२०८२ फाल्गुन २१
२०८२ फाल्गुन २१

 

काठमाडौं, २ असोज । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान संविधान र अहिलेको व्यवस्था नेपाली जनताको नभएर आज असोज ३ गते संविधानको दिवस नभएर अन्त्येष्टि दिवस मनाउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै पूर्वमन्त्री साहले अहिलेको संविधान र व्यवस्थाकै कारण मुलुक अन्त्यहीन समस्याको भड्खालोमा फसेको दाबी गरेका छन् । उनले अहिलेको संविधान मृत्त भैसकेको भन्दै अब यसलाई बोकेर हिँड्नु भनेको समाजलाई दुषित तुल्याउनु भएको टिप्पणी गरेका छन् ।

साहले भिडिओ अपिलमा भनेका छन्,“असोज ३ गते संविधान दिवस मनाउने कि संविधानको अन्त्येष्टि गर्ने भन्ने विषयमा म केही भन्न चाहन्तछु । तपाईं हामी सबैलाई थाहा छ यही संविधानको कारण आज देशमा अमनचयन हुन सकेन । सुख र समृद्धि पनि भएन । व्यवस्था बिग्रिएकै कारण अवस्था पनि बिग्रियो ।”

साहले आफूले वर्तमान संविधानलाई धोकाको पुराण भन्दै आएको पनि स्मरण गराए । यही संविधानको कारण देशको राष्ट्रियतासमेत ध्वस्त भएको उनको आरोप छ । उनले भने,“म निरन्तर भन्दै आएको छु, वर्तमान संविधान धोकाको पूराण हो । आज यसैको कारण हाम्रो राष्ट्रियत ध्वस्त भएको छ । दुनियाँमा कहीँ नभएको दुई देशको नागरिकताको प्रावधान नेपालमा छ । साम्राज्यवादी देशका नागरिकले खुलेआम नेपालको नागरिकता प्राप्त गर्न सकिरहेका छन् । जसको कारण नेपालका नेताहरु र शासकका सन्तान र सम्पत्ति विदेश गैरहेको छ । हामी हिजो लोकतन्त्रको लागि लडेका थियौं । तर, आज दलतन्त्र छ । दलका नेताहरु अघोषित राजा बनेका छन् । लोकतन्त्र देखाउने दाँत भएको छ । जनता लाचार छन् । नेता मालामाल छन् । कहीँ नभएको ७६१ सरकार छ । खुलेआमा भ्रष्टाचार छ । योपनि यही संविधानको उपज हो ।”

उनले देशमा सरकारपिच्छे सरकारको कर आतंकको कारण जनता आजित बनेको बताए । नेपालमा विश्वमा कहीँ नभएको कर जनताले तिर्नुपरेको साहको दाबी छ । उनले थपे,“आज सरकारपिच्छे सरकारको कर आतंक छ । नामै नसुनेको कर तिर्नुपरको छ । करकै कारण हाम्रो उत्पादन महँगो भयो । उद्योग तथा व्यवसाय चौपट्ट भएको छ । व्यापार घाटामा छ । हाम्रो अर्थन्त्र बर्वाद हुँदैछ । दुनियाँमा जिडिपीको २० प्रतिशतभन्दा बढि कहीँ पनि कर छैन । तर, नेपालमा जिडिपीको ३५ प्रतिशत कर नेपाली जनताले तिर्नुपरेको छ । यो कुरा सामान्य छैन । यसको कारण पनि यही संविधान हो भन्ने कुरा सही ढंगले बुझ्न जरूरी छ ।”

साहले देशमा अहिले पहिचान र अधिकारविहीन संघीयता लादिएको आरोप लगाए । यही कारण सामाजिक न्यायसमेत एक तमाशा बनेको उनको भनाई छ । साहले भने,“आज नेपालमा पहिचान र अधिकारविहीन संघीयता छ । शासकलाई आरक्षण छ, यो दुनियाँमा कहीँ पनि छैन । जसको कारण सामाजिक न्याय एक तमाशा बन्न पुगेको छ । समानताभित्र विशेषाधिकार छ । प्रतिष्पर्धामा सिण्डिकेट छ । जसको कारण सामाजिक सद्भाव कायम हुन सकिरहेको छैन । एउटा द्धन्द्धको अवस्था छ ।”

