२०८३ बैशाख १
२०८३ बैशाख १

महोत्तरी, ६ वैशाख

सवारी दुर्घटनामा परी महोत्तरीमा नवविवाहिता दम्पतीको मृत्यु भएको छ । बुधबार दिउँसो महोत्तरीको गौशालास्थित जंगलमा भएको सवारी दुर्घटनामा परी श्रीमान, श्रीमती र एक बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिरहा कल्याणपुर नगरपालिका-१० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डल छन् । अमृत र अन्जु श्रीमान श्रीमती रहेको प्रहरीले हुन् । विवाह भएको दुई महिनामै उनीहरूको मृत्यु भएको हो ।

आज दिउँसो अमृतले (ससुराली)बाट श्रीमतीलाई लिएर घरतर्फ गइरहेकोमा जंगलमा रहेको रेल्वे टयाक नजिकको मोडमा मोटरसाइकल बससँग ठोक्किदा तीनै जना गम्भीर रूपमा घाइते भएका थिए ।

अमृत र अंशुको बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । त्यस्तै अन्जुको वर्दिवास ट्रमा सेन्टरमा उपचारको क्रममा ज्यान गएको प्रहरीको भनाइ छ ।

महोत्तरी प्रहरीले गौशालाबाट बर्दिबासतर्फ गईरहेको मधेस प्रदेश ०१ ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकल गौशालातर्फ आइरहेका बा३ख २३९६ नम्बर बसमा ठोकिएको थियो ।

 

इन्दीप कोइराला,बारा, ६ वैशाख ।

तराई जिल्ला बाराको साँझबिहानको तापक्रम दिनप्रतिदिन बढ्दै क्रममा छ । उम्मेदवार गर्मीको वास्ता नगरी मतदाताका घरदैलोमा पुगिरहेका छन् । केही दिनअघिसम्म काठमाडौंमै रहेका उम्मेदवार यतिबेला मतदाताको घरआँगनमा छन् । अधिकांश चर्चित उम्मेदवार बाहिरी जिल्लका भएकाले समेत उनीहरु एकसरो घरदैलोमै व्यस्त छन् । बाराको चर्को घामको प्रवाहा नगरी उम्मेदवार घरदैलो गरिरहेका छन् ।

 

देशभर उपनिर्वाचनको सरगर्मी ह्वात्तै बढेका बेला बाराको निर्वाचन क्षेत्र २ मा उम्मेदवारी दिएका पुरानालाई नयाँले मुश्किल पार्ने देखिएको छ । सबै क्षेत्रमा उम्मेदवार चुनावी कार्यक्रम र घरदैलो अभियानमा छन् । चुनावी मैदानमा उत्रेका उम्मेदवारले जित्ने दाबीसमेत गरिरहेका छन् ।

 

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने आंकलन गरिएको भए पनि उनीहरूलाई जनमतका शिवचन्द्र कुशवाहा र राष्ट्रिय स्वतन्त्रका रमेश खरेलले चुनौती दिएका छन् । चुनावको मिति नजिकिँदै गर्दा जसपालाई जनमतका उम्मेदवार भारी पर्ने सम्भावना बढ्दो छ । मधेसवादी दलका दुई शिर्ष नेताबीचको रस्साकस्सीको फाइदा उठाउने दाउमा नेकपा एमाले देखिन्छ ।

 

बारामा एमालेका पुरुषोत्तम पौडेल अन्य उम्मेदवारका लागि टाउको दुखाइ बनेको छ । एमालेका पौडेल बलिया उमोदवार समेत हुन । पौडेल बाराकै चिर परिचित अनुहार तथा बाराका पुरानो र जनमुखी नेताका रुपले समेत परिचित भएकाले अन्य उम्मेदवारका लागि टाउको दुखाइ बनेको हो ।

 

पौडेललाई अन्य उम्मेदवारझै चिनाउदै हिन्नु पर्ने बाध्यता नभएकै कारण घरदैलो र टोल सभाको अन्तिम चरणमा पुर्‍याएका छन् । २०७० सालपछि प्रत्यक्ष निर्वाचन लड्दै गरेका पौडेलले मतदातासामु विकासका एजेण्डा तथा शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गरेर युवालाई देशमै बस्ने वातावरण बनाउने प्रतिबद्धता समेत राखिरहेका छन् । जनताको जनलहरसमेत एमालेका पौडेल प्रतिनै देखिन्छ ।

 

