२०८३ मंसिर ११
२०८३ मंसिर ११

पूर्वमुख्यसचिव एकनारायण अर्याल कोलकत्ताबाट पक्राउ! काठमाडौं ल्याएर सीआईबीको जिम्मा, उच्च तहमा खैलाबैला

काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई भारतको कोलकत्ताबाट पक्राउ गरी नेपाल ल्याइएको छ। बिहीबार उनलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गराइएपछि हवाईमार्गबाट काठमाडौं ल्याइएको हो।काठमाडौं विमानस्थलमा अवतरण गराएलगत्तै उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएको थियो। अहिले अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौं उपस्थित गराउने तयारी गरिएको छ।

 अर्यालमाथि मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणलगायतका नाममा अतिरिक्त रकम असुली गर्ने प्रकरणमा संलग्न रहेको आरोप छ। उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव हुँदा नेपाली श्रमिकलाई मलेसिया पठाउने प्रक्रियामा अतिरिक्त रकम असुली गर्ने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा अनुसन्धानको दायरामा आएका हुन्।

यस प्रकरणमा ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदालतबाट उनीविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको थियो।यसअघि यही प्रकरणमा तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन श्रमसचिव विनोद केसीसहित मन्त्रालयका उच्च अधिकारी तथा निजी क्षेत्रका व्यक्तिहरू गरी १० जना पक्राउ परिसकेका छन्।

अर्यालको पक्राउसँगै नेपाली श्रमिकलाई मलेसिया पठाउने नाममा भएको भनिएको अतिरिक्त रकम असुली प्रकरणमा अनुसन्धान थप पेचिलो बनेको छ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई कोशी प्रदेश प्रमुखको समेत कार्यभार तोकेका छन् ।कोशी प्रदेश प्रमुखको पद रिक्त रहेकाले नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्मका लागि कर्णलाई उक्त जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले कर्णलाई कोशी प्रदेश प्रमुखको कार्यभार तोकेका हुन् ।

यसअघि कोशी प्रदेश प्रमुख परशुराम खापुङको पाँचवर्षे कार्यकाल कात्तिक २४ गते पूरा भएपछि उक्त पद रिक्त भएको थियो । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिमा नागरिक लगानी कोषको कामकारबाही, लगानी र प्रतिफलको अवस्थाबारे आज छलफल हुने भएको छ ।

समितिको ३६औँ बैठक मङ्सिर १० गते आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने तय भएको छ ।

बैठकमा नागरिक लगानी कोषबाट हालसम्म सम्पादन भएका काम, कोष परिचालनको अवस्था, लगानी तथा प्रतिफल, भावी कार्ययोजना र संस्थाले भोगिरहेका समस्या एवं सुधारका क्षेत्रबारे प्रस्तुति र छलफल हुने कार्यसूची रहेको छ ।

बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयका सचिव तथा नागरिक लगानी कोषका अध्यक्षलाई आमन्त्रण गरिएको समितिले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी,

 

कागजमै तालिम, डेराबाटै चेक ! गरुडा नगरपालिकामा हाकिम नाथु र लेखापाल राजेशमाथि अनियमितताको आरोप

रौतहट, ८ मंसिर । रौतहटको गरुडा नगरपालिकामा भ्रष्टाचार र प्रशासनिक बेथिति बढेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह र लेखापाल राजेश साहमाथि विकास निर्माण तथा सामाजिक विकासका कार्यक्रमको बजेट दुरुपयोग गरेको गम्भीर आरोप लागेको छ।

लेखापाल साहको सक्रियतामा सामाजिक विकास र पूर्वाधार निर्माणका योजनामा ठूलो आर्थिक अनियमितता तथा कमिसनको चलखेल भएको स्थानीयको आरोप छ। गत आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तमा हतारहतार गुणस्तरहीन तथा अधुरा योजनाको समेत प्राविधिक मूल्याङ्कन गराई विभिन्न योजनाको शतप्रतिशत भुक्तानी गरिएको आरोप लगाइएको छ। यसले गर्दा नगरपालिकामा विकास निर्माणका काम प्रभावित भएको स्थानीयको भनाइ छ।

