अमेरिकाका ७ करोड २० लाख बालबालिकालाई एलन मस्कको अर्बौंको उपहार! प्रत्येकले पाउने भए स्पेसएक्सका दुई कित्ता सेयर
काठमाडौं । विश्वका धनाढ्य व्यक्ति तथा स्पेसएक्सका प्रमुख एलन मस्कले अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो कम्पनी स्पेसएक्सको दुई कित्ता सेयर दिने घोषणा गरेका छन्। मस्कको यो घोषणाले विश्वभर चर्चा पाएको छ। यस उपहारको कुल मूल्य १८ अर्ब ३५ करोड अमेरिकी डलरभन्दा बढी हुने अनुमान गरिएको छ।मस्कका अनुसार अमेरिकामा रहेका प्रत्येक बालबालिकाले स्पेसएक्सका दुई कित्ता सेयर पाउनेछन्। त्यसमध्ये एउटा सेयर कम्पनीको तर्फबाट र अर्को सेयर मस्कले आफ्नो व्यक्तिगत तर्फबाट दिनेछन्।
उनले सामाजिक सञ्जालमार्फत घोषणा गर्दै आगामी महिनादेखि सेयर हस्तान्तरण प्रक्रिया सुरु हुने जानकारी दिएका छन्।मस्कले भनेका छन्, ‘अमेरिकाका प्रत्येक बालबालिकाले स्पेसएक्सका दुई कित्ता सेयर पाउनेछन्। एउटा कम्पनीको तर्फबाट र अर्को मेरो व्यक्तिगत तर्फबाट दिइनेछ।’उनका अनुसार कम्पनीले दिने सेयर आगामी महिनामै हस्तान्तरण गरिनेछ भने व्यक्तिगत रूपमा दिने सेयर आगामी वर्षको जुन महिनामा सेयर बिक्रीमा रहेको प्रतिबन्ध अवधि समाप्त भएपछि हस्तान्तरण गरिनेछ।
अमेरिकामा १८ वर्षमुनिका करिब ७ करोड २० लाख बालबालिका रहेका छन्। बुधबार स्पेसएक्सको एउटा सेयरको मूल्य १२७.४४ अमेरिकी डलर कायम हुँदा दुई कित्ता सेयरको कुल मूल्य र सबै बालबालिकालाई वितरण गरिने सेयरको मूल्य जोड्दा यो उपहार करिब १८ अर्ब ३५ करोड डलरभन्दा बढी पुग्ने देखिएको छ।
यसअघि स्पेसएक्सले सन् २०२५ देखि २०२८ बीच जन्मिएका अमेरिकी बालबालिकाका लागि बनाइएको ‘ट्रम्प अकाउन्ट’ कार्यक्रममा सक्रिय खातामा कम्पनीको एक कित्ता सेयर दिने घोषणा गरेको थियो। त्यसमा मस्कले आफ्नो व्यक्तिगत तर्फबाट थप एक कित्ता सेयर दिने बताएका छन्।मस्कले यस्तो सेयर वितरणलाई भविष्यको अर्थतन्त्रमा आम नागरिकको प्रत्यक्ष हिस्सेदारी सुनिश्चित गर्ने माध्यमका रूपमा व्याख्या गरेका छन्।
यसअघि एआई कम्पनी एन्थ्रोपिकले पनि आफ्नो सेयरको पाँच प्रतिशत सार्वजनिक हितका लागि छुट्याउने घोषणा गरेको थियो।
पूर्वमुख्यसचिव एकनारायण अर्याल कोलकत्ताबाट पक्राउ! काठमाडौं ल्याएर सीआईबीको जिम्मा, उच्च तहमा खैलाबैला
काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई भारतको कोलकत्ताबाट पक्राउ गरी नेपाल ल्याइएको छ। बिहीबार उनलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गराइएपछि हवाईमार्गबाट काठमाडौं ल्याइएको हो।काठमाडौं विमानस्थलमा अवतरण गराएलगत्तै उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएको थियो। अहिले अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौं उपस्थित गराउने तयारी गरिएको छ।
अर्यालमाथि मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणलगायतका नाममा अतिरिक्त रकम असुली गर्ने प्रकरणमा संलग्न रहेको आरोप छ। उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव हुँदा नेपाली श्रमिकलाई मलेसिया पठाउने प्रक्रियामा अतिरिक्त रकम असुली गर्ने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा अनुसन्धानको दायरामा आएका हुन्।

