रौतहट, माघ ७ गते २०८१ ।
सशस्त्र प्रहरीको गस्ती टोलीले गएराती रौतहटको सीमाक्षेत्र बाट अबैध पेस्तोल र गोली सहित एकजना भारतीय नागरिक लाई पक्राउ गरेको छ ।
भारत बिहार जिल्ला पूर्वी चम्पारण मोतिहारी बसन्तपुर ग्राम पंचायत ९ बस्ने बर्ष २६ को धनन्जय कुमार झा पेस्तोल र गोली सहित पक्राउ परेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्। उनको साथबाट सेमी अटोमेटिक पेस्तोल १ नाल , सोको म्यागजिन १ वटा र ७.६५ एम एमको ४ राउण्ड गोली बरामद गरिएको एसपी हुमागाईंले बताएका छन।

बरामाद पेस्तोल गोली र आरोपीले प्रयोग गरेको मोटरसाईकल सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि आईतवार राती नै जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाईएको एसपी बिक्रम हुमागाईंले जानकारी दिएका छन्।
भारतीय सीमामा संग जोडिएको ईशनाथ नगरपालिका ४ लतमरी नाका ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल FOB मठिया बाट खटिईगएको टोलीले लतमरी नाका नजिकै सुनिल होटलमा खाजा खाईरहेका शंकास्पद ३ जना व्यक्तिहरुलाई चेकजाच गर्ने क्रममा २ जना व्यक्तिहरु तत्कालै फरार भएको थियो।
पेस्तोल बोकेका धनन्जय कुमार झा पक्राउ गरिएको तथा उनको साथबाट विआर ०५ वि डी १२२४ नम्बरको अपाचे मोटरसाईकल १ थान र सामसुङ्ग कम्पनीको ए ३५ मोबाईल १ थान बरामद भएको सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वा रौतहटले जानकारी दिएको छ । खरीबोट
राैतहट, ०६ गते माघ २०८१ ।
रौतहट बचत तथा ऋण सहकारी संघले सहकारी अध्यादेश र राष्ट्र बैंकद्वारा जारी सहकारी मस्यौदाका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। संघका अध्यक्ष बिभु पोखरेलको अध्यक्षतामा सहकारी क्षेत्रका विभिन्न व्यक्तित्वहरू, संघका प्रतिनिधिहरू, र सहकारीप्रेमीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
होटल आरोहीमा भएको कार्यक्रमको प्रारम्भमा बिशिष्ट अतिथि रौतहट दुग्ध सहकारी संघका अध्यक्ष श्रीकृष्ण अधिकारीले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो । संघका उपाध्यक्ष राम बिश्वास पासवानले स्वागत मन्तव्य राख्दै सहकारी क्षेत्रलाई दीर्घकालीन रूपमा सबल बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। कार्यक्रम सञ्चालन संघका महासचिव देव बहादुर सापकोटाले गर्नुभएको थियो ।
कार्यक्रमका दौरान सहकारी क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायहरूबारे उपस्थित व्यक्तित्वहरूले आ–आफ्ना धारणा राखेका थिए । संघका पूर्व सल्लाहकार तथा संकल्प साकोसका अध्यक्ष गणेश पौडेलले सरकारले जारी गरेको अध्यादेशले सहकारीहरूलाई व्यवस्थित गर्न सहयोग पुर्याउने भए पनि केही प्रावधानले सहकारी क्षेत्रको व्यावहारिक पक्षलाई असर पुर्याउने भएकाले सुधारको आवश्यकता रहेको बताउनुभयो ।
नवविकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु तिवारीले अध्यादेशका केही प्रावधान सहकारीहरूको हित विपरीत रहेको भन्दै यसलाई सच्याउनका लागि संघले आवश्यक पहल गर्नुपर्ने र सुधार नभए आन्दोलनको बाटो रोज्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले सहकारीहरूको दीर्घकालीन अस्तित्वका लागि एकताबद्ध रूपमा अघि बढ्न आग्रह गर्नुभयो।
त्यसैगरी, वृन्दावासिनी साकोसका संचालक आलोक कोइरालाले सहकारी क्षेत्रलाई थप पारदर्शी र व्यवस्थित बनाउन सरकारद्वारा जारी अध्यादेश सकारात्मक रहेको बताउँदै, सहकारीहरूले नियमअनुसार आफ्नो कार्यशैलीलाई परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो।