यता जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्रका रमेश खरेललाई भने सबै पालिका र प्रतेकको घरमा गएर मतदातालाई रुझाउन पर्ने बाध्यता छ । जनमत पार्टीका अध्यक्ष सिके राउतसंग पराजित भएका यादवका लागि बारा २ पनि भनेजस्तो सजिलो छैन् । बारामा पनि उनीसामु डा. राउत बाधक बनेर अगाडि आएका छन् । राउतले मंसिरमा सम्पन्न चुनावमा गठबन्धनको उम्मेदवार भइ थोरै मतान्तरले पराजित शिवचन्द्र कुशवाहालाई चुनावी मैदानमा उतारेका छन् ।

 

नेकपा माओवादी केन्द्रका कुशवाहालाई पार्टी प्रवेश गराउँदै डा. राउतले उम्मेदवार मात्रै बनाएनन् आफै चुनावी कमाण्ड सम्हालिरहेका छन् । मनोनयन दर्तापछि बारामै बसिरहेका डा. राउतले सम्हालेको चुनावी कमाण्डलाई उछिन्दै जित सुनिश्चित गर्न यादवलाई सकस देखिन्छ ।

 

त्यसो त जसपा अध्यक्ष यादव चुनावी मैदानमा प्रतिस्पर्धीनै नभेटेको बताइरहेका छन् । मैदानमा प्रतिस्पर्धी नै नदेखेकाले चुनाव जित्नेमा ढुक्क रहेको यादव बताउछन् । बारा २ का जनता आफूलाई जिताउन उत्साहित रहेको यादवको भनाई छ ।

 

तर, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले भने जसपा अध्यक्ष यादवले चुनावी जित्ने कुनै आधार नदेखेको दावी गरिरहेका छन् । उनले सप्तरीबाट पराजित भएका यादवलाई बारा २ का जनताले किन जिताउने भन्दै प्रश्न तेर्स्याउँछन् ? राउतको भनाइ अनुसार बारा २ का जनताले धर्तीपुत्रलाई जिताउनेछन् । अर्थात आफ्नै पार्टीका उम्मेदवार कुशवाहाको जित सुनिश्चित रहेको राउतको दावी छ ।

‘जसले आफ्नै चुनावी क्षेत्रमा केही गर्न सकेन, पराजित भएर अहिले बारा आएको छ’ राउतले भने ‘उसले यहाँ चुनाव जित्ने आधार नै छैन् । धर्तीपुत्रले चुनाव जित्ने निश्चित छ ।’

राउतको भनाईलाई जसपाका यादवले भने फर्जी कुरा भनिरहेका छन् । आफ्नो उम्मेदवारको प्रचार गर्ने भन्दा पनि डा. राउतले आफू नै उम्मेदवार भएजसरी मत मागिरहेको यादवले बताए ।

‘आफ्नो उम्मेदवारको सामाजिक छविका कारण राउतले आफू नै उम्मेदवार भएजसरी मत मागिरहेका छन’ यादवले भने ‘यो सबै जनता झुक्याउने फर्जी कुरा हो । फर्जी काम गर्न राउत बारामा समेत आएका छन् ।’  आफूलाई चुनावमा पराजित गर्छु भन्दै हिडिरहेका राउतलाई यादवले परिचालित व्यक्तिको संज्ञा दिएका छन् । ‘उपेन्द्र यादव हार्छ भन्दै बोली राउतको होइन अरुको हो । मुख उहाँको तर भनाई अरुको हो । राउतले त जागिर खाइरहनुभएको छ ।’

 

चार महिनामै उपनिर्वाचनमा होमिएका यादव यो अवसर खेर फाल्न चाहँदैनन् । चुनाव जित्न उनले सकेको शक्ति प्रयोग गरिरहेका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको घरलाई मुकाम बनाएर जसपा अध्यक्ष यादवको चुनावी अभियान अघि बढिरहेको छ । यादवको चुनावी प्रचारमा प्रदेशका मन्त्री अर्थ मन्त्री संजीवकुमार यादव, सामाजिक विकास मन्त्री सुरिताकुमारी साहसहित प्रदेशसभा सदस्य, सत्तारुढ दलका नेता सक्रिय भएर लागेका छन् ।

 

यता जनमत पार्टीका अध्यक्ष राउत आफै मतदाताको घरघरमा पुगिरहेका छन् । उनले चुनावी अभियानलाई स्वाभिमान यात्रा बताईरहेका छन् । बारा २ को विकासमा धर्तीपुत्रको खाँचो रहेको बताउदै राउत घरदैलोमा डुलिरहेका छन् । राउतको उपस्थितिले कुशवाहालाई राहत मिलेको देखिन्छ ।