यस प्रकरणमा ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदालतबाट उनीविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको थियो।यसअघि यही प्रकरणमा तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन श्रमसचिव विनोद केसीसहित मन्त्रालयका उच्च अधिकारी तथा निजी क्षेत्रका व्यक्तिहरू गरी १० जना पक्राउ परिसकेका छन्।
अर्यालको पक्राउसँगै नेपाली श्रमिकलाई मलेसिया पठाउने नाममा भएको भनिएको अतिरिक्त रकम असुली प्रकरणमा अनुसन्धान थप पेचिलो बनेको छ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई कोशी प्रदेश प्रमुखको समेत कार्यभार तोकेका छन् ।कोशी प्रदेश प्रमुखको पद रिक्त रहेकाले नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्मका लागि कर्णलाई उक्त जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले कर्णलाई कोशी प्रदेश प्रमुखको कार्यभार तोकेका हुन् ।
यसअघि कोशी प्रदेश प्रमुख परशुराम खापुङको पाँचवर्षे कार्यकाल कात्तिक २४ गते पूरा भएपछि उक्त पद रिक्त भएको थियो । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारका अधिकार सुनिश्चित गर्न नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।सरकारले आफ्ना माग बेवास्ता गरेको भन्दै महासंघले राजनीतिक दलका कार्यालयमा धर्नासहितका कार्यक्रम सार्वजनिक गरेको हो ।
महासंघले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड, सञ्चारमाध्यमबाट पत्रकार निष्कासन, श्रम अधिकार उल्लङ्घन र प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने प्रयास भएको आरोप लगाएको छ ।घोषित कार्यक्रमअनुसार मंसिर १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी, १४ गते नेपाली कांग्रेस, १५ गते नेकपा एमाले, १६ गते नेपाली कम्युनिस्ट पार्टी, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा बिहान ११ देखि १२ बजेसम्म धर्ना दिइनेछ ।
त्यस्तै, मंसिर २० गते काठमाडौंको माइतीघरलगायत देशभरका जिल्ला सदरमुकाममा कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर प्रदर्शन गरिने महासंघले जनाएको छ । मागप्रति लिखित ऐक्यबद्धता जनाउने दलको कार्यालयमा भने धर्ना नदिने र माग सम्बोधन नभए तेस्रो चरणको आन्दोलन गर्ने महासंघले जनाएको छ ।
यसअघि महासंघले देशभर सामुहिक गिरफ्तारी दिएको थियो । महासंघले पहिलो चरणको आन्दोलन देशव्यापी रुपमा सफलतापूर्वक सम्पन्न भएको भन्दै सरकारले आन्दोलनलाई अझै नजरअन्दाज गरिरहेको बताएको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । सर्लाहीमा सरकारी अभिलेख सच्याएर अर्कै व्यक्तिको नाममा जग्गा दर्ता गरेको आरोपमा तत्कालीन मालपोत कार्यालय प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सर्लाहीका तत्कालीन प्रमुख पनिलाल यादव, तत्कालीन नायब सुब्बा टुकराम कोइराला र खरिदार राजेश कुमार झाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
