कलैया (बारा), ११ मङ्सिर :
चाडबाड सकिएपछि बाराका किसानलाई धान भित्र्याउन नभ्याइनभ्याई भएको छ । वैदेशिक रोजगार, शिक्षा तथा सहर केन्द्रित बसाइँका कारण गाँउघरमा काम गर्ने जनशक्तिको कमी हुन थालेपछि आधुनिक मेसिनको प्रयोगको गरी किसानले धान भित्रयाउन थालेका छन् । कृषकले आव २०८०/८१ मा विभिन्न जातको अगहनी धान ३४ हजार एक सय २० हेक्टर क्षेत्रफलमा खेती गरेका जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश युवा गाउँबाहिर भएकाले मजदुर भेट्न नसक्दा किसानले आधुनिक मेसिनको प्रयोगको गर्न थालेका छन् । गत आवमा कृषकले ३४ हजार एक सय १५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव दुई मेट्रिकटनले धान उत्पादन गरेकामा यस वर्ष उत्पादनमा केही कमी आउने आँकलन गरिएको यादवले बताउनुभयो । “धान भित्र्याएपछि किसानले गहुँ, तेलहन, दलहन, मकै, आलु, उखुखेती गर्नतिर जुटिरहेका छन्”, उहाँले भन्नुभयो । रासस
सर्लाही, ११ मङ्सिर :
आकाशे वर्षा कम हुँदा सर्लाहीमा धान उत्पादनमा कमी आएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । समयमा पानी नपर्दा मलखाद, विषादी, पप्पसेट र कामदारमा लागेको लगानीका साथै मेहनत खेर गएको भन्दै किसान चिन्तित बनेका छन् । इस वर्ष कम वर्षा, रोग, कीराको सङ्क्रमणलगायत कारणले धान उत्पादन घटेको लालबन्दी नगरपालिका–३, जब्दीका किसान रुपलाल चौधरीले गुनासो गर्नुभयो । “गत वर्ष धेरैको पानसोना जातको धान राम्रो फलेको देखेर जब्दी फाँटका धेरैले यो वर्ष त्यही धान रोपेका थिए”, उहाँले भन्नुभयो, “समयमा पानी नपर्नु, मलखादको अभावलगायत कारणले उत्पादन घटेको छ ।” यो वर्ष मेहनत र लगानीअनुसार धान उत्पादन हुन नसकेको चौधरीले बताउनुभयो । छ कठ्ठामा लगाएको धान बालीमा सिँचाइका लागि मात्रै रु १० हजार खर्च भएको जनाउँदै लगानीअनुसार धान नफलेको किसान अनिरुद्र साहले बताउनुभयो । उहाँका अनुसार यो वर्ष आकाशे वर्षाले साथ नदिँदा धान राम्रो नफलेको हो । “छ कठ्ठामा रु १० हजारको त पानी मात्रै लगाएँ तर लगानी बराबरको पनि धान फलेको छैन”, उहाँले भन्नुभयो । पछिल्लो समय मलखाद र सिँचाइको अभावले खेती लगाउनै मुस्किल पर्न थालेको हरिपुर्वाका किसान राजगिरले बताउनुभयो । “जेजति कृषि उत्पादन गरेका छौँ, त्यो सबै किसानकै बलबुताबाट भएको हो”, उहाँले भन्नुभयो । सरकारले बेलैमा मलखाद र सिँचाइको प्रबन्ध गरिदिए किसानलाई राहत मिल्ने किसानको भनाइ छ । जिल्लाका किसान अहिले धान भित्र्याउन व्यस्त छन् । प्रत्येक फाँटका किसान धान काट्ने, बोझा बाँध्ने र थ्रेसर लगाउने काममा व्यस्त छन् । जिल्लामा गत वर्ष एक लाख ६४ हजार एक सय ४५ मेट्रिकटन धान उत्पादन भएको थियो । गत वर्ष करिब पाँच मनसम्म धान उत्पादन भएको खेतमा यो वर्ष दुई मन मात्रै उत्पादन भएको किसानले बताएका छन् । कृषि ज्ञानकेन्द्र सर्लाहीका प्रमुख देवानन्द राय यादवले सिँचाइ सुविधा रहेको क्षेत्रमा धान उत्पादन राम्रै भए पनि आकाशे वर्षाका भरमा खेती हुने क्षेत्रमा उत्पादन घटेको बताउनुभयो । उहाँका अनुसार गत वर्षभन्दा धानखेती केही बढे पनि उत्पादन भने घटेको छ । “पानी लाग्ने क्षेत्रमा धानको उत्पादन राम्रै देखिन्छ तर आकाशे वर्षा कम हुँदा सिँचाइ सुविधा नभएको ठाउँमा उत्पादन घटेको छ”, रायले भन्नुभयो, “केही क्षेत्रमा रोग, कीराको सङ्क्रमण पनि देखिएको छ ।” कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा करिब ४६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । आवश्यकता अनुसार आकाशे वर्षा नहुँदा अधिकांश किसानले यो वर्ष धान बालीमा दमकल अर्थात् पप्पसेट चलाएर पानी लगाएका थिए । दमकलबाट सिँचाइ गर्दा प्रतिघण्टा रु तीन सय तिर्नुपर्ने र एक कठ्ठा खेतमा पानी पटाउन करिब दुई घण्टासम्म दमकल चलाउनुपर्ने किसानले बताएका छन् । धान रोप्दा तथा रोपिसकेपछि पनि बारम्बार दमकल चलाएर पानी पटाउँदा खर्च बढेको जिल्लाका किसानले गुनासो गरेका छन् । रासस
