२०८२ फाल्गुन २१
२०८२ फाल्गुन २१

रौतहट । रौतहटको ईशनाथ नगरपालिका-९ बस्ने १७  वर्षीय सहवाज मियाँको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बौधीमाई नगरपालिका-१ बौधा पतौरा घर भई हाल ईशनाथ नगरपालिका-३ स्थित बस्ने १८ वर्षीय किशोर र ईशनाथ नगरपालिका-३ बस्ने १९ वर्षीय रोशन साह रहेका छन् ।

ईशनाथ नगरपालिका-३ स्थित ईशनाथ नगरपालिकाको कार्यालय अगाडि रहेको आँपको बगैचामा मंगलबार राति  उनीहरूले सहवाजलाई रड तथा छुरा प्रहार गरी हत्या गरी फरार भएकोमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

मृतकको भाईले आँप बगैचामा आँप टिपेको विषयमा ती किशोरले कुटपिट गरेको देखि सहवाजले वादविवाद गरी झापड हानेको विषयको रिसिईवी लिई ती किशोर र रोशनले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाएको छ । न्युज कारखाना

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म ८८ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ५ जना, गण्डकी प्रदेशमा २५ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा ८८ जनाको मृत्यु भएको हो ।

साथै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्‍चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र गण्डकी प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ६ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा १ सय ७६ घर डुबानमा परेका छन् । १ सय ६१ वटा घर, ६८ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ४ सय ७९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ३ हजार ४ सय ६२ घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ । न्युज कारखाना

काठमाडौँ । आजबाट भद्रकाली मन्दिर परिसरको दक्षिण पश्चिमबाट भवन पुनःनिर्माण सुरु भएको छ ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले जग पूजा तथा शिलान्यास गरेर पुनःनिर्माण थालनी गरेकी हुन् । यी संरचनाहरु २०७२ सालको भूकम्पको कम्पनले जीर्ण अवस्थामा थिए ।  त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, गुठी संस्थान, लुमधि भद्रकाली व्यवस्थापन समितिका पदाधिकारीले जग पूजा गरेका थिए ।

जग राख्नुअगाडि लुमधि भद्रकाली गुथिले शास्त्रीय विधिअनुसार पूजा गरेको थियो । मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् । यसको पुननिर्माणको लागत अनुमान ३६ करोड रुपैयाँ हो । सम्पदा तथा पर्यटन विभागका वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालकाअनुसार ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ कवोल गर्ने तुल्सी अम्बुजा जेभीले पुनःनिर्माणको जिम्मा पाएको छ । निर्माण पक्षसँग गएको ज्येष्ठ ६ गते सम्झौता गरेर असार ३ गते कार्यादेश दिइएको छ ।

यसको निर्माण परम्परागत नेवारी शैलीमा हुनेछ । कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछ । छानो झिँगटीको हुनेछ । उत्तर (भृकुटीमण्डप) तर्फ २ वटा व्लक आपसमा जोडिएका हुनेछन् ।

यस्तै दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोल पम्पतर्फ) ३ वटा ब्लक हुनेछन् । यिनीहरु पनि आपसमा जोडिएका सुनेछन् । यसरी निर्माण हुने सबै भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुनेछ । यसको डिजाइन सहरी योजना आयोगले तयार पारेको हो ।

पुननिर्माणका क्रममा मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन (अवस्था तथा तथ्यको विवरण) तयार पार्ने काम पुरातत्व विभागलाई दिइएको छ । अहिलेको संरचना भत्काएपछि संकलन हुने निर्माणजन्य सामग्रीलाई पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकालीे व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्नेछ ।

शिलान्यासपछि बोल्दै उपप्रमुख डंगोलले, भद्रकाली सबै श्रद्धालुहरुको आस्थाको देवता भएको उल्लेख गर्दै यसको प्राचीनता बचाएपछि सबैले गर्व गर्न लायक स्मारक हुने बताइन् ।

यस क्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक संगत, वडा ११, २१ र २२ का अध्यक्षहरु क्रमशः हीरालाल तण्डुकार, उदय चुडामणि बज्राचार्य र चिनीकाजी महर्जनले, भद्रकाली धार्मिक आस्थासँग जोडिएको पीठका रुपमा सबैबाट स्वीकार भएको स्मारक भएको उल्लेख गरे । यससँग स्थानीयबासीका संस्कार, संस्कृति तथा आस्था र परम्परा जोडिएको बताउँदै उनीहरुले भने, ‘यसकारण भद्रकाली पुनःनिर्माणमा विषयमा स्थानीयको चासो रहन्छ । यसका हरेक पक्षमा छलफल गर्दै आपसी बुझाइमा एकरुपता कायम गरेर पुनःनिर्माण गर्नुपर्छ ।’

यो काम समयमा नै सम्पन्न हुनु पर्नेमा जोड दिँदै उनीहरुले पुरातत्व विभाग र गुठी संस्थानलाई यसका अन्तरबस्तुमा चित्त नबुझेको केही भए महानगरपालिकामा आएर छलफल गर्न आग्रह गर्दै निर्माण कार्यका अवरोध हुने अभिव्यक्ति दिन वा क्रियाकलाप नगर्न सचेत गराए ।

भद्रकाली भौगोलिक रुपमा वडा नं ११ मा पर्छ । यससँग सम्बन्धित जात्रा पर्व, संस्कार, संस्कृति तथा परम्परा वडा नं. २२ सहित भित्री वडासँग सम्बन्धित छन् । सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई भन्नुहुन्छ, यो वहुपक्षीय सम्बन्ध राख्ने पुनःनिर्माणको काम हो ।

पुनःनिर्माणका लागि वैठक

गएको ज्येष्ठ ३० गते काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘लुमधि भद्रकाली मन्दिर परिसरका संरचनाहरुको पुनःनिर्माण सम्बन्धमा’ बैठक बसेर पुनःनिर्माणको काम दक्षिण पश्चिम भागबाट सुरु गर्ने निर्णय गरेको थियो । यही बैठकले पुननिर्माण हुने ठाउँहरु गुठी संस्थान र लुमधि भद्रकाली व्यवस्थापन समितिले खाली गराउने निर्णय गरेको थियो ।

मन्दिर पुननिर्माणका लागि सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको संयोजकत्वमा सहजीकरण समिति गठन भएको छ । समितिको सदस्यहरुमा वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, सहरी योजना आयोगका सदस्य बाबुराम भट्टराई, लुमधि भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर महर्जन, समितिका पूर्व अध्यक्ष गौत्तम डंगोल, पुरातत्व विभाग र गुठी संस्थानका प्रतिनिधि रहेका छन् । समितिको सदस्य सचिवमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई रहेकी छन् ।

सहजीकरण समितिले मन्दिर परिसरका संरचना पुनरुत्थान गर्ने क्रममा अभिलेखन, निर्माण सामग्रीको व्यवस्थापनसहित पुननिर्माणको काममा सहजीकरण गर्नेछ ।न्युज कारखाना

बाग्लुङ्ग । अविरल वर्षाका कारण असार २७ गते कालिगण्डकी करिडोर अन्तर्गत बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका– १० डबल्याङ्ग र मध्य पहाडी लोकमार्ग अन्तर्गत सोही जिल्लाको काठेखोला गाउँपालिका–६ बयलडाडा सडकखण्डमा पहिरो आई पुर्ण रुपमा अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले खुलाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाग्लुङ्गको सुरक्षा फौज खटिई अवरुद्ध सडकहरु खुलाएको हो ।

यसैगरी अविरल बर्षाको कारण पहिरोले सोही जिल्लाको बाग्लुङ्ग नगरपालिका–३ तातोपानी भुनियामा ४५ वर्षिय मनमती बोहोराको कच्ची घर भत्किन गई पुरिएको लत्ताकपडा तथा सरसामानहरु सशस्त्र प्रहरी बल आश्रित गुल्म बागलुङको सुरक्षा फौजले निकालेको छ भने बागलुङ नगरपालिका–७ तितौरेस्थित पानिवनमा घरको पालि भत्कीन जाँदा ५१ बर्षिया खिम कुमारी शर्माको मृत्यु भएको छ ।न्युज कारखाना

