काठमाडौं, २७ चैत ।
साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ । सोमबार नेप्से परिसूचक ५.५४ अंकले उकालो लागि १८४४ को बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८८ अङ्कले घटेर ३४९.६६ विन्दुमा पुगेको छ।
यसअघि आइतबारको कारोबारमा भने नेप्से परिसूचक २८.३१ अंकले ओरालो लागि १८३८.४८ विन्दुमा अडिएको थियो । सोहि दिन एक अर्ब १५ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार कूल २६१ कम्पनीको २९ लाख ६० हजार ८६३ कित्ता सेयर खरिद बिक्री हुँदा ९१ करोड १९ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। नेप्से सुचकमा १३२ कम्पनीमा वृद्धि भएको छ । ७७ कम्पनीमा ओरालो लागेको र ८ कम्पनी स्थिर रहेको छ ।
त्यस्तै, कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ६ करोड ८४ लाखको कारोबार गरेको छ । सानिमा मिडल तामोर हाइड्रोपावर कम्पनी दोश्रो स्थानमा छ । उक्त कम्पनीले ६ करोड ६५ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।
सोमबार १३ उपसुचक मध्ये फाइनान्स कम्पनी बाहेक सबै कम्पनीमा हरियाली छाएको छ । वृद्धि भएको कम्पनीहरु मध्ये सबैभन्दा धेरै होटल तथा पर्यटन र ट्रेडिङ सुचक कम्पनी रहेको छ ।
आजको सानिमा मिडल तामोर हाइड्रोपावर र कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्।
काठमाडौं, २७ चैत ।
राष्ट्रिय सभाले सोमबार दुईवटा विधेयक पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ सर्वसम्मत पारित गरेको हो ।
सो विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएका हुन् । अब दुवै विधेयकसन्देशसहित प्रतिनिधि सभामा पठाइनेछ ।
राष्ट्रिय सभाको अर्को बैठक ३० चैत बिहीबानर दिउँसो १ः०१ बजे बस्नेछ।
पर्सा, २७ चैत ।
पर्साकाे पटेर्वासुगौली गाउँपालिका-५ देउरियाबाट अवैध लागुऔषध चरेस ११८ केजी र अवैध लागुऔषध गाँजा ४ केजीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका-५ बस्ने ६० वर्षीय प्रदेशी राउत (थारू), मकवानपुर रक्सीराङ गाउँपालिका-८ बस्ने ३८ वर्षीय रमेश मोक्तान र मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने २५ वर्षीय रेशन मोक्तान रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले प्रदेशी राउतको घर तथा टहरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर लागुऔषध सम्बन्धी कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
विशाल बस्नेत,महोत्तरी, २७ चैत ।
महोत्तरीको बर्दिबास नगरपालिका वडा न.६ का वडा अध्यक्ष पदम आलेमगरले अतिक्रमण गरेको सडक खाली गर्न थालेका छन् । उनी अतिक्रमण गरेको सडक खाली गराउन डोजर लिएर निस्कन थालेका हुन् ।
वडाको हनुमानचोकदेखि बर्दिबास रातु पुलसम्म आउने सडकको दायाँबायाँ १०÷१० फिट सडक खाली गराएको अध्यक्ष मगरले जानकारी दिए । ‘सडकको दायाँबायाँ १०÷१० फिट सडक अतिक्रमण गरेर टहरा बनाउने, पशुचौपाया बाँध्ने जस्ता क्रियाकलाप गरिएको थियो । त्यसलाइ अहिले हटाउन थालिएको छ,’ वडा अध्यक्ष मगरले भने ।

सडक अतिक्रमण हुँदा सवारी दुर्घटना हुने गरेको थियो । वडा नम्बर ६ को हुलाकी सडक मानिएको हनुमानचोक जाने सडकमा पछिल्लो दुई वर्षमा ६ जनाले ज्यान गुमाइसकेका छन् । ज्यान गुनाउनुको एउटै कारण ४० फिटको सडकमा दायाँबायाँ स्थानीयहरुले १०/१० फिट अतिक्रमण गर्नु नै रहेको स्थानीय श्यामवावु यादव बताउँछन् ।
जिल्लाभरि नै सडक अतिक्रमणको समस्या रहेका बेला वडा अध्यक्ष मगरले अतिक्रमित सडक खाली गर्न थालेका हुन् । एक महिनाअघि अतिक्रमण सडक खाली गर्न सातदिने सुचना निकालिएको थियो । तर, यसलाई बेवास्ता गरिएपछि वडा अध्यक्ष मगर आफैँ डोजर लिएर सडक खाली गराउन हिँडेका हुन् ।
काठमाडौं, २७ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले उनलाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । उनी पत्रकार महासंघ नेपालका पूर्वअध्यक्ष समेत हुन् ।
काठमाडौं, २७ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताएका हुन् ।
‘मैले नै यो बैठकको आयोजना गरेको हुँ। अर्थतन्त्रमा देखा परेको दवावलाई कम गर्न लगातार छलफलमा छौँ। बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ। हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ,’ बैठकमा प्रधानमन्त्रीले भने, ‘विदेशी मुद्रा सञ्चितिको दवावबाट अलि सजिलो महशुस हुँदैछ। अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको छ । बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत छलफल गर्ने सोच्दैछु। हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन, सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दवावलाई सकारात्मक दिशामा लैजान सक्छौँ ।’