यता मधेसवादी दलका दुई शिर्ष नेताबीचको रस्साकस्सीको फाइदा उठाउने दाउमा नेकपा एमाले देखिन्छ । एमालेले पोलिव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई चुनावी मैदानमा छन् । बाराको भूमिमा राजनीतिक जीवन बिताएका पौडेल पनि चुनाव जित्नेमा ढुक्क देखिन्छन् ।

‘जनताको साथ एमालेले प्राप्त गरिरहेको छ । काम गर्ने पार्टी कुन हो भनेर जनताले बुझेका छन्,’ उम्मेदवार पौडेलले भने, ‘त्यसैले पनि एमालेको जित सुनिश्चित देखेको छु ।’

एमालेको चुनावी अभियानमा शिर्ष तहका नेता समेत सहभागी भरहेका छन् । त्यसबाहेक बारा १ बाट निर्वाचित पोलिटव्युरो सदस्य अच्युत मैनाली र बारा ३ बाट निर्वाचित पोलिटव्युरो सदस्य ज्वालकुमारी साह पौडेलको प्रचारमा सक्रिय देखिएका छन् । दुई निर्वाचन क्षेत्रमा निर्वाचित मैनाली र साहको उपस्थितीले पौडेलको चुनावी अभियानलाई बलियो बनाउदै लगेको छ । त्यसबाहेक मधेसबादी दुई दलबीचको लडाईको फाइदा लिने दाउमा एमाले देखिन्छ ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवाली पनि चुनावी मैदानमा सक्रियताका साथ लागेका छन् । काठमाण्डौमा पराजित भएका खरेल मधेसको भूमिबाट चुनाव जित्नेमा ढुक्क देखिन्छन् । उनको चुनावी अभियानमा साथ दिन पार्टी सभापति रवि लामिछाने एकपटक बारा आईसकेका छन् भने अन्य नेतृत्व सक्रियताका साथ लागिरहेका छन् ।

 

यता प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार ज्ञवाली चुनावको नतिजा आफ्नो पक्षमा आउने दावी गरिरहेका छन् । मंसिरमा सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई करिब आठ हजार मत प्राप्त गरेका ज्ञवाली यसपटक आम जनता पार्टीबाट उम्मेदवार बनेका हुन् । उनको चुनावी अभियानमा अध्यक्ष साह आफै सक्रिय भएका लागेका छन् ।

 

राजनीतिक दलका उम्मेदवार सबैले चुनाव आफूले जित्ने दावी गरिरहेपनि आममतदाता भने अन्यौलमा देखिन्छन् । विकासको नारा बोकेर घरदैलोमा पुगिरहेका उम्मेदवारलाई धुलाम्य सडक र फुसको घरबाट मतदाताले नियालिरहेका हुन्छन् । चुनावमा नारा बोकेर आएपनि विकासका काम भने नगरेको मतदाताको गुनासो छ ।

 

बारा क्षेत्र नं. २ मा करिब एक लाख पाँच हजार मतदाता छन् । यस निर्वाचन क्षेत्रमा पचरौता नगरपालिका, महागढीमाई नगरपालिका, करैयामाई, देवताल, सुवर्ण गाँउपालिका र कोल्हबी नगरपालिकाको वडा नं. ८ को भुभाग पर्छ ।

 

काठमाडौं, ६ वैशाख ।

मिटरब्याजपीडितले बुधबार पनि आन्दोलन जारी राखेका छन् । शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरुले आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् ।


‘प्रहरी साथी हामी फूल लिएर आउँछौँ, तर तिमी दमन गर्ने भूल लिएर नआऊ, प्रहरी मेरो साथी द्वन्द्व नखोज’ जस्ता लेखिएका प्लेकार्ड बोकेर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।


मिटरब्याजपीडितको आन्दोलनप्रति वृहत नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ ।


केही हप्ताअघिदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याजपीडितको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

  

 

काठमाडौं, ६ चैत

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपालको परिवर्तित राजनीतिमा नेपाल विद्यार्थी संघको ठूलो भूमिका रहेको बताएका छन्। नेविसंघका पूर्वअध्यक्षसमेत रहेका महरले शंकर देव क्याम्पसले नेविसंघको ५४औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघले नेपालको राजनीतिमा पुर्‍याएको योगदानको चर्चा गरेका हुन्।