त्यस्तै, ईश्वरपुर नगरपालिका–१५ का तत्कालीन वडा अध्यक्ष कपिलदेव चौधरी, तत्कालीन वडा सचिव राम गुलाम राय, जग्गा आफ्नो नाममा दर्ता गराउने किशोरी धामी थारू र सिफारिस तथा निवेदन दिने भोला धामी थारूलाई पनि प्रतिवादी बनाइएको छ ।आयोगका अनुसार सर्लाहीको साविक सोकनाहा गाविस–२(ख) स्थित कित्ता नम्बर ६२ को ११ कट्ठा २ धुर जग्गा रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहे पनि उनीहरूको विवरण सच्याएर किशोरी धामी थारूको नाममा दर्ता गरिएको थियो। त्यसका लागि नभएका तथ्य खडा गरी सरकारी कागजातमा अनधिकृत हेरफेर गरिएको आयोगको आरोप छ ।
आयोगले संलग्न व्यक्तिहरूमाथि भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवानाको सजाय माग गर्दै आरोपपत्र दायर गरेको जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । अमेरिकी नियामक निकायले अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सलाई पृथ्वीको कक्षमा १० लाखसम्म उपग्रह प्रक्षेपण गर्ने योजनाका लागि अनुमति दिएको छ ।
अन्तरिक्षमै डाटा सेन्टर निर्माण गर्ने उद्देश्यसहित अघि सारिएको यो योजनालाई अमेरिकी संघीय सञ्चार आयोगले पहिलोपटक स्वीकृति दिएको हो ।
स्पेसएक्सले ‘स्टारमाइन्ड’ नाम दिएको यस परियोजनाअन्तर्गत सूर्यको प्रकाशबाट ऊर्जा प्राप्त गर्ने उपग्रहहरू अन्तरिक्षमा स्थापना गरिनेछन् । ती उपग्रहले कृत्रिम बुद्धिमत्तासम्बन्धी डाटा प्रशोधन गर्ने र त्यसबाट प्राप्त नतिजा पृथ्वीमा पठाउने काम गर्नेछन् ।
अमेरिकी संघीय सञ्चार आयोगले परियोजनालाई अनुमति दिँदै यसले अमेरिकाको तीव्र गतिमा विस्तार भइरहेको कृत्रिम बुद्धिमत्ता र उच्च क्षमताको कम्प्युटिङ क्षेत्रलाई सहयोग पुर्याउने जनाएको छ । आयोगका अध्यक्ष ब्रेन्डन कारले यस परियोजनालाई अमेरिकाको अन्तरिक्ष तथा अत्याधुनिक प्रविधिसम्बन्धी नेतृत्व विस्तार गर्ने नयाँ अवसरका रूपमा व्याख्या गरेका छन् ।
आयोगको स्वीकृतिअनुसार स्पेसएक्सले सन् २०३३ नोभेम्बरसम्म उपग्रह प्रक्षेपण सुरु गरिसक्नुपर्नेछ । सन् २०३५ नोभेम्बरसम्म स्वीकृत उपग्रहको १० प्रतिशत र सन् २०३८ नोभेम्बरसम्म ५० प्रतिशत प्रक्षेपण गरिसक्नुपर्ने सर्त राखिएको छ । कम्पनीले भने आगामी वर्ष नै पहिलो स्टारमाइन्ड उपग्रह प्रक्षेपण गर्ने लक्ष्य सार्वजनिक गरिसकेको छ ।
यी उपग्रहहरू पृथ्वीबाट ५०० देखि २ हजार किलोमिटर उचाइमा रहनेछन् । स्पेसएक्सको हाल सञ्चालनमा रहेको स्टारलिङ्क सञ्जालसँग जोडिएर तिनले डाटा आदानप्रदान गर्नेछन् । स्टारलिङ्कले हाल १० हजारभन्दा बढी उपग्रहमार्फत विश्वका विभिन्न क्षेत्रमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।
अन्तरिक्षमा डाटा सेन्टर स्थापना गर्ने अवधारणालाई गुगल र ब्लु ओरिजिनजस्ता कम्पनीले पनि अध्ययन गरिरहेका छन् । पृथ्वीमा निर्माण गरिने डाटा सेन्टर सञ्चालन गर्न ठूलो मात्रामा विद्युत् र उपकरण चिस्याउन पानी आवश्यक पर्ने भएकाले अन्तरिक्षमा सौर्य ऊर्जाबाट सञ्चालन हुने केन्द्रलाई वैकल्पिक उपायका रूपमा हेरिएको छ ।
