काठमाडौं, ३ जेठ ।
राप्रपाले सबै भ्रष्टाचार काण्डको छानबिन गर्न माग गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणसहित सबै भ्रष्टाचार काण्डको छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीविरुद्ध राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत किर्तेलगायतका कसुरमा कारबाही चलाउन राप्रपाको माग छ ।
बैठकले भ्रष्टाचार निर्मूल पार्न ललिता निवास जग्गा प्रकरण, माओवादी लडाकु शिविरको घोटाला, एनसेल प्रकरण, वाइडबडीलगायत सबै भ्रष्टाचारका काण्डमाथि छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको छ ।
काठमाडाैं, ३ जेठ
मकवानपुरको हेटौँडामा बोलेरोको ठक्करबाट बुधबार एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा– ११ नमुनाचोक बस्ने सुमी डिङ्डुङका दुई वर्षीय छोरा समर लो रहेको प्रहरीले जनाएको छ ।
उनलाई हेटौँडा– ११ सिमलटारबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ च १५९७ नम्बरको बोलेरो पिक–अप गाडीले ठक्कर दिएको थियो ।
पिकपको ठक्करबाट घाइते भएका लोको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
काठमाडाैं, ३ जेठ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका केन्द्रीय नेतालाई भूगोलकेन्द्रीत जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
राप्रपाको जेठ १ गते सोमबारदेखि बुधबारसम्म धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य समितिले सो निर्णय गरेको हो ।
राप्रपाका सगुनसुन्दर लावतीले प्रेस विज्ञप्ति जारी गर्दै बैठकले अध्यक्षबाट प्रस्तुत कार्यपत्र तथा अन्य प्रतिवेदनहरु परिमार्जनसहित पारित गरेको जानकारी दिए ।
यसैगरी, राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कानुन बमोजिम कारबाही गर्न सरकारसाग जोडदार माग गरेको छ ।
पार्टीको हरेक समिति र तहमा महिलालाई कम्तिमा ३३ प्रतिशत र ४० वर्ष मुनिका युवा निश्चित सङ्ख्यामा प्रतिनिधित्व सुनिश्चित गर्ने, सरकारी कर्मचारीको सङ्गठन नबनाउने, विद्यार्थी सङ्गठनलाई गैरराजनीतिक बनाउने निर्णय भएको छ ।
राप्रपाले संसदीय दलको विधान पारित गर्ने तथा यसअघि कार्यसम्पादन बैठकका निर्णय अनुमोदन गर्ने निर्णय पनि गरेको विज्ञप्तिमा जनाइएको छ ।
काठमाडाैं, ३ जेठ
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
पूर्वगृह मन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीसहित १४ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।
आजसम्म पक्राउ परेका १३ जनाको बयान जिल्ला सरकारी वकिलको कार्यालयमा सकिएको छ । बयान नसकिएकाले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको काठमाडौं प्रहरी परीसरका प्रवक्ता सीताराम रिजालले बताए ।
काठमाडौं, ३ जेठ ।
सेयर बजार २३.३९ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २३.३९ अंक बढेर १८४५.०१ विन्दुमा पुगेको छ।
बुधबार २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाको कारोबार भएको छ ।
सबैभन्दा बढी शिवम् सिमेन्ट्सको ५ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसैगरी, नेपाल टेलिकम र एनआईसी एशिया बैंकको ४ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
र सकारात्मक सर्किट लेभलमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.९९ प्रतिशत अर्थात् ८४ रुपैयाँ ८० पैसा बढेर ९३३ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ।
रौतहट,जेष्ठ ०२ गते
रौतहट ,लाल बकैया र बागमती नदीको बिचमा रहेको रौतहट जिल्ला करिब हरेक बर्ष वाढि डुबान र कटानको समस्याले पिडित हुँदै आएका छन् । समयमा सुख्खा मौशममा काम भए क्षेती जोखिम कम हुने उदेश्यले रौतहटका स्थानीय प्रशासन अति जोखिम स्थानको स्थलगत अनुगमन गरेको हो । अनुगन गरि थत केहि गर्न सकिन्छ कि जिज्ञासा सहित पालिका प्रमुख संग छलछल समेत गरेको टोलीका एक सहभागी युवा नेता रोशन झाले बताए । सह सो समस्याका कारण बर्सेनि ठुलो जनधनको क्षति हुने गर्दछन ।

वाढी डुबान कटानको उच्च जोखिममा रहेका रौतहटको दक्षिणी भेगमा केही स्थानमा तत्कालै वाध मर्मत तथा नया स्पर निर्माणको आवश्यकता रहेको स्थानीयले बताए । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र दिउँसो दुर्गा भगवति गाउपलिका पुग्दा अध्यक्ष शम्भु सिहले वडा नम्बर ३ स्थित थप एउट स्पर निर्माण गराई दिन आग्रह गरेका छन ।