स्थानीयका अनुसार मेयर कन्थमणि जयसवालको आग्रहमा गरुडा नगरपालिका आएका लेखापाल राजेश साह र प्रमुख प्रशासकीय अधिकृत नाथु साहले खरिद प्रक्रियामा समेत अनियमितता गर्ने गरेको आरोप छ। बोलपत्र प्रक्रियालाई छल्न फर्निचर, विद्युतीय सामग्री तथा मसलन्दजस्ता एउटै प्रकृतिका सामानलाई साना–साना बिल बनाएर कोटेसन वा सोझै खरिद गर्ने गरिएको स्थानीयको दाबी छ।

स्थानीय धिरेन्द्र यादवले नगरपालिकामा सामान खरिद गरेको बिल पेस गर्ने तर जिन्सी खातामा दाखिला नगर्ने तथा आवश्यकताभन्दा बढी मूल्यमा सामान खरिद गर्ने गरिएको आरोप लगाएका छन्। उनले नगरपालिकाको आर्थिक गतिविधिमाथि गम्भीर प्रश्न उठाउँदै अनियमितताको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।

त्यस्तै, नगरपालिकाका एक कर्मचारीले नाम नबताउने सर्तमा लेखापाल साहले सवारीसाधन, मेसिनरी तथा कार्यालयका उपकरण मर्मतका नाममा अस्वाभाविक बिल पेस गरी भुक्तानी लिने गरेको आरोप लगाएका छन्।

महिला, दलित, बालबालिका, युवा तथा कृषक लक्षित सीपमूलक तालिम, जनचेतनामूलक कार्यक्रम र गोष्ठीसमेत कागजमै सीमित राखेर भत्ता, खाजा तथा स्टेसनरीका नक्कली बिल बनाई भुक्तानी लिने गरिएको स्थानीयको आरोप छ। वास्तविक रूपमा कार्यक्रम सञ्चालन भए–नभएको तथा खर्चको विवरणबारे छानबिन गर्नुपर्ने उनीहरूको माग छ।

त्यसैगरी, नेपाल सरकारको मापदण्डविपरीत आफन्त तथा नजिकका व्यक्तिलाई करार र ज्यालादारीमा नियुक्त गरी तलबभत्ता खुवाउने गरिएको आरोपसमेत लेखापाल साहमाथि लागेको छ।

सवारीसाधनको लगबुक व्यवस्थित रूपमा नराख्ने तथा बिदाका दिन र निजी प्रयोजनमा प्रयोग भएका सवारीसाधनका लागि समेत कार्यालयबाट इन्धन कुपन जारी गर्ने गरिएको आरोप स्थानीयले लगाएका छन्। यस विषयमा लेखापाल राजेश साह र प्रमुख प्रशासकीय अधिकृत नाथु साहको सम्पत्तिसमेत छानबिन गर्न स्थानीयले माग गरेका छन्।अझ रोचक पक्ष त के छ भने कार्यालय छाडेर चन्द्रपुरस्थित डेराबाटै चेक काट्ने गरिएको आरोपसमेत उनीहरूमाथि लागेको छ। यस विषयमा प्रतिक्रिया लिन खोज्दा दुवै अधिकारी सम्पर्कमा नआएको समाचारमा उल्लेख छ।

नगरपालिकामा उठेका यी आरोपहरूको निष्पक्ष छानबिन गरी योजनाको भुक्तानी विवरण, खरिद प्रक्रिया, तालिम तथा गोष्ठीका खर्च र कर्मचारी नियुक्तिसम्बन्धी कागजात सार्वजनिक गर्न स्थानीयवासीले माग गरेका छन्।

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण क्रममा नेपाल र भारतबीच आर्थिक सहायता, हवाई तथा रेल सम्पर्क, ऊर्जा, व्यापार र पूर्वाधार विकास क्षेत्रमा सहमति भएका छन्।