काठमाडौँ, ११ मङ्सिर :
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी जिल्लाको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सडक कालोपत्र निर्माणमा वास्तविक भएको कार्यभन्दा बढी नापी किताबमा चढाइ भुक्तानी गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा अनियमितता भएको पाइएको हो । आयोगले रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख सनिकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्धारिकाप्रसाद दाहाल, इञ्जिनियर देवेन्द्रनारायण चौधरी, सवइञ्जिनियर हर्षलाल चौधरीविरुद्ध रु दुई लाख १२ हजार ७३ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार रामधुनी नगरपालिका–३ का वडाध्यक्ष राजकुमार चौधरी, वडा सदस्य टीकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौँ सुनिलकुमार चौधरीविरुद्ध पनि समान बिगो दाबी गरेर मुद्दा दायर गरिएको छ । साथै जाल्पा सिद्ध निर्माण सेवा पकली सुनसरीमा प्रोपाइटर नानुकुमारी निरौलाविरुद्ध पनि रु दुई लाख १२ हजार ७३ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिनुभयो । रासस
रौतहट,मंसिर ११, २०८० :
विभिन्न पालिकाको चौकमा जडान भएका (हाइ मास लाइट)टावर लाइट तथा सडक बत्तीको विद्युत महसुल नतिरेपछि विद्युत प्राधिकरणले लाइन काट्ने अभियान थालेको छ।
चन्द्रपुर र बृन्दाबन , गुजरा नगरपालिकाको चौक चौकमा जडान गरेको ६० भन्दा बढी टावर लाइटको लाइन काटेको नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रले जनाएको छ।
चन्द्रपुर नगरपालिकाको वडा नं ४,५,६ का टावरलाइटको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुरका वितरण केन्द्र प्रमुख धिरेन्द्र यादवले जानकारी दिए।
शनिबारसम्म चन्द्रपुरको २१ वटा टावर लाइटको लाइन काटिएको छ भने वृन्दावन नपाको १७ वटा टावर लाइटको लाइन काटिएको छ। पछिल्लो दिनमा नगरपालिकाहरुले उज्यालो अभियान भन्दै अनुमतीबिना, मिटर नराखी सिधै टावर लाइट जडान गर्न थालेपछि नेपाल विद्युत प्राधिकरणका विभिन्न वितरण केन्द्रले लाइन काट्न थालेको हो।
पुन जडान गरी बत्ती बालेको पाइए लाइटसहित सामान जफत गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणले जिल्लाका १८ वटै पालिकालाई पटक-पटक मिटर जडान गर्न र बक्यौता रकम तिर्न आग्रह गर्दा अटेर गरेपछि लाइन काटने अभियान थालेको हो।
नेपाल विद्युत प्राधिकरणले कार्तिक मसान्तभित्र सडक बत्ती र टावर लाइटबाट उठेको महसुल बुझाउन हरेक पालिकालाई सुचना जारी गरेको थियो। दोस्रोपटक मंसिर ६ गतेसम्म एक साताको समय दिए पनि अवैधरुपमा जडान गरिएको बत्ती नहटाएको तथा मिटर जडान नगरेपछि लाइन काटन थालिएको नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रका प्रमुख धीरेन्द्र यादवले बताए।
नेपाल विद्युत प्राधिकरण, विद्युत महसुल संकलन विनियमावली २०७८ को विनियम १० को प्रावधान बमोजिम लाइन काटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। चन्द्रपुर नगरक्षेत्रमा मात्र करीव ५० भन्दा बढी टावर लाइट जडान गरिएको छ।