अर्थतन्त्रमा संकट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै कारण जिम्मेवार रहेको बताएका प्रधानमन्त्री प्रचण्डले भने, ‘यसमा भूकम्प, कोभिड, रूस र युक्रेनको युद्ध लगायतका कारण छन्। आयात, निर्यातसम्बन्धि निर्यातमा भएका सीमाहरूको कारण पनि छ। राजस्व संकलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीर रूपमा लागेका छौँ ।’
अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउने बताएका उनले घरजग्गा कारोबारमा सहजीकरण नगरीकन तरलताको समस्या सम्बोधन गर्न नसकिने भएकाले यसबारे चाँडै निर्णय पुग्ने बताए ।

‘बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन। त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हुलहुज्जतको सहज सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ ।’
छलफलमा विभिन्न बैंकका कार्यकारी अधिकृत लगायत बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले बैंक र कर्मचारीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने र व्यवसायी एवं आम नागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रहअनुरूप आफूहरू अगाडि बढ्ने बताए ।
बैठकमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम राय लगायतका पदाधिकारीहरू उपस्थित थिए ।
काठमाडौं, २७ चैत
नेपालमा पछिल्लो २४ घण्टामा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९०३ पीसीआर र १ हजार ६६३ एन्टिजेन गरी कुल २ हजार ५६६ जनाको परीक्षणमा ऊक्त संख्यामा संक्रमित देखिएका हुन् ।
पीसीआरमा ७७ र एन्टिजेन परीक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ ।
मन्त्रालयको नियमित कोभिड अपडेट अनुसार हाल संस्थागत आइसोलेसनमा २१ जना, आईसीयूमा १० जना र भेन्टिलेटरमा ४ जना रहेको देखिएको छ ।
काठमाडौं, २७ चैत
सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरीले सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई मोरङको विराटनगर महानगरपालिकास्थित पुलचोकबाट सोमबार नियन्त्रणमा लिएको हो ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर मेहताले सेवाग्राहीबाट घरको नापनक्सा पास गरिदिने भन्दै घुस लिएका थिए ।
सुर्खेत, २७ चैत
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिले सरकार निर्वाचनकै बेलाको गठबन्धनअनुसार बनेकाले जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्नेगरि सरकारले काम गर्ने बताएका छन् । नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्वर-२ को प्रथम क्षेत्रीय अधिवेशनको सोमबार पन्चपुरी नगरपालिकाको बावियाचौरमा उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले शान्ति प्रक्रियालाई पूर्णता दिन, संविधानको सुदृढीकरण गर्न र देशको तीब्र विकासका लागि वर्तमान सरकारले काम गर्ने बताए ।
‘संघ र प्रदेशको निर्वाचनमा जनतासँग हामीले मत माग्दा शान्ति प्रक्रियालाई पूर्णता दिन्छौं, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्छौं, तीब्र गतिमा देशको विकास गर्छौं भनेका थियौं,´ उपप्रधानमन्त्री खड्काले भने, `चुनावका बेला मतदातासँग गरिएका बाचा अनुसारका कामहरू गर्न अहिलेको सरकार लागिरहेको छ ।’
उपप्रधानमन्त्री खड्काले द्वन्द्व पीडितहरूलाई न्यायिक निरूपणमार्फत न्याय दिने र आर्थिक प्याकेजमार्फत परिपूरण र राहत उपलब्ध गराइने बताए ।
उनले पुस १० गते बन्नुपर्ने सरकार चैत १७ गते बनेको बताउँदै यो बीचको समय खेर गएको बताए । उनले पुस १० को अप्राकृतिक गठबन्धन भत्केर प्राकृतिक गठबन्धन बनेको बताउँदै यसले देश र जनताका पक्षमा काम गर्ने बताए । उनले अजेण्डामा सहमत भएका दलहरू एक ठाउँमा रहेकाले ती अजेण्डाहरू पूरा हुने बताए ।
सरकारले अहिले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको जगमा टेकेर बजेट ल्याउने उनले बताए ।
उनले कर्णालीमा भएका विकासका बहुआयामिक सम्भावनालाई सदुपयोग गर्दै विकनसको गतिलाई तीब्र पार्नेगरि केन्द्रबाट विशेष बजेटको व्यवस्था गर्ने बताए ।
काठमाडौं, २७ चैत
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा झापा, झापा गाउँपालिका-६ स्थायी ठेगाना भएका २० वर्षीय कादिर मोमिनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसवुक र टिकटकमा पीडित महिलाको चरित्र हत्या हुने खालका अश्लील शब्दहरू लेख्नुको साथै अन्यको शरीर जोडिएको तस्बिर र भिडियोहरू पोष्ट गरी दुःख हैरानी दिई चरित्र हत्या हुने कार्य गरेको भन्ने उजुरीको आधारमा साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा उनलाई झापा गाउँपालिका-६ बाट पक्राउ गरेको हो ।
उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा ४ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहको छ ।