लाल बकैया तथा बागमती नदि नियन्त्रण कार्यालयबाट यश बर्ष सो वडा स्थित बामति नदिमा नया स्पर निर्माण भएका छन । वडा नम्बर ५ वडहर्वामा निर्माण भई रहेको हुलाकी राजमार्गको बागमती पुल बारे प्रजिअले जानकारी लिनु भयो । सो अवसरमा सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मी , राष्ट्रिय अनुसन्धानका प्रमुख चन्दन झा , वडा अध्यक्ष डिके झा र धर्मनाथ चौधरी सहितको उपस्थिति रहेको थियो।

काठमाडौं, ३ जेठ ।
राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । संस्थाका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वको टोलीले बुधबार बिहान प्रधानमन्त्रीलाई भेटी ७ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा नेपालमा विभिन्न संचार गृहहरुमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरुको हक हितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग प्राप्त होस् र फोटो संग्राहलयका लागि जग्गा भवन उपलब्ध गराईदिन भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
त्यस्तै ‘फोटो पत्रकारिताको माध्यमबाट जिविकाउपार्जन गर्ने सम्पूर्ण पत्रकारहरुको बिमा सुरक्षा र हरेक वर्ष प्रदान गरिने राष्ट्रिय मानपदवी अथवा प्रबल जनसेवाश्री पदकमा फोटो पत्रकार विधा समावेश गरि फोटो पत्रकारहरुलाई पनि योगदानको आधारमा राष्ट्रले सम्मान गरोस्’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै, फोटो पत्रकारहरुलाई व्यवसायिक, मर्यादित बनाउनको लागि विभिन्न ट्रेनिङ दिन वार्षिक रुपमा बजेट नियमित उपलब्ध गराउन र समय अनुसार अपडेट रहन फोटो पत्रकारहरुलाई आवश्यक क्यामेरा किन्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पनि माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डलेले फोटो पत्रकारहरुका माग जायज भएको बताउँदै माग पुरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने जानकारी दिए । ‘मागहरु जायज रहेका छन् त्यति ठूला र गर्न नसकिने माग छैनन् यसको लागि पहल गर्ने प्रतिबद्धता जनाउन चाहन्छु’ प्रधानमन्त्री प्रचण्डले भने।
काठमाडौं, ३ जेठ ।
कैलालीको टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्दै पुनरावलोकनको बाटो खुला रहेको बताएका छन् ।
जिल्ला अदालत र उच्च अदालतको चौधरीलाई जन्मकैदको सजायलाई सदर गर्ने मंगलबारको सर्वाेच्च अदालतको फैसला स्वीकार्दै उनले पुनरावलोकनको बाटो पनि खुला रहेको प्रतिक्रिया दिएका हुन् ।

डिल्ली बजार कारागारमा रहेका चौधरीले बुधबार विज्ञप्ति जारी गरेर अदालतको आदेश स्वीकार्ने भन्दै सामाजिक सञ्जालमा टीकापुर घटनाको विषयमा अनर्गल रुपमा जथाभावी पोष्ट नगर्न पनि आग्रह गरेका छन् ।
‘मिति २०८० जेष्ठ २ गते सम्मानित सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न। टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुला छ,’ उनले विज्ञप्तिमा लेखेका छन् ।
विज्ञप्ति
मिति २०८०/२/३
पार्टीका नेता कार्यकर्ता, वुद्धिजीवि, मेरा समर्थक तथा दाजुभाई
दिदी बहिनीहरु !
मिति २०८० जेष्ठ २ गते सम्माननीय सर्वोच्च सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न । टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोलि पुनराओलोकनको बारो हाम्रो लागि खुला छ । हामी सम्मानीत अदालतलाई सदा सम्मान गर्छौ, साथै सम्मानीत अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ । अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जलाभावी सामाजिक संजालमा जे पायो त्यहि पोष्ट नगर्न हुन अनुरोध गर्दछु । मलाई अझै सम्मानित सर्वोच्च न्यायालयप्रति भरोसा छ । हामी अझै न्यायिक प्रवाहमा छौं । त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको हुँ । म डिल्लीबजार कारणारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको हुँ । स्वस्थ हुँ । रत्तिभर मन विचलित छैन । पुस्तक लेखिरहेको हुँ । केहिदिनमा ‘धरातल’ नामक पुस्तकका साथ तपाईंसमक्ष साक्षात हुनेछु भन्दै विदा चाहन्छ। जय नागरिक ।
रेशम चौधरी, डिल्लीबजार कारागार
काठमाडौं, ३ जेठ ।
रुसी सहयोग र सहकार्यमा निर्माण तथा सञ्चालन हुन सक्ने विभिन्न १३ वटा परियोजनाका लागि नेपाल सरकारसँग विस्तृत परियोजना प्रस्तव मागेको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना र रुसी समकक्षीका बीच भएको भेटवार्तामा उठेका १३ वटा विभिन्न परियोजनामा चाँसो राख्दै रुसले नेपालसँग विस्तृत परियोजना प्रस्ताव माग गरेको हो । रुसले विद्युतीय रेलवे, राजमार्ग, बालबालिका क्यान्सर अस्पताल निर्माणदेखि नेपाली विद्यार्थीलाई मस्कोमा अध्ययनका लागि छात्रवृत्ति कोटा बढाउनेसम्मका परियोजना रहेका छन् ।
अध्यक्ष तिमिल्सिनाले ६–११ वैशाखमा गरेको रुस भ्रमणका क्रममा रुसको उपल्लो सदन फेड्रल एसेम्बलीका अध्यक्ष भ्यालेन्टिना मात्भिएन्को, रुसी तल्लो सदन डुमाका अध्यक्ष भ्याचेस्लाभ भोलोदिन र रुसी उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोका बीचमा भएको छलफलमा विभिन्न परियोजना अघि बढाउने विषय उठेका थिए ।
नेपालस्थित रुसी दूतावासले राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई ४ मेमा पत्र लेख्दै नेपाल सरकारबाट विस्तृत परियोजना प्रस्तावहरु अघि बढाउन आग्रह गरेको छ ।
रुसले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग र काठमाडौँमा मस्को रेलवेसँग मिल्दोजुल्दो रेलवे निर्माण गर्न तथा नेपालको मुख्य पर्यटकीयस्थ पोखरादेखि नजिकका पर्यटकीयस्थलहरुलाई जोड्ने पोखरा रिडी सडक निर्माणका लागि परियोजना प्रस्ताव मागेको छ । पोखरादेखि पर्वत हुँदै गुल्मी पुग्ने पोखरा रिडी सडकको लागत करिब ४ अर्ब रहेको छ । अध्यक्ष तिमिल्सिनाको प्रस्तावअनुसार यो सडक रुसले आफ्नै लगानीमा निर्माण गर्न इच्छा देखाएको छ । यो सडक पोखराको पामेबाट पर्वतका ६ वटा पालिका हुँदै गुल्मीको रिडीसम्म पुग्ने दोहोरो साइकल लेनसहित निर्माण गरिनेछ ।