सोमबार नयाँदिल्लीमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्ति अनुसार भारतले नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रूपैयाँ बराबरको अनुदान तथा ऋण सहायता उपलब्ध गराउने भएको छ।

दुई देशबीच लामो समयदेखि छलफलमा रहेका हवाई प्रवेशमार्ग, सीमापार रेलमार्ग र जलविद्युत आयोजनाका विषयमा पनि केही नयाँ सहमति भएका छन्।

काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने, रक्सौल–काठमाडौं रेलमार्ग अघि बढाउने र नेपालमा भारतीय प्रविधि संस्थान (आइआइटी) को क्याम्पस स्थापना गर्ने सहमति भएको छ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन टुंग्याउने तथा बाँकी सीमा विवाद समाधान गर्ने विषयमा भने दुवै देशले पुरानै प्रतिबद्धता दोहोर्‍याएका छन्।

संयुक्त वक्तव्यको पूर्ण पाठ —

भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री श्री बालेन्द्र शाहले सन् २०२६ नोभेम्बर २२ देखि २३ सम्म भारतको राजकीय भ्रमण गर्नुभयो। उहाँका साथमा उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल पनि थियो। प्रधानमन्त्री पद सम्हालेपछि बालेन्द्र शाहको यो पहिलो भारत भ्रमण थियो।

२. प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा औपचारिक सम्मानसहित स्वागत गरियो। उहाँले राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो। प्रधानमन्त्री शाहले भारतका सम्माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभयो। भारतका विदेशमन्त्री डा. एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नुभयो।

३. प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहसँग वार्ता गर्नुभयो र उहाँको सम्मानमा दिवाभोज आयोजना गर्नुभयो। दुई नेताबीचको छलफलमा द्विपक्षीय सहकार्यका प्रमुख क्षेत्र, आपसी चासोका क्षेत्रीय मुद्दा तथा विश्वव्यापी घटनाक्रम समेटिएका थिए।

४. प्रधानमन्त्री शाहले नेपालमा ठूलो जनधनको क्षति पुर्‍याएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारतले प्रदान गरेको मानवीय तथा प्राविधिक सहयोग र ऐक्यबद्धताको प्रशंसासहित कदर गर्नुभयो।

५. प्रधानमन्त्री मोदीले घनिष्ठ मित्र तथा छिमेकीका रूपमा नेपालको विकास यात्रामा भारतको अटल सहयोग रहने प्रतिबद्धता पुनः व्यक्त गर्नुभयो। भारतले नेपाललाई १५ हजार करोड भारतीय रूपैयाँ (२४ हजार करोड नेपाली रूपैयाँ) बराबरको विकास सहायता प्रदान गर्नेछ।

यसअन्तर्गत नेपालमा विपदपछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार आयोजनाहरूका लागि ३ हजार ५ सय करोड भारतीय रूपैयाँ (५ हजार ६ सय करोड नेपाली रूपैयाँ) अनुदान सहायता र ऊर्जा क्षेत्रका आयोजनाहरूका लागि ११ हजार ५ सय करोड भारतीय रूपैयाँ (१८ हजार ४ सय करोड नेपाली रूपैयाँ) बराबरको भारतीय रूपैयाँमा आधारित ऋण सुविधा उपलब्ध गराइनेछ।

विकास सहायता उपलब्ध गराउने विशिष्ट आयोजना तथा त्यसका प्रक्रियाहरू आपसी परामर्शबाट अन्तिम रूप दिइनेछ।

६. दुवै नेताले उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजनाहरू (एचआइसिडिपी) सहित नेपालमा सञ्चालित विकास आयोजनाहरूको कार्यान्वयनमा भइरहेको प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभयो। उहाँहरूले भारत सरकारको सहयोगमा निर्माण भइरहेको नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणमा भएको प्रगतिबारे पनि चर्चा गर्नुभयो। दुवै नेताले भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणाको स्वागत गर्नुभयो।

