२०८३ बैशाख २
२०८३ बैशाख २

काठमाडौं, १३ फागुन ।

प्रतिनिधिसभामा सत्ता र प्रतिपक्षी दलका सांसदबीच आरोपप्रत्यारोप चलेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा संविधान र व्यवस्थाविरुद्ध बोल्न नपाइने सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले बताएपछि प्रतिपक्षी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रतिवाद गरे । शाहीकै पक्षमा सत्तारुढ दलकै कांग्रेस सांसद सुनील शर्मा देखिए ।

आइतबारको बैठकमा राप्रपालाई इंगित गर्दै माओवादी केन्द्रका सांसद सापकोटाले भने, ‘यही संविधानले दिएको लोगो र यसले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद हुने । लोगो लगाएर सारा सेवा भोग गर्ने, पाइहाले मन्त्री पनि पड्काउने । प्रदेशतिर गएर सभामुख पनि लिने, तर फेरि यो संविधानलाई विरोध गर्ने ? संविधान र व्यवस्थाको विकल्प किमार्थ राजा र राजतन्त्रवादी हुन सक्दैन ।’

सांसद सापकोटाले राप्रपा सांसदमाथि नैतिकताको प्रश्न उठाएर राजीनामा दिनुपर्ने तर्क अघि सारे । यसपछि राप्रपामा प्रमुख सचेतक शाहीले संविधानमा फरक मत राख्ने अधिकार सुरक्षित रहेको भन्दै सापकोटालाई संविधान पढ्न सुझाव दिए । जनताको हत्या र हिंसा गरेर राप्रपाका सांसद संसदमा नआएको भन्दै उनले राजीनामा किन दिनुपर्ने भन्दै प्रश्न गरे ।

 

‘यो देशमा यो व्यवस्था चाहिने नचाहिने संशोधन गर्न पाइन्छ भनेको छ । कसैले विचार मिल्दैन भन्दै अमूक मान्छेले राजीनामा माग्न पाइँदैन । अलिकति ज्ञान भए संविधान पढेर आउनू, आउँदैन भने हामीसँग सिकाइ माग्नुप¥यो । संविधानले विशेष अधिकार दिएको छ । कुनै पनि सांसदले स्पष्ट रूपमा वाक् स्वतन्त्रता दिएकाले कसैले राजीनामा माग्न पाइँदैन,’ उनले भने, ‘मैले किन राजीनामा दिने ? मैले आठ÷नौ वर्षका बच्चाबच्चीको घाँटी काटेर आएको हो ? गुड्दै गरेको बसमा बम हानेर मारेको हो ? किन राजीनामा दिने ? मैले नेपाली जनता मारेको हो ? जातजाति, धर्मको नाममा हिंसा गरेर आएको हो ?’

राप्रपाका शाहीको अभिव्यक्तिप्रति माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले नियमापत्ति जनाए । तर, पाण्डेको नियमापत्तिको सत्तारुढ दल कांग्रेसका सांसद सुनील शर्माले पाण्डेको विरोध गरे ।न्युज कारखाना

भैरहवा, १३ फागुन ।

दादुरा-रुबेलाविरुद्धको खोप अभियान रुपन्देहीमा आजबाट सुरु भएको छ । गत वर्ष कतिपय जिल्लामा दादुरा-रुबेलाको संक्रमण देखापरेपछि सरकारले यसवर्ष फागुन १३ देखि २४ गतेसम्ममा ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा-रुबेला खोप अभियान सञ्चालन गर्न थालेको हो । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले आजदेखि चैत्र ७ गतेसम्म देश व्यापी रूपमा सो खोप अभियान ल्याएकाे छ ।

 

राष्ट्रिय खोप कार्यक्रम दादुरा-रुबेला खोप अभियान २०८०/२०८१ कार्यक्रम सञ्चालन निर्देशिका अनुसार विगत एक वर्षमा दादुरा रोगको महामारी भएको स्थान र दादुरा रोगका बिरामीको उमेरलाई विश्लेषण गरेर यस अभियानमा दादुरा-रुबेला खोप प्रदान गर्ने लक्षित समूहको आधारमा जिल्लालाई २ समूहमा विभाजन गरेको जनाइएको छ ।