देशमा विद्यमान सबैखाले समस्याहरुको कारण र यसको जड नै वर्तमान संविधान भएको साहको टिप्पणी छ । उनले भने,“आज यी तमाम कारणहरु जो देखिँदैछन्, यसको मैले संविधानसभादेखि नै विरोध गर्दै आएको हो । हिजो संविधान बनिराख्दा ६०१ जनामा एउटा प्रभु साह हो, जसले यो गलत भयो भनेर भनेको थिएँ । यो संविधान जारी गर्दा देश बर्बाद हुन्छ भनेको थिएँ, त्यसरी मैले विरोध गरिराख्दा मलाई माओवादीले साधारण सदस्यबाट हटाएका थियो । मलाई प्रताडित गरियो । विभिन्न दलहरु मिलेर मलाई प्रताडित गरियो । तपाईंहरुको आशिर्वादले मैलै दुईवटै संविधानसभामा जितें, संविधानसभामा मैले समितिको सभापतिदेखि मस्यौदा समितिमा समेत काम गरेको थिएँ, यो सबै अनुभवले मेरो अन्तर्मनले भन्यो कि म हिजोका आन्दोलन र जनयुद्धका शहीदहरुप्रति गद्दारी गर्दिनँ । देश र जनताप्रति धोका दिन्नँ । गलत कुरालाई म गलत नै भन्छु, चाहे जेसुकै सहनुपरोस भनेर म लड्दै आएको मान्छे हुँ ।”

अहिले आएर आफूले दलाल दलतन्त्रको लुट, अत्याचार र भ्रष्टाचारको विरोध गरेको पनि उनले स्मरण गराए । दलाल दलतन्त्रको लुट र अत्याचार, भ्रष्टाचारको विरोध आफूले तेस्रो जनआन्दोलनको उद्घोष गरेर लडिराखेको पनि साहले सम्झाए । उनले भने,“हामी त लडिरहेका छौं, त्यसअर्थ पनि म भन्न चाहन्छु अहिलेको समस्या व्यवस्थामा हो । समस्या सिस्टममा हो भन्ने कुरा सही ढंगले बुझ्न जरुरी छ । आज देशको जो हालत छ, नेतृत्वमात्रै होईन । सिस्टम हो भन्ने कुरा राम्ररी बुझ्न जरुरी छ । यो अहिलेको युवा पुस्ताले बुझ्यो । त्यसमा मलाई धेरै गौरव र खुशी छ । आज जेन–जी पुस्ताको आन्दोलनमा आम नेपाली जनता सडकमा आए । यो विधि र विधानलाई अस्विकार गरे । संविधान र सिस्टमलाई अस्विकार गरेकोमा मलाई खुशी छ ।”

आम नेपाली जनताले सडकमार्फत सरकार, व्यवस्था र नेतृत्वलाई अस्विकार गरिसक्दा पनि संविधानको दिवस मनाउने कुरा हाँस्यास्पद हुने साहको भनाई छ । उनले भने,“मृत्त चिजको कहिल्यैपनि उत्सव हुँदैन । अन्त्येष्टि हुन्छ भन्ने कुरा सही ढंगले बुझ्न जरुरी छ । म नेपाली जनतालाई अपिल गर्न चाहन्छु–यदि यस्तै मृत्त संविधान र व्यवस्थालाई तपाईं÷हामीले बोक्यौं भने यसले हाम्रो समाजलाई दुषित गर्छ। यसलाई अन्त्येष्टि गरेरमात्रै नयाँ यात्रा गर्न जरूरी छ । अनिमात्रै हामी केही गर्न सक्छौं । अबको नेपाली जनताको चाहना भनेको जनताको संविधान हुन जरूरी छ । यो गणतन्त्र भगौडा दलाल वर्गहरुको हो, नेपाली जनताको होईन । नेपाली जनाको संविधान चाहिएको छ। असोज ३ गते दिवस होईन, अन्त्येष्टि मनाउँ । देशलाई नयाँ निकास दिउँ । धन्यवाद ।”

काठमाडौं, २ असोज
आम जनता पार्टी (आजपा)को केन्द्रीय कमिटी बैठक बस्दैछ । नयाँ तथा विकशित परिस्थितिबारेमा धारणा बनाउन शनिबार (४ असोज) काठमाडौंमा केन्द्रीय कमिटी बैठक आजपाले बोलाएको हो ।