७. दुवै नेताले ‘विकसित भारत र समुन्नत नेपाल’ का लागि संयुक्त दृष्टिकोण अपनाउनुभयो। संयुक्त दृष्टिकोणसम्बन्धी वक्तव्यले भारत र नेपालबीचको आकांक्षापूर्ण तथा भविष्यमुखी साझेदारीका लागि मार्गचित्र प्रस्तुत गर्दछ। यसमा आर्थिक तथा विकास साझेदारी, सम्पर्क सञ्जाल, ऊर्जा तथा जलस्रोत र जनस्तरको सम्बन्धजस्ता परम्परागत रूपमा बलिया द्विपक्षीय सहकार्यका क्षेत्रलाई थप विस्तार गर्ने पहलहरू समेटिएका छन्।

साथै, जलवायु परिवर्तनका असर सामना गर्ने क्षमता, विपद न्यूनीकरण तथा व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष तथा नवप्रवर्तनका क्षेत्रमा नयाँ सहकार्यका सम्भावना पनि समेटिएका छन्।

८. दुवै नेताले हवाई सम्पर्क विस्तार गर्ने तथा द्विपक्षीय आर्थिक संलग्नता बढाउने उद्देश्यले नागरिक उड्डयनसम्बन्धी विषयमा भइरहेका छलफलबारे चर्चा गर्नुभयो। दुवै पक्ष हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको बी–३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा सहमत भए।

यससम्बन्धी प्रक्रियालाई अन्तिम रूप दिन तथा हाल छलफलमा रहेका दुवै पक्षका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावहरू सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ।

९. प्रधानमन्त्री मोदीले नेपालको पारवहन व्यापारका लागि दीनदयाल बन्दरगाह (कान्डला, गुजरात) हुँदै नयाँ सम्पर्क मार्ग उपलब्ध गराउने घोषणा गर्नुभयो।यसका अतिरिक्त आवश्यक पूर्वाधार तयार भएपछि उडिसास्थित पारादीप बन्दरगाहमा पनि पहुँच उपलब्ध गराइनेछ।

१०. दुवै नेताले नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी (आइसिपी) तथा पेट्रोलियम पाइपलाइन स्थापना गरेर सीमापार सम्पर्क सञ्जाल सुधार गर्ने र सीमा पूर्वाधार सुदृढ बनाउने महत्त्वमा जोड दिनुभयो।

११. दुवै प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीचको सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटन गर्दै हरियो झन्डा देखाएर सेवा शुभारम्भ गर्नुभयो।

यस रेल सेवाले सम्पर्क सञ्जाल सुधार गर्नुका साथै रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रोत्साहन गर्ने र भारत तथा नेपालबीचको सभ्यतागत सम्बन्ध सुदृढ बनाउनेछ।

दुवै नेताले बौद्ध तथा शिव–शक्ति धार्मिक पर्यटन सर्किट विकास गर्न यस्तै प्रकारका सम्पर्क सञ्जालको सम्भावना खोज्ने सहमति गर्नुभयो।

१२. दुवै नेताले प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्भे (स्थलगत मार्ग निर्धारण सर्वेक्षण) अन्तिम रूप दिइएको घोषणा गर्नुभयो। साथै, नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासका लागि दुवै पक्षले सहकार्य गर्ने घोषणा गर्नुभयो।

१३. दुवै नेताले भर्चुअल माध्यमबाट बनबासामा नयाँ एकीकृत जाँच चौकी (आइसिपी) निर्माणको शिलान्यास गर्नुभयो। उहाँहरूले भैरहवा, सुनौली तथा दोधारा–चाँदनीमा एकीकृत जाँच चौकी निर्माणमा भइरहेको प्रगतिको स्वागत गर्नुभयो।

भारत र नेपालबीच तीनवटा एकीकृत जाँच चौकी यसअघि नै सञ्चालनमा आइसकेका छन्।

१४. दुवै नेताले भारतको धार्चुला र नेपालको दार्चुलाबीच निर्माण भएको नयाँ सीमापार सवारीसाधन सञ्चालनयोग्य पुलको उद्घाटन गर्नुभयो। यसले पश्चिम नेपाल र भारतबीचको प्रत्यक्ष सम्पर्क सुधार गर्न सहयोग पुर्‍याउनेछ।

१५. दुवै नेताले सीमा स्तम्भहरूको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कार्यमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभयो। उहाँहरूले समाधान हुन बाँकी सीमा विवादका विषयमा काम गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिनुभयो।

१६. भारत र नेपालबीच सीमापार पेट्रोलियम पूर्वाधार विस्तार गर्ने क्रममा दुवै नेताले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाली जनतालाई समर्पण गर्नुभयो। दुवै नेताले भर्चुअल माध्यमबाट नेपालको झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास पनि गर्नुभयो।

उहाँहरूले सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण कार्य छिट्टै सुरू गर्नुको महत्त्वमा जोड दिनुभयो। दुवै पक्षले भारत र नेपालबीच ग्यास पाइपलाइन निर्माणमा सहकार्य गर्ने सम्भावनाको अध्ययन गर्न सहमति जनाए।

१७. दुवै पक्षले ऊर्जा क्षेत्रको सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त दृष्टिकोण दस्तावेज तथा दीर्घकालीन विद्युत व्यापार सम्झौताअनुरूप जलविद्युत क्षेत्रमा भएको द्विपक्षीय प्रगतिप्रति सन्तोष व्यक्त गरे। दुवै पक्षले नेपालको जलविद्युत क्षेत्रमा भारतीय कम्पनीहरूको सक्रिय संलग्नताको स्वागत गरे।

उनीहरूले नेपालमा भारतीय कम्पनीहरूले विकास गरिरहेका विभिन्न जलविद्युत आयोजनाहरू शीघ्र सम्पन्न हुने सुनिश्चित गर्न सहमति जनाए।

यस अवसरमा दुवै नेताले भर्चुअल माध्यमबाट ६६९ मेगावाट क्षमताको तल्लो अरूण जलविद्युत् आयोजनाको शिलान्यास गर्नुभयो।

१८. दुवै नेताले पञ्चेश्वर विकास प्राधिकरण तथा जलस्रोतसम्बन्धी संयुक्त समितिलाई पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) शीघ्र अन्तिम रूप दिन र आयोजना कार्यान्वयनको काम सुरू गर्न निर्देशन दिनुभयो। दुवै नेताले जलस्रोतको आपसी लाभका लागि उपयोग गर्न तथा बाढीको प्रभाव न्यूनीकरण गर्न सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाहरूको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काम तीव्र पार्नुपर्ने आवश्यकतामा पनि सहमति जनाउनुभयो।

१९. दुवै पक्षले इनरूवा (नेपाल)–नयाँ पूर्णिया (भारत) तथा दोधारा (नेपाल)–बरेली (भारत) बीचका दुई उच्च क्षमताका सीमापार विद्युत प्रसारण लाइनका लागि संयुक्त उद्यम (जेभी) गठन गर्ने कार्यमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरे।

२०. नेपाललाई भारतले प्रदान गर्दै आएको विकास तथा क्षमता अभिवृद्धिसम्बन्धी सहयोग विस्तार गर्ने क्रममा दुवै नेताले भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आइआइटी) को विदेशी क्याम्पस स्थापना गर्ने सहमति गर्नुभयो। यसले नेपालको शिक्षा क्षेत्रमा प्रभाव विस्तार गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै रोजगारी सिर्जनालाई पनि प्रवर्द्धन गर्नेछ।

दुवै नेताले स्टार्टअप तथा डिजिटल र वित्तीय सम्पर्कसहित प्रविधिका क्षेत्रमा भारत र नेपालबीच विस्तार भइरहेको सहकार्यको स्वागत गर्नुभयो।

२१. दुवै पक्षले एकअर्काको देशमा बसोबास गर्ने नागरिकहरूका लागि बैंकिङ तथा दूरसञ्चारसहितका सेवामा सहज पहुँच उपलब्ध गराउन आपसी सहजीकरण गर्नुपर्ने आवश्यकता स्वीकार गरे।

२२. भ्रमणका क्रममा दुवै पक्षबीच निम्न समझदारीपत्रहरू आदानप्रदान गरिए —

१) भारतको गुजरातस्थित गान्धीनगरमा रहेको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारीपत्र।

२) भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू) र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एनपिए) बीचको समझदारीपत्र।

३) भारत सरकारको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागअन्तर्गतको नेसनल सेन्टर फर गुड गभर्नेन्स र नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच नेपाली निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धिसम्बन्धी तालिम कार्यक्रमका लागि समझदारीपत्र।

४) भारत सरकार र नेपाल सरकारबीच आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र।

५) भारत सरकारको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसियाली भूउपग्रहको उपयोगका लागि भूउपग्रहमा आधारित सञ्चार सञ्जाल (स्याटकम) स्थापना गर्ने विषयमा समझदारीपत्र।

६) भारत सरकार र नेपाल सरकारबीच दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहकार्यसम्बन्धी समझदारीपत्र।

७) भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र।

८) भारत सरकार र नेपाल सरकारबीच पशुपालन तथा मत्स्य विकासका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र।

२३. नेपालका प्रधानमन्त्रीले आफू र आफ्नो प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यका लागि भारतका प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्नुभयो।
उहाँले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पनि दिनुभयो। भारतीय प्रधानमन्त्रीले निमन्त्रणा स्वीकार गर्नुभयो। भ्रमणको औपचारिक मिति कूटनीतिक माध्यमबाट तय गरिनेछ।

२४. भारत–नेपाल साझेदारी गहिरो विश्वास, मित्रता, आपसी सम्मान तथा सबै तहमा रहेको समझदारीमा आधारित छ।

दुई देशबीचको बलियो जनस्तरीय सम्बन्ध तथा निकट आर्थिक र विकास सहकार्यले यस साझेदारीलाई थप सुदृढ बनाएको छ।

यस भ्रमणले दुई देशबीच नियमित उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने परम्परा तथा त्यसलाई अझ अघि बढाउने दुवै पक्षको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।

२३ नोभेम्बर २०२६
नयाँ दिल्ली

७ मंसिर, काठमाडौं । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ ।

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भएको दुईपक्षीय वार्तापछि जारी संयुक्त प्रेस वक्तव्यमा यसबारे जानकारी गराइएको हो ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको २ खर्ब ४० अर्ब आर्थिक सहयोगको प्याकेजमध्ये भोटेकोशी बाढीपछिको पुनर्निमाणका लागि ३५ अर्ब भारु अर्थात् ५६ अर्ब नेपाली अनुदान छुट्टयाइएको हो ।

बाँकी १ खर्ब १५ अर्ब भारु अर्थात् १ खर्ब ८४ रुपैयाँ लाइनअफ क्रेडिट (सहुलियतपूर्ण ऋण) अन्तर्गत दिइने विज्ञप्तिमा उल्लेख छ ।

आमजनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहका निकटस्थ मानिने अनिल कुमार झाले पार्टीको गतिविधिप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्यागको घोषणा गरेका छन्।

आफूलाई आमजनता पार्टीको केन्द्रीय सचिवालय सदस्य बताउँदै आएका झाले पार्टीका गतिविधि समग्रमा ठीक नभएको भन्दै आजपाबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन्।

देवाही गोनाही नगरपालिकाको एउटा वडाका निवर्तमान अध्यक्षसमेत रहेका झाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू आजपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

प्रभु साहका निकटस्थ मानिने झाको पार्टी छाड्ने निर्णयलाई आजपाभित्रको असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ। पार्टी नेतृत्वसँग निकट सम्बन्ध रहेका व्यक्तिले नै पार्टीको गतिविधिप्रति प्रश्न उठाउँदै बाहिरिनुले संगठनभित्रको आन्तरिक अवस्था र नेतृत्वको कार्यशैलीबारे चर्चा बढाएको छ।

