काठमाडौं,६ गते भदौ । लोकतान्त्रिक महिला संघको आयोजनामा तीज पर्वको अवसरमा आज लोसपा नेपालको केन्द्रीय कार्यालय, बबरमहलमा एक भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका शीर्ष नेतृत्वदेखि विभिन्न भातृसंस्थाका प्रतिनिधिहरूसम्मको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा विशेष अतिथि तथा लोसपा नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले महिलाको सामाजिक, सांस्कृतिक र राजनीतिक योगदानको प्रशंसा गर्दै तीज जस्ता पर्वहरूले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने बताए। उनले भने, “तीज मात्र नाचगानको उत्सव होइन, यो महिलाहरूको अधिकार र आत्मसम्मानको प्रतीक पनि हो। लोकतान्त्रिक महिला संघले यस्तो पहल गर्नु निकै सराहनीय छ।”

प्रमुख अतिथि तथा पार्टीका वरिष्ठ सह अध्यक्ष सर्बेन्द्रनाथ शुक्लाले तीजको सांस्कृतिक र सामाजिक महत्वबारे चर्चा गर्दै महिलाहरूको सशक्तीकरणमा यस्ता कार्यक्रमले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । उनले भने, “यस्ता सांस्कृतिक कार्यक्रमहरूले राजनीतिक आन्दोलनमा समेत ऊर्जा दिने काम गर्छन्। महिलाहरूको सहभागिता बिना सशक्त लोकतन्त्र सम्भव छैन।”

त्यसैगरी, लोकतान्त्रिक पत्रकार संघका अध्यक्ष कामरेन्द्र वर्माले महिलासम्बन्धी कार्यक्रमहरूमा सञ्चारकर्मीको भूमिका उल्लेखनीय हुने भन्दै यस्ता उत्सवहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् ।
लाेसपा नेपालका प्रवक्ता एवम् उपाध्यक्ष डा.अभास लाभ सुमधुर गित सुनाएर सबैजना मनाेरंजन गराउनु भएको थियोे । साथै वहाँले महिलाकाे साथमा आफूहरू सधैं रहने प्रतिबद्धता जनाउनु भएको थियोे ।

कार्यक्रमकी अध्यक्षता गर्दै लोकतान्त्रिक महिला संघकी अध्यक्ष मिनु ठाकुरले तीज पर्व महिला सशक्तीकरणको प्रेरणास्रोत भएको उल्लेख गरिन्। उनले भनिन्, “हाम्रो संघले महिलाहरूको हकहितका लागि निरन्तर काम गरिरहेको छ। आजको तीज उत्सव त्यसको एउटा सांस्कृतिक प्रतिबिम्ब हो।”
कार्यक्रममा लाेसपा नेपालका महासचिव मनिष मिश्र,डा.सुरेन्द्र झा,सितल यादव,लाेकतान्त्रिक युुवा संघका सुजन यादव,लाेकतान्त्रिक बिद्यार्थी संघका अध्यक्ष राेशन मिश्रा ,पार्टीका सचिव अजय झा, लाेकतान्त्रिक पत्रकार संघका बरिस्ठ उपाध्यक्ष बिजेता चाैधरी,महासचिव सुस्मिता लाल,चन्द्रमाेहन चाैधरी सहित पार्टीका अन्य वरिष्ठ नेता, विभिन्न भातृसंगठनका प्रतिनिधि, महिला संघका पदाधिकारी, पत्रकार, सांस्कृतिक कलाकार र कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । तीजको अवसरमा सांस्कृतिक कार्यक्रम, गीत-संगीत र नृत्य प्रस्तुत गरिएको थियो, जसले उपस्थित सबैलाई रमाइलो बनाएकाे थियोे ।
ओम प्रकाश यादव,राैतहट,भदौ ६ गते ।
रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले जनताको समस्या बुझ्न जनताको घरदैलोमा व्यस्त हुन थालेका छन्।
मेयर जयसवालले नगरको विभिन्न गाउँ टोलमा गएर आम जनतासंग प्रत्यक्ष भेटघाट गरी उनीहरुको समस्या, जिज्ञासा, आवस्यकता, बुझिरहेका छन्।
जनताको हरेक समस्या समाधान गर्ने र आवस्यकता पुरा गर्ने उद्देश्यले आफूले जनताको घरदैलोमा जान थालेको मेयर जयसवालले बताए ।
सबै जनता कार्यालयमा आएर समस्या राख्न नसक्ने भएको तथा जनताको बीचमा नगई जनताको आवश्यकता र समस्या बुझ्न नसकिने भएको हुँदा आफू घरदैलोमा गएर जनताको कुरा सुन्ने काम गरिरहेको उनले बताए।
