२०८३ मंसिर ११
२०८३ मंसिर ११

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज विहिबार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल मधेश, कोशी र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेको र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको जानकारी दिएको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

त्यस्तै, आज राति कोशी,बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहा‍डी भू-भागमा आंशिक बादल लाग्ने र  देशका बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको हिमाली भू-भागका  एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।  एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

गृहमन्त्री सुधन गुरुङले केसीलाई नियुक्तिपत्रसहित दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नवनियुक्त महानिरीक्षक केसीले आजै प्रहरी प्रधान कार्यालय पुगेर पद बहाली गर्ने भएका छन् ।

आजै बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई महानिरीक्षकमा नियुक्त गरेको थियो । त्यस्तै निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको थियो । एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सिंहदरबारमा रमिता चलिरहेको टिप्पणी गरेका छन् ।

सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै वरिष्ठ उपसभापति शर्माले कुनै कारण स्पष्ट नगरी प्रहरी महानिरीक्षक हटाएकोप्रति टिप्पणी गर्दै सिंहदरबारमा रमिता चलिरहेको बताएका हुन् ।

उनले भने- ‘सरकारको प्रवक्ता के भन्नुहुन्छ, पार्टीको निर्देशनमा हटाइयो । एक घण्टा नभइकन पार्टीको प्रवक्ता प्रवक्ता के भन्नुहुन्छ, हाम्रो निर्देशन गएको छैन । लेख्नुस् सिंहदरबारमा रमिता चलिरहेको छ । लेख्नुस् बालुवाटारमा रमिता चलिरहेको छ ।’

उनले अहिले सार्बजनिक भएको भनिएको अडियोको विषय छानबिन गर्न माग गर्दै काँग्रेस आफु र आफ्नो नेतृत्वमाथि उठेका सबै प्रश्नको सामना गर्न तयार रहेको बताए ।

काँग्रेसले सरकारसँग पारदर्शिता र जवाफदेहिताको माग गर्दै आफुहरुले सरकारका गलतकामको प्रश्न गर्न नछोड्ने स्पष्ट गरेका छन् ।

उनले उपसभापति पुष्पा भुसालको समन्वयमा विपक्षी दलहरुसँग छलफल गर्ने जानकारी दिएका छन् । शर्माले सञ्चारमाध्यमहरुलाई प्रश्न गर्दै आफ्नै कार्यालय अगाडी राखेको गाडीको विषयमा प्रश्न गर्न छोडेको उल्लेख गर्दै प्रश्न गर्न नछोड्न आग्रह गरे ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक परिवर्तन बारे टिप्पणी गर्दै अर्हाएको काम गर्ने व्यक्ति ल्याएको बताएका छन्  ।

पार्टी कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै ओलीले अर्हाएको काम गर्छ भनेर बनाएको बताए  । उनले भने- ‘आफुले अर्हाएको काम गर्छ भनेर बनाएको होला’

त्यस्तै ओलीले काँग्रेस सभापति गगन थापासँग राम्रो भेट भएको भन्दै राजनीतिक कुरा भएको बताए  ।  एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

ऊर्जा मन्त्रालयमा भएको भेटमा दुई देशबीच ऊर्जा व्यापार, जलविद्युत् आयोजना निर्माण, विपद् प्रतिकार्य र पूर्वसूचना प्रणालीलगायत विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री श्रेष्ठले नेपालमा हालै भएका विपद्का क्रममा सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद दिँदै विद्युत् व्यापार विस्तार, नेपालमा सञ्चालित आयोजना समयमै सम्पन्न गर्न र निजी क्षेत्रको लगानी बढाउन आग्रह गरेका थिए ।

भारतीय विदेश सचिव मिश्रीले ऊर्जा क्षेत्रमा भारत सहकार्य गर्न तयार रहेको बताएका थिए ।

भेटमा ऊर्जा सचिव डा. जगदीश्वर कर्माचार्यसहित मन्त्रालयका अधिकारी तथा भारतका तर्फबाट राजदूत सुधाकर दलेला र विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर सहभागी थिए । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा १३ खेल सम्पन्न हुँदा लुम्बिनी लायन्सले अंकतालिकाको शीर्ष स्थानमा पकड जमाएको छ ।

न खेल खेलेको लुम्बिनीले दुई जित र एक खेलको नतिजा नआउँदा पाँच अंक जोडेको छ । विराटनगर किङ्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स समान चार अंकसहित प्रतिस्पर्धामा छन् ।

लुम्बिनी तीन खेलमा अपराजित छ । दुई जित र एक खेल वर्षाका कारण नतिजाविहीन हुँदा टोलीले पाँच अंक बनाएको हो । उसको नेट रनरेट ४.०५१ छ, जुन प्रतियोगितामा सहभागी आठ टोलीमध्ये सबैभन्दा राम्रो हो । यसले लुम्बिनीलाई अंक र रनरेट दुवै आधारमा शीर्ष स्थानमा राखेको छ ।

विराटनगर किङ्सले चार खेलमा दुई जित र दुई हारसहित चार अंक जोडेको छ । उसको नेट रनरेट ०.४०८ छ । कर्णाली याक्सले तीन खेलमा दुई जित र एक हार बेहोर्दै चार अंक बनाएको छ । कर्णालीको नेट रनरेट ०.२९५ रहेको छ ।

जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले पनि चार खेलबाट दुई जित र दुई हारसहित समान चार अंक जोडेका छन् । जनकपुरको नेट रनरेट ०.०९९ छ भने सुदूरपश्चिमको माइनस १.०६४ छ । समान अंक भए पनि नेट रनरेटका कारण यी टोलीको स्थान फरक परेको छ ।

चितवन राइनोजले तीन खेलमा एक जित, एक हार र एक नतिजाविहीन खेलबाट तीन अंक जोडेको छ । उसको नेट रनरेट माइनस ०.४८६ छ । काठमाडौं गोर्खाजले दुई खेलमा एक जित र एक हारसहित दुई अंक बनाएको छ । काठमाडौंको नेट रनरेट माइनस ०.४६६ रहेको छ ।

पोखरा एभेन्जर्सले तीनवटै खेल गुमाएको छ । टोलीले अहिलेसम्म अंक जोड्न सकेको छैन र उसको नेट रनरेट माइनस १.७७० छ । लगातार तीन हारपछि पोखरा अंकतालिकाको पुछारमा रहेको छ ।

एनपीएलको तेस्रो सिजनको सुरुआती चरणमै टोलीहरूबीच कडा प्रतिस्पर्धा देखाएको छ । शीर्ष पाँच स्थानमा रहेका टोलीबीचको अन्तर एक अंक मात्रै छ । लुम्बिनीले अपराजित यात्रा र उत्कृष्ट नेट रनरेटका कारण अग्रता बनाएको छ भने कर्णालीले कम खेल खेलेर पनि चार अंक जोड्दै आफूलाई बलियो अवस्थामा राखेको छ ।

विराटनगर, जनकपुर र सुदूरपश्चिमका लागि आगामी खेलमा जितसँगै नेट रनरेट सुधार्नु पनि महत्त्वपूर्ण हुनेछ । चितवन र काठमाडौंसँग पनि माथिल्लो स्थानमा उक्लिने अवसर छ । पोखराका लागि भने प्रतियोगितामा फर्कन आगामी खेलमा जित निकाल्नु आवश्यक देखिन्छ ।

समग्रमा, लुम्बिनीले उत्कृष्ट सुरुआत गरेको भए पनि चार अंकमा रहेका चार टोली र नजिकै रहेका चितवन तथा काठमाडौंका कारण प्लेअफको दौड अझ रोचक र प्रतिष्पर्धात्मक हुने देखिन्छ ।  एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक १८ गते, बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा रहेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८६ पैसा रहेको छ । बेलायती पाउन्ड एकको खरिददर २०२ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६९ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८५ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५० पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६९ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ११ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५८ पैसा रहेको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६८ पैसा र बिक्रीदर २२ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३१ पैसा र बिक्रीदर ४० रुपैयाँ ४७ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६६ पैसा तथा संयुक्त अरब इमिरेट्सको दिराम एकको खरिददर ४१ रुपैयाँ १९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३५ पैसा रहेको छ ।

थाई भाट एकको खरिददर ४ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४ रुपैयाँ ५० पैसा रहेको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ ।

दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ २५ पैसा र बिक्रीदर ११ रुपैयाँ ३० पैसा रहेको छ। स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५ रुपैयाँ ५० पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा रहेको छ ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २८ पैसा र बिक्रीदर १९ रुपैयाँ ३६ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ १२ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ३ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ६२ पैसा रहेको छ। ओमानी रियाल एकको खरिददर ३९२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ५० पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विदेशी मुद्राको विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने र वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने यसभन्दा फरक हुन सक्ने उल्लेख गरेको छ ।

 

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा थापा र ओलीबीच छलफल भएको हो । एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस संसदीय दलका नेता कृष्ण यादव नेतृत्वको सरकार संकटमा रहेको बेला थापा र ओलीबीच भेटवार्ता भएको छ ।

एमाले, जसपा र नेकपा मिलेर नयाँ सरकारको गृहकार्य गरिरहेका बेला थापाले ओलीलाई भेटेका छन् ।

भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज बुधबार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने जनाएको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भू-भागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबै भू-भागमा आंशिक बादल लाग्नेछ। देशको बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । एभरेष्ट न्यूज एजेन्सी,

 

रौतहट कार्तिक १५ गते

रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत लमाहा खोला पुल, चपुर–सुकदेव चोक–लौकाहा सडक खण्डको लौकाहा खोला पुल र महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नति आयोजनाको ठेक्का तोडिएको हो।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट काम अघि बढाउने निर्णय गरिएको जानकारी दिएका छन्।

मन्त्री लम्सालका अनुसार चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत लमाहा खोला पुल र चपुर–सुकदेव चोक–लौकाहा सडक खण्डको लौकाहा खोला पुल निर्माणको काम विगत १० वर्षदेखि अलपत्र थियो। पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन नसकेपछि दुवै पुलको ठेक्का सम्झौता अन्त्य गरिएको हो।

यी दुवै पुल निर्माणका लागि २०७३ चैत २१ गते पप्पु र शिवशंकर जेभी, गरुडा, रौतहटसँग सम्झौता भएको थियो। सम्झौताअनुसार आर्थिक वर्ष २०७५/७६ भित्रै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि पटक–पटक म्याद थप गर्दै अन्तिम समयसीमा २०८० असार ३० गतेसम्म पुर्‍याइएको थियो। तर, निर्धारित समयभित्र निर्माण सम्पन्न हुन सकेन।

पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयले लामो समयदेखि आवागमनमा सास्ती भोग्दै आएका छन्। अलपत्र आयोजनाको बाँकी काम नयाँ प्रक्रियाबाट सम्पन्न गर्ने निर्णयमा सरकार पुगेको मन्त्री लम्सालले बताएका छन्।

त्यस्तै, महेन्द्र राजमार्गको धनसार–बागमती खण्डमा सडक स्तरोन्नति तथा पुनर्स्थापनाका लागि गरिएको ठेक्का सम्झौता पनि तोडिएको छ। गत आर्थिक वर्षभित्रै सम्पन्न गर्नुपर्ने उक्त आयोजनामा भौतिक प्रगति शून्य देखिएपछि ठेक्का अन्त्य गर्ने निर्णय गरिएको मन्त्री लम्सालले जानकारी दिएका छन्।

सडक डिभिजन चन्द्रनिगाहपुरले पनि ठेक्का सम्झौता अन्त्य गरिएको सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको छ। सूचनाअनुसार लमाहा र लौकाहा खोला पुल निर्माणका लागि पप्पु/शिवशंकर जेभीसँग गरिएका दुईवटा ठेक्का तथा महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नतिसम्बन्धी ठेक्का सम्झौता अन्त्य गरिएको हो।

सरकारले देशभर रुग्ण अवस्थामा रहेका पूर्वाधार आयोजनाको निर्माण अघि बढाउन कडा नीति लिएको मन्त्री लम्सालले बताएका छन्। निर्माण सम्पन्न गर्ने आधार देखिएका आयोजनालाई अन्तिम मौका दिने र त्यसबाट पनि काम अघि नबढे ठेक्का तोडेर नयाँ प्रक्रियाबाट बाँकी काम सम्पन्न गरिने उनको भनाइ छ।

लामो समयदेखि अलपत्र आयोजनाका कारण नागरिकले भोग्नुपरेको सास्ती अन्त्य गर्न र सार्वजनिक पूर्वाधार निर्माणलाई गति दिन सरकारले ठेक्का व्यवस्थापनमा कडाइ गरेको मन्त्री लम्सालले स्पष्ट पारेका छन्।सभार नागरिक न्युज

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।