भदौ १२, काठमाडौं ।
एनआईबीएल इक्विटी पार्टनर्स र हिमालयन जाभा कम्पनीबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ ।
बिहीबार नक्सालस्थित आयोजित एक समारोहमा एनआईबीएल इक्विटी पार्टनर्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र हिमालयन जाभाको तर्फबाट संस्थापक गगन प्रधानले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । नेपाली ब्रान्ड र मौलिकतालाई विश्व बजारमा पुर्याउने र प्रवर्द्धन गर्ने उद्देश्यका साथ लगानी सम्झौता गरिएको हो । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले यो लगानीले नेपाली व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न थप सक्षम र सबल बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हिमालयन जाभालाई अन्तर्राष्ट्रिय विश्व बजारमा स्थापित गर्न चाहेका छौं र यो हाम्रो दीर्घकालीन प्रतिबद्धता समेत हो ।” उक्त अवसरमा हिमालयन जाभाका संस्थापक गगन प्रधानले एनआईबीएल इक्विटी पार्टनर्सको लगानीले वैश्विक बजारमा पुग्न थप आत्मबल प्राप्त भएको धारणा राख्नुभयो । “यो साझेदारी हाम्रो यात्राको एक महत्वपूर्ण मोड हो, स्वदेशमै रोजगारी सिर्जना गर्ने र व्यावसायिक तालिम मार्फत् दिगो वृद्धितर्फ हामी प्रतिबद्ध छौं”, उहाँले भन्नुभयो ।
यो साझेदारी तथा लगानीको मुख्य उद्देश्य नै हिमालयन जाभालाई विश्व बजारमा विस्तार गर्ने रहेको छ । जसको थालनी एशिया र अष्ट्रेलियाबाट हुनेछ । यसका साथै नेपालभित्र नयाँ आउटलेट सञ्चालनमा ल्याउन सहयोगसमेत पुग्नेछ । नेपाली ब्रान्डलाई विदेशसम्म लैजाने रणनीति अन्तर्गत एनआईबीएल इक्विटी पार्टनर्सले लगानी गरेको जनाएको छ ।
सन् १९९९ मा स्थापना भएको कफी ब्रान्डले नेपालमा ७० भन्दा बढी आउटलेट, १८ हिमालयन जाभा एक्सप्रेस आउटलेट र दुईवटा उच्च श्रेणीको Gallery by Himalayan Java आउटलेटहरु सञ्चालन गर्दै आइरहेको छ ।
यस लगानीले हिमालयन जाभाको बिक्री वृद्धि हुने, विश्व बजारमा निर्यात गर्ने अवसरको सम्भावना बढाउने विश्वास लिइएको छ । यसका साथै किसान, रोस्टर, बारिस्टा र फ्रेन्चाइज चेनभित्र समावेश हुने सबैलाई महत्वपूर्ण अवसर सिर्जना हुने एनआईबीएल इक्विटी पार्टनर्सले अपेक्षा गरेको छ ।
काठमाडौं, भदौ १३ ।
उखु किसान आन्दोलन पाँचौँ दिन पनि निरन्तर जारी रहेको छ । सरकारले उखु किसानलाई दिँदै आएको बक्यौता अनुदान रकम ७० रुपैयाँबाट घटाएर ३५ रुपैयाँमा झारेको यस वर्षदेखि अनुदान रकम हटाएको विरोधमा किसानहरू काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् ।
रौतहटका उखु उत्पादक संघका अध्यक्ष अशोक यादवले सरकार माग पूरा नगरेसम्म आन्दोलन नरोकिने स्पष्ट पार्नुभयो । उहाँले किसानहरूको लामो समयदेखिको श्रम र लगानीप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै बक्यौता अनुदान कटौती गर्नु अन्यायपूर्ण निर्णय भएको बताउनुभयो ।
चार दिनदेखि जारी आन्दोलनमा आज पनि किसानहरू माइक, प्लेकार्ड र नाराबाजीसहित सहभागी भएका छन् । उनीहरूको प्रमुख माग बक्यौता अनुदान पुनः ७० रुपैयाँ कायम गर्नुपर्ने र उखु मूल्य निर्धारणमा किसानको सहभागिता सुनिश्चित गर्नुपर्ने रहेका छन् ।
उखु किसानको आन्दोलनप्रति विभिन्न राजनीतिक दलका नेताहरूले ऐक्यबद्धता जनाएका छन् । उनीहरू माइतीघर मण्डलामा पुगेर किसानका मागहरू जायज रहेको भन्दै सरकारलाई चाँडो समाधान खोज्न आग्रह गरिरहेका छन् ।
किसानहरूले आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिँदै सरकारसँग वार्ताको तयारी भए पनि ठोस प्रस्ताव नआउँदासम्म आन्दोलन नरोकिने बताएका छन् ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ १३ गते ।
राैतहटकाे कटहरिया नगरपालिकामा आज एक विशेष कार्यक्रमका बीच स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्रको स्थापना गरिएको छ । नगर प्रमुख अजय प्रकाश जयसवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव एमेन्द्र उपाध्याय र विशिष्ट अतिथि गृह, सञ्चार तथा कानुन मन्त्रालयका बिमल प्रसाद बरालको संयुक्त उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगर उपप्रमुख रिता देवी यादव, प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर लहेरा तथा गृह तथा कानुन मन्त्रालयका सचिवको पनि विशेष सहभागिता रहेको थियो । उनीहरूले संयुक्त रूपमा आपतकालिन कार्यसञ्चालन केन्द्रको कार्यालयको उद्घाटन गरेका छन् ।