नगरपिताको हैसियतले निर्वाचित नगर प्रमुख स्वयंम जनताको बीचमा गएर उनीहरूसँग प्रत्यक्ष सम्वाद गरी समस्या बुझ्नुु आम जनताको लागि गौरवको विषय हो, निर्वाचित जनप्रतिनिधिले जनताको बीचमा गएर जनतासंग भेटघाट र छलफल गर्नुपर्छ ।
जनप्रतिनिधि जनतासंग भाग्ने होइन जनताको बीचमा गएर जनताको कुरा सुन्ने, समस्या बुझ्ने र समाधान गर्ने साहस, आँट राख्न सक्नुपर्दछ ।
गरुडा नगर प्रमुख जयसवालले आज गरुडा न.पा.–९ श्रीपुर र रघुनाथपुरका बिभिन्न टोल–टोलमा पुगेर स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै समस्या, आवश्यकता र विकासका प्राथमिकताहरू बुझ्ने प्रयास गरेका हुन् ।
जनताको आवश्यकता र समस्या बुझ्न आफू जनताको घरदैलोमा पुग्ने गरेको मेयर जयसवाल बताउँछन् ।
जनताको साथ र सुझावका आधारमै नगरलाई अझ समृद्ध र सक्षम बनाउन निरन्तर प्रयासरत रहने उनले बताए।
जनताबाट प्राप्त हुने सुझावको आधारमा आफू अगाडि बढ्दै जनताको हरेक इच्छा आकांक्षा पूरा गर्ने उनले प्रतिबद्धता जनाए।
घरदैलो सकेपछि जनताको हरेक समस्या समाधान गर्न कुनै कसर बाँकी नराख्ने बताउँदै उनले जनताको हरेक आवस्यकता पुरा गरेर छाड्ने उद्घोष गरे ।
काठमाडौं, ६ भदौ । आम जनता पार्टी (आजपा) ले विगतमा कारवाही गरी पार्टीबाट निष्काशन गरिसकेका केही व्यक्तिलाई आजपाकै हैसियतमा टिका लगाएर एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी प्रवेश गरेको भन्दै भ्रमपूर्ण एवं झुठको प्रचार गरिरहेको जनाएको छ ।
आजपा अध्यक्ष प्रभु साहले विगतमा विभिन्न आरोपमा कारवाही गरिसकेका व्यक्तिलाई आजपाकै हैसियतमा प्रधानमन्त्री ओलीले पार्टी प्रवेश गराउदै भ्रमपूर्ण एवं झुठको प्रचारमा लागेको जनाएका छन् ।
‘चैत्र महिनामै आम जनता पार्टीको साधारण सदस्यबाट निकालिएको उपेन्द्र साह र आषाढ़ महिनामै ठगी आरोपमा निष्कासित मनोज यादव लगायतकालाई एमाले अध्यक्षले आजपाकै नेताको हैसियतमा टिका लगाएर ‘आजपाको दर्जनौ ठुलो नेताहरु एमालेमा प्रवेश’ गरेको भ्रमपूर्ण एवं झूठ प्रचार गरिरहेकोछ । प्रधानमन्त्री जस्तो सम्मानित पदमा रहेका व्यक्तिले यस्तो सफेद झूठ कतिको उचित छ ? प्रधानमन्त्रीज्यू सिमित स्वार्थको लागि जे पनि प्रचार गर्ने कार्य बन्द गर्नुस । यस्तो भ्रमपूर्ण प्रचारले तपाईबाट समाजले के शिक्षा लिने ? अलिकति पनि लेहाज गर्नुस,’ आजपा अध्यक्ष साहले भनेका छन् ।
अहिले आजपाकै नाम र विभिन्न जिम्मेवारीमा रहेकै जस्तै अन्य पार्टीमा प्रवेश गरेर झुठ र भ्रमपूर्ण प्रचार गरेर समाजले केही पनि नपाउने आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।
‘सडेगलेकालाई दुल्हीझै सिंगारेर घर भित्रयाए’ जस्तै भएको टिप्पणी गर्दै आजपाले हाल उनीहरु पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको स्पष्ट पारेको छ । आजपा प्रवक्ता साहले विगतमै बिभिन्न आरोपमा कारवाही गरिएका व्यक्तिले आजपाको यो वा त्यो जिम्मेवारीमा रहेको भन्दै अन्य पार्टीमा प्रवेश गर्नु लाजमर्दो भएको जनाएका छन् ।
साहलाई गत २६ चैतमा, र मनोज (राजन) यादवलाई गत ३१ असारमै पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरिसकेको प्रवक्ता साहले जनाएका छन् । पार्टीको विधान, नीति एवं कार्यक्रम विपरित कार्य गर्ने साह र नेटवर्किङ कारोबारबाट ठगी धन्दामा लागेको आरोप सहित पार्टीमा निवेदन परेपछि यादवलाई आजपाले कारवाही गरेको थियो ।
