२०८३ मंसिर ११
२०८३ मंसिर ११

काठमाडौँ । आज विश्व सर्प दिवस मनाइँदैछ । हरेक वर्ष जुलाई १६ मा मनाइने यस दिवसको उद्देश्य सर्पको संरक्षण, वातावरणीय सन्तुलनमा यसको भूमिकाबारे जनचेतना फैलाउनुका साथै सर्पदंशबाट बच्ने उपायबारे जानकारी गराउनु हो ।

विश्व सर्प दिवस सन् १९७० को दशकदेखि मनाउन थालिएको हो । विश्वमा तीन हजार पाँच सयभन्दा बढी प्रजातिका सर्प पाइन्छन् । सर्पप्रतिको अनावश्यक डर र भ्रम हटाउँदै तिनको संरक्षणमा सबैको ध्यानाकर्षण गराउनु यस दिवसको मुख्य उद्देश्य हो । सर्पले मुसा तथा अन्य हानिकारक जीव खाएर कृषि उत्पादन र वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरू बताउँछन् ।

नेपालमा पनि विभिन्न प्रजातिका सर्प पाइन्छन् । तीमध्ये गोमन र करेतजस्ता केही सर्प अत्यन्त विषालु भए पनि अधिकांश सर्प विषरहित छन् । हरेक वर्ष नेपालमा हजारौँ मानिस सर्पदंशबाट प्रभावित हुने भएकाले जोखिम न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

नेपालमा नाग पञ्चमीका अवसरमा सर्पको पूजा गर्ने सांस्कृतिक परम्परा पनि रहेको छ । विज्ञहरूले सर्पलाई अनावश्यक रूपमा मार्नेभन्दा सुरक्षित दूरी कायम गर्दै संरक्षण गर्न र सर्पले टोकेमा तत्काल स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन आग्रह गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको जानकारी दिएको छ ।

हाल देशभरमा साधारणतया बादल लागेको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थान र मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ ।

त्यस्तै आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी   र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रेदशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशको हिमाली भू-भाग तथा कोशी, बागमती, गण्डकी,  लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भाग  र लुम्बिनी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेश, कोशी र बागमती प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाल, पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ असार ३२ गते विहिबार ईस २०२६ जुलाई १६ नेपाल सम्बत ११४६ दिल्लाथ्व द्वितीया, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, असार शुक्ल पक्ष द्वितीया, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, सिद्धि योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १८ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज आज विश्व सर्प दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आज नयाँ सम्भावनाको ढोका खुल्ने संकेत देखिएको छ। आत्मविश्वासका साथ अघि बढेका काममा अपेक्षाभन्दा राम्रो सफलता प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा तपाईंको सक्रियता, मेहनत र निर्णय क्षमताको प्रशंसा हुनेछ। वरिष्ठ व्यक्तिसँगको सम्बन्ध सुदृढ बन्नेछ भने नयाँ जिम्मेवारी पनि प्राप्त हुन सक्छ। व्यापार–व्यवसायमा विस्तारको योजना सफल बन्ने सम्भावना छ। आर्थिक पक्षमा आम्दानी बढ्ने संकेत देखिए पनि खर्चलाई व्यवस्थित राख्नु आवश्यक हुनेछ। परिवारका सदस्यहरूसँग आत्मीयता बढ्नेछ र घरमा खुसीको वातावरण रहनेछ। सामाजिक कार्यक्रममा सहभागिता जनाउने अवसर मिल्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ, तर अत्यधिक व्यस्तताले थकान बढ्न सक्ने भएकाले आराममा पनि ध्यान दिनुहोस्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

आज धैर्य र विवेकले तपाईंलाई सही मार्गमा अघि बढाउनेछ। कार्यक्षेत्रमा पुराना प्रयासको फल प्राप्त हुने सम्भावना बलियो छ। सहकर्मी तथा वरिष्ठ व्यक्तिबाट राम्रो सहयोग प्राप्त हुनेछ। व्यापार–व्यवसायमा नियमित लाभ मिल्नेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ र बचत गर्ने योजनाले सकारात्मक परिणाम दिनेछ। परिवारमा मेलमिलाप र आत्मीयता बढ्नेछ। आफन्तसँगको भेटघाटले मनलाई प्रसन्न बनाउनेछ। स्वास्थ्य सामान्यभन्दा राम्रो रहनेछ र मानसिक रूपमा पनि सन्तुष्टि महसुस हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज तपाईंको सिर्जनशील सोच र प्रभावकारी अभिव्यक्तिले नयाँ अवसर दिलाउन सक्छ। कार्यक्षेत्रमा नयाँ योजना सफल हुने सम्भावना छ। अध्ययन, लेखन, सञ्चार तथा सिर्जनात्मक काममा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिनेछ। सहकर्मी तथा साथीभाइको सहयोगले जटिल काम पनