काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको आधिकारिकता पाउने दाबी गरेका छन् ।
शनिबार कांग्रेस देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै डा. महतले सर्वोच्च अदालतको रिभ्युमार्फत आफुहरुले नै आधिकारिकता पाउने बताएका हुन् ।
नेता महतले कांग्रेसको विचार, सिद्धान्त र आदर्शलाई आफूहरूले बोकिरहेको बताउदै कांग्रेसको आत्मा शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेसमा नै रहेको टिप्पणी गरे ।
नेता महतले गगन थापा नेतृत्वको कांग्रेसले प्रजातान्त्रिक समाजवादी विचार छाडेको आरोपसमेत लगाए । थापाले कांग्रेसको संस्कारसमेत त्यागेको र व्यक्तिवादी बाटोमा हिँडिरहेको आरोप लगाउदै उनले नेता कार्यकर्तालाई अझ सक्रिय हुन आग्रह गरे ।
उनले अब सामाजिक सञ्जालमा समेत सक्रिय हुनुपर्ने बताउदै अहिले पार्टीमा र देशमा नै सामाजिक सञ्जालमा भ्रम फैलाइएको आरोप लागाए । एभरेष्ट न्यूज एजेन्सी,
पार्टीको आधिकारिकता हामीले नै पाउछौं- डा. प्रकाशशरण महत
बज्जिकाञ्चल,संवाददाता,राैतहट,१९ गते कार्तिक ।
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली कार्यालयमा हाजिर भएको दुई दिन नबित्दै सम्पर्कविहीन भएपछि नगरपालिका पुनः प्रशासनिक संकटमा परेको छ ।
गत कार्तिक १६ गते सोमबार कार्यालयमा हाजिर भएका उपसचिव ज्ञवालीले लामो समयदेखि कर्मचारीले गरेको तालाबन्दी खुलाउन पहल गर्दै समस्या समाधान गर्ने र नगरपालिका नियमित रूपमा सञ्चालन गर्ने आश्वासन दिएका थिए ।

उनको आश्वासनपछि नगर प्रमुख अजय प्रकाश जयसवालले कर्मचारीहरू सँग समन्वय गरि कार्यालयको तालाबन्दी खुलाएका थिए ।
तर, बुधबार नगर कार्यपालिकाको बैठक बसेपछि बिहीबारदेखि उनी कार्यालयमा उपस्थित नभएको र मोबाइल फोनसमेत स्विच अफ रहेको नगर प्रमुखको भनाइ छ । पटक–पटक सम्पर्क प्रयास गर्दा पनि सम्पर्क हुन नसकेपछि कार्यालय प्रमुखको अनुपस्थितिले नगरपालिकाको प्रशासनिक कामकाज अन्योलमा परेको छ ।
नगरप्रमुख अजयप्रकाश जयसवालले नयाँ उपसचिवको आगमनसँगै नगरपालिका व्यवस्थित हुने र कर्मचारी तथा जनप्रतिनिधिका समस्या समाधान हुने अपेक्षा गरिएको बताएका छन् । नियम, विधि र प्रणालीअनुसार कार्यालय सञ्चालन गर्न आफूहरू तयार रहे पनि कार्यालय प्रमुख नै सम्पर्कविहीन हुनु दुःखद भएको सरोकारवालाहरूको गुनासो छ ।

दीपावली तथा छठजस्ता महत्वपूर्ण पर्व नजिकिँदै गर्दा कर्मचारीहरू तलब, सेवा–सुविधा तथा प्रशासनिक निकासको समस्याले थप चिन्तित बनेका छन् । कार्यालय प्रमुखको अनुपस्थितिले कर्मचारी मात्र नभई नगरपालिकाबाट सेवा लिन आउने सर्वसाधारणसमेत प्रभावित हुने अवस्था सिर्जना भएको छ ।

यस घटनाप्रति कर्मचारी तथा स्थानीय सरोकारवालाहरूले आक्रोश व्यक्त गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग तत्काल छानबिन गरी कार्यालय सञ्चालन र सेवा प्रवाह नियमित बनाउन माग गरेका छन् ।
काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’ कात्तिक २० गते अर्थात् शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ ।
चलचित्रको प्रदर्शन रोकिएको भन्ने खबर सार्वजनिक भएपछि निर्माण पक्षले पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने स्पष्ट पारेको हो ।
यसअघि सञ्चार मन्त्रालयले चलचित्रको विषयमा विवाद भएपछि छलफलका लागि बोलाएको थियो । सो छलफलमा पनि निर्धारित समयमा नै चलचित्र प्रदर्शन गर्ने सहमति भएको थियो ।
निर्माण पक्षले विज्ञप्ति जारी गर्दै चलचित्रले कुनै पनि धर्म, धार्मिक आस्था वा धार्मिक स्थलको अपमान गर्ने उद्देश्य नराखेको जनाएको छ। चलचित्रको अग्रिम टिकट बुकिङसमेत खुलिसकेको छ ।
बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, आर्यन सिग्देल, सुशील सिटौलालगायत कलाकारको अभिनय रहेको छ। सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने १४७ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा ४-४ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा ३ जनाको तथा मधेश, बागमती र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १४७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४६ जना घाइते भएका छन् भने कोशीमा २५ जना, काठमाडौँ उपत्यकामा १० जना, सुदूरपश्चिममा २५ जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा २६ जना, कर्णालीमा २ जना र गण्डकीमा ५ जना घाइते भएका छन् । एभरेष्ट न्यूज एजेन्सी
आजको राशिफल बिस २०८३ कार्तिक १९ गते विहिबार ईस २०२६ नोभेम्बर ५ नेपाल सम्बत ११४६ कौलागा एकादशी -२६, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष एकादशी, चन्द्रमा सिंह राशिमा, उत्तरफाल्गुनी नक्षत्र, एन्द्र योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर १७ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १९ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आफ्नो क्षमता विस्तार गर्ने अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आउन सक्छ। अध्ययन, तालिम वा व्यावसायिक सीप विकासमा रुचि बढ्नेछ। व्यापारमा नयाँ क्षेत्रसँग जोडिने सम्भावना छ। आर्थिक पक्षमा भविष्यका लागि योजना बनाउन सकिनेछ। परिवारका सदस्यसँग महत्वपूर्ण विषयमा विचार आदानप्रदान हुन सक्छ। अरूको सुझाव सुनेर निर्णय गर्दा राम्रो परिणाम प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आर्थिक तथा व्यावहारिक विषयमा सजग रहनुपर्नेछ। कार्यक्षेत्रमा जिम्मेवारी बढे पनि आफ्नो दक्षताले काम सम्पन्न गर्न सकिनेछ। पुरानो लगानी वा आर्थिक योजनाको समीक्षा गर्ने समय छ। व्यापारमा सामानको खरिदबिक्री र भुक्तानी प्रक्रियालाई व्यवस्थित बनाउनुहोला। परिवारमा सम्पत्ति वा भविष्यको सुरक्षासम्बन्धी छलफल हुन सक्छ। नजिकका व्यक्तिसँगको सम्बन्धमा विश्वास कायम राख्न स्पष्ट व्यवहार आवश्यक हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज साझेदारी र सहकार्यबाट फाइदा लिन सकिनेछ। व्यावसायिक छलफलमा आफ्नो विचार प्रभावकारी रूपमा राख्न सक्नुहुनेछ। नयाँ सम्झौता वा जिम्मेवारीको प्रस्ताव आउन सक्छ। अरूको अनुभवबाट सिक्ने अवसरलाई उपयोग गर्नुहोला। आर्थिक कारोबारमा पारदर्शिता अपनाउँदा भविष्यमा समस्या आउन पाउने छैन। दाम्पत्य जीवनमा आपसी समझदारी बढ्नेछ। सामाजिक सम्बन्ध विस्तार गर्न पनि दिन अनुकूल देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज दैनिक काम र स्वास्थ्यसम्बन्धी बानी सुधार्न ध्यान जानेछ। कार्यक्षेत्रमा आफ्नो जिम्मेवारी पूरा गर्न केही अतिरिक्त मेहनत गर्नुपर्ने हुन सक्छ। सहकर्मीसँगको सहकार्यले काम सहज बन्नेछ। व्यापारमा सेवा र व्यवस्थापन पक्ष सुधार गर्दा ग्राहकको विश्वास बढ्नेछ। आर्थिक रूपमा नियमित आम्दानीलाई सही ठाउँमा उपयोग गर्ने अवसर छ। परिवारमा कसैको आवश्यकताका लागि समय र सहयोग दिनुपर्ने हुन सक्छ। अनावश्यक चिन्ता नगरी योजनाबद्ध रूपमा अघि बढ्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज प्रतिभा र सिर्जनात्मक क्षमतालाई प्रस्तुत गर्ने अवसर मिल्न सक्छ। अध्ययन, कला, लेखन तथा मनोरञ्जन क्षेत्रमा संलग्न व्यक्तिका लागि दिन उत्साहजनक रहनेछ। कार्यक्षेत्रमा नयाँ विचारले अरूको ध्यान आकर्षित गर्न सक्छ। व्यवसायमा नयाँ योजना सुरु गर्नुअघि त्यसको सम्भाव्यता बुझ्नुहोला। आर्थिक पक्षमा आम्दानीसँगै खर्चको व्यवस्थापन पनि आवश्यक छ। सन्तानको शिक्षा वा भविष्यका विषयमा छलफल हुन सक्छ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज घरपरिवार र व्यक्तिगत जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने हुन सक्छ। कार्यक्षेत्रमा एकैपटक धेरै काम सम्हाल्नुभन्दा क्रमशः पूरा गर्नु राम्रो हुनेछ। घरजग्गा, सवारीसाधन वा घरायसी व्यवस्थापनसँग सम्बन्धित योजना बन्न सक्छ। व्यापारमा नयाँ निर्णय गर्नुअघि परिवार वा अनुभवी व्यक्तिसँग परामर्श लिन सकिनेछ। आर्थिक पक्षमा बचतलाई महत्व दिनुहोला। परिवारका सदस्यसँगको व्यवहारमा नरमपन कायम राख्दा वातावरण सहज बन्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आफ्नो कुरा स्पष्ट रूपमा राख्न सक्ने क्षमता बढ्नेछ। सञ्चार, लेखन, अध्ययन र व्यावसायिक सम्पर्कका काममा प्रगति हुन सक्छ। छोटो दूरीको यात्रा वा भेटघाटको योजना बन्न सक्छ। व्यापारमा प्रचारप्रसार र नयाँ ग्राहकसँगको सम्पर्कले फाइदा पुर्याउन सक्छ। आर्थिक विषयमा नयाँ अवसर देखिए पनि निर्णय गर्नुअघि सबै पक्ष बुझ्नुहोला। दाजुभाइ तथा साथीभाइसँगको सम्बन्धमा सहयोग र सद्भाव बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आर्थिक स्थायित्व र पारिवारिक सुरक्षाका विषयमा ध्यान केन्द्रित हुनेछ। आम्दानी बढाउने उपाय खोज्न सकिनेछ। कार्यक्षेत्रमा आफ्नो अनुभव उपयोग गरेर कठिन काम पूरा गर्न सक्नुहुनेछ। व्यापारमा मूल्य निर्धारण र आर्थिक हिसाबकिताबमा विशेष ध्यान दिनुहोला। पारिवारिक आवश्यकताका कारण खर्च बढ्न सक्छ। बोलीमा संयमता अपनाउँदा सम्बन्धमा अनावश्यक तनाव आउने छैन। आफ्नो क्षमतामा विश्वास राखेर अघि बढ्नुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बृहस्पतिसँग सम्बन्धित राशि भएकाले आज ज्ञान, आत्मविश्वास र दीर्घकालीन योजनामा रुचि बढ्न सक्छ। नयाँ कामको सुरुवात गर्ने वा महत्वपूर्ण निर्णय लिने अवसर आउन सक्छ। अध्ययन तथा अनुसन्धानमा संलग्न व्यक्तिका लागि दिन उपयोगी रहनेछ। कार्यक्षेत्रमा नेतृत्वदायी भूमिका प्राप्त हुन सक्छ। व्यापारमा आफ्नो अनुभव र पहिचानको उपयोग गर्न सकिनेछ। आर्थिक विषयमा दीर्घकालीन फाइदालाई ध्यान दिनुहोला। व्यक्तिगत सम्बन्धमा सकारात्मकता कायम रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज केही विषयमा अरूभन्दा अलग रहेर सोच्नुपर्ने अवस्था आउन सक्छ। कार्यक्षेत्रमा पर्दापछाडि भइरहेका कामलाई व्यवस्थित गर्ने अवसर मिल्नेछ। अनावश्यक विवाद र प्रतिस्पर्धाबाट टाढा रहनु राम्रो हुनेछ। व्यापारमा नयाँ लगानी गर्नुभन्दा पुरानो कारोबारको अवस्था बुझ्नुहोला। आर्थिक लेनदेनमा सावधानी आवश्यक छ। परिवारमा आफ्नो व्यस्तताका कारण समय दिन नसकिएको अवस्था सुधार्ने प्रयास गर्नुहोला। मानसिक शान्तिका लागि केही समय एकान्तमा बिताउन सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज मित्रता, समूहगत काम र सामाजिक सम्पर्कबाट लाभ मिल्न सक्छ। लामो समयदेखि सोचिरहेको योजनालाई अघि बढाउन सहयोगी व्यक्ति भेटिन सक्छन्। कार्यक्षेत्रमा सामूहिक प्रयासले राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। व्यापारमा नयाँ साझेदार वा ग्राहकसँग सम्बन्ध स्थापित हुने सम्भावना छ। आर्थिक रूपमा अतिरिक्त आम्दानीको सम्भावना खोज्न सकिनेछ। साथीभाइसँगको भेटघाटले नयाँ ऊर्जा दिनेछ। पारिवारिक तथा प्रेम सम्बन्धमा समय दिनुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)
आज काम र व्यक्तिगत प्रतिष्ठासँग सम्बन्धित विषयमा ध्यान केन्द्रित हुनेछ। कार्यक्षेत्रमा आफ्नो क्षमता देखाउने अवसर मिल्न सक्छ। वरिष्ठ व्यक्ति वा संस्थागत जिम्मेवारीसँग जोडिएका विषयमा सकारात्मक पहल गर्न सकिनेछ। व्यवसायमा दीर्घकालीन लक्ष्य बनाएर अघि बढ्नुहोला। आर्थिक पक्षमा आम्दानी बढाउने योजना सफल बनाउन थप मेहनत आवश्यक पर्नेछ। परिवारले तपाईंको निर्णयमा साथ दिन सक्छ। सामाजिक क्षेत्रमा सम्मान र विश्वास कायम राख्ने अवसर मिल्नेछ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज विहिबार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल मधेश, कोशी र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेको र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको जानकारी दिएको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
त्यस्तै, आज राति कोशी,बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्ने र देशका बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
गृहमन्त्री सुधन गुरुङले केसीलाई नियुक्तिपत्रसहित दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नवनियुक्त महानिरीक्षक केसीले आजै प्रहरी प्रधान कार्यालय पुगेर पद बहाली गर्ने भएका छन् ।
आजै बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई महानिरीक्षकमा नियुक्त गरेको थियो । त्यस्तै निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको थियो । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सिंहदरबारमा रमिता चलिरहेको टिप्पणी गरेका छन् ।
सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै वरिष्ठ उपसभापति शर्माले कुनै कारण स्पष्ट नगरी प्रहरी महानिरीक्षक हटाएकोप्रति टिप्पणी गर्दै सिंहदरबारमा रमिता चलिरहेको बताएका हुन् ।
उनले भने- ‘सरकारको प्रवक्ता के भन्नुहुन्छ, पार्टीको निर्देशनमा हटाइयो । एक घण्टा नभइकन पार्टीको प्रवक्ता प्रवक्ता के भन्नुहुन्छ, हाम्रो निर्देशन गएको छैन । लेख्नुस् सिंहदरबारमा रमिता चलिरहेको छ । लेख्नुस् बालुवाटारमा रमिता चलिरहेको छ ।’
उनले अहिले सार्बजनिक भएको भनिएको अडियोको विषय छानबिन गर्न माग गर्दै काँग्रेस आफु र आफ्नो नेतृत्वमाथि उठेका सबै प्रश्नको सामना गर्न तयार रहेको बताए ।
काँग्रेसले सरकारसँग पारदर्शिता र जवाफदेहिताको माग गर्दै आफुहरुले सरकारका गलतकामको प्रश्न गर्न नछोड्ने स्पष्ट गरेका छन् ।
उनले उपसभापति पुष्पा भुसालको समन्वयमा विपक्षी दलहरुसँग छलफल गर्ने जानकारी दिएका छन् । शर्माले सञ्चारमाध्यमहरुलाई प्रश्न गर्दै आफ्नै कार्यालय अगाडी राखेको गाडीको विषयमा प्रश्न गर्न छोडेको उल्लेख गर्दै प्रश्न गर्न नछोड्न आग्रह गरे ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक परिवर्तन बारे टिप्पणी गर्दै अर्हाएको काम गर्ने व्यक्ति ल्याएको बताएका छन् ।
पार्टी कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै ओलीले अर्हाएको काम गर्छ भनेर बनाएको बताए । उनले भने- ‘आफुले अर्हाएको काम गर्छ भनेर बनाएको होला’
त्यस्तै ओलीले काँग्रेस सभापति गगन थापासँग राम्रो भेट भएको भन्दै राजनीतिक कुरा भएको बताए । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
ऊर्जा मन्त्रालयमा भएको भेटमा दुई देशबीच ऊर्जा व्यापार, जलविद्युत् आयोजना निर्माण, विपद् प्रतिकार्य र पूर्वसूचना प्रणालीलगायत विषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री श्रेष्ठले नेपालमा हालै भएका विपद्का क्रममा सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद दिँदै विद्युत् व्यापार विस्तार, नेपालमा सञ्चालित आयोजना समयमै सम्पन्न गर्न र निजी क्षेत्रको लगानी बढाउन आग्रह गरेका थिए ।
भारतीय विदेश सचिव मिश्रीले ऊर्जा क्षेत्रमा भारत सहकार्य गर्न तयार रहेको बताएका थिए ।
भेटमा ऊर्जा सचिव डा. जगदीश्वर कर्माचार्यसहित मन्त्रालयका अधिकारी तथा भारतका तर्फबाट राजदूत सुधाकर दलेला र विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर सहभागी थिए । एभरेष्ट न्यूज एजेन्सी,