तर साह र यादव सहित अन्य केही व्यक्तिले आजपाको बिभिन्न जिम्मेवारीमा रहेको भन्दै आज नेकपा (एमाले)मा प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराएका हुन् । यसरी पार्टीबाट निकालिएकालाई सजाएर एमालेले भ्रमको खेती मात्रै गरिरहेको टिप्पणी आजपाको छ ।
बज्जिकाञ्चल संवाददाता,रौतहट, ०६ भदौ ।
प्रभु साह नेतृत्वमा रहेको आम जनता पार्टी (आजपा) का विभिन्न तहमा सक्रिय रहँदै आएका शीर्ष नेताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

एमाले प्रवेश गर्नेहरूमा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, केन्द्रिय सदस्य तथा प्रदेशसभा उम्मेदवार राजन यादव ‘मनोज’, महिला मोर्चा केन्द्रिय इन्चार्ज एवं पूर्व उपमेयर कान्ति देवी, केन्द्रिय सदस्य तथा पूर्व उपमेयर सिमल कुमारी साह, उपमेयर उम्मेदवार रिमा कुमारी यादव, सचिवालय सदस्य श्याम यादव, केन्द्रिय सदस्यहरू लालबहादुर साह, राजेश साह, श्यामनन्दन प्रसाद साह कानु, मुना साह कानु, रन्जन साह कानु लगायत दर्जनौं नेता कार्यकर्ता रहेका छन् ।

उनीहरूलाई काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्दै टिका र माला लगाई पार्टी प्रवेश गराएका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्ने सबै नेताहरूलाई स्वागत गर्दै देश र जनताको सेवामा सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए। ओलीले पार्टीमा आएको यो नयाँ उत्साहले संगठन अझ सशक्त हुने विश्वास व्यक्त गरेका छन् ।

नवप्रवेशी नेताहरूले एमालेलाई आफूहरूको राजनीतिक यात्राको नयाँ गन्तव्यका रूपमा रोजेको भन्दै पार्टी संगठन बलियो बनाउन सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उता, आजपाले भने पार्टीबाट पहिले नै निष्कासित गरिएका केही व्यक्तिहरूलाई पार्टीको नाम जोडेर प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ । पार्टीले यस्तो भ्रमपूर्ण गतिविधिबाट जनता झुक्किन नहुने स्पष्ट पारेको छ ।
जनकपुरधाम, ०६ गते भदौ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, मधेश प्रदेशको नव गठित प्रदेश कार्यकारिणी समितिको प्रथम बैठक आज शुक्रबारका दिन जनकपुरधाम स्थित प्रदेश पार्टी कार्यालयमा सम्पन्न भएको छ । उक्त बैठक पार्टीका केन्द्रिय वरिष्ठ उपाध्यक्ष तथा मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलको अध्यक्षतामा बसेको हो ।
बैठकमा नवनियुक्त प्रदेश पदाधिकारीहरु तथा कार्यकारिणी समितिका सदस्यहरुले औपचारिक रुपमा पदभार ग्रहण गर्नुका साथै सपथ लिएका छन् । बैठकमा विभिन्न एजेन्डाहरुमा गम्भीर छलफल, संगठन सुदृढीकरणदेखि प्रदेश सरकारसम्बन्धी विषयसम्मका महत्वपूर्ण निर्णयहरु पारित गरिएको छ ।

बैठकमा संगठन विस्तार एवं सुदृढीकरण,वडा, पालिका, निर्वाचन क्षेत्र, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशन,मुलुकको वर्तमान समसामयिक राजनीतिक अवस्था र मधेश प्रदेश सरकारसँग सम्बन्धित विषयहरु लगायत विविध विषयमा छलफल गरिएको बुझिएको छ ।