यस उद्घाटन समारोहमा नगरपालिकाका सदस्यहरू, वडा अध्यक्षहरू, कर्मचारीहरू तथा अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा आपतकालीन व्यवस्थापनको सुदृढीकरण तथा स्थानीय तहको तयारी क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यका साथ केन्द्रको आवश्यकता र औचित्यबारे प्रकाश पारिएकाे थियोे ।
यसै क्रममा, केन्द्रको प्रमुख पदका लागि कौशल किशोर चौधरीलाई थप जिम्मेवारी दिइएको छ । चौधरी अब आपतकालीन अवस्थाहरूमा समन्वय, व्यवस्थापन र सूचनाको प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।
कटहरिया नगरपालिकाले यस केन्द्रमार्फत बाढी, डुबान, आगलागी, भूकम्प लगायतका प्राकृतिक तथा मानवजन्य विपद्हरूको प्रभावकारी व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
राजिव साह,सर्लाही,भदौ १३ गते ।
प्रहरीले विशेष सूचनाका आधारमा हातहतियारसहित एक युवालाई पक्राउ गरेको छ । रामनगर गाउँपालिका–०७, सिसौट टोलका २५ वर्षीय किशन महरा भारतको सोनवर्षाबाट मलंगवातर्फ आउँदै गर्दा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईका अनुसार बीआर–०६–डीएम–९५२३ नम्बरको मोटरसाइकलमा सवार महरालाई प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो। प्रारम्भिक सोधपुछमा उनले आफूले बोकेको हतियार बागमती नगरपालिका–०४, जिरायत टोलका १८ वर्षीय श्याम महरालाई राख्न दिएको बताएका थिए।
श्याम महरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दा उनले सो हतियार बागमती नगरपालिका–१२, बागमती नदी किनारमा राखेको बताएका थिए। त्यसपछि प्रहरीले त्यही स्थानबाट कटुवा पेस्तोल एक नाल बरामद गरेको डिएसपी राईले जानकारी दिनुभयो।
पक्राउ परेका दुवैजनामाथि सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं, १२ भदौ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) शाहको नाकैमुनि दिनहुँ नाराबाजी सहित आन्दोलन जारी छ । बालेन र महानगरबिरुद्धको कबाड व्यवसायीको आन्दोलनमा उत्साहजनक सहभागिता रहेको छ । आज (बिहीबार) चौथो दिन पनि आन्दोलन जारी छ । बर्षाका बीच पनि आन्दोलनकारीहरु नाराबाजी सहित आन्दोलनमा सहभागि छन् ।
काठमाडौं महानगरपालिकाको ज्यादतीबिरुद्ध कबाड व्यवसायीलेले थालेको आन्दोलन अझै शसक्त र कडा बनाउने आन्दोलनकारीहरु बताउँछन् । भृकुटीमण्डपबाट शुरु भएको कबाड व्यवसायीको प्रदर्शन कमलादी स्थित काठमाडौं महानगरपालिकाको कार्यालय समेत घेराउ गरेको छ ।

कबाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले कबाड व्यवसायीमाथि ज्यादती गरिरहेकाले शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताए । सर्वोच्चको आदेश पालना गर्नुपर्ने र कबाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्नदिनुपर्ने माग गर्दै उनले अब बालेन बाहेक अरुसंग कुनै वार्ता नहुने बताए ।
‘सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कवाड व्यवसायमा तोडफोड सहितको अत्याचार बिरुद्ध कबाड व्यवसायीले शान्तिपूर्ण आन्दोलन गरिरहेको छ,’ गुप्ताले भने, ‘सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने र हामीले शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न पाउनुपर्ने हाम्रो माग हो । बालेनको कार्यालय अगाडी हामी दिनहुँ प्रदर्शन गर्दै आन्दोलनलाई अझ शसक्त र कडा बनाउने छौं । हाम्रो बार्ता बालेन बाहेक अब अरु कसैसंग पनि हुदैन् ।’
सर्वोच्च अदालतले दिएको आदेशको पालना गर्ने प्रतिबद्धता बालेनले नगरेसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने बताउदै उनले कानूनको पालना गर्ने प्रतिबद्धता बालेनले नगरेसम्म आन्दोलन नरोकिने बताए ।
कबाड आन्दोलनमा सहभागिहरुले सर्वोच्च अदालतको आदेश पालना गर, कबाड व्यवसायीमाथिको अत्याचार बन्द गर, बालेनको गुण्डागर्दी एवं तोडफोड बन्द गर, बालेन तेरो पाराले दुख पायो साराले लगायतका नारा लगाएका छन् ।
संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरूतत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानुनी कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।
त्यसैगरी, कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।