 

पहिलो समूहमा दादुरा-रुबेलाका लागि उच्च जोखिम भनी पहिचान गरिएका तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाभित्रका ३ जिल्ला गरी २४ जिल्ला छन् । दोस्रो समूहमा बाँकी ५३ जिल्ला रहेको निर्देशिकामा उल्लेख गरिएको छ ।

 

स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले यस उमेरका कुनै पनि बालबालिका दादुरा-रुबेलाको खोप लगाउनबाट नछुट्ने गरी खोप लगाउने तयारीका साथ व्यवस्थापनमा जुटेको जानकारी दिए । रुपन्देहीमा दुई चरणमा गरी ३ लाख १४ हजार ७३८ जना बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने उनले बताए ।

 

खोप अधिकृत शर्माका अनुसार पहिलो चरणमा फागुन १३ देखि १७ गतेसम्म बुटवल, देवदह, तिलोत्तमा, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर, ओमसतिया, रोहिणी, सियारी र शुद्धोधन गरी नौवटा पालिका र दोस्रो चरणमा फागुन २० देखि २४ गतेसम्म गैडहवा, कञ्चन, सैनामैना, सममरीमाई, मर्चवारी, कोटहीमाई र मायादेवी गरी सात पालिकामा यो खोप अभियान सञ्चालन हुनेछ ।

 

रुपन्देहीमा अभियान सफल बनाउन १ हजार एक सय खोप केन्द्र सञ्चालन गरिने छ भने २ हजार २ सय खोपदिने स्वास्थ्यकर्मी, ३ हजार ३ सय स्वयम्सेवक परिचालन गरिनेछ । यस्तै ३४ हजार ९३६ भायल भ्याक्सिन र ३ लाख ९१ हजार ५०४ वटा सिरिन्जको समेत व्यवस्था भइसकेको खोप अधिकृत शर्माले जानकारी दिए । पहिलो चरणमा खोप लगाइने पालिकामा भ्याक्सिनबाहेकका अन्य आवश्यक सबै सामग्री पालिकामा पुगिसकेको छ।

 

खोप अधिकृत शर्माले दादुरा-रुबेलाबाट संक्रमित एकजना बालकले १८ जनासम्मलाई सार्न सक्ने भएको र यही किसिमबाट संक्रमण फैलिँदै गएमा महामारीको रुप लिने भएकाले कुनै पनि बालबालिका नछुट्ने गरी खोप अभियान देशव्यापी रुपमा सञ्चालन गर्न लागिएको हो । यो खोप थप मात्रा भएकोले पहिले नियमित खोप लगाएका बालबालिकाहरुले पनि अनिवार्यरुपमा लगाउनुपर्ने खोप हाे।

 

दादुरा-रुबेलाबाट तराईका जिल्लाका साथैं काठमाडौं उपत्यकाका बालबालिका बढी प्रभावित हुने भएकोले यी ठाउँका १५ वर्षसम्मका बालबालिकालाई यो खोप दिइने छ भने अन्य जिल्लाका ५ वर्षसम्मका बालबालिकाले यो खोप प्राप्त गर्नेछन् । स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत चिन्तामणि ज्ञवालीले दादुरा-रुबेलाबाट ५ वर्षमुनिका बालबालिका बढी प्रभावित हुने बताउँदै सरकारले सुरु गर्न लागेको अभियानबाट बालबालिकालाई नछुटाउन आग्रह गरे ।

 

आफ्नो पायक पर्ने खोप केन्द्रको नाम र सञ्चालन हुने मिति र उमेर समूहबारे थाहा पाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न स्वास्थ्य तथा जनसङख्या  मन्त्रालय आग्रह गरेको छ । यस्तै ५ वर्ष मुनिका बालबालिकालाई छुट नियमित खोप पनि दिइने जनाएको छ । दादुरा, रुबेला सङ्क्रामक र प्राणघातक रोगहरू भएकाले बालबालिकाको अनिवार्य खोप लगाउन समेत मन्त्रालयले आग्रह गरेको छ ।न्युज कारखाना

काठमाडौ, १३ फागुन ।

सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

 

कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

 