‘२००३ सालमा छात्राले पढ्ने संस्कृतमात्रै राज्यबाट स्वीकृत थियो। तीन धारा पाठशालामा तनहुँका श्रीवध्र शर्माहरूले नेपाली विद्यार्थीले गणित, विज्ञान र सामाजिक विषय पढ्न पाउनुपर्छ भनेर आन्दोलनको शंखघोष गरेको दिन हो। नेपालमा यात्रायात, शिक्षा, स्वास्थ्य सबै लथालिंग भएको बेला नेविसंघले ती क्षेत्रको व्यवस्थापनका लागि नेविसंघले आन्दोलनको आधिभेरि ल्याएको थियो,’ उनले भने। कांग्रेसले प्रजातन्त्र ल्याइसकेपछि नेपालमा थुप्रै विश्वविद्यालय स्थापना भएको महरले स्मरण गरे।

‘अब नि:शुल्क शिक्षा, स्वास्थ्यसँगै व्यवस्थित सञ्चार, उद्यमशीलतासहितको रोजगार जनताको अधिकार भन्ने मूल मर्मलाई राजनीतिज्ञले आत्मसाथ गर्नुपर्छ। यो मुद्दा अझैँ कार्यान्वयन भएको छैन,’ उनले भने। विद्यार्थीको सर्टिफिकेट धितो राखेर राज्यले पढ्न पाउने प्रवन्ध गर्नेु पर्नेमा आफूहरूको मागको सामान्य सुनुवाइ भए पनि पूर्ण रूपमा कार्यान्वयन नभएको महरले गुनासो गरे।

खुला विश्व विद्यालय र सेमिस्टरका कुरा पनि व्यवस्थित हुन नसकेको उनले बताए। ‘अब प्रविधियुक्त वैज्ञानिक शिक्षाको आवश्यकता रहेको छ। हाम्रा युवाहरू गुणस्तरिय शिक्षा हासिलका लागि विदेशीने क्रम अझैँ बढ्दो छ। अब यो दुखद अवस्था रोकिनु पर्छ’, उनले भने।

यसका साथै फरक प्रसंगमा बोल्दै नेता महरले उपनिर्वाचनमा चितवन २ र तनहुँ १ मा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे। ‘केही व्यक्ति राजनीति फोहोर भयो। पुरानाहरूले काम गरेनन् भनेर जनतामा भ्रम छर्दै आएका थिए। उनीहरू लगातार राज्यको नियम उलंघन गर्दैछन्,’ महरले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षीत गर्दै महरले एक महिनामात्रै शासन चलाउँदा आदर्श छाट्नेहरू भ्रष्टाचारमा मुछिनु लज्जाको विषय भएको बताए। नयाँ अनुहार यति चाँडै कुरुप र कलंकित हुनुको कारण के हो? भन्दै महरले प्रश्न गरे। सेतो बस्त्रमा लुकेर कालो अनुहार नछोपिने उनले बताए। महरले नेपालको गोप्य सूचना विदेश चुहाउन पनि केही व्यक्ति सक्रिय रहेको आरोप लगाए।

 

मुम्बई, ६ वैशाख ।

अभिनेता रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’ले रिलिजसँगै उनीहरुका फ्यानलाई नयाँ खुशी दिएको थियो । अयान मुखर्जी निर्देशित फिल्मले बक्सअफिसमा पाएको उत्कृष्ट सफलता र प्रतिक्रिया पछि फ्यानहरु यसको सिक्वेलको प्रतिक्षामा थिए । निर्देशक अयानले पनि फिल्मको सिक्वेल निर्माणको संकत दिएका थिए । तर अब भने यसको सिक्वेलमा खतराको बादल मडारिएको छ ।

 

फिल्मको ओरिजिनल क्रिएटर्स धर्मा प्रोडक्सन अर्थात करण जोहार र डिज्नीले यो फिल्म बनाउनबाट हात झिकेका छन् । दुवैले फिल्मको आगामी सिक्वेललाई तत्कालका लागि ‘ड्रप’ गरेका छ । दुवैले निर्देशक अयानलाई फिल्मको अधिकार बेच्न खोजेका थिए । अयान पहिलेदेखि नै फिल्मको केही हिस्सामा आफ्नो नियन्त्रण चाहन्छन् । फिल्मको अधिकार पाएपछि अयान यसलाई लिएर जिओ स्टुडिाये पुगेका थिए ।

 

