चितवन, ७ जेठ
ट्रकको ठक्करबाट चितवनमा स्कुटर चालकको ज्यान गएको छ । आइतबार बिहान चितवन भरतपुर महानगरपालिका-१२ टिकौली जाँदै गरेको ट्रकले सोही दिशामा जाँदै गरेको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ना.४ ख ६६७४ नम्बरको ट्रकले बागमती प्रदेश ०३-००२प ७६८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भरतपुर महानगरपालिका-११ का २० वर्षीय सागर तामाङको मृत्यु भएको हो ।
उनको स्कुटर पछाडि सवार २० वर्षीय विशान्त ढकालको उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको पनि अवस्था गम्भीर छ । विशान्तको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
ट्रक चालक तनहुँ घुमाउने नगरपालिका-४ बस्ने ५० वर्षीय ढकबहादुर गुरूङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं, ७ जेठ
नेकपा एमालेका सांसद दयालबहादुर शाहीले बोलेको शब्द संसद्को रेकर्डबाट हटाइएको छ ।
आइतबारको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रमाथि टिप्पणी गर्ने क्रममा उनले बोलेका शब्द संसदीय मर्यादा प्रतिकूल भएको भन्दै सभामुखको आसनमा बसेकी उपसभामुख इन्दिरा रानामगरले रेकर्डबाट हटाउन निर्देशन दिएकी थिइन् ।
एमाले सांसद शाहीले संसद्मा कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री बद्रि पाण्डेको नामै लिएर टिप्पणी गरेका थिए ।
बूढा महामन्त्रीहरू पद खाँदाखाँदा बुद्धि धमिल्लिनु स्वाभाविकै भएको तर तेज करार महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री बद्रि पाण्डेको नाम लिएर उनले सत्ता स्वार्थको निम्ति बीपीको सिद्धान्त छोड्न अलिकता पनि संकोच लागेन ? भन्दै प्रश्न गरेका थिए । उनले ७ वटा मन्त्रीको निम्ति कांग्रेसले गहतको झोलमा जात फालेको आरोपसमेत लगाएका थिए ।
त्यसपछि कांग्रेस सांसद ईश्वरी न्यौपानेले नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेकोमा उक्त अभिव्यक्ति हटाइएको हो ।
धनगढी, ७ जेठ
कर्णाली नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ ।
टीकापुर नगरपालिका-५ प्रेमनगरका १७ वर्षीय किशोर अमृत चौधरीको कर्णाली नदीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
कर्णाली नदीमा डुबेर उनी बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले आफन्तहरूको सहयोगमा खोजी गर्ने क्रममा दौलतपुरस्थित नदी किनारमा उनको शव फेला परेको हो ।
काठमाडौं, ७ जेठ ।
संगीतकार दीपक शर्माका ६ वटा फिल्मका गीत करोड क्लबमा पुगेको गीति एल्बम लोकार्पण गरिएको छ । काठमाडौं आइतबार आयोजित एक कार्यक्रममा गीतकार राजेन्द्र थापा, संगीतकार चेतन सापकोटा, नरहरि प्रेमी र चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्ति प्रियले संयुक्त रुपमा ‘करोड’ एल्बम लोकार्पण गरेका हुन् ।

करोड एल्बममा फिल्म मंगलमबाट ‘पर्ख पर्ख मायालु, छक्का पञ्जा ३’बाट ‘पहिलो नम्बरमा’, फिल्म हिजोआजका कुराबाट ‘माया जदौ’, फिल्म ‘छक्का पञ्जा ३’बाटै ‘देखन चम्पा’ केही महिनाअघि रिलिज भएको फिल्म ‘छक्का पञ्जा ४’को ‘दर्शन सलाम’ र फिल्म ‘चि मुसी चि’को हवल्दार सुन्तली’ गीतले करोडभन्दा बढि पटक युट्यबमा हेरिएको छ । करोड क्लबमा पुगेका गीतहरु संकलन गरेर संगीतकार शर्माले ‘करोड’ नामक एल्बम विमोचन गरेका हुन् ।