प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रस्तावित बोनस सेयरपछि चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ पुग्नेछ ।  यस्तै, कम्पनीको सञ्चालक समिति बैठकले बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा २७ प्रतिशत (१ः०.२७ अनुपातमा) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।न्युज कारखाना

काठमाडौ, १३ फागुन ।

नेपाली बजारमा सुन–चाँदीको भाउ आइतबार बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो । छापावाल सुन प्रतिताला १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ९५ रुपैयाँ कायम रहेको थियो । न्युज कारखाना

काठमाडौँ, १३ फागुन ।

कुशल भुर्तेलले नेदरल्याण्डसविरुद्ध अर्धशतक पुरा गरेका छन् ।

टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि भुर्तेलले धैर्यतापूर्ण ब्याटिंग गर्दै ७८ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । भुर्तेलको एकदिवसीय खेलमा यो आठौँ अर्धशतक हो ।

नेपालले यो समाचार तयार गरुन्जेल नेपालले ३२ ओभरमा ६ विकेट गुमाएर १०२ रन बनाएको छ ।न्युज कारखाना

काठमाडौं, १३ फागुन ।

आइतबार बिहानका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने गरी आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक आइततबार अपरान्ह ३ बजेका लागि सारिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यवस्तताका कारण गत शुक्रबार स्थगित गरिएको स्थायी समिति बैठक आइतबार बिहानका लागि बोलाइएको थियो ।

बैठकमा पदाधिकारीसहित नेताहरुको जिम्मेवारी हेरफेर गर्ने, तराई मधेश अभियानका लागि कार्यविभाजनका विषयमा छलफल हुनेछ ।

माओवादीले रूपान्तरण अभियानमा सक्रिय रहेका तीन नेतालाई सम्मान र कमजोर कार्यसम्पादन गर्ने नेतालाइ सजाय गर्ने पनि जनाइएको छ ।न्युज कारखाना

काठमाडौं, १३ फागुन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारीसहित विभिन्न घटनामा प्रधानमन्त्रीको जवाफ माग्र्दै आएको छ ।

 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेले दुईजना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला दोषी देखाइएको छानबिन आयोगको प्रतिवेदन, मन्त्री ज्वालाको बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने भन्दै उठेर विरोध गर्‍यो ।

प्रतिचपक्षी दल एमालेका सांसद उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले यसबारे सदनको ध्यानाकर्षण भएको र यसबारे सरकारलाई रुलिङ भइसकेको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे । त्यसपछि एमालेका सांसद आ–आफ्नो स्थानमा बसेपछि बैठक चलिरहेको छ ।

एमालेले बालकुमारी घटनामा छानबिन आयोगले मन्त्री ज्वालालाई दोषी देखाएकाले उनले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ । मन्त्री ज्वालाले राजीनामा नदिए बर्खास्त गर्नुपर्ने उसको माग छ ।

साथै टेरामक्स प्रकरणमा मुछिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र लुम्बिनीको जग्गा लिजमा दिएको प्रकरणमा पर्यटन मन्त्री सुदन किराँतीको राजीनामा माग्दै आएको छ ।
न्युज कारखाना

रौतहट १३ फागुन।
मैनबत्ती बाट सल्किएर रौतहटको कटहरिया नगरपालिका-५ स्थित १ घरमा आगलागी हुँदा करिब तीनलाख बराबरको धनमाल जलेर नष्ट भएको छ।

 

कटहरिया ५ बजार छेउको बहादुरपुर गाउँका रामचन्द्र गोसाइँको खरको छाना भएको घरमा शनिबार राति साढे ८ बजे आगलागी भएको थियो। आगलागी बाट घर तथा घरमा रहेको अन्न, लत्ताकपडा, गरगहना जलेर झण्डै तीनलाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

 

ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख बरिष्ठ सई अरुण कुमार सिंहको कमाण्डमा गएको प्रहरी टोली र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएको थियो। विद्युत् लाइन नरहेको समय घरमा बालेको मैनबत्तीबाट सल्किएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ।

पीडित गोसाईंका अनुसार आगलाग बाट घरमा रहेको सम्पूर्ण सामान जलेर नष्ट भएकाले महिला तथा बालबालिका लाई ठुलो कठिनाई भएको छ। प्रहरी तथा स्थानीयको सक्रियताले ठूलो क्षति हुनबाट जोगिएको छ। जलेर नष्ट भएको गोसाईंको घरको छेउ छाउमा एकदर्जन खरको छाना भएको घरहरू रहेको छ।न्युज कारखाना

काठमाडौँ, १३ फागुन ।

मह सञ्चारमा करिब डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’मार्फत् निर्देशनमा डेब्यु गरेका प्रदीप भट्टराईले ‘शत्रु गते’, ‘जात्रै जात्रा’ र ‘महापुरुष’को निर्देशन गरिसकेका छन् । लगातार हरेक फिल्ममा दर्शक र समीक्षकको विश्वास जित्न सफल निर्देशक भट्टराई स्टारडम भएका निर्देशकमा पर्छन् । अर्थात् निर्देशककै नामले नेपालमा कमै दर्शक हलसम्म पुग्ने गरेका छन् । ती मध्येका एक हुन् निर्देशक भट्टराई ।

 

उनले आफ्ना काममार्फत दर्शकको विश्वास घट्न दिएका छैनन्, बढाएका छन् । नेपालमा सिक्वेल फिल्मले प्रायः दर्शक तथा समीक्षकबाट तारिफ नपाइरहेको अवस्थामा निर्देशक भट्टराईकै लेखन रहेको ‘जात्रै जात्रा’ले सिक्वेल फिल्म पनि राम्रो बन्छ भन्ने प्रमाणित ग¥यो । पहिलो फिल्ममार्फत् विश्वास बनाउन सफल निर्देशक भट्टराईल दोस्रो फिल्ममार्फत आफुलाई बक्सअफिसमा प्रमाणित गरे । तेस्रो फिल्ममार्फत ह्याट्रिक गरे । चौथो फिल्म ‘महापुरुष’ मार्फत उनले गुरू अभिनेता हरिवंश आचार्यलाई राष्ट्रिय चलचित्र पुरस्कारका हकदार बनाउन सफल भए ।

 

उनी अहिले जात्राको तेस्रो शृङ्खला ‘महाजात्रा’ लिएर दर्शकसमक्ष आउदैछन् । यसको प्रचारप्रसारको सुरुआत गर्दै उनले विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसहितको टिजर सार्वजनिक गरिसकेका छन् ।

 

‘हामीले फिल्म निर्माणको सुरुआत गर्दा नै विदेश राइट्स विक्री हुनु, नेपालमा वितरकको प्रतिक्रियाले गर्दा यो शृङ्खलाको प्रतीक्षालाई बुझिसकेका थियौँ । महाजात्रा भएकाले कथा, प्रस्तुतीकरणमा झनै मेहनत गरेका छौं । हामी दर्शकको वर्ड अफ माउथ अघिल्ला शृङ्खला भन्दा यसपटक झनै बलियो होस् भनेर काम गरिरहेका छौँ’,निर्देशक भट्टराईले भने ।

 

उनले आफ्नो सफलतालाई टिमको मेहनतको रुपमा वर्णन गर्छन् । किनकि स्क्रिप्ट लेख्नकै क्रममा हुने छलफल र मेहनतले दर्शकलाई हलबाट खुशी बनाएर निकाल्न सकिएको उनको बुझाइ छ । ‘मैले फिल्म दर्शकका लागि तयार गर्ने गरेको छु । बजारमा यो चलिरहेको छ वा यस्तो डिमाण्ड छ भनेर काम गरिएको छैन । हाम्रो शैलीमै काम गर्ने गरेका छौं, दर्शक खुशी हुनुभएकै कारण एकपछि अर्को फिल्मको बक्सअफिसमा व्यापार बढिरहेको छ’, निर्देशक भट्टराईले भने ।

 

जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा  प्राप्त हुने पैसा व्यवस्थापन गर्ने अवसरले गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्ममा हाँसो र रोदनको मिश्रण छ । अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङखला दर्शकको प्रिय बनेको छ । यसले नेपाली फिल्मले अन्तर्राष्ट्रिय बजारमार्फत पाउने सर्वाधिक रकम पाईसकेको छ ।

 