बैठकमा प्रदेश कार्यकारिणी सदस्यहरुद्वारा प्रस्तुत विभिन्न सुझाव तथा सल्लाहहरुमा समेत विस्तृत छलफल गरिएको थियो । सहभागी सदस्यहरुले पार्टीलाई प्रदेशस्तरमा अझ मजबुत बनाउँदै संगठनात्मक गतिविधिहरुलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पार्टी नेतृत्वले उक्त बैठकलाई अत्यन्तै सफल र दिशानिर्देशक भन्दै आगामी दिनमा प्रदेशस्तरमा पार्टीको प्रभावकारिता वृद्धि गर्ने रणनीति अनुरूप कार्य अघि बढाइने जानकारी दिएको छ ।
आरके श्रीवास्तव,राैतहट,०६ गते भदौ ।
राैतहटकाे फतुवाबिजयपुर नगरपालिकाको वडा नम्बर २ सीतलपुरदेखि वडा नम्बर ३ मेवा क्षेत्रसम्मको करिब २ किलोमिटर सडकमा आरसीसी ढलान र नाला निर्माण कार्य अगाडि बढ्ने भएको छ । करिब ३ करोड रुपैयाँको लागतमा बन्ने यो योजनाको लागि स्थलगत निरिक्षण/सर्वेक्षण सम्पन्न भएको छ ।

शहरी विकास मन्त्रालयअन्तर्गत सघन शहरी तथा भवन निर्माण कार्यालय वीरगञ्जका ईन्जिनियर रामविनय साहको नेतृत्वमा आएको प्राविधिक टोलीले बिहीबार सीतलपुर क्षेत्रमा पुगेर स्थल निरीक्षण तथा नापजाँच कार्य सम्पन्न गरेको हो । टोलीमा नासु मुकेश साह लगायत अन्य प्राविधिकहरू सहभागी थिए । स्थानीय भद्रभलाद्मीहरू, जनप्रतिनिधि तथा नागरिकहरूको पनि सक्रिय सहभागिता रहेको थियो ।
प्रत्येक निर्वाचन क्षेत्रमा ७ वटा याेजना छानाैट गर्नुपर्ने प्रावधान अनुसार आ.व.२०८२/८३ मा राैतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहकाे संसदीय याेजना अन्तर्गत पहिलाे याेजना रहेको आजपा नेता रामशरण यादवले जानकारी गराएका छन् । सांसद साहकाे विशेष पहलमा याे महत्त्वपूर्ण याेजना सुरु भएको उनकाे भनाइ छ ।

यो योजना अघि बढाउन नगरपालिकाको तर्फबाट देखाइएको सक्रियता उल्लेखनीय रहेको छ । कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले पनि योजना सहज बनाउन महत्वपूर्ण भूमिका खेलेकी छिन्।

उनले भनिन्, “स्थानीय तहमा जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने योजनाहरूलाई प्राथमिकतामा राखेर अघि बढिरहेका छौं। यो योजना पनि सोही प्रयासको हिस्सा हो। नगरवासीलाई गुणस्तरीय सडक र नाला सुविधा उपलब्ध गराउन हामी दृढ छौं । संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयबाट मात्रै दिगो विकास सम्भव छ।”
योजना वीरगंजस्थित सघन शहरी तथा भवन निर्माण कार्यालयमार्फत कार्यान्वयन गरिनेछ भने डिपिआर पनि नगरपालिकाकै समन्वयमा तयार गरिनेछ । ईन्जिनियर साहका अनुसार डिपिआर तयार गरी छिट्टै टेण्डर प्रक्रिया सुरु हुनेछ ।
साइट निरीक्षणको क्रममा मेयर प्रत्याशी विजय यादव “निर्बीज”, वडा नं. २ का अध्यक्ष अनिरूद्व प्रसाद यादव (संजय) स्थानीय अगुवाहरूको उपस्थिति थियो । निरीक्षणपछि आयोजना स्थलमै संक्षिप्त छलफल पनि भएको थियो ।
कार्यक्रममा सहभागी प्रदेश सांसद प्रत्याशी महमद सेराजले यस्तो पूर्वाधार योजनाले स्थानीय जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै भने, “यस किसिमका विकास योजनाहरूलाई सहयोग गर्न म प्रतिबद्ध छु । जनताको आधारभूत आवश्यकतामा आधारित योजनाहरूमा सबै तहको सरकारबीच सहकार्य आवश्यक छ।”
फतुवाबिजयपुर नगरपालिकाले पछिल्लो समय पूर्वाधार विकासमा अग्रसरता देखाउँदै आएको छ । सडक ढलान तथा नालाजस्तो अत्यावश्यक संरचनाको निर्माणमा स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय निकायबीचको समन्वय एक सकारात्मक उदाहरणका रूपमा देखिएको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,०६ गते भदौ ।
मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजबिराजको नव निर्मित आन्तरीक प्रशिक्षण भवनको समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहनु भएका गृह,सञ्चार तथा कानुन मन्त्री माननीय राजकुमार लेखी ज्यूले उक्त कुरा बताउनु भएको हो। समुदघाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका गृह मन्त्री लेखी ज्यूले”राज्यको चौथो अंगको रुपमा रहेको प्रेस जगतमा हिजो आज बिकृती बिसंगती बढिरहेको छ,सामाजिक संजालमा लाइक र भ्यूजको लागि तथ्यहिन,आधारहिन र भ्रामक समाचार हरु सम्प्रेषण गर्ने प्रवित्ती बढिरहेको हुदा संचार क्षेत्रलाई ब्यबस्थित र मर्यादित बनाउन छिट्टै संचार नियमन ऐन ल्याउने तयारी गरिरहेको ” कुरा बताउनु भएको हो।

प्रदेश प्रहरी तालिम केन्द्र राजबिराजको मधेश प्रदेश सरकारको ३ करोड १८ लाख ५० हजार ८४६ को लागतमा २०० जना प्रशिक्षार्थी हरु एक साथ प्रशिक्षणमा सहभागी हुन सक्ने क्षमता को ४ वटा कोठा सहित २ वटा भवन र तालिम केन्द्रको बाउण्ड्री बाल निर्माण सम्पन्न भएको हो।
ओम प्रकाश यादव
भदौ ५ गते, रौतहट।
रौतहटमा गौर हत्याकाण्डको विषयलाई लिएर आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले आन्दोलन गर्ने निर्णय गरेको छ।
गौर हत्याकाण्ड सम्बन्धी जाहेरीको अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएपछि सत्तापक्ष र विपक्षी दलका नेताहरु एकढिक्का भएर आन्दोलन गर्ने निर्णय गरेको हो ।
जसपा नेपाल सहित नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपा लगाएत दलका नेताहरुको आज गौर स्थित उद्योग वाणिज्य संघको सभाहलमा बसेको सर्वपक्षीय बैठकले आन्दोलनको कार्यक्रम अगाडि बढाउने निर्णय गरेको बैठकमा सहभागी जसपा नेपालका नेता श्याम विहारी यादवले जानकारी दिएका छन्।
२०६३ साल चैत्र ७ गते गौर राइस मिलमा तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीका कार्यकर्ताबीच भिडन्त हुँदा २७ जनाको हत्या भएको विषयमा अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
सो घटनामा मुछिएको भन्दै अदालतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहित १ सय ३० जनामाथि अनुसन्धान गर्न आदेश दिएपछि जसपा नेपालका नेता कार्यकर्ताहरुलाई राजनीतिक पूर्वाग्रही ढङ्गले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सरकारले फसाउन खोजेको भन्दै आन्दोलित भएका छन्।
रौतहटमा अहिलेसम्म जसपा नेपालले मात्र विरोध प्रदर्शन गर्दै आएको अवस्थामा अब नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एस, लोसपा लगाएत पार्टीका नेताहरु समेत संयुक्त रूपमा आन्दोलन गर्ने भएको छ।
सर्वोच्च अदालतको आदेशपछि आन्दोलनमा सक्रिय रहेका जसपा नेपालसँगै अब जिल्लामा क्रियाशील अन्य दलका शीर्ष नेताहरू पनि सडक संघर्षमा उत्रिने भएका छन् ।
जसपा नेपाललाई सत्ताधारी र प्रतिपक्षी दलहरुले सघाउन तयार भएपछि आन्दोलनले नयाँ तरंग पैदा गर्ने भएको छ।
गौरमा आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले आउँदो शनिवार गौरमा मसाल जुलुस निकाल्ने र त्यसको भोलि पल्ट आईतबार संयुक्त बृहत शक्ति प्रदर्शन गर्ने निर्णय गरेको बैठकमा सहभागी नेकपा एसका नेता रेवन्त झाले बताएका छन्।
गौर हत्याकाण्डमा सरकारले विभिन्न दलमा आबद्ध रहेका मधेशका नेताहरुलाई सुनियोजित तरिकाले फसाउने षड्यन्त्र रचेकोले आफूहरु एकढिक्का भएर सरकारको सो कदम विरुद्ध सशक्त प्रतिवाद गर्ने निर्णयमा पुगेको नेता झाले बताए।