गीति एल्बमको बिमोचन गर्दै संगीतकार तथा गायक नरहरि प्रेमीले दीपकले नयाँ संगीतमा नयाँ आयाम थपेको बताए । दीपकका गुरुसमेत रहेका नरहरिले दीपकलाई आफूले संगीतको बाटो देखाउन प्रेरित गरेको स्मरण गराए । गायनको सुरुवातमा दीपकलाई धेरै संगीतकारहरुले रिजेक्ट गरेको अनुभव सुनाउँदै उनले दीपकका गीत करोड क्लबमा पुगेकोमा खुसी व्यक्त गरे ।
‘दीपकले पहिलो पटक ‘मोबाइलको बोक्रो र खोक्रो’ बोलको गीतबाट गायनमा अगाडि बढेका हुन् । त्यो बेला मैले नै उसलाई यो गीत गाउन लगाएको थिएँ,’ उनले उदितनारायण झाको कथा सम्झँदै भने, ‘उदितनारायण झालाई कतिपय संगीतकारले यसले के गीत गाउँछ यसले भनेर रिजेक्ट गरिएका थिए रे । तर, पछि नामी गायक भएर जन्मिए ।’

संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले संगीतकार शर्माको मेहनतको प्रशंसा गरे । ‘गाउँमा कुटो कोदालो छाडेर हार्मोनियम बोकेर आएका हौ, यो बाटो दीपकले पनि समाएको छ,’ उनले भने, ‘करोड पटक गीत हेरिएकोमा बधाई छ। उनले गीतसंगीतका व्यापारीहरुले संगीतकार र गीतकारको रोयल्टी नदिई आफै मोटाउने गरेको आरोप लगाए ।

वरिष्ठ गीतकार राजेन्द्र थापाले गीतहरु करोड क्लबमा पुग्नु चानचुने कुरा नरहेको बताए । गीतकार थापाकै शब्द रचनामा रहेको फिल्म ‘छक्का पञ्जा ३’को गीत ‘पहिलो नम्बरमा ’ र फिल्म ‘छक्का पञ्जा ४’मा समावेश गीत ‘दर्शन सलाम’ लगायत गीतहरु चलेकोमा खुसी व्यक्त गरे ।
उनले भने, ‘एउटा चल्नु दुईटा चल्नु ठिकै हो । तर, ६/६ वटा करोड पुग्नु चानचुने कुरा होइन ।’ उनले संगीतकार दीपक शर्मालाई भर्सटायल संगीतकारका रुपमा हेरेको समेत बताए ।
मुम्बई, ७ जेठ ।
टेलिभिजन शो ‘बालवीर रिटर्नस’ र ‘अवैध’ सिरिजकी अभिनेत्री श्वेता खण्डुरीले हालै काठमाडौंबाट सगरमाथा आधार शिविरसम्मको यात्रा गरिन् । उनले यो यात्रालाई आफ्नो जीवनको स्मरणीय यात्रा भनेकी छन् ।
‘सुरुमा यो असम्भव जस्तो लागेको थियो । एक सेकेण्डको निर्णयले सगरमाथा आधार शिविरमा जान चाहेको थिएँ । मेरी आमा आफ्नो युवा दिनमा जहिल्यै ट्रेकिङ गर्न चाहनुहुन्थ्यो, तर दुर्भाग्य उहाँले यसो गर्न सक्नुभएन । मैले सगरमाथा आधारशिविरसम्म ट्रेकिङ गर्न जान लागेको सुनाउँदा उहाँ खुशी हुनुभयो’, उनले भनेकी छन् ।
श्वेता र उनको टिमले २३ अप्रिलबाट यात्रा सुरु गरेका थिए । उनीहरुले काठमाडौंबाट रामेछापसम्मको हवाई यात्रा पछि ६ देखि ७ घण्टासम्म सडक यात्रा गरेका थिए । यात्राका आधा मानिसहरु एकदिन अघि नै लुक्ला पुगेका थिए । तर उनीहरु भने विस्तारै त्यहाँ पुगे ।
‘हामीले सगरमाथा आधार शिविरसम्म पुग्नका लागि ७ दिनसम्म ट्रेक गर्याैँ । यात्रा निकै लोभलाग्दो थियो । उचाईका कारण मलाई श्वास लिन समस्या भए पनि गन्तव्यसम्म पुग्न म दृढ थिएँ । म यात्राको समयमा बिरामी पनि भएँ । तर सगरमाथा आधारशिविरसम्म पुग्ने मेरो चाहनालाई पुरा गरेरै छोडें’, उनले भनेकी छन् ।
काठमाडौं, ७ जेठ ।
नेकपा माओवादी केन्द्रले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी नफस्ने र निर्दाेष नउम्कने दाबी गरेको छ ।
काटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दाेष नफस्ने र दोषी नउम्कने बताएका हुन् ।
यसअघि आइतबार प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउन र निर्दाेष फसाउन खोजिएको भन्दै सरकारको कडा आलोचना गरेका थिए ।
यसपछि आयोजित पत्रकार सम्मेलनमा सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रका प्रवक्ता महराले दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्ने र निर्दाेष फस्ने स्थिति नआउने दाबी गरेका हुन् ।
हेटौँडा, ७ जेठ ।
बागमती प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री शालिकराम जम्कटेलले आइतबार कांग्रेसबाट चारजना र एकीकृत समाजवादीबाट दुईजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुले आइतबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
बागमती प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख शर्मासमक्ष कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, मसिना खड्काले वन तथा वातावरण, उत्तम जोशीले स्वास्थ्य मन्त्रालय र रामकृष्ण चित्रकारले विनाविभागीय मन्त्रालयको जिम्मेवारी लिँदै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
यसैगरी एकीकृत समाजवादीबाट डाक्टर राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय र लक्ष्मण लम्सालले पनि श्रम, रोजगार तथा यातायात मन्त्रीको रुपमा शपथ ग्रहण गरेका हुन् ।
मुम्बई, ७ जेठ ।
अभिनेता सलमान खान सफल अभिनेता र निर्माता नभई एक सफल व्यवसायी पनि हुन् । पहिरन ब्राण्ड बिइङ ह्यूमनका अलावा उनी भौतिक संरचनामा लगानी गर्छन् । अब सलमान चाँडै नै मुम्बईमा एक बिलाशी होटल बनाउँदैछन् ।
उनले बान्द्रास्थित कार्ट रोडमा १९ तलाको होटल बनाउने तयारी गरेका हुन् । उनको होटलको भवन निर्माणका लागि बीएमसीले अनुमति दिइसकेको छ । उनले जुन स्थानमा होटल बनाउने तयारी गरेका छन्, त्यहाँ यसअघि स्टारलेट नामको रेजिडेन्सियल सोसाइटी थियो । सलमानले यहाँ होटल बनाउनुअघि सोसाइटीको क्षतिग्रस्त भवनलाई हटाउनेछन् ।
उनको होटलमा तीन स्टरीय बेसमेन्ट हुनेछ । पहिलो र दोस्रो तलामा एक क्याफे र रेष्टुराँ रिजर्भका लागि बनाइनेछ । तेस्रो तलामा एक जिम र स्वीमिङ पुल, चौथो तलामा सर्विस फ्लोर, पाँचौं र छैटौं तलामा सभा हल हुनेछ ।
होटलको कोठा सातौं र १९ औं तलाको बीच तलामा हुनेछ । यो होटल सलमानका अभिनेता आमीर खानको घर फ्रीडा वनबाट २ सय मीटरको दुरीमा निर्माण हुँदैछ ।
काठमाडौं, ७ जेठ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रमबाट ‘संघीयता’ शब्द हटाउन माग गरेका छन् ।
शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा आइतबार भएको छलफलमा सहभागी हुँदै उनले उक्त नीति तथा कार्यक्रमको पहिलो बुँदामा उल्लेखित संघीयता भन्ने शब्द हटाउनुपर्ने माग गरेका हुन् ।
संघीयता देशले धान्न नसक्ने भन्दै उनले देशले धान्नै नसक्ने हुँदा नीति तथा कार्यक्रमको पहिलो बुँदामा उल्लेख भएको ‘संघीयता’ शब्द हटाउनुपर्ने बताए । सुरुदेखि नै आफ्नो पार्टीले संघीयताको विपक्षमा रहेको भन्दै उनले देशले धान्न नसक्ने हुँदा संघीय व्यवस्था नै खारेज गर्नुपर्ने बताए ।
काठमाडौं, ७ जेठ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीका मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसबाट चारजना र नेकपा एकीकृत समाजवादीबाट दुईजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
कांग्रेसबाट रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बन्दा पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री र मसिना खड्का भण्डारी वन तथा वतावरण मन्त्री बनेका छन् ।
यस्तै एकीकृत समाजवादीबाट लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउँदा राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपंंक्षी विकास मन्त्री बनेका छन् ।
उनीहरुको आइतबार नै शपथ गराउने तयारी गरिएको छ ।