अब्दुल सलाम,राैतहट,भदौ २२ गते ।
लामो समयदेखि सामाजिक अभियन्ताको रुपमा सक्रिय रहँदै आएका युवा अब्दुल सलामले हालै सरकारले सामाजिक सञ्जालमा सरकारका कामकारबाहीबारे प्रत्यक्ष टिप्पणी तथा आलोचना गर्न रोक लगाउने निर्णयको कडा आलोचना गरेका छन्।
उनका अनुसार, सामाजिक सञ्जाल आजको युगमा नागरिकले आफ्ना विचार अभिव्यक्त गर्ने सशक्त माध्यम हो, र यसमा नियन्त्रण लगाउनु अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष प्रहार हो।
लोकतान्त्रिक मुल्य–मान्यतामा विश्वास गर्ने सरकार आफैंले आलोचना सहन नसक्ने हो भने त्यसले निरंकुशताको संकेत दिन्छ, सलामले बताएका छन्।
उनले सरकारको उक्त निर्णयलाई गैरजिम्मेवार र अलोकतान्त्रिक कदम भन्दै खारेज गर्न माग गरेका छन्। साथै, यस्तो निर्णयले सरकारप्रति जनताको विश्वास थप कमजोर हुने चेतावनी पनि दिएका छन्।
सलाम विगत केही वर्षदेखि सामाजिक विकृति–विसंगति विरुद्ध, जनताको हकअधिकारका लागि, तथा राज्यका गलत नीतिहरूको विरोधमा आवाज उठाउने युवा स्वरको रुपमा परिचित छन्।
उनका अनुसार,सञ्चार माध्यम र सामाजिक सञ्जाल कुनै पनि लोकतान्त्रिक मुलुकको मेरुदण्ड हो। यदि त्यसलाई बन्द गर्न खोजिन्छ भने त्यो राष्ट्रको स्वतन्त्रता, पारदर्शिता र जवाफदेहिताको अन्त्यतिर उन्मुख हुने संकेत हो।
अब्दुल सलाम जस्ता सचेत र क्रियाशील युवाहरुको आवाजले अहिलेको परिस्थितिमा नागरिक सचेतना र जिम्मेवार शासन प्रणालीका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास समाजका धेरै वर्गले व्यक्त गरेका छन्।
ओम प्रकाश यादव,रौतहट,भदौ २२ गते ।
रौतहटको नेकपा एमालेकी महिला नेतृ जमुना साहले केहीदिन अघि मात्र आगोले जलेर मृत्यु भएका लक्षमण पासवानको परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेकी छन् ।
रुबी हत्याकाण्डको मुख्य आरोपित रहेका लक्षमण पासवानले आफैले शरीरमा आगो लगाई आत्मदाह गरेपछि उनको श्राद्ध र भोजभतेरको लागि महिला नेतृ साहले खाद्यान्न सामग्री उपलब्ध गराएकी हुन्।
माधवनारायण नगरपालिकाकी उपप्रमुख प्रत्यासी समेत रहेकी माधोपुर घर भएकी नेकपा एमाले नेतृ जमुना साहले आर्थिक अवस्था निकै कमजोर भएका लक्षमण पासवानको परिवारलाई आफ्ना व्यक्तिगत तर्फबाट खाद्यान्न सामग्री सहयोग गरेकी छन्।

नेतृ साहले माधवनारायण नगरपालिका -६ माधोपुर घर भएका पासवानका बुबा र श्रीमतीलाई ५० किलो चिउरा, ५० किलो आलु, २० किलो चिनी, ४० किलो दही, १० किलो चना, १० किलो प्याज, खाने तेल ५ किलो लगाएतका खाद्यान्न सामग्री हस्तान्तरण गरेकी हुन् ।
लक्षमण पासवानको मृत्युपछि आर्थिक अवस्था निकै कमजोर रहेका उनका परिवारलाई पासवानको श्राद्धमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले खाद्यान्न सामग्री सहयोग गरेको नेतृ जमुना साहले बताइन् ।
आर्थिक अवस्था निकै दयनीय रहेका पासवानको परिवारलाई क्रिया र श्राद्ध गर्न पैसाको अभावमा कुनै सामान किन्ने अवस्था नरहेकोले केही सहयोग होस भन्ने उद्देश्यले आफूले खाद्यान्न सामग्री उपलब्ध गराएको उनले बताइन् ।
चर्चित सुटकेस काण्ड रुबी साह हत्याकाण्डका मुख्य आरोपित लक्षमण पासवानको केहीदिन अघि मात्र उपचारको क्रममा मृत्यु भएको थियो।
बुबाको एक्लो छोराको रूपमा रहेको पासवानको मृत्युपछि आर्थिक रुपमा निकै कमजोर र विपन्न रहेका उनको परिवार अहिले विचलिमा परेका छन्।
पासवानको दुई छोरा र श्रीमती छन् भने उनको बुबा र आमा पनि छन् ।
लक्ष्मणको मृत्यु पछि उनको सिंगो परिवार नै ठूलो आर्थिक समस्यामा परेका छन् ।
आरके श्रीवास्तव,राैतहट,भदौ २२ गते ।
रौतहटको गरूडा देखि समनपुर जोड्ने मुख्य सडकखण्ड अन्तर्गत चाँदी खाेला भन्दा अगाडि र मलाहीटाेलकाे बिचमा कज्वे क्षेत्र नजिकैको सडकमा पानीको ओभरफ्लो हुँदा आवागमनमा समस्या हुँदै आएको छ । अलिकति पानी परे पनि सडकमा पानी जमेर बग्ने अवस्था सिर्जना हुने गरेको छ, जसले गर्दा दैनिक आवतजावत गर्ने सर्वसाधारण तथा सवारीसाधनलाई ठूलो सास्ती हुने गरेको छ ।
स्थानीयहरूका अनुसार वर्षा भएलगत्तै सडकभरि पानी जमेर नदीझैं बग्ने स्थिति आउँछ । यस बाटो भएर विद्यार्थी, कर्मचारी, व्यापारीदेखि लिएर एम्बुलेन्स र भिआइपि सवारीसम्म गुड्ने गर्दछन् । तर यस्तो गम्भीर समस्याप्रति सम्बन्धित निकायको ध्यान जान सकेको छैन् ।
“हाम्रो माग कुनै नयाँ सुविधा होइन, यतिका वर्षदेखि यो समस्यालाई सम्बन्धित निकायहरूले वेवास्ता गरिरहेका छन्,” एक स्थानीयले गुनासो गरेका छन् । उनका अनुसार खासगरी विद्यालय समयमा विद्यार्थीहरू भीडमा जोखिम मोल्दै स्कुल जान बाध्य छन् ।
यो सडकखण्ड सडक डिभिजन राैतहट तथा स्थानिय तहको जिम्मेवारी क्षेत्रभित्र पर्छ । तर अहिलेसम्म स्थायी समाधानका लागि कुनै पहल नदेखिएको भन्दै स्थानीयवासीहरू आक्रोशित छन् ।
स्थानीय प्रशासन तथा सडक डिभिजन कार्यालयले समस्या समाधानका लागि तत्काल ध्यान नदिए जनप्रदर्शन गर्ने चेतावनीसमेत स्थानीयहरूबाट आएको छ ।
काठमाडौँ, भदौ २१ गते ।
आगामी २०८२ साल अर्थात भदौ २२ र २३ गते लाग्ने खग्रास चन्द्रग्रहण नेपालबाट प्रत्यक्ष अवलोकन गर्न सकिने खगोलविद्हरूले जानकारी दिनुभएको छ ।
नेपालसँगै यो ग्रहण युरोप, अफ्रिका, एसिया र अष्ट्रेलियाबाट देखिने भए पनि उत्तर र दक्षिण अमेरिकाबाट भने देखिने छैन । खग्रास अवस्थामा चन्द्रमा रातो देखिने भएकाले यसलाई ‘रक्तिम चन्द्र’ पनि भनिन्छ ।
बी.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, कीर्तिपुर, काठमाडौंका कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार ग्रहणको समयसूची (नेपाली समय अनुसार) :
विरल छायाँले ढाक्न सुरु गर्ने : २२ गते राति ९ः१३ बजे
खग्रास सुरु (सघन छायाँले ढाक्ने) २२ गते राति ११ः१५ बजे
ग्रहणको मध्य : २२ गते राति ११ः५६ बजे
खग्रास समाप्त (सघन छायाँले हट्ने) २३ गते बिहान १२ः३७ बजे
विरल छायाँ हट्ने : २३ गते बिहान २ः४० बजे
जम्मा अवधिः ५ घण्टा २७ मिनेट

चन्द्रग्रहण देखिने कारण
पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा सूर्य, पृथ्वी र चन्द्रमा एउटै सरल रेखामा पर्दा पृथ्वी बीचमा आउँछ । यस क्रममा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ र पृथ्वीबाट चन्द्रग्रहण देखिन्छ । यो घटना पूर्णिमाको रातमै हुने गर्दछ ।

अवलोकन र प्रभाव
चन्द्रग्रहण खाली आँखाले नै सजिलै अवलोकन गर्न सकिन्छ । वैज्ञानिक अध्ययनअनुसार ग्रहणको मानव जीवनमा कुनै पनि नकारात्मक प्रभाव नपर्ने प्रष्ट तथ्य उपलब्ध भएको छ । सभार गोरखापत्र
आरके श्रीवास्तव,राैतहट,भदौ २२ गते ।
२२ औं निजामती सेवा दिवसको अवसरमा मालपोत कार्यालय गरुडा, रौतहटमा विशेष सरसफाइ तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा कार्यालयका कर्मचारीहरूबीच आपसी सहकार्य र सेवा भावनाको सम्मानस्वरूप उत्कृष्ट कर्मचारी छनोट गरि सम्मान गरिएको हो ।

उक्त अवसरमा मालपोत कार्यालयमा कार्यरत सुब्बा अरविन्द कुमार यादवलाई उत्कृष्ट कार्यसम्पादन, इमान्दारिता, शिष्ट व्यवहार तथा सेवा प्रतिको समर्पणका आधारमा “सर्वोत्कृष्ट कर्मचारी” घोषणा गर्दै सम्मान पत्र प्रदान गरिएको छ ।

कार्यालय प्रमुख मालपोत अधिकृत मोहन कुमार पाठकले यादवको योगदानले कार्यालयको प्रतिष्ठा अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता कर्मचारीहरूबाट प्रेरणा लिइने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा सरसफाइ अभियान पनि सञ्चालन गरिएको थियो, जसमा सम्पूर्ण कर्मचारीहरूको सक्रिय सहभागिता रहेको मालपोत कार्यालय गरूडाका कर्मचारी हरिन्द्र प्रसाद यादवले जानकारी गराउनु भएको हाे ।
मालपोत कार्यालय गरुडाले निजामती सेवा दिवसलाई सेवा, इमानदारी र समर्पणको भावना अभिवृद्धि गर्ने अवसरको रूपमा उपयोग गर्दै आएको छ ।
२२ भदौ, काठमाडौँ ।
सूचना प्रविधिको क्षेत्रको अग्रणी संस्था कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)ले सामाजिक सञ्जाललाई सूचीकरणमार्फत नियमन गर्ने सरकारको मूल उद्देश्यप्रति समर्थन जनाएको छ । महासङ्घले कानुनी दायरामा ल्याउने पहल सकारात्मक भए पनि निष्क्रिय बनाउने कार्यका कारण ल्याउन सक्ने असरप्रति सचेत रहन आग्रह गरेको छ ।
नेपालमा सूचीकरण नभएकै कारण अपराध, गलत सूचना र व्यक्तिगत सुरक्षासम्बन्धी समस्यामा औपचारिक सम्पर्क कार्यालय नहुनु चुनौती भएको महासङ्घले जनाएको छ ।
“सामाजिक सञ्जाल दर्ता प्रक्रियामा ल्याउने सरकारको निर्णयलाई हामी सकारात्मक रूपमा लिन्छौँ । यसले प्रयोगकर्ताको सुरक्षामा टेवा पुग्नेछ, साइबर अपराध नियन्त्रण र राजस्व वृद्धिमा योगदान गर्नेछ । तर फेसबुक, एक्स, युट्युबजस्ता महत्त्वपूर्ण प्लेटफर्महरू एकैपटक बन्द गर्दा शिक्षा, व्यवसाय, सञ्चार र आमनागरिकको दैनिकीमा गम्भीर असर पर्न सक्छ”, महासङ्घकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले भने । यो घटनाले नेपाल विश्वसँग डिजिटल रूपमा पछाडि पर्न सक्ने जोखिम पनि उत्तिकै रहेको भन्दै अध्यक्ष पाण्डेले यस्तो कदमलाई चरणबद्ध रूपमा अघि बढाउँदै सरोकारवालासँग पर्याप्त छलफल गरेर व्यावहारिक समाधान ल्याउनुपर्नेमा जोड दिए ।
महासङ्घका अनुसार नेपालमा करिब ७० प्रतिशत साना तथा मझौला व्यवसाय सामाजिक सञ्जालमार्फत बजार विस्तार र ग्राहक सम्पर्कमा निर्भर छन् । त्यस्तै, सामाजिक सञ्जालमार्फत कन्टेन्ट राखेर आयआर्जन गर्ने ठूलो सङ्ख्यामा प्रयोगकर्ता रहेका कारण प्रतिबन्धले रोजगारी गुम्ने र व्यवसाय धरासायी हुने खतरा देखिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले परिवारसँग सम्पर्क गर्ने प्रमुख माध्यम रोकिँदा सामाजिक सम्बन्ध र मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने पनि महासङ्घले जनाएको छ ।
अध्यक्ष पाण्डेले सामाजिक सञ्जाल निष्क्रिय गराउने कार्यलाई अन्तिम समाधानका रूपमा नलिई नियमनलाई दीर्घकालीन रणनीति बनाउनुपर्नेमा जोड दिए । महासङ्घले स्पष्ट कानुनी ढाँचा तयार पार्दै नेपालमा सम्पर्क विन्दु अनिवार्य गर्ने र लगानीमैत्री वातावरण निर्माण गर्न सकेमात्र यो समस्याको दीर्घकालीन समाधान सम्भव हुने उल्लेख गरेको छ ।
क्यान महासङ्घका महासचिव चन्द्रविलास भुर्तेलले सामाजिक सञ्जाल बन्द भएमा भिपीएन र ओपन डिएनएसको प्रयोग अत्यधिक बढ्ने र यसले साइबर सुरक्षामा गम्भीर जोखिम निम्त्याउने धारणा राखे । महासङ्घले अन्तरराष्ट्रिय अभ्यासलाई आधार बनाउँदै नेपालले पनि व्यवस्थित र व्यावहारिक कानुनी संरचना बनाउनुपर्नेमा जोड दिएको छ ।
सन्तुलित नियमनमार्फतमात्र सामाजिक सञ्जाललाई व्यवस्थित र सुरक्षित बनाउन सकिनेमा क्यान महासङ्घले जोड दिएको छ । यस विषयमा जिम्मेवार निजी क्षेत्रको हैसियतमा सरकारसँग प्राविधिक अध्ययनमा सहयोग गर्ने, अन्तरराष्ट्रिय अभ्यास साझा गर्ने र सरोकारवालासँग निरन्तर संवाद गर्ने प्रतिबद्धतासमेत महासङ्घले जनाएको छ । सुर्य खबर