आजपा केन्द्रीय कार्यालयका सदस्य त्रिभुवन साहले पछिल्लो राजनीतिक अवस्थाको बारेमा धारणा बनाउन केन्द्रीय कमिटीको बैठक बस्न लागेको जनाएका छन् । नेपाली जनताले सबै कुरा अस्वीकार गरिसकेको अवस्थामा पुरानै व्यवस्थालाई स्वीकार गर्न नसकिने उनले बताए ।

संघीय सरकारमात्र नभई ७६१ वटै सरकार र सबै निकाय भ्रष्टाचारमा लिप्त भएकाले संघीय सरकार परिवर्तन गरेर नेपाली जनताको अवस्था परिवर्तन नहुने आजपाले जनाएको छ ।

नयाँ संविधान र नयाँ सरकारको माग गर्दै आएको आजपाको अब बस्न लागेको केन्द्रीय कमिटी बैठकले के निर्णय गर्ने र कस्तो बाटो तय गर्ने भन्ने चासोका साथ हेरिदैछ ।

आरके श्रीवास्तव,राैतहट,असाेज ०२ गते ।
“समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा” भन्ने नाराका साथ कटहरिया बजारस्थित विवाह मण्डप भवनमा एक दिने युवा मानसिक स्वास्थ्य तालिम सम्पन्न भएको छ । नेपाल युवा नेतृत्व विकास केन्द्रको आयोजनामा तथा लायन्स क्लब अफ जनकपुर मिथिला सिटीको सहकार्य र कटहरिया नगरपालिका वडा नं. ४ को समन्वयमा सम्पन्न तालिममा करिब १५० जना युवाहरूको सहभागीता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कटहरिया वडा नं. ४ का वडाध्यक्ष चन्दन कुशवाहाले युवा पुस्ताले मानसिक स्वास्थ्यलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “समृद्ध राष्ट्र निर्माणका लागि युवा सशक्त हुनु आवश्यक छ, र सशक्तताको आधार मानसिक सन्तुलन हो । यस प्रकारका तालिमहरूले युवालाई आत्ममूल्यांकन गर्ने र सही निर्णय लिन मद्दत गर्छ।”

कार्यक्रमका आयोजक संस्था नेपाल युवा नेतृत्व विकास केन्द्रका प्रतिनिधि रिजवान बडाईले तालिमको उद्देश्य र आवश्यकता स्पष्ट पार्दै भन्नुभयो, “युवाहरूलाई आत्ममूल्य र आत्मबलको विकास गराउँदै उनीहरूलाई मानसिक रूपमा सशक्त बनाउने हाम्रो अभियान हो। मानसिक स्वास्थ्यबारे खुला संवाद गर्ने संस्कार विकास गर्न यस्ता तालिम अत्यावश्यक छन्।”

तालिमका प्रमुख प्रशिक्षक तथा कटहरिया नगरपालिकाका स्वास्थ्य संयोजक दिनेेश प्रसाद यादवले युवाहरूबीच बढ्दो मानसिक तनाव, डिप्रेसन, र आत्महत्या जस्ता समस्याबारे तथ्यसहित प्रष्ट पार्नुभयो । उहाँले मानसिक स्वास्थ्यलाई शरीरको स्वास्थ्य सरह ध्यान दिनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सोही अवसरमा सामाजिक अभियन्ता सोनु कुशवाहाले भन्नुभयो, “युवाहरूले मानसिक समस्यालाई लुकाउने होइन, खुलेर कुरा गर्नुपर्छ । समस्या चिर्न सक्ने शक्ति युवासँग नै हुन्छ।” अर्का वक्ता रामअधार यादवले मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउने यस्ता तालिमहरू विद्यालय र समुदायस्तरसम्म लैजानु पर्ने धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा पत्रकारहरूले केही युवा पुस्ताहरू गलत कुलतमा फसेर मानसिक तनावकाे सिकार बनेकाे खुलासा गरेका थिए । मानसिक रूपमा सशक्त युवाबिना देशको विकास सम्भव छैन।”

