काठमाडौं, १२ वैशाख
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२)ले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एक हजार ४५३ परीक्षा केन्द्र रहने छन् ।
परीक्षा नियन्त्रण कार्यालयले कतिपय विषयको नमुना प्रश्नपत्रमा विद्यार्थी तथा शिक्षकहरुको सुझाव अनुसार परिमार्जन गर्दै लगिरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । अथवा राखेर वैकल्पिक प्रश्न नराखिएको केही विषयमा पनि राखिनुपर्ने सुझाव आएकोले त्यसरी परिमार्जन गरिएको उनले बताए ।
नयाँ पुरानो गरेर करिब तीन सय प्रश्नपत्रहरु तयार भइरहेको परीक्षा नियन्त्रक शर्माले जानकारी दिए ।
विद्यार्थीको उत्तरपुस्तिका दुर्गम जिल्लाका परीक्षा केन्द्रमा पुगिसकेको छ । कोभिडको कारण बोर्डले शैक्षिक सत्र २०७७ देखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको छ । परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ ।
चार लाख ६७ हजार परीक्षार्थीहरु परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
धनगढी, १२ वैशाख
सुदूरपश्चिम प्रदेशमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २०६ जनाको नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उनीहरू मध्ये १४ जनाको एन्टिजेन र एक जनाको आरटी पीसीआर विधीबाट परीक्षण गरिएको थियो ।
वीरगञ्ज, १२ वैशाख
बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले मतान्तर घटाउँदै लगेका छन् ।
यसअघि करिब पाँच हजार मतले पछि परेका कुशवाहाले अहिले मतान्तर घटाएका छन् ।
ताजा मतपरिणामअनुसार यादव कुशवाहाभन्दा २६६५ मतले मात्रै अघि रहेका छन् । यादवले २० हजार ४६३ पाउँदा जनमतका कुशवाहाले १७ हजार ७९८ मतका साथ पछ्याइरहेका छन् ।
एमालेका पुरुषोत्तम पौडेलले ६१२१ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २४६६ मत ल्याएका छन् ।
काठमाडौं, १२ वैशाख
सरकारले काठमाडौं-तराई/मधेश फास्ट ट्र्याकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।
उनले बैठकमा सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णयसमेत गरेको बताए । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गुणस्तर नापतौलसम्बन्धी विधेयक समितिमा पठाउने निर्णय गरेको उनले बताए ।
ज्वालाले जग्गा कित्ताकाटसम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको उनले जानकारी दिए ।
काठमाडौं, १२ वैशाख
नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदसँग चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार छनले मंगलबार परराष्ट्रमन्त्री साउदसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । उक्त अवसरमा राजदूत छनले परराष्ट्रमन्त्री साउदलाई नेपालको परराष्ट्रमन्त्री नियुक्त भएकोमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री छिन काङको तर्फबाट बधाई सन्देश पनि हस्तान्तरण गरेका थिए ।
परराष्ट्रमन्त्री साउदलाई सोमबार यूरोपेली संघको नेपालका लागि राजदूत नोना डेप्रेजसहित फ्रान्स, जर्मनी र फिनल्यान्डका राजदूतहरुले पनि भेटेका थिए । परराष्ट्रमन्त्री नियुक्त भएपछि साउदसँग भारत र अमेरिकाका राजदूतले पनि शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।
काठमाडौं, १२ वैशाख
इजरायल पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका-७ स्थायी घर भई हाल काठमाडौंको कपन बस्ने हरीकला दाहाल रहेको प्रहरीले जनाएको छ ।
पाँच जनालाई वैदेशिक रोजगारीको लागि इजरायल पठाइदिन्छु र ‘कन्स्ट्रक्सन’ मा काम लगाइदिन्छु भनी प्रलोभनमा पारी पटक पटक गरी ४८ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको चाबहिलबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं, १२ वैशाख
बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाह भन्दा ४ हजार ३२२ मतका साथ लिड गरिरहेका छन् ।
यादवले १८ हजार ४९६ मत पाउँदा कुशवाहाले १४ हजार १७४ मत पाएका छन् ।
तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेल छन् । उनले ५ हजार ५१४ मत पाएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार १९६ मत र आम जनता पार्टीका उम्मेदवार अरूण ज्ञवालीले २ हजार मत पाएका हुन् ।
काठमाडौं, १२ वैशाख
नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
एमालेले वैशाख अन्तिम साता झापामा बैठक बस्ने जनाएको हो । बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए । उनका अनुसार, बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ ।
गत मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन ।
काठमाडौं, १२ वैशाख
नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९१ नमुनामध्ये १०१९ जनाको पीसीआर परीक्षण गर्दा ९२ जना र ५७२ जनाको एन्टीजे परीक्षण गर्दा ४२ जना गरी १३६ जनामा कोरोना देखिएको हो ।
आज थपिएका सँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ३९० पुगेको छ । हात संस्थागत आइसोलेशनमा २७ जना, आइसीयूमा ४ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।
काठमाडौं, १२ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुसको भ्रमण पूरा गरी मंगलबार स्वदेश फर्किएका छन् । गत ६ वैशाखमा रुस प्रस्थान गरेका उनी मंगलबार स्वदेश आइपुगेका हुन् ।
रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोको निमन्त्रणामा उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै ६ वैशाखमा रुस प्रस्थान थिए ।