काठमाडौँ । जसपा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।

विहिबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको सांसद राजकिशोर यादवले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीले शुक्रबार ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिदै छन् ।

सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको सर्मथन फिर्ता लिएपछि प्रधानमन्त्रीले संबैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन् ।न्युज कारखाना

 बिरगंज । बिरगंजस्थित सशस्त्र प्रहरी प्रस्तावित सिमा सुरक्षा गुल्म राजश्व संकलन (अबैध सामान बरामद) गर्न मधेश प्रदेश मात्र नभई सिंगो देशमै उत्कृष्ट भएको छ ।

गुल्म प्रमुख डिएसपी सुरज रिजालको सक्रियताले बिरगंज भन्सार एरियाबाट मात्र तिनमहिना २० दिनको अवधिमा झण्डै ९ करोड बराबरको तस्करीको माध्यमले भित्र्याइएको अबैध भारतीय सामान बरामद गरेको हो ।

डिएसपी रिजाल स्वयं अहोरात्र फिल्डमा खटेर त्यत्रो ठूलो परिमाणमा तस्करीका मालसमान  बरामद गर्न सफल भएका हुन् ।

प्रस्तावित भन्सार गुल्मको इतिहासमा हालसम्मकै सबै भन्दा बढी तस्करीको मालसमान बरामद गरि भन्सार बुझाउन सफल भएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिवासका प्रवक्ता एसपी सशी पाण्डेले बताएका छन् ।

डिएसपी रिजाल बिरगंज भन्सार प्रस्तावित गुल्मको इन्चार्जका रूपमा २०८० चैत ७ गते हाजिर भएका थिए । हाजिर भएको दिनदेखि आजको मितिसम्म मात्र तीन महिना २० दिनको अवधिमा ८ करोड ८३ लाख ,३४ हजार ९९३ रुपैया मूल्य बराबरको तस्करीका मालसमान  बरामद गरि भन्सार बुझाएको डिएसपी रिजालले बताएका छन ।

गत चैत महिनामा  एक करोड ४७ लाख ६२ हजार ८९३ रुपैया, गत बैशाख महिनामा दुई करोड ६३ लाख एक हजार ८८२  ,जेष्ठ महिनामा दुइ करोड ४१ हजार २ ८९ रुपैया बराबरको अबैध सामान बरामद गरी भन्सारमा बुझाएको उनले बताएका छन।

त्यसैगरी असार महिनाको आज २७ गते समाचार तयार पार्दासम्म दुई करोड ६२ लाख ५९ हजार ९१९ रुपैया बराबरको अबैध तस्करीका समान बरामद गरि  भन्सार कार्यालयमा बुझाएको छ।
सोही अवधिमा २० किलो गाँजा, बिभिन्न किसिमका लागुऔषध कारोवारी, हुण्डी कारोवारी तथा तस्करीमा संलग्न महिला पुरुष गरी १५ जना मानिसलाई नियन्त्रमा लिएर आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा बुझाईएको डिएसपी सुरज रिजालले जानकारी दिएका छन।

सशस्त्र प्रहरी बल बिरगंज गुल्मले तस्करीका मालसमान बरामद गरि भन्सार दाखिला गराउन नेपालमै अब्बल हुनसफल भएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिबासले जनाएको छ ।न्युज कारखाना

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको आयोजनामा विहीबारदेखि खेलकुद सप्ताह २०८१ सुरु भएको छ । सप्ताहमा कलेजमा स्नातक तह वीई तथा विआर्कमा अध्ययनरत झण्डै दुई हजार विद्यार्थी संलग्न भएको बताइएको छ ।
सप्ताहको उदघाटन कलेजकै कार्यबाहक प्रचार्य दुर्गाप्रसाद भण्डारीले एक समारोहवीच गरे । उदघाटन कार्यक्रममा वक्ता कलेजका विभिन्न पदाधिकारीहरुले खेलकुद सप्ताहका विविध विषयहरुमाथि चर्चा गरेका थिए ।
खेलकुद सप्ताह अन्तर्गत फुटवल, भलिवल, कवर्डी, बास्केटवल, व्याडमिन्टन, चेस, क्यारेम, इगेमिंग, टेबल टेनिस, सट जम्प, लंग जम्प, हाइ जम्प, म्युजिकल चेयर्स, वाकिंग रेस, डोरी तान्ने खेल, म्याराथुन, लगायतका झण्डै दुई दर्जन प्रतियोगिताहरु चल्ने कलेजको विद्यार्थी कल्याण शाखाका संयोजक एसोसिएट प्रोफेसर विष्णुप्रसाद भण्डारीले जनाए । बताइए अनुसार प्रतियोगितामा कलेजको स्नातक तह विई तथा विआर्क तहमा अध्ययनरत झण्डै सवै विद्यार्थी सहभागी छन् ।
प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र पनि वितरण गरिने जनाइएको छ । कलेजले जनाए अनुसार प्रतियोगिताको फाइनल सकेपछि उनीहरुलाई दैनिक रुपमा मेडल तथा प्रमाणपत्र वितरण हुनेछ । जुनजुन प्रतियोगिता सकिंदै जान्छ, त्यो त्यो प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई प्रतियोगिता सकेपछि मेडल तथा प्रमाणपत्र वितरण गरिने जनाइएको छ । प्रतियोगिता असार ३० गतेसम्म चल्ने जनाइएको छ ।
न्युज कारखाना

काठमाडौं । नेप्से परिसूचक विहिबार २९ अंकले बढेको छ । नेप्से २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

आज ३३१ कम्पनिको ८७ हजार ८६ कारोबारमा ७ अर्ब ८ करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज बलेफी हाइड्रोको सबैभन्दा बढी ९.९९ र सिटिजन सुपर म्युचुअल फन्डको ९.९७ तथा एनआईबिएल स्टेबल फन्डको ९.८३  प्रतिशत शेयर मुल्य बढेको छ । त्यसैगरी आज समाज लघु वित्तको सेयर सबैभन्दा बढी ४.५९ प्रतिशतले घटेको छ ।

आज कारोबारको हिसाबले सबैभन्दा बढी सिईडीबी हाइड्रोको १५ करोड २५ लाख कारोबार भएको छ ।
न्युज कारखाना

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री नबन्ने प्रष्ट पारेका छन् ।

बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले आफु पार्टीकै काममा व्यस्त रहेकाले सरकारमा नजाने बताएका हुन् । उनले पार्टी सभापतिलाई आफु सरकारमा नजाने बारे जानकारी गराएको बताए ।

उनले भने- ‘सांसदको रुपमा मैले क्रियाशील भएर यो सरकारलाई समर्थन गर्नेपनि, हाम्रो शेखर कोइरालाले अघि भन्नुभएजस्तो कांग्रेस र एमाले मिलेर धेरै शक्ति आर्जन गर्दैगर्दा सरकारले शक्तिको दुरुयोग गर्लान् कि भनेर सचेत गराउनु पर्ने काम प्रतिपक्षले मात्रै होईन, सत्ता पक्षले पनि गराउनुपर्छ । त्यसैले सत्ता पक्षको सांसदहरुको बेन्चको पहिलो हरफमा बस्छु म । त्यो पहिलो रो बाट सरकारलाई आवश्यक कुराको समर्थन गर्ने, परेको बेला सरकारलाई प्रश्न पनि गर्ने, जवाफदेही बनाउने । मेरो भूमिका सांसदको रुपमा रहन्छ ।’

उनले संबिधान संशोधन कुनै एक दलले चाहेर मात्र नहुने भन्दै सबै दलको सहमतिमा मात्र सम्बोधन संशोधन गर्न सकिने बताए ।न्युज कारखाना

काठमाडौँ । लियोनेल मेसी र फुटबल जगतका नयाँ स्टार लामिन यमलको पुरानो तस्विरको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।

सन् २००७ मा अर्जेन्टिनाका युवा स्टार फुटबलर लियोनल मेसी बार्सिलोना क्लबको क्याम्प नोउको ड्रेसिङ रुममा एउटा च्यारिटी क्यालेन्डर फोटोसुटका लागि एक बच्चासँग पोज दिएका थिए । त्यतिबेला मेसी २० वर्षका थिए । त्यो समय मेसी ‘अल टाइमको महान’ खेलाडी बन्ने बाटोको शुरुवाती चरणमा थिए ।

तर सायद त्यतिबेला फोटोग्राफरलाई मेसीको काखमा रहेको बच्चाले पनि एक दिन फुटबलको दुनियाँमा ख्याति कमाउनेछ भन्ने कल्पना थिएन ।

उक्त तस्बिरमा मेसीले स्पेनिस खेलाडी लामिन यामललाई काखमा राखेको देखिन्छ । आज करिब १६ वर्षपछि युरो च्याम्पियनसिपबाट यमल विश्व फुटबल जगतमा नयाँ सुपर स्टारको रुपमा उदाएका छन् । उनको उत्कृष्ट प्रदर्शनका कारण स्पेन युरोकपको फाइनलमा पुगेको छ ।

१६ वर्ष ३६२ दिनको उमेरमा यमल युरो कपको इतिहासमा सबैभन्दा कान्छो गोलकर्ता बनेका छन् । यमलका बुबाले मेसी र यमलको यो तस्विर इन्स्टाग्राममा सेयर गरेका छन् । उनले लेखेका छन्- ‘दुई महान् व्यक्तिको सुरुवात ।’  यी फोटोहरू एसोसिएटेड प्रेसका लागि स्वतन्त्र फोटोग्राफरको रूपमा काम गर्ने जोन मोनफोर्टले खिचेका हुन् ।

बालबालिकाका लागि काम गर्ने राष्ट्रसंघीय संस्था युनिसेफले स्पेनको मातारो सहरमा च्यारिटी लटरी आयोजना गरेको बेला यो फोटोसुट गरिएको उनले बताए । यमलको परिवार यहाँ बस्थे ।

मोनफोर्टका अनुसार, ‘यमलको परिवार क्याम्प नोउमा आयोजित च्यारिटी लटरीमा भाग लिइरहेको थियो जहाँ मैले मेसीसँग यमलको यो फोटो खिचेँको थिए ।’  फोटोग्राफर मोनफोर्टले यो असाइनमेन्ट सजिलो नभएको बताउँछन् किनभने ‘मेसी लजालु व्यक्ति हुन् ।’

उनी लकर कोठाबाट बाहिर निस्कदै थिए र संयोगवश अर्को लकर कोठामा पसे जहाँ प्लास्टिकको टब पानीले भरिएको थियो । त्यसमा एक बच्चा थियो । मेसीलाई बच्चालाई कसरी समात्ने भन्ने पनि थाहा थिएन ।’

यस अवसरका केही तस्विरहरू छन् जसमा मेसीसँगै यमलकी आमा पनि देखिएका छन् । मेसी जस्तै, यमलले पनि बार्सिलोना क्लबबाट फुटबल खेले, जहाँ उनी क्लबको सबैभन्दा कान्छो गोलकर्ता बने । उनी स्पेनिस लिगमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी पनि बनेका छन् ।

मोनफोर्टले भने, गत हप्ता तस्बिर भाइरल हुन थालेपछि मात्र उनले बच्चा यमल भएको थाहा पाए । उनले भने, ‘यस्तो सनसनी सृजना गरेको कुरासँग जोडिन पाउनु निकै रोमाञ्चक छ । साँच्चै भन्नुपर्दा यो एकदमै सुखद अनुभूति हो ।’न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।