कथा लेखनकै क्रममा ‘महाजात्रा’ को बनेको ब्राण्डको कारण भारत बाहेकको विदेश प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टका लागि छत्र थापाले खरिद गरिसकेका छन् । उनले नेपालसँगै विदेशमा पनि चैत ९ गते प्रदर्शन हुने बताए ।

 

‘हाम्रो कम्पनिले अधिकाँस देशमा प्रदर्शन अधिकार बिक्री गरिसकेको छ । यसलाई हेर्न परिवार नै दर्शक बनेर आउने हुँदा हाम्रो लगानी सुरक्षित हुनुका साथै मुनाफा नै हुन्छ’, वितरक थापाले भने,‘हामीले यसले प्राप्त गर्ने रकम दिएका छौं । सम्भवत यो अहिलेसम्म विदेश अधिकारका लागि बिक्री भएको मध्ये बढी हो । यसबाट म मात्र नभई स्थानीय वा सहर–सहरमा प्रदर्शन गर्ने पनि लाभान्वित हुनेछौँ ।’

 

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

 

यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।न्युज कारखाना

नयादिल्ली, १३ फागुन ।

विश्वको सबैभन्दा ठूलो प्राविधिक कम्पनी गुगलले एआईलाई लिएर विवादको बीचमा लगातार चुनौतीहरूको सामना गरिरहेको छ।

 

गुगलले भर्खरै च्याटजिपिटीसँग प्रतिस्पर्धा गर्न आफ्नो एआई मोडेल बार्डलाई जेमिनीको रूपमा पुनः ब्रान्ड गरेको छ तर यो लगातार विवादमा परिरहेको छ।

 

यसै सन्दर्भमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गुगलले अब नयाँ समस्याको सामना गर्नु पर्ने भएको छ ।

 

जब जेमिनी एआईलाई पीएम मोदीको बारेमा सोधियो, आपत्तिजनक जवाफ दिइयो।

 

एक प्रयोगकर्ताले सामाजिक सञ्जालमा सो कुराकानीको स्क्रिनसट पोस्ट गरे, त्यसपछि यो पोस्ट भाइरल भयो, जसले भारतका इलेक्ट्रोनिक्स र आईटी राज्यमन्त्री राजीव चन्द्रशेखरको ध्यान पनि खिच्न पुग्यो ।

 

त्यसपछि सम्बन्धित पोष्ट सेयर गर्दै मन्त्री चन्द्रशेखरले उक्त मामिलामा गुगल एआईको आपत्तिजनक प्रतिक्रियामा धेरै कानून उल्लङ्घन भएको बताए । उनले लेखेका छन, ‘यो आईटी ऐनको मध्यस्थ नियमको नियम ३.१. (बी) को सीधै उल्लङ्घन हो र फौजदारी संहिताका धेरै प्रावधानहरू पनि उल्लङ्घन भएको छ।

 

इन्डियन एक्सप्रेसको एक रिपोर्टको अनुसार आईटी मन्त्रालयले प्रधानमन्त्री मोदीको विवादास्पद जवाफको बारेमा गुगललाई नोटिस पठाउन लागेको छ र मन्त्रालयले सूचना पठाउने प्रक्रियामा लागि परेको छ ।

 

उक्त पोस्ट भाइरल भएपछि प्रयोगकर्ताहरूले गुगलको एआई पक्षपाती भएको आरोप लगाएका छन्। वास्तवमा, जेमिनी एआईलाई पीएम मोदी, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको बारेमा एउटै प्रश्न सोधिएको थियो तर मोदीको सबालमा भने एआईले फरक तरिकाले जवाफ दिए।

 

ट्रम्प र युक्रेनको मामलामा जेमिनीले सीधा जवाफ दिनबाट जोगिन र कूटनीतिक अडान अपनाए र गुगल सर्च गर्न सुझाव दिए जबकि पीएम मोदीको मामलामा जेमिनीको जवाफ सीधा थियो। यसका आधारमा प्रयोगकर्ताहरूले गुगलको एआईले अमेरिका र यसका सहयोगी राष्ट्रहरूका लागि फरक र अन्य देशहरूको लागि फरक दृष्टिकोण अपनाइ रहेको बताएका छन् ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।