पछिल्लो समय कृत्रिम बुद्धिमत्ताको प्रयोग तीव्र रूपमा बढेसँगै डाटा प्रशोधन र भण्डारणको माग पनि उल्लेख्य रूपमा बढेको छ । तर, पृथ्वीमा ठूला डाटा सेन्टर निर्माण गर्दा विद्युत् र पानीको अत्यधिक खपत हुने, वातावरणमा असर पर्ने तथा स्थानीय समुदायको विरोध सामना गर्नुपर्ने अवस्था छ । अमेरिकाका विभिन्न क्षेत्रमा यस्ता केन्द्र निर्माणको विरोध भइरहेको छ ।
यद्यपि अन्तरिक्षमा डाटा सेन्टर स्थापना गर्नु चुनौतीरहित भने छैन । विज्ञहरूका अनुसार उपग्रह र अन्य उपकरण अन्तरिक्षमा पठाउन अझै ठूलो खर्च लाग्छ । त्यहाँ उपकरणको तापक्रम नियन्त्रण, सुरक्षा र ऊर्जा व्यवस्थापन पनि जटिल विषय हुन् । त्यसैगरी अन्तरिक्षमा बढिरहेको फोहोरका कारण उपग्रहहरू एकआपसमा ठोक्किने जोखिमसमेत बढेको छ ।
स्पेसएक्सको स्टारलिङ्क सञ्जालले पृथ्वीको तल्लो कक्षमा अत्यधिक उपग्रह थपेर अन्तरिक्षमा भीड बढाएको आरोप लाग्दै आएको छ । तर, मस्कले भने यस्ता आरोप अस्वीकार गर्दै आएका छन् ।
अन्तरिक्षमा १० लाखसम्म उपग्रह राख्ने अनुमति पाए पनि स्पेसएक्सले वास्तवमै त्यति नै सङ्ख्यामा उपग्रह प्रक्षेपण गर्छ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितलाई डिजिटल कार्ड वा स्वास्थ्य बीमा परिचयपत्रको स्पष्ट विवरण देखाएर स्वास्थ्य सेवा लिन सकिने जनाएको छ ।
बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई यस्तो व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेको हो ।
सूचनाअनुसार बीमितले स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति, डिजिटल कार्ड वा विवरण स्पष्ट देखिने प्रतिलिपि पेस गरेर सेवा लिन सक्नेछन् । सेवा प्रदायक संस्थाले कार्डमा उल्लेखित स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा जाँच गरी सम्बन्धित व्यक्ति बीमित भए वा नभएको यकिन गर्नुपर्नेछ ।
बोर्डले भौतिक परिचयपत्र साथमा नभएकै कारण बीमितलाई स्वास्थ्य बीमाअन्तर्गत प्राप्त हुने सेवाबाट वञ्चित नगर्न आग्रह गरेको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति तथा नोक्सानी सम्बोधन गर्न गठित कोषले पूर्ण परियोजना प्रस्ताव पेस गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थालाई आह्वान गरेको छ ।
कृषि, वन तथा वातावरण मन्त्रालयले सूचना जारी गर्दै नेपालमा रहेका कोषका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त निकायलाई परियोजनाको पूर्ण प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।
सूचनाअनुसार प्रस्ताव जलवायु वित्त परिचालन निर्देशिका, २०८२ बमोजिम तयार गर्नुपर्नेछ । मन्त्रालयको जलवायु वित्त तथा विकास समन्वय शाखाले डिसेम्बर ५, २०२६ अर्थात् मंसिर २० गतेभित्र प्रस्ताव स्वीकार गर्ने जनाएको छ ।
पूर्ण परियोजना प्रस्तावको नमुना क्षति तथा नोक्सानी सम्बोधन कोषको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ ।