बैठकले विगतका घटनाबारे जनमानसमा प्रचार–प्रसारका लागि रौतहटका चार वटै क्षेत्रमा टोली गठन गरेको छ ।
रौतहट क्षेत्र नं. १ का लागि नेकपा एमालेका नेता बबन सिंह, लोसपा नेता बाबुलाल साह, नेकपा एसका नेता रेवन्त झा, लोसपा नेता अनिल सिंह लगायतको नेताहरुको टोली बनाइएको छ ।
त्यस्तै क्षेत्र नं. २ मा नेपाली कांग्रेसका नेता रामचन्द्र गिरि, जसपा नेपाल रौतहटका अध्यक्ष राजु यादव, प्रदेश सांसद शोभा साह र बशिष्ट यादवलाई बैठकले प्रचार प्रसारको जिम्मेवारी दिइएको छ ।
त्यस्तै क्षेत्र नं. ३ र ४ का लागि नेकपा एसका नेता ब्रिज किशोर यादव, जसपा नेपालका नेता अनिल यादव, जसपा नेपाल रौतहटका जिल्ला इन्चार्ज राजकुमार दास र श्याम यादव सहितको टोली बनाइएको बैठकमा सहभागी जसपा नेपालका नेता श्याम विहारी यादवले बताए ।
बैठकमा सहभागी लोसपा नेता अनिल सिंहले अदालतमार्फत सरकारले मधेश जनविद्रोहलाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाए।
नेता सिंहले सरकारले अदालत मार्फत मधेश जनविद्रोहलाई कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । उनले मधेशी जनताको अधिकार र पहिचानका लागि भएको संघर्षलाई मुद्दा र कानुनी जटिलतामा फसाएर आन्दोलनको प्रभाव घटाउन खोजिएको बताए।
नेकपा (एस) का नेता रेवन्त झाले मधेशलाई नेतृत्वविहीन बनाउन नियोजित षड्यन्त्र भएको दाबी गर्दै आन्दोलनलाई थप सशक्त बनाउनु पर्ने धारणा राखेका थिए।
मधेशलाई नेतृत्वविहीन बनाउन नियोजित षड्यन्त्र भइरहेको आरोप लगाउँदै नेकपा (एस) का नेता रेवन्त झाले मधेसका नेताहरू माथि दबाब र कानुनी फन्दा मार्फत आन्दोलन कमजोर पार्ने प्रयास भइरहेको टिपणी गरे ।
मधेशको मुद्दामा कुनै सम्झौता नहुने बताउँदै अब आन्दोलनलाई अझ सशक्त र संगठित बनाउनु पर्ने नेता झाको भनाइ रहेको थियो ।
सर्वोच्च अदालतको आदेशसँगै जसपा नेपाल मात्र प्रदर्शन गर्दै आएकोमा अब सर्वपक्षीय सहमति सहित सर्वदलिय आन्दोलन हुने भएको छ ।
सर्वपक्षीय बैठकमा नेकपा एमालेका नेता बबन सिंह, नेपालीका कांग्रेसका नेता रामचन्द्र गिरी, नेकपा एकीकृत समाजवादी पार्टीका नेता रेवन्त झा, ब्रिज किशोर यादव, लोसपा नेता अनिल सिंह सहित जसपा नेपालका नेताहरुको सहभागिता रहेको थियो।
काठमाडौं, ५ भदौ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले हुलाकी राजमार्ग नबनाउने हो भने सो क्षेत्रका जनतासँग कर नलिनको सरकारसमक्ष माग गरेका छन् । सरकारले हुलाकी राजमार्ग निर्माणको लागि ढिलासुस्ती गरेको भन्दै साहले यस्तो आक्रोश पोखेका हुन् ।
प्रतिनिधिसभाको आज (बिहीबार) बसेको बैठकको विशेष समयमा बोल्दै साहले १८ वर्षअघि सुरू भएको हुलाकी राजमार्ग अलपत्र पारिएको भनेर सरकारसँग असन्तोष प्रकट गरे । उनले भने,‘सम्माननीय सभामुख महोदय, हुलाकी सडकअन्तर्गत पर्ने बागमती खोलाको पुल कमला खोलाको पुल, कन्कार्ई खोलाको पुलहरु वर्षौसम्म अलपत्र छन् । तीन वर्षमा बनाउनुपर्ने पुल, आज १५ वर्ष पुग्दा पनि किन नबनाएको भनेर सरकारसँग सोध्न चाहन्छु । हुलाकी सडठक राष्ट्रिय गौरवको आयोजना हो । यो सडकमा झण्डै करोडौं मान्छे जोडिएका छन्, ठूलो जनसंख्यालाई लाभ दिने यो महत्वपूर्ण सडकमा किन विभेद गरियो ? नेताजीहरूको क्षेत्रमा सडक चकाचौद भैराख्दा झण्डै १८ वर्षअघि सुरु भएको यो सडक किन अलपत्र छ ?’