तालिममा इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई धर्मेन्द्र पौडेलले घरेलु हिंसा, आत्महत्या, लागूपदार्थ दुरुपयोग जस्ता सामाजिक समस्याका कारण युवामा देखिने मानसिक तनावबारे जानकारी दिनुभयो । उहाँले यस्तो अवस्थाबाट उम्कन परिवार, समाज र राज्यको त्रिस्तरीय सहयोग आवश्यक हुने बताउनुभयो ।

कार्यक्रमले सहभागी युवाहरूमा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजक संस्था नेपाल युवा नेतृत्व विकास केन्द्रले जनाएको छ ।

आरके श्रीवास्तव,रौतहट,असाेज ०२ गते

सुशासन प्रवर्द्धन तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको भावना अनुरूप जिल्ला प्रशासन कार्यालय रौतहट र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूबीचको संयुक्त छलफलबाट १९ बुँदे महत्वपूर्ण निर्णयहरू गरिएका छन् ।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बिनोद कुमार खड्का र जिल्लाभरिका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूबीच सम्पन्न छलफलपछि “सुशासनमा हाम्रो प्रतिबद्धता, भ्रष्टाचार विरुद्ध हाम्रो कटिबद्धता” भन्ने मूल नारासहितका निर्णयहरू कार्यान्वयनमा ल्याइने जनाइएको छ ।

प्रजिअ खड्काले कानुनी शासन, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले भएका यी निर्णयहरूले सरकारी कार्यशैलीमा अनुशासन र प्रभावकारिता थप्ने विश्वास व्यक्त गरेका छन् ।

प्रमुख निर्णयहरू यस्ता छन्:

१. इन्धन वितरणमा प्रचलित कानूनको पालना गर्दै पारदर्शी व्यवस्था गरिने।
२. व्यक्तिगत प्रयोजनमा सरकारी सवारी र इन्धन प्रयोगमा प्रतिबन्ध।
३. पालिका वा जिल्ला बाहिर काजमा जाने सार्वजनिक पदाधिकारीले औचित्यसहित जानकारी दिनुपर्ने।
४. व्यक्तिगत प्रयोजनको खर्चको भुक्तानी नगरिने।
५. सम्पूर्ण आय–व्ययको विवरण वेबसाइटमा अनिवार्य रूपमा प्रकाशन गरिने।
६. बजेट र खर्च विवरण वेबसाइटमा राखेपछि मात्र निकासा हुने।
७. मासिक आय–व्यय विवरण सार्वजनिक नगरेसम्म तलब भत्ता निकासा नगर्ने।
८. शाखा प्रमुखहरूको सिफारिसबिना निकासा प्रक्रिया अगाडि नबढ्ने।
९. मौखिक आदेशमा कुनै पनि योजना सञ्चालन नगर्ने।
१०. प्रत्येक तीन महिनामा स्वतः सूचनाप्रकाशन (Proactive Disclosure) गर्ने।
११. आन्तरिक नियन्त्रण प्रणाली बिना भुक्तानी नगर्ने।
१२. रेडबुकबाहेक अन्य चन्दा, दान वा सहायताको भुक्तानी नगर्ने।
१३. सामग्री खरिदमा पूर्ण कानुनी प्रक्रिया पालना अनिवार्य।
१४. योजनापछि सार्वजनिक परीक्षण गर्नुपर्ने।
१५. स्थानीय तहले नियमित रूपमा सार्वजनिक सुनुवाई गर्नुपर्ने।
१६. कार्यालय प्रमुखले अधिकार प्राप्त निकायबाट स्वीकृति लिएर मात्र बिदा बस्ने।
१७. सुशासन र भ्रष्टाचार विरुद्ध सामूहिक ऐक्यबद्धता जनाउने।
१८. प्रमुख प्रशासकीय अधिकृत नहाजिर रहेका तहमा साविकका अधिकृतबाट अति आवश्यक भुक्तानी मिलाउने।
१९. अन्य सम्पूर्ण कार्य स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुनबमोजिम गरिने ।

प्रजिअ खड्काले सबै स्थानीय तहहरूलाई यी निर्णयहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिइसकेको जनाएका छन्। उनले नागरिक सेवामा विश्वास र पारदर्शिता कायम राख्न यस प्रकारका कदमहरू अत्यावश्यक रहेको बताए ।

यस निर्णयले जिल्लामा सुशासन र उत्तरदायित्वमूलक सेवा प्रवाहमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।