प्रस्तावसम्बन्धी जानकारी तथा सहयोगका लागि मन्त्रालयले ९८५१२७११२३ नम्बर र [email protected] इमेलमार्फत सम्पर्क गर्न सकिने जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भारतसहित सात प्रमुख अर्थतन्त्रका वस्तुमा २५ प्रतिशतसम्म अतिरिक्त आयात शुल्क लगाउने प्रस्ताव अघि सारेको छ ।
औद्योगिक उत्पादन क्षमता र उत्पादनमा केन्द्रित अमेरिकी अनुसन्धानपछि यस्तो प्रस्ताव ल्याइएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
प्रस्तावित शुल्कको सूचीमा भारत, दक्षिण कोरिया, ताइवान, मलेसिया, थाइल्यान्ड, इन्डोनेसिया र कम्बोडिया छन् । अमेरिकाले यी देशले बजारको मागभन्दा बढी उत्पादन क्षमता विस्तार गरेको आरोप लगाएको छ ।
अमेरिकाले भारत, चीन, युरोपेली संघ, जापान, बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, स्विट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड र भियतनाम गरी १४ अर्थतन्त्रको औद्योगिक उत्पादनबारे अनुसन्धान गरेको छ । यसै क्रममा चीनमाथि २० प्रतिशतसम्म अतिरिक्त शुल्क लगाउने प्रस्ताव गरिएको छ ।
यसैगरी, अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले ब्राजिलका विमानसहित केही उत्पादनमा पनि अतिरिक्त शुल्क लगाउने प्रस्ताव गरेको छ ।
प्रस्तावित शुल्क तत्काल लागू हुने छैनन्। त्यसअघि सार्वजनिक परामर्श प्रक्रिया पूरा गर्नुपर्नेछ । यो प्रस्ताव डिसेम्बरमा अमेरिकाको मियामीमा हुने जी–२० शिखर सम्मेलनअघि सार्वजनिक भएको हो । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । म्यानचेस्टर सिटीका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबल करिअर सम्मानजनक रूपमा अन्त्य गराउन पोर्चुगल फुटबल महासङ्घले पहल गर्नुपर्ने बताएका छन् ।
ग्वार्डिओलाले हालै दिएको एक अन्तर्वार्तामा रोनाल्डोले राष्ट्रिय टोलीबाट यसरी बिदा हुन नहुने बताउँदै भनेका छन्- ‘क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीलाई यसरी छाड्नु हुँदैन । उनीहरू उनलाई यसरी बिदा गर्न सक्दैनन् ।’
उनले रोनाल्डोको बिदाइ सम्मानजनक बनाउन दुवै पक्षले प्रयास गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्- ‘उनले फुटबलमा हासिल गरेको उपलब्धिका आधारमा उनको बिदाइ फरक र विशेष हुनुपर्छ । उनले आफ्ना देशवासीको माया र सम्मान महसुस गर्ने गरी बिदाइ समारोह आयोजना गरिनुपर्छ ।’
एक–दुई महिनाको घटना, असमझदारी वा केही व्यक्तिसँगको विवादका आधारमा खेलाडीको पूरै करिअरको मूल्याङ्कन गर्न नहुने उनको भनाइ छ । रोनाल्डो पोर्चुगलका लागि मात्र नभई भविष्यका पुस्ताका खेलाडीका लागि पनि महत्त्वपूर्ण व्यक्तित्व रहेको उनले उल्लेख गरेका छन् ।
ग्वार्डिओलाले रोमारियो, क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र पाओलो माल्दिनीजस्ता महान् खेलाडीले सम्मानपूर्वक बिदाइ पाउनुपर्ने बताएका छन् । उनले भनेका छन्- ‘महान् खेलाडीले खेलमा दिएको योगदानका कारण सम्मानसहित बिदा हुने अधिकार कमाएका हुन्छन् । उनीहरू मैदानबाट मुख्य ढोकाबाटै बिदा हुन योग्य छन् ।’एभरेष्ट न्यूज एजेन्सी,