संघका लेखा समिति संयोजक जितेन्द्र चौधरीले राष्ट्र बैंकको मस्यौदाले वित्तीय अनुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै, साना सहकारीहरूका लागि यसले केही चुनौती खडा गर्न सक्ने भए पनि दीर्घकालीन रूपमा यसले सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्लाभरका सहकारी संघका अध्यक्ष, व्यवस्थापक, र प्रतिनिधिहरू गरी ५० भन्दा बढी व्यक्तिहरूको सहभागिता थियो। उपस्थित सहभागीहरूले सहकारी क्षेत्रको समग्र सुधार र पारदर्शिताका लागि यस्ता अन्तरक्रिया कार्यक्रमको आवश्यकता रहेको औंल्याए।
संघका अध्यक्ष बिभु पोखरेलले कार्यक्रमको समापन गर्दै सहकारी क्षेत्रमा आएका समस्याको समाधानका लागि संघ निरन्तर सक्रिय रहने बताउनुभयो। उहाँले सहभागीहरूको धारणा र सुझावलाई भविष्यका रणनीतिहरूमा समेटिने प्रतिवद्धता व्यक्त गर्नुभयो।
उपस्थित सबैले सहकारीहरूको दिगो भविष्य सुनिश्चित गर्न सहकार्य र संवादको आवश्यकता रहेकोमा एकमत भएका थिए।
मुकेश कुमार साह, रौतहट ६ माघ २०८१ ।
डिभिजन वन कार्यालय रौतहटको आयोजनामा सामुदायिक वनहरूको दीर्घकालीन व्यवस्थापन र आगामी कार्ययोजना निर्माणका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। सामुदायिक वनका प्रतिनिधिहरू, व्यवस्थापक, र सरोकारवालाहरूको उपस्थितिमा गोष्ठीमा वन संरक्षण, वन स्रोतको दिगो उपयोग, र वातावरणीय सन्तुलन कायम गर्न आवश्यक योजनाहरूमा विस्तृत छलफल गर्दै सम्पन्न भएको हो ।
गोष्ठीको उद्घाटनमा डिभिजन वन कार्यालयका प्रमुखले वन संरक्षण र समुदायको सहभागितामा आधारित स्रोत व्यवस्थापनको महत्त्वबारे प्रकाश पारे। सहभागीहरूले सामुदायिक वनहरूको संरक्षणमा देखिएका चुनौतीहरू समाधान गर्न, हरित क्षेत्र विस्तार गर्न, र वन उपभोक्ताको भूमिकालाई सशक्त बनाउन विभिन्न सुझाव प्रस्तुत गरे। कार्यक्रममा सामुदायिक वनहरूको वार्षिक योजना निर्माण र कार्यान्वयनका लागि प्राथमिकता तय गरिएको थियो।
गोष्ठीका क्रममा सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष वेदहरि दाहालले डिभिजन वन कार्यालयले ढिलासुस्ती गर्ने गरेको आरोप लगाए। उनले कार्यालयले समयमै गुनासा सम्बोधन नगरेको र चिरानको लागि काठ लान आवश्यक पुर्जी नबनाइएको भन्दै सुधारको माग गरे । यस्तै, अन्य सामुदायिक वनका प्रतिनिधिहरूले वन व्यवस्थापनमा थप पारदर्शिता र प्रभावकारिता ल्याउनुपर्ने खाँचो रहेको औंल्याए।
गोष्ठीमा उठेका गुनासाहरूको जवाफ दिँदै डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले आफ्नो कार्यकालमा त्यस्तो ढिलासुस्ती नभएको र आफ्नो कक्षमा यस्ता गुनासा कहिल्यै नआएको स्पष्ट पारे। उनले गुनासा प्रति कडा रूपमा प्रस्तुत हुँदै सामुदायिक वनका प्रतिनिधिहरूले आफ्नो जिम्मेवारी पूरा नगरेकोतर्फ पनि ध्यानाकर्षण गराए।
उनले भने, “समुदायका केही वन उपभोक्ता समितिहरूले समयमै साधारण सभा नगर्दा समस्या उत्पन्न भएको छ। आफ्नो कमजोरी छोप्न कार्यालयमाथि दोष थुपार्नु न्यायोचित हुँदैन।” साथै, उनले कार्यालयका कुनै पनि कर्मचारीले यदि गल्ती गरे वा काममा लापरबाही देखाए भने त्यसको तत्काल जानकारी दिन आग्रह गरे। यस्ता गल्तीहरूमा कुनै पनि प्रकारको सम्झौता नगर्ने र दोषी कर्मचारीमाथि तत्काल कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।
डिभिजन वन प्रमुखले वन संरक्षण र व्यवस्थापनमा समयपालना र पारदर्शिता प्राथमिक आवश्यकता भएको बताउँदै सामुदायिक वनका सबै प्रतिनिधिहरूले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमले सामुदायिक वन व्यवस्थापनका लागि दीर्घकालीन योजना तयार पार्न महत्वपूर्ण योगदान पुर्याएको छ ।