साहले यस सडकअन्तर्गत कयौं पुलहरुमा अझै ठेक्का नभएको आरोप लगाए । उनले थपे,‘ठेक्का भएका पुलहरु १५ वर्षसम्म, बाग्मती नदीको पुल त आजभन्दा १६ वर्षअघि शिलान्यास भएको हो । तर, अहिलेसम्म अलपत्र छ । कमला नदीको पुल पनि झण्डै १४ वर्ष भयो, कन्काई नदीको पुल झण्डै १२ वर्ष भयो। तीन वर्षको लागि ठेक्का सम्झौता भएका पुल किन बनेनन् ? ठेकेदारलाई किन कारबाही भएन ? नेताजीहरुको यसमा कुनै स्वार्थ छैन, मन्त्रीहरुको यसमा लेनदेन छैन भने ती ठेकेदारलाई किन कारबाही भएन ? ठेकेदारले समयमा काम नगर्दा उसको धरौटी किन तानिएन ? किन उसलाई सरकारले दण् िदण्डित गर्न सकेन भन्ने प्रश्न उठ्छ ।’ राष्ट्रिय गौरवका आयोजनाका सवालमा ठेकेदारसँगको मिलेमतो अन्त्य गर्नपनि सरकारलाई साहको सुझाव छ ।
समयमा ठेकेदारले काम नगरेपछि उसलाई पेनाल्टी लिनुपर्नेमा उल्टै ती निर्माण कम्पनीले बिनाशर्त म्याद थप पाएको पनि साहको आरोप छ । उनले जनताले अहिले भोगिरहेको सास्तीलाई अन्त्य गर्नपनि सरकारलाई सुझाव दिए ।
उनले हुलाकी राजमार्गको निर्माणको सवालमा खुलेआम विभेद गरिएको उनको आरोप छ । उनले भने,‘अरू राजमार्गहरुमा जसरी बहुवर्षीयको ठेक्का हुन्छ, हुलाकी सडकले बहुवर्षीयाको किन ठेक्का अनुमति पाउँदैन? अरु राजमार्गसँगै हुलाकीकोपनि अर्थ मन्त्रालयमा फाईल जान्छ, तर हुलाकीको फिर्ता आउँछ । योभन्दा अर्को विभेद के हुन्छ? यदि हुलाकी सडक बनाउनु छैन भने प्रष्ट भनिदिनुहोस–हुलाकी सडक हामी बनाउँदैनौं भनिदिनुहोस, प्रष्ट भनिदिनुभयो भने जनतापनि आश मार्छन् । हुलाकी राजमार्ग नबनाउने हो भने सो क्षेत्रका जनतासँग कर लिने अधिकार सरकारसँग नभएको उनको भनाई छ ।
साहले नारायणी नहरको पनि उस्तै हालत रहेको भन्दै चलाउन नचाहेको हो भने बन्द गर्न सुझाव दिएका छन् । रौतहटको लालबकैयाको मर्टेवा पुल, झाँझ नदीको पुल पिपरिया र जुगलियामा वर्षौदेखि अलपत्र परेको साहको गुनासो छ । यी पुलको बारेम के कस्तो प्रगति भएको छ भनेर सम्बन्धित मन्त्रीलाई सदनमा जानकारी गराउनपनि साहले सभामुखको ध्यानाकार्षण गराए ।