करण र डिज्नीले हात झिकेपछि अयान यो फिल्मको दोस्रो र तेस्रो सिक्वेल जिओ स्टुडियोबाट निर्माण होस् भन्ने चाहन्छन् । यसबाहेक उनले स्टुडियोसँग मिलेर फिल्मको अर्को चरित्रलाई स्पिन अफ वेब सिरिज र स्वतन्त्र फिल्मका रुपमा ल्याउन चाहन्छन् । अयानले आफ्नो ‘अस्त्रवर्स’मा नन्दी अस्त्र, पवन अस्त्र, गज अस्त्र र जल अस्त्र बनाएका छन् । उनी फिल्ममार्फत जल अस्त्रलाई मात्र पर्दामा देखाउने योजनामा छन् । यदी जिओसँग उनको डिल फाइनल भयो भने बाँकी सबै अस्त्रमाथि स्पिन अफ बन्नेछ । जसको निर्देशन अर्को निर्देशकले गर्नेछन् ।

 

डिज्नीमा अहिले नयाँ सिइओ बब इगर आएका छन् । उनले पहिलो प्राथमिकतामा कम्पनीका कर्मचारी कटौतीलाई राखेका छन् । त्यहीकारण पनि उनले मार्वल र स्टार वार्सको फिल्म र सिरिजलाई तत्कालका लागि रोकेका छन् । यसमा निर्देशक पेटी जेनकिङ्स र निर्माता केविन फाइगीको नयाँ स्टार वार्स फिल्म र मार्वल डिज्नीको नयाँ शो पनि छन् । त्यसकारण ‘ब्रह्मास्त्र’बाट डिज्नी पछि सर्नुमा कर्मचारी कटौलीलाई पनि प्रमुख मानिएको छ ।
यता निर्माता करणले पनि ‘बह्मास्त्र’लाई नबनाउने कारण अयानको फिल्म ‘वार २’मा आबद्धतालाई मानेका छन् । अयानले ‘वार २’को काम पछि मात्र ‘ब्रह्मास्त्र’मा व्यस्त हुनेछन् । यो कारणले पनि अयान प्रति करण रुष्ट छन् ।

 

हेटौंडा, ७ वैशाख

मकवानपुरको भीमफेदी कारागारमा आज बिहान एक जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय समिर परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार मनहरी गाउँपालिका-६ लोथर स्थायी घर भएर हाल कारागारमा  कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका परियारको आज बिहान १०:४० बजे एक्कासी बहोस भएका थिए ।

उनलाई उपचारको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल लगिएकोमा उपचारकै क्रममा ज्यान गएको हो । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

काठमाडौं, ६ चैत

अमेरिका र पोर्चुगललगायत देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले सिन्धुपाल्चोकका २३ वर्षीय टीकाबहादुर भण्डारी र भक्तपुरस्थित मध्यपुर ठिमीका ४४ वर्षीय उज्वल खड्कालाई पक्राउ गरेको हो ।

खड्कामाथि मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीकी सुनिला गुरूङसहित ४४ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायत र जापान लगिदिने भन्दै प्रतिव्यक्ति ३ लाखभन्दा बढी रुपैयाँ ठगी गरेको आरोप छ ।

खड्कालाई प्रहरीले रौतहटस्थित चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चपुरबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । पक्राउ गरेका भण्डारीमाथि मिलन तामाङसहित १० जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै पटकपटक गरी १५ लाख बढी ठगी गरेको आरोप छ ।

उनलाई ताहाचलबाट प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहविरूद्ध थप १० जनाबाट उजुरी प्राप्त भएको छ ।

कास्की, दाङ, मोरङ, रूकुमलगायत जिल्लाहरूबाट पीडितहरूले ५ करोड १९ लाखभन्दा बढी रकम ठगी गरेको आरोपसहित निवेदन दिएका थिए ।

 

काठमाडौं, ६ वैशाख

निर्वाचन आयोगले उपचुनाव हुने तीन वटै क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूमा तीन दिनका लागि सार्वजनिक बिदाको व्यवस्था मिलाउन सरकारलाई अनुरोध गरेको छ ।

मतदान हुने मितिमा सम्बन्धित निर्वाचन क्षेत्रमा सार्वजनिक बिदाको व्यवस्थापन गरिदिन आयोगले अनुरोध गर्ने भएको छ ।

बुधबार आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सरकारलाई उक्त अनुरोध गर्ने निर्णय गरेहो हो ।

 