यसैगरी काठमाडांै र पोखरामा दुईवटा बालबालिकाको क्यान्सरसम्बन्धी उपचार गर्ने अस्पताल निर्माण गर्न पनि रुसले चाँसो देखाएको छ । उक्त अस्पतालमा प्रारम्भिक चरणमा रुसी डाक्टरहरू उपलब्ध गराउने र सोसम्बन्धी अनुभव नेपाली विशेषज्ञलाई हस्तान्तरण गर्ने प्रस्ताव रुसले गरेको छ । अहिले नेपालबाट वार्षिक १८ जना विद्यार्थीलाई रुसले छात्रवृत्ति उपलब्ध गराउँदै आएकोमा चिकित्सा र इन्जिनियरिङ विषय अध्ययनका लागि वार्षिक १५० देखि २०० विद्यार्थीलाई छात्रवृत्ति कोटा उपलब्ध गराउन खोजेको छ ।
भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्री चेर्निसेन्कोबीच भएको छलफलमा नेपालमा जि टू जीमार्फत् रासायनिक मल र गहुँ निर्यात गर्न रुसले चाँसो देखाएको थियो । रुसले रासायनिक मल र गहुँबाहेक पेट्रोलिय पर्दाथ पनि प्रत्यक्ष रुपमा उपलब्ध गराउने प्रस्ताब मागेको छ । यस्तै रुसले नेपालसँग मस्कोबाट सिधा हवाई उडान गर्ने, नेपालको हिमाली तथा पहाडी क्षेत्रमा उपयुक्त हुने रुसी हेलिकप्टर बिक्री गर्ने तथा नेपालका पहाडी क्षेत्रका लागि उपयुक्त हुने सवारी साधानहरुको बिक्री गर्न पनि चाँसो राखेको छ । अध्यक्ष तिमिल्सिनाको निम्तो स्वीकार्दै रुसको उपल्लो सदन र तल्लो सदनका प्रमुखले छिट्टै नेपालको भ्रमण गर्न प्रस्ताव पनि पठाएका छन् ।
रुसी प्रस्तावका बारेमा अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषि मन्त्री डा. बेदुराम भुसाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, शिक्षा मन्त्री अशोक राई, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूलाई समेत परियोजना कार्यान्वयन गर्नका लागि प्रस्ताव तयार गर्न आग्रह गरेका छन् । सरकारका तर्फबाट सबै मन्त्रालयले प्रस्ताव तयार गरेर पठाउने क्रम समेत सुरु भएको छ ।
काठमाडौं, ३ जेठ ।
नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको आदेशअनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति निकालेर लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् । अन्यथा जेठ ६ देखि १० सम्म नेपाल बन्द गर्ने चेतावनी दिइएको छ ।

टीकापुर घटनालाई राजनीति घटनाको रुप लिइनुपर्ने र सोहीअनुसार समाधान खोजिनुपर्ने नागरिक उन्मुक्ति पार्टीले माग गरेको छ ।