करीव ११ मिटर अग्लो टावर लाइटको ४ वटा प्यानलसहितको लाइट लगाउँदा बढीमा ७०/८० हजार लागत भए पनि पालिकाले भुक्तानी भने बढी रकम गर्दै आएको गुनासो छ। रौतहटको १८ वटै पालिकालाई विद्युतशक्ति उपयोग गरे बापतको बक्यौता रकम ४५ दिनभित्र बुझाउन नेपाल विद्युत प्राधिकरणले समय दिएको थियो।
गत आर्थिक वर्षसम्मको बक्यौता रकम तिर्न नेपाल विद्युत प्राधिकरणले समय सीमा दिएको थियो।
प्राधिकरणले असोज २१ गते सुचना जारी गर्दै सडकका लागि विद्युत् प्रयोग गरेर महसुल नबुझाउने रौतहटसहित देशभरका ६ वटै महानगर पालिकासहित तीन सय ३२ स्थानीय तहलाई ४५ दिनभित्र महसुल बुझाउन समय दिएको थियो।
रौतहटको १८ पालिकाले गौर, चन्द्रनिगाहपुर,मौलापुर वितरण केन्द्रमार्फत करोडौं विद्युत महशुल अशुल गर्न बाँकी रहेको छ।
रौतहटको चन्द्रपुर ४ मा मिटर जडान नगरी राखिएको (हाइ मास लाइट )टावर लाइट। तस्विर : फणि महत। अनपुरना
११ मंसिर, सुनसरी ।
सुनसरीको रामधुनी नगरपालिका तत्कालीन उपप्रमुखसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार नगरपालिकाका तत्कालीन उपप्रमुख सविना कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष समेत नौ जनाउपर गैरकानुनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ३ स्थित रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मुल सडक सिंगियादेखि वडा नम्बर ४ को लालपुर गाउँसम्म कालोपत्र सडक निर्माण कार्यमा वास्तविक भएको कार्यभन्दा बढी नापी कितावमा चढाई बढी भुक्तानी गरी भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रवक्ता दाहालका अनुसार रामधनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृ ओमकार प्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिका प्रसाद दाहाल, इन्जिनियर देवेन्द्र नारायण चौधरी र सवइन्जिनियर हर्षलाल चौधरीले स्थलगत अनुगमनका क्रममा निर्माण कार्य सम्पन्न नहुँदै कार्य सम्पन्न भनी माइम्यूट गरी उक्त निर्माण कार्यको गलत नापी किताव र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार गरेको अनुसन्धाबाट खुलेको छ ।
यसैगरी, रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख सविना कुमारी चौधरी, वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष राजकुमार चौधरी र तत्कालीन वडा सदस्य (नगर कार्यपालिका सदस्य) टिकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौ तहका सुनील कुमार चौधरीले अनुगमन तथा मूल्याङ्कन समितिमा रही स्थलगत अनुगमनका क्रममा निर्माण कार्य सम्पन्न नहुँदै कार्य सम्पन्न भनी माइम्यूट गरी भ्रष्टाचार गरेको आरोप छ ।
साथै जलपा सिद्ध निर्माण सेवा, पकली सुनसरीका प्रोपाइटर नानु कुमारी निरौला (बस्नेत)ले सरकारी सम्पत्तिमा गैरकानुनी हानि र आफूलाई लाभ पु¥याउने बदनियतले रामधुनी नगरपालिकासँग भएको सम्झौता विपरीत निर्माणस्थलमा सम्पादन नै नभएको र नापी किताव एवम् ठेक्काको बिलमा वास्तविक कामको परिमाणभन्दा बढी काम गरेको देखाई नगरपालिकाको कार्यालयमा पेश गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले नगरपालिकाका तत्कालीन उपप्रमुख चौधरी र प्रमुख प्रशासकीय अधिकृतसहित नौजनाविरुद्ध दुई लाख १२ हजार ७३ रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण बमोजिम सजाय गरी बिगोसमेत जफल हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । नेपालबहस
११ मङ्सिर २०८०,काठमाडौँ ।
जाजरकोट केन्द्रबिन्दु भएर गत कार्तिक १७ गते गएको भूकम्प प्रभावितका लागि नेपाल बैंकले रू.५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सो रकम सहयोग गरेको हो ।
नेपाल बैंकसञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले बालुवाटारमा आज आयोजित एक कार्यक्रममा रू.५० लाखकोे चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य विवेक शम्शेर ज.ब.रा., का.मु.प्रमुख कार्यकारी अधिकृत समता पन्त, कम्पनी सचिव केशव प्रसाद भण्डारी तथा बरिष्ठ प्रबन्धक विश्वराज भण्डारी समेतको उपस्थिति रहेको थियो । रातोपाटी
काठमाडौँ, ११ मङ्सिर :
पूर्वी नेपालको बिजुली प्रवाहका लागि महत्वपूर्ण मानिएको कोशी करिडोर दुई सय २० किलोभोल्ट प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहबाट दुई हजार चार सय ५० मि उचाइमा निर्माण गरेको २२०÷१३२÷३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याएको छ । आयोजनाअन्तर्गत नै सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङ्टार तथा बानेश्वर दुई सय २० केभी सबस्टेसन गत वर्षको साउनबाटै सञ्चालित छन् । सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग २०७५ साल असारमा दुई करोड ६१ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा र भोजपुर जिल्लामा निजी क्षेत्रले निर्माण गर्ने र गरिरहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रुपमा पूर्वाधार तयार भएको बताउनुभयो । “प्रसारण लाइन र सबस्टेसन तयार भयो, तर जलविद्युत् आयोजना निर्माण हुन नसक्दा २२० केभी लाइन कम क्षमतामा चलाउनुपर्ने अवस्था छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादित विद्युत् इनरुवा सबस्टेसनमार्फत मोरङ र सुनसरी जिल्ला आपूर्ति गरिने हुँदा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि उत्पादन स्रोत भएको छ जसले गर्दा भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ ।” वसन्तपुर सबस्टेसनमा तुम्लिङ्टार र ताप्लेजुङको ढुङ्गेसाँघु सबस्टेसनबाट विद्युत् आउने छ । वसन्तपुरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित इनरुवा सबस्टेसनसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरी टावरको एकतर्फ मात्र तार तानेर लाइन सञ्चालनमा ल्याइएको छ । वसन्तपुरबाट बानेश्वर हुँदै तुम्लिङ्टारसम्म करिब ३० किलोमिटर दुई सय २० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किट निर्माण सम्पन्न भइसकेको छ । इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनको लम्बाइ एक सय पाँच किलोमिटर छ । डबल सर्किट टावर निर्माण गरिएको छ भने हाल सिङ्गल सर्किट तार मात्र तानी लाइन सञ्चालनमा ल्याइएको छ । नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर दुई सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तुम्लिङ्टार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो । अरुण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण हुने र भइरहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर दुई २० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । कोशी प्रदेशका भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गरिएको हो । कोशी करिडोरअन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु (ताप्लेजुङ) खण्ड प्रसारण लाइन र ढुङ्गेसाँघुमा एक सय ३२ केभी सबस्टेसन निर्माणाधीन छन् । करिब ३४ किलोमिटर डबल सर्किट प्रसारण लाइनमा पर्ने एक सय २८ वटा टावरमध्ये छ वटाको मात्र निर्माण बाँकी छ । एउटा सर्किटको २६ किलोमिटर तार तानिएको प्रसारण लाइन आगामी माघभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । वसन्तपुर–ढुङ्गेसाँघु दुई सय २० प्रसारण लाइनको अर्को सर्किट निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा भइरहेको उक्त काम आगामी फागुनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ढुङ्गेसाँघु सबस्टेसनको निर्माण ९५ प्रतिशत सकिएको छ । उक्त प्रसारण लाइनमा ताप्लेजुङमा निर्माणको अन्तिम चरणमा रहेका ७३÷७३ मेगावाटका मध्य तमोर र मध्य मेवाखोला जलविद्युत् आयोजना जोडिने छन् । अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैक दिएको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि नौ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ । कोशी करिडोर प्रसारण लाइन आयोजनामार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुङ्गेसाँघुदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ । कोशी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको दुई सय २० केभी प्रसारण लाइन हो । रासस
महोत्तरी, ११ मङ्सिर :
महोत्तरी सहित मिथिला क्षेत्रमा सामाचकेवा पर्व आज समापन गरिँदैछ । दाजुभाइ–दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने यो पर्व आज ११औँ दिनमा समापन हुन लागेको हो । कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खर्नाका दिनदेखि सुरु हुने यो पर्व कात्तिक पूर्णिमाका दिन समापन गरिने मैथिल परम्परा रहेको छ । द्वापरयुगका पौराणिक पात्र सामाचकेवा (श्रीकृष्ण पुत्री सामा र उनका प्रेमी चक्रधर) को अमर प्रेमको सम्झनामा यो पर्व मनाउन थालिएको हो । सामा र चक्रधरलाई श्रीकृष्णले स्वच्छन्द प्रवृत्तिका भए भन्दै चरा योनीमा जाने श्राप दिनुभएको किंवदन्ती छ । पिताका श्रापले चरा योनीमा पुगेका सामा र चक्रधर (चकेवा) लाई श्रापमुक्त गराउन सामाका दाजु साम्बले श्रीशिवको कठोर तपस्या गरेर पितालाई रिझाई सामा र चक्रधरलाई श्रापमुक्त गराउन सक्ने वरदान पाएका थिए । उक्त वरदानले सामा र चक्रधर श्रापमुक्त भई पूर्वयोनीमा आई विवाह गरी घरजम गर्न पाएका कथा नै पर्वको परम्परा बनेको संस्कृतिका जानकार बताउँछन् । बहिनी सामाप्रति साम्बले देखाएका उदारता र स्नेहको कदर गर्दै मिथिलामा दिदीबहिनीले साम्बजस्तै समर्पित हुने दाजुभाइ हुन भन्ने विश्वासमा पर्वका गीतमार्फत भाव पोख्दछन् । पर्वमा सामा, चकेवा, चरा, वृन्दावनसहितका कथासँग जोडिने आकृतिका माटाका खेलौना बनाएर पर्वभरि रातमा दाजुभाइको सौर्य बखान गर्दै गीत गाइन्छ । बोलीचालीमा ‘सामा खेल’ भनिने यो पर्व मिथिलामा थारु जाति समुदायमा विशेष तयारीका साथ मनाइन्छ । मिथिलाका अन्य समुदायका दिदीबहिनीले पनि यो पर्व उल्लासका साथ मनाउँदै आएका छन् । दाजुभाइ दिदीबहिनीबीच प्रेम र सद्भावको प्रतीक मानिने सामाचकेवा पर्वमा दिदीबहिनीले पछिल्ला १० दिनभरि चकमन्न रातमा बस्तीका चौबाटोमा जम्मा भएर आफ्ना दाजुभाइको सौर्य (बहादुरी) बखान गर्दै राती सामूहिक गीत गाएका थिए । कात्तिक पूर्णिमाका दिन माटो मुछेर बनाइएका चुगला, बृन्दावन, सप्तर्षिसहितका आकृति दाजुभाइले घुँडामा राखेर फुटाएपछि दिदीबहिनीले जोतेको खेतमा ती टुक्रा विसर्जन गर्दै आज यो पर्व समापन गर्दैछन् । पर्व मनाउन विवाहित कतिपय दिदीबहिनी माइत जान्छन् । कतिपयले भने आफ्नै घरमा दाजुभाइ बोलाउँछन् । अविवाहित दिदीबहिनीले भने दाजुभाइसँगै आफ्ना घरमा पर्व मनाउँछन् । द्वापरयुगमा