तनहुँ, ६ वैशाख

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का पुष्पकमल दाहाल “प्रचण्ड”ले आगामी आर्थिक वर्षको नयाँ बजेटले जनतामा नयाँ रक्तसञ्चार गर्ने बताएका छन् ।

बुधबार दिउँसो तनहुँको डुम्रे बजारमा क्षेत्र नम्बर १ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले केही नयाँ र गुणात्मक काम गर्नेगरि नयाँ बजेटको तयारी गरिएको बताए ।

सभामा प्रधानमन्त्रीले भने, ‘सुशासन र समृद्धिको लक्ष्यसहित वर्तमान गठबन्धन सरकार अगाडि बढिरहेको छ । हरेक दिन केही नयाँ पहलकदमी लिइएको छ । हामी नयाँ बजेट ल्याउने तयारीमा छौँ । नयाँ बजेटमा जनतामा आशाको नयाँ रक्तसञ्चार सिर्जना गर्नेगरि काम गर्छौं ।’

प्रधानमन्त्रीले उपनिर्वाचनमा सत्ता साझेदार दलका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन तनहुँबासीलाई अपीलसमेत गरे । प्रधानमन्त्रीले भने, ‘अघिल्लोपटक ‘रामचन्द्र पौडेलजीलाई जिताउनुस्, प्रधानमन्त्री बनाउँछौँ’ भनेको थिएँ, उहाँ राष्ट्रपति भइसक्नुभयो । यसपटक पनि हामीले निकै योग्य उम्मेदवार उठाएका छौँ । गोविन्द भट्टराई तनहुँको योग्य उम्मेदवार हो । उहाँ यहाँको माटोमा हुर्किएको जनताको छोरो हो । यहाँलाई जिताएर पठाउनुस्, तपाईहरूको मतको उचित सम्मान हुनेछ ।’

प्रधानमन्त्रीले निकै ठूलो मेहेनतपछि वर्तमान गठबन्धन फेरि एकतावद्ध भएर अघि बढेको बताए । उनले भने, ‘संविधानको हुर्मत लिने र गणतन्त्रमाथि प्रहार गर्नेहरूविरूद्ध अहिलेको गठबन्धन बनेको हो । विकास र समृद्धिको नयाँ अभियानतर्फ लाग्ने अठोटका साथ गठबन्धन अगाडि बढिरहेको छ । कहिलेकाहिँ खहरेखोला पनि उर्लेर आउँछ, तर त्यो सुक्नेवाला छ । नदी सदाबहार रूपमा अगाडि बढ्छ । जनता न्यायाधीश हो, त्यसैले तनहुँबासी जनताले उचित फैसला गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’

चुनावी सभालाई पूर्वप्रधानमन्त्रीहरूः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

 

काठमाडौं, ६ वैशाख

निजामती कर्मचारीको ट्रेड युनियनहरूले आफूले उठाएको माग समेटेर संघीय निजामती सेवा विधेयकको सार्वजनिक गर्न सरकारलाई अल्टिमेटम दिएका छन् ।

निजामती कर्मचारीका विभिन्न ५ वटा ट्रेड युनियनले बुधबार संयुक्त विज्ञप्ति जारी गरी १८ वैशाखभित्र ट्रेड युनियनले साझा मागको रूपमा उठाएको विषय समेटेर संघीय निजामती सेवा ऐनको मस्यौदा सार्वजनिक गर्न र आफूहरूसँग वार्ता गर्न माग गरेका छन् ।

सरकारले माग पूरा नगरे आन्दोलन गर्ने भन्दै १९ वैशाखदेखिको विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरूले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार नै प्रवेश बहिस्कार गर्ने आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन आयोजना गरी नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमिति, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), एकीकृत सरकारी कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्चले १९, २० र २१ वैशाखमा गर्ने विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।


१९ वैशाखमा मुख्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन, कानुन र अर्थ मन्त्रालयका सचिवलाई आफूहरुको माग समेटेर संघीय निजामती सेवा ऐन जारी गर्न देशभरका कर्मचारीबाट एसएमएसमार्फत ध्यानाकर्षण गराउने उनीहरूका आन्दोलन कार्यक्रम रहेका छन्

त्यस्तै २० वैशाखमा प्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री र अर्थमन्त्रीलाई एसएमएस गर्ने र २१ वैशाखमा सिंहदरबार प्रवेश नगर्न आह्वान गर्ने ट्रेड युनियनहरुको घोषणा छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।