावभन्दा अर्को बाटो नचाहेको स्मरण गराए । उनले एमाले चुनावमा जानको लागि डराएको भन्दै कांग्रेसलाई एमालेको पुच्छर भएर नहिँड्न सुझाव दिए ।

आजपा अध्यक्ष साहले जेन–जी आन्दोलनको भावना र स्पिरिटलाई वर्तमान सरकार र यसका मन्त्रीहरुले कुल्चिएको र ठूलो धोका दिएको पनि आरोप लगाए । कुलमान घिसिङले जेनजी आन्दोलनको अपहरण गरेको र सत्ताको चास्नीमा डुबेर दल खोल्ने काम गरेको भन्दै यो कदम जेनजी आन्दोलनप्रति धोका र अक्षम्य अपराध भएको साहको टिप्पणी छ ।

उनले भने, ‘यो सुशीला कार्की नेतृत्वको सरकारको जन्म कसरी भयो ? निर्दलीय सरकार बनाएको भनिएको होईन, अनि कुलमानले सरकारमा बसेर दल खोल्ने काम गरे, यो कुरा नेपाली जनताले नजिकबाट हेरिरहेका छन्, म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु–कुलमानको गतिविधिप्रति नजर राख्नुहोस, यो सरकार निर्दलीय हो भने कुलमानले शक्तिको दुरुपयोग गरेर दल खोलेको कुरा आएको छ, तत्काल बर्खास्त गर्नुहोस ।’ उनले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यक्षमतामाथि पनि प्रश्न उठाए ।

उनले गृहमन्त्रीलाई लुते र निम्छरोको संज्ञा दिए । उनले अर्यालबाट मुलुकमा शान्ति, सुव्यवस्था र अमनचयन कायम हुन नसक्ने ठोकुवा गरे । उनले गृहमन्त्रीले अहिलेसम्म जेनजी आन्दोलनमा दमन गर्ने र युवाहरुको छाति र टाउकोमा ताकि÷ताकि गोली हान्ने हत्याराहरूलाई कारबाही त परको कुरा बयानसमेत लिन नसकेको भन्दै राजीनामा मागे ।

साहले अहिलेको सरकारले मुलुकलाई सही गन्तव्यमा पुर्याउन नसक्ने र पाएको म्याण्डेटसमेत पूरा नगर्ने ठोकुवा गरे । उनले सरकारका अधिकांश मन्त्रीहरु स्टन्टमा रमाएको र निकास निकाल्नेगरि सही स्टेप चाल्न चुकेको टिप्पणी गरे । उनले जेनजी आन्दोलन नेपालको राजनीतिक इतिहासमा सही जनविद्रोह भएपनि सुशीला कार्कीहरुको कारण बदनाम र कलंकित हुने खतरा देखिएको औंल्याए । उनले अहिले देशलाई निकास दिनको लागि अन्तरिम संविधान र अन्तरिम सरकार नै भएको एकमात्र विकल्प सुझाए ।

आरके श्रीवास्तव,राैतहट,कार्तिक २७ गते । 

नेपाली कांग्रेस रौतहटका पूर्व सभापति, पार्टी केन्द्रीय कार्यसमितिका पूर्व सदस्य तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको ६३ वर्षको उमेरमा असामयिक निधन भएको छ । उहाँको निधनले रौतहट जिल्लासँगै समग्र नेपाली कांग्रेस परिवारमा ठूलो शोक तथा अपूरणीय क्षति परेको जनाइएको छ ।

वि.सं. २०१९ असार ५ मा जन्मिएका आलमको उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा २०८२ कात्तिक २२ गते निधन भएको हो । लामो समयदेखि पार्टी संगठन, लोकतान्त्रिक आन्दोलन तथा जनताको हकहितका लागि सक्रिय रहँदै आएका आलम एक कुशल संगठक, दृढ नेता तथा मार्गदर्शकको रूपमा चिनिनुहुन्थ्यो ।

उहाँको निधन पश्चात् कांग्रेस नेता तथा पूर्वमन्त्री आलमका भाइ महताब आलम, छोराहरू डा.राजिक आलम,डा.फिरदाेस आलम सहित परिवारजनलाई संवेदना प्रकट गर्न आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति रौतहटका सभापति सुनिल कुमार यादव (जितेन्द्र) नेतृत्वको टोली उहाँको पैत्रिक गाउँ राजपुर पुग्यो । सभापति यादवले दुखद क्षणमा परिवारसँग भेटघाट गर्दै हार्दिक श्रद्धाञ्जली एवं समवेदना व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस रौतहटले दिवंगत नेताप्रति श्रद्धाञ्जली अर्पण गर्दै विशेष श्रद्धाञ्जली तस्बिर समेत परिवारलाई हस्तान्तरण गरेको छ । सो तस्बिरमा आलमको राजनीतिक योगदान, जनपक्षीय व्यक्तित्व र जिल्लाले गुमाएको असल अभिभावकप्रति कृतज्ञता व्यक्त गरिएको छ । साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ ।

श्रद्धाञ्जली वक्तव्य नेपाली कांग्रेस जिल्ला कार्यसमिति रौतहटका सभापति सुनिल कुमार यादवले जारी गरेका हुन् ।

आरके श्रीवास्तव,राैतहट,कार्तिक २७ गते

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिको विरोधमा सात दलले बिहीबार रौतहटको गौरमा संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन् । दलहरूका संयुक्त नेतृत्वमा आयोजित विरोध जुलुस गौर बजारका विभिन्न सडक परिक्रमा गर्दै प्रमुख चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

विरोध कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उपाध्यक्ष बाबुलाल साह, सह–महामन्त्री अनिल सिंह, मधेश प्रदेश सचिव ओम लोक पटेल, नेकपा (एस) का केन्द्रीय सदस्य रेवन्त झा, नेकपा (माओवादी केन्द्र) गौर नगर अध्यक्ष चन्देश्वर राउत, नेपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष श्रीराम यादव, कांग्रेस गौर नगर अध्यक्ष मोहन यादव, जनमत पार्टी रौतहट जिल्ला इञ्चार्ज शेख जम्सैद तथा जसपा नेता तथा पूर्व राज्यमन्त्री योगेन्द्र यादवलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

नेताहरूले मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै तत्काल खारेजीको माग गरे । उनीहरूले संविधानको मर्म, लोकतान्त्रिक प्रक्रिया र प्रदेशको राजनीतिक स्थिरताका लागि सबै दल एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

विरोध जुलुसमा सहभागी कार्यकर्ताहरूले ‘संविधान मिच्ने सरकार हटाऊ’, ‘लोकतन्त्रको रक्षा गर’ आदि नारासहित प्रदर्शन गरेका थिए। प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको स्थानीय प्रशासनले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।