श्रीकृष्ण पुत्र साम्बले आफ्नी बहिनी सामाको चारुवक्त्र (चक्रधर) सँगको प्रेम सफल बनाउन गरेका योगदानको स्मरण गर्दै दाजुभाइलाई यो पक्षमा सम्झना गरिएको सामा खेल्ने मिथिलानी बताउँछन् । पर्व समापनमा दिदीबहिनीले दाजुभाइलाई पुजन गर्दै मिष्ठान्न भोजन गराउँछन् भने दाजुभाइले दिदीबहिनीलाई वस्त्रआभूषण र गच्छअनुसार दक्षिणा दिन्छन् । यो पर्वले दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम र सद्भाव प्रगाढ बनाउने मैथिल विश्वास गर्छन् । रासस
चितवन, ११ मङ्सिर :
नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भन्नुभयो, “गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।” उहाँले गणतन्त्रको बिरोध गर्नेहरुको अर्थ नरहेको बताउनुभयो । गणतन्त्र बिरोधी गतिविधिबाट राजनीतिक दलहरु अत्तालिएका हुन् ? यो प्रश्नमा उहाँले भन्नुभयो, “को अत्तालियो ? हामी अत्तालिएका छैनौँ ।” वर्तमान सत्तारुढ गठबन्धन दलको सत्तासाझेदारीका विषयमा पनि सभापति देउवालाई पत्रकारहरुले प्रश्न गरेका थिए । सरकारका नेतृत्वका विषयमा भएको आलोपालोको सहमतिबारे उहाँले स्पष्ट जवाफ दिनुभएन । गठबन्धन दलको सत्ता साझेदारी कसरी हुन्छ ? यस प्रश्नमा उहाँको जवाफ थियो, “थाहा पाइहाल्नु हुन्छ नी ।” सो अवसरमा कांग्रेस नेता डा शशांक कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “राजतन्त्र फर्कनेमा मलाई कमै विश्वास छ । यहाँ हरेक कुराको सम्भावना छ । संसदले चाह्यो भने जे पनि हुनसक्छ ।” सरकारका कामप्रति नागरिक पूर्णरुपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको उहाँको भनाइ थियो । गणतन्त्र बचाउन सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “मलाई पनि सरकारको काम त्यति सन्तोषजनक लागेको छैन । मुलुकको उन्नति र प्रगतितर्फ सरकारले ध्यान दिएन ।” सङ्घीयता आवश्यक भए पनि यसको वर्तमान संरचनाप्रति भने प्रश्न उठेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जनताका मनमा आएका व्यवस्था परिवर्तनसम्बन्धी आशङ्का हटाउन सबै दल एक ठाउँमा आउनुपर्छ ।” नारायणगढ–बुटवल सडक खण्डका विषयमा आफूले निर्माण व्यवसायीलाई १२ पटकसम्म भन्दा पनि काम हुन नसकेको तथा यस विषयमा संसदमा कुरा उठाउने उहाँले बताउनुभयो । रासस
सिरहा, ११ मङ्सिर :
पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिरहा र धनुषाको सिमाना भएर बग्ने कमला नदीको संरक्षणका लागि थालिएको अभियानलाई केन्द्र सरकारले सुन्नुपर्ने बताउनुभएको छ । पूर्वपश्चिम हुलाकी लोकमार्गअन्तर्गत कमला नदी किनारमा आज कमला जलाधार संरक्षण अभियानद्वारा ‘कमला बचाउ अभियान’ को पाँचौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सभापति लामिछानेले यस अभियानलाई सबैले आआफ्नो तवरले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । “कमला बचाउ अभियानमा वर्षौंदेखि यहाँका स्थानीय युवा, बुद्धिजीवी लागिरहनुभएको छ । पर्यावरणीय हिसाबले भोलिको पुस्तालाई पर्नसक्ने समस्याबाट बचाउन आजै सचेत भएर यो अभियान चाल्नुभएको छ । यो आवाज केन्द्रले सुनेको छ/छैन मलाई थाहा छैन”, उहाँले भन्नुभयो, “अब यो आवाज केन्द्रसम्म लैजाने जिम्मा मेरो पार्टीले लिन्छ ।” सभापति लामिछानेले आफ्नो पार्टीको सरकार बनेको अवस्था हुन्थ्यो भने कमला पुलको ठेक्का लिएर १२ वर्षदेखि अलपत्र पार्ने निर्माण कम्पनीलाई कारवाही गरिने भन्दै अलपत्र पारिएको पुलको काम अगाडि बढाउन निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस