२०८३ मंसिर ११
२०८३ मंसिर ११

काठमाडौँ । म्यानचेस्टर सिटीका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबल करिअर सम्मानजनक रूपमा अन्त्य गराउन पोर्चुगल फुटबल महासङ्घले पहल गर्नुपर्ने बताएका छन् ।

ग्वार्डिओलाले हालै दिएको एक अन्तर्वार्तामा रोनाल्डोले राष्ट्रिय टोलीबाट यसरी बिदा हुन नहुने बताउँदै भनेका छन्- ‘क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीलाई यसरी छाड्नु हुँदैन । उनीहरू उनलाई यसरी बिदा गर्न सक्दैनन् ।’

उनले रोनाल्डोको बिदाइ सम्मानजनक बनाउन दुवै पक्षले प्रयास गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्- ‘उनले फुटबलमा हासिल गरेको उपलब्धिका आधारमा उनको बिदाइ फरक र विशेष हुनुपर्छ । उनले आफ्ना देशवासीको माया र सम्मान महसुस गर्ने गरी बिदाइ समारोह आयोजना गरिनुपर्छ ।’

एक–दुई महिनाको घटना, असमझदारी वा केही व्यक्तिसँगको विवादका आधारमा खेलाडीको पूरै करिअरको मूल्याङ्कन गर्न नहुने उनको भनाइ छ । रोनाल्डो पोर्चुगलका लागि मात्र नभई भविष्यका पुस्ताका खेलाडीका लागि पनि महत्त्वपूर्ण व्यक्तित्व रहेको उनले उल्लेख गरेका छन् ।

ग्वार्डिओलाले रोमारियो, क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र पाओलो माल्दिनीजस्ता महान् खेलाडीले सम्मानपूर्वक बिदाइ पाउनुपर्ने बताएका छन् । उनले भनेका छन्- ‘महान् खेलाडीले खेलमा दिएको योगदानका कारण सम्मानसहित बिदा हुने अधिकार कमाएका हुन्छन् । उनीहरू मैदानबाट मुख्य ढोकाबाटै बिदा हुन योग्य छन् ।’एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आज भिड्दै छन् । फाइनल खेल आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। खेल साँझ ५ बजे सुरु हुनेछ ।

एनपीएलका अघिल्ला दुई संस्करणमा पनि सुदूरपश्चिम रोयल्स फाइनल पुगेको थियो । पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै जनकपुर बोल्ट्सले उपाधि जितेको थियो । सन् २०२४ डिसेम्बर २१ मा भएको फाइनलमा जनकपुरले सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो । सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनाएको थियो ।दोस्रो संस्करणमा पनि सुदूरपश्चिम फाइनलसम्म पुगेको थियो । सन् २०२५ डिसेम्बर १३ मा भएको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्सले पहिलो पटक उपाधि जितेको थियो । उक्त खेलमा सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमा समेटिएको थियो भने लुम्बिनीले ९ ओभरमै चार विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । यससँगै सुदूरपश्चिम लगातार दुई संस्करणमा उपविजेतामा सीमित भएको थियो ।

तेस्रो संस्करणमा लुम्बिनीले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै लिग चरणमा शीर्ष स्थान हासिल गरेको थियो । ११ अंकसहित पहिलो स्थानमा रहेको लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई नै ६ विकेटले पराजित गर्दै सिधै फाइनलमा स्थान बनाएको हो । यस संस्करणमा लिग चरणमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराएको थियो ।

यता, पहिलो क्वालिफायरमा पराजित भएपछि सुदूरपश्चिमले फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्नुपरेको थियो । बिहीबार भएको खेलमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिमले लगातार तेस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो । यससँगै सुदूरपश्चिमले पहिलो पटक एनपीएल उपाधि जित्ने अवसर पाएको छ भने साविक विजेता लुम्बिनी लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ । अब शनिबार हुने फाइनलले एनपीएलको नयाँ इतिहास बनाउनेछ । लुम्बिनीले उपाधि रक्षा गर्दै दोस्रो पटक च्याम्पियन बन्नेछ वा सुदूरपश्चिमले लगातार दुई फाइनलमा भोगेको हारको सिलसिला तोड्दै पहिलो उपाधि जित्नेछ भन्ने निर्णय मैदानमा हुनेछ ।

कटहरिया । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सकिनुको कारण एकैपटक दुई लाखभन्दा बढी प्रयोगकर्ताले टिकट खरिद गर्न खोज्नु रहेको स्पष्टीकरण दिएको छ ।

विज्ञप्तिमार्फत क्यानले फाइनल खेलको टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्न खोजेको जनाएको छ । तर, क्रिकेट मैदानको क्षमताअनुसार टिकट संख्या सीमित भएकाले बिक्री खुला भएको केही मिनेटमै सबै टिकट सकिएको क्यानको भनाइ छ ।

तर शुक्रबार दिउसो १ बजेदेखि टिकट बिक्री खुल्ने बताए पनि सो समय अघिनै इसेवामा सोल्ड आउट देखाएपछि दर्शकले निराशा व्यक्त गरेका थिए । टिकट बिक्री खुल्नुअघि नै बिक्री माध्यममा ‘सोल्ड आउट’ देखिएपछि दर्शकले असन्तुष्टि जनाएका छन् । धेरै दर्शकले टिकट खरिद गर्न नपाएको भन्दै सामाजिक सञ्जालमा गुनासो गरेका छन् ।

क्यानले नेपाली क्रिकेटप्रति दर्शकले देखाएको अपार माया, साथ र उत्साहप्रति आभार व्यक्त गर्दै टिकट नपाएका समर्थकसँग क्षमासमेत मागेको छ । टिकट खरिद गर्न नसकेका समर्थकलाई क्यानले आधिकारिक अनलाइन माध्यम तथा सिद्धार्थ बैंकमार्फत एनपीएललाई सहयोग गर्न आग्रह गरेको छ ।

तेस्रो संस्करणको एनपीएल फाइनलमा शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट क्रिकेटका क्रममा आचारसंहिता उल्लङ्घन गरेको भन्दै बंगलादेशका खेलाडी तौहिद हृदोयलाई खेल शुल्कको ४० प्रतिशत जरिवाना गरिएको छ ।

बुधबार जोहानेसबर्गमा भएको खेलमा खराब प्रकाशका कारण खेल रोकिएपछि अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै आक्रामक व्यवहार गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले उनलाई कारबाही गरेको हो ।

हृदोयले खेलका क्रममा अम्पायरको निर्णयप्रति असन्तुष्टि देखाउनेसम्बन्धी आचारसंहिताको नियम उल्लङ्घन गरेका थिए । उनको अनुशासन अभिलेखमा दुई नकारात्मक अङ्कसमेत थपिएको छ ।

उनले आफ्नो गल्ती स्वीकार गर्दै प्रस्तावित कारबाही मानेपछि औपचारिक सुनुवाइ गर्नुपरेन । पछिल्लो २४ महिनामा यो उनको पहिलो गल्ती हो ।

दुई खेलको टेस्ट शृङ्खलाअन्तर्गत पहिलो खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ९ विकेटले पराजित गरेको थियो । दोस्रो टेस्ट नोभेम्बर २३ देखि सेन्चुरियनमा सुरु हुनेछ । एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमने सामने हुदैछन् । टियु क्रिकेट मैदानमा यो खेल साँझ ५ बजेदेखि हुने तालिका छ ।

सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएर दोस्रो क्वालिफायर खेल्न लागेको हो । त्यस्तै चितवन राइनोजले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायर खेल्न लागेको छ ।

दोस्रो क्वालिफायरमा विजयी हुने टिमले फाइनलमा लुम्बिनी लायन्सको सामना गर्ने छ भने पराजित हुने टिम बाहिरिने छ ।

समुह चरण भएको सुदूरपश्चिम र चितवनबीचको खेलमा सुदूरपश्चिम ५ विकेटले विजयी भएको थियो । एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज ब्रेक रहेको छ ।

अहिलेसम्मका १८ खेलपछि लुम्बिनी लायन्स सात अङ्कसहित शीर्ष स्थानमा रहेको छ । पाँच खेल खेलेको लुम्बिनीले तीन जित, एक हार र एक खेलमा नतिजाविहीन हुँदै सात अङ्क जोडेको छ ।

तालिकामा काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स समान छ–छ अङ्कसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । काठमाडौँले चार खेलमा तीन जित र एक हार बेहोरेको छ भने सुदूरपश्चिमले पाँच खेलमा तीन जित र दुई हार बेहोरेको छ । समान अङ्क भए पनि काठमाडौँको नेट रनरेट १.३१३ छ भने सुदूरपश्चिमको –०.२७५ छ ।

चौथो स्थानमा रहेको चितवन राइनोजले चार खेलबाट पाँच अङ्क जोडेको छ । चितवनले दुई जित, एक हार र एक नतिजाविहीन खेल खेलेको छ ।

त्यस्तै, पाँचौँ स्थानको जनकपुर बोल्ट्स, छैटौँ स्थानको कर्णाली याक्स र सातौँ स्थानको विराटनगर किङ्सको समान चार–चार अङ्क छ। जनकपुर र विराटनगरले पाँच–पाँच खेल खेल्दा कर्णालीले चार खेल मात्रै खेलेको छ ।

अंकतालिकाको पुछारमा रहेको पोखरा एभेन्जर्सले भने चारवटै खेल गुमाएको छ । लगातारको खराब प्रदर्शनपछि प्लेअफको सम्भावना भने अब कमजोर देखिएको छ ।

लिग चरणमा प्रत्येक टोलीले सात खेल खेल्नेछन् । शीर्ष चार टोली प्लेअफमा पुग्ने भएकाले अहिले चौथो स्थानमा रहेको चितवन राइनोजदेखि सातौँ स्थानको विराटनगर किङ्ससम्मका टोलीबीच शीर्ष चारमा पर्ने प्रतिस्पर्धा रोचक बनेको छ । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा १३ खेल सम्पन्न हुँदा लुम्बिनी लायन्सले अंकतालिकाको शीर्ष स्थानमा पकड जमाएको छ ।

न खेल खेलेको लुम्बिनीले दुई जित र एक खेलको नतिजा नआउँदा पाँच अंक जोडेको छ । विराटनगर किङ्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स समान चार अंकसहित प्रतिस्पर्धामा छन् ।

लुम्बिनी तीन खेलमा अपराजित छ । दुई जित र एक खेल वर्षाका कारण नतिजाविहीन हुँदा टोलीले पाँच अंक बनाएको हो । उसको नेट रनरेट ४.०५१ छ, जुन प्रतियोगितामा सहभागी आठ टोलीमध्ये सबैभन्दा राम्रो हो । यसले लुम्बिनीलाई अंक र रनरेट दुवै आधारमा शीर्ष स्थानमा राखेको छ ।

विराटनगर किङ्सले चार खेलमा दुई जित र दुई हारसहित चार अंक जोडेको छ । उसको नेट रनरेट ०.४०८ छ । कर्णाली याक्सले तीन खेलमा दुई जित र एक हार बेहोर्दै चार अंक बनाएको छ । कर्णालीको नेट रनरेट ०.२९५ रहेको छ ।

जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले पनि चार खेलबाट दुई जित र दुई हारसहित समान चार अंक जोडेका छन् । जनकपुरको नेट रनरेट ०.०९९ छ भने सुदूरपश्चिमको माइनस १.०६४ छ । समान अंक भए पनि नेट रनरेटका कारण यी टोलीको स्थान फरक परेको छ ।

चितवन राइनोजले तीन खेलमा एक जित, एक हार र एक नतिजाविहीन खेलबाट तीन अंक जोडेको छ । उसको नेट रनरेट माइनस ०.४८६ छ । काठमाडौं गोर्खाजले दुई खेलमा एक जित र एक हारसहित दुई अंक बनाएको छ । काठमाडौंको नेट रनरेट माइनस ०.४६६ रहेको छ ।

पोखरा एभेन्जर्सले तीनवटै खेल गुमाएको छ । टोलीले अहिलेसम्म अंक जोड्न सकेको छैन र उसको नेट रनरेट माइनस १.७७० छ । लगातार तीन हारपछि पोखरा अंकतालिकाको पुछारमा रहेको छ ।

एनपीएलको तेस्रो सिजनको सुरुआती चरणमै टोलीहरूबीच कडा प्रतिस्पर्धा देखाएको छ । शीर्ष पाँच स्थानमा रहेका टोलीबीचको अन्तर एक अंक मात्रै छ । लुम्बिनीले अपराजित यात्रा र उत्कृष्ट नेट रनरेटका कारण अग्रता बनाएको छ भने कर्णालीले कम खेल खेलेर पनि चार अंक जोड्दै आफूलाई बलियो अवस्थामा राखेको छ ।

विराटनगर, जनकपुर र सुदूरपश्चिमका लागि आगामी खेलमा जितसँगै नेट रनरेट सुधार्नु पनि महत्त्वपूर्ण हुनेछ । चितवन र काठमाडौंसँग पनि माथिल्लो स्थानमा उक्लिने अवसर छ । पोखराका लागि भने प्रतियोगितामा फर्कन आगामी खेलमा जित निकाल्नु आवश्यक देखिन्छ ।

समग्रमा, लुम्बिनीले उत्कृष्ट सुरुआत गरेको भए पनि चार अंकमा रहेका चार टोली र नजिकै रहेका चितवन तथा काठमाडौंका कारण प्लेअफको दौड अझ रोचक र प्रतिष्पर्धात्मक हुने देखिन्छ ।  एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत बहुप्रतीक्षित एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई २–१ गोलले पराजित गरेको छ । गएराति सम्पन्न खेलमा जित निकाल्दै रियल म्याड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनामाथि महत्त्वपूर्ण सफलता हासिल गरेको हो ।

रियल म्याड्रिड र बार्सिलोनाबीचको प्रतिस्पर्धालाई विश्व फुटबलकै चर्चित भिडन्तमध्ये एक मानिन्छ । दुवै टोलीका समर्थकले निकै चासोका साथ हेर्ने यस खेलमा रियल मड्रिडले बार्सिलोनालाई उसकै मैदानमा पराजित गरेको छ ।

खेलको ४१औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा बार्सिलोनाका राफिन्हाले ६१औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए। तर, खेलको ८७औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल म्याड्रिडले २–१ को जित पक्का गरेको थियो ।

यस जितसँगै रियल म्याड्रिडले जारी सिजनको लिगमा बार्सिलोनालाई पहिलो हार चखाएको छ । बार्सिलोना १० खेलबाट २७ अंकसहित शीर्ष स्थानमा कायम छ भने एट्लेटिको मड्रिड २६ अंकसहित दोस्रो र रियल मड्रिड २४ अंकसहित तेस्रो स्थानमा रहेका छन् । रियलले यस जितसँगै शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी तीनमा झारेको छ    एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौं । दक्षिण अफ्रिकाले दोस्रो टेस्टमा अस्ट्रेलियालाई एक इनिङ्स र ३१ रनले पराजित गरेको छ । योसँगै तीन खेलको टेस्ट शृङ्खला १–१ को बराबरीमा पुगेको छ । अस्ट्रेलिया तीन वर्षपछि पहिलो पटक इनिङ्स अन्तरले पराजित भएको हो ।

वर्षाका कारण खेलका पहिलो दुई दिन जम्मा ४३ ओभर मात्रै सम्भव भएको थियो । त्यसपछि दक्षिण अफ्रिकाले कप्तान टेम्बा बावुमाको १७९ रनको शतकीय पारीको मद्दतमा पहिलो इनिङ्स ९ विकेट गुमाएर ४२५ रनमा घोषित गरेको थियो। मार्को यानसनले ८५ र साइमन हार्मरले ८२ रन बनाए ।

जवाफमा अस्ट्रेलियाको पहिलो इनिङ्स ९९ रनमै समेटियो । स्टिभ स्मिथले सर्वाधिक २८ रन बनाए। दक्षिण अफ्रिकाका मार्को यानसनले पाँच विकेट लिए भने कागिसो रबाडा र वियान मुल्डरले दुई–दुई विकेट हात पारेका थिए ।

फलोअनमा परेको अस्ट्रेलियाले दोस्रो इनिङ्समा २९५ रन बनायो । ट्राभिस हेडले १२१ रनको शतकीय पारी खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। एलेक्स केरी ३७ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाका रबाडाले दोस्रो इनिङ्समा चार, मुल्डरले तीन र हार्मरले दुई विकेट लिए । रबाडा र यानसनले खेलमा कुल ६–६ विकेट लिएका थिए । अस्ट्रेलिया सन् २०२३ मा भारतसँग इनिङ्स अन्तरले पराजित भएयता पहिलो पटक यसरी हारेको हो । दोस्रो टेस्टमा दक्षिण अफ्रिकाको जितसँगै तीन खेलको शृङ्खला १-१ खेलको बराबरी भएको छ भने तेस्रो तथा निर्णायक खेल अक्टोबर २७ देखि केपटाउनमा हुने तालिका छ ।एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । भारतको दिल्ली प्रहरीको अपराध शाखाले ककरोच जनता पार्टी (सीजेपी) का नेता सौरभ दास, आशुतोष रांका र अजिंक्य शिन्देलाई अनुसन्धानका लागि बोलाएको छ ।

तिहाड जेलबाट रिहा भएपछि सौरभ दास र आशुतोष रांकालाई सोधपुछका लागि उपस्थित हुन सूचना जारी गरिएको र अजिंक्य शिन्देलाई पनि उपस्थित हुन समन पठाइएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रहरीको अनुसन्धान सरकारी आदेशको कथित उल्लङ्घन र जन्तरमन्तर पुग्ने क्रममा अर्काको सम्पत्तिमा अनधिकृत प्रवेश गरेको आरोपसँग सम्बन्धित रहेको बताइएको छ ।

यसअघि सौरभ र आशुतोषलाई निषेधित क्षेत्र जन्तरमन्तरमा प्रदर्शन गर्न गएको भन्दै हिरासतमा लिएर तिहाड जेलमा राखिएको थियो । एभरेष्ट न्यूज एजेन्सी

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।