स्थानीय राजनीतिमा प्रभाव राख्ने नेताको पार्टी परित्यागले विशेषगरी रौतहटमा आजपाको संगठनात्मक अवस्थामाथि प्रभाव पार्न सक्ने देखिन्छ। निवर्तमान वडा अध्यक्षसमेत रहेका झाको निर्णयले पार्टीको स्थानीय राजनीतिक समीकरणमा कस्तो असर पार्छ भन्ने चासो बढेको छ।

यद्यपि, झाले पार्टीका कुन-कुन गतिविधिप्रति असन्तुष्टि जनाएका हुन् भन्ने विषयमा विस्तृत कारण सार्वजनिक गरेका छैनन्। पार्टी नेतृत्वको प्रतिक्रिया पनि आउन बाँकी छ।

राजनीतिक दलमा असन्तुष्टि व्यक्त गर्नु र पार्टी छाड्नु व्यक्तिगत राजनीतिक निर्णय भए पनि नेतृत्वको निकटस्थबाटै यस्तो कदम चालिनुले संगठनभित्रको असन्तुष्टिलाई सार्वजनिक रूपमा उजागर गरेको छ। नेपाल परिवेश

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आन्तरिक राजनीतिक मतभेदभन्दा मुलुकको राष्ट्रिय हित सधैँ सर्वोपरि हुने बताएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणको सन्दर्भमा आइतबार सामाजिक सञ्जाल फेसबूकमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले परराष्ट्र नीति र अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व हुँदा आन्तरिक विमतिलाई थाती राखेर राष्ट्रको स्वाभिमान र हितको पक्षमा उभिनुपर्ने बताएका हुन् ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचन संविधान र कानुनको व्यवस्थाअनुसार गर्नुपर्ने बताएका छन् ।

स्थानीय तहको निर्वाचन मिति बारे निर्वाचन आयोगले आयोजना गरेको राजनीतिक दलहरूसँगको छलफलमा उनले निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी हुनुपर्नेमा जोड दिएका हुन् ।

उनले विगतका निर्वाचनमा मतगणना, मतपरिणाम र मतपेटिका व्यवस्थापनबारे उठेका गुनासा दोहोरिन नदिन आयोगको ध्यानाकर्षण गराए । साथै, विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न पनि सरकार र आयोगले आवश्यक पहल गर्नुपर्ने बताए ।

प्रचण्डले स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेशसभा निर्वाचन मङ्सिरमा गर्ने आयोगको प्रस्ताव उपयुक्त देखिएको उल्लेख गर्दै पार्टीभित्र थप छलफलपछि औपचारिक धारणा सार्वजनिक गर्ने बताए ।

निर्वाचन दुई चरणमा गर्ने विषयमा पनि आयोगको प्रस्ताव अध्ययन गरी पार्टीमा छलफल गरेपछि निर्णय लिने उनले बताएका छन् ।     एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति तय गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ ।

आयोगले आज बिहान साढे ११ बजेका लागि राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिलाई छलफलमा बोलाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार छलफल आयोगको कार्यालयमा हुनेछ ।

छलफलका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आमन्त्रण गरिएको छ । आयोगले स्थानीय तहसँगै प्रदेशसभा निर्वाचन पनि गर्ने विषयमा दलहरूको धारणा माग्ने तयारी गरेको छ ।

२०७९ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा सकिँदैछ । त्यसअघि निर्वाचन सम्पन्न गर्ने तयारीस्वरूप आयोगले राजनीतिक दलहरूसँग परामर्श अघि बढाएको हो ।

स्थानीय तह निर्वाचन ऐनअनुसार कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ। यसअनुसार आगामी फागुन–चैतमा निर्वाचन गर्नुपर्ने हुन्छ । एभरेष्ट न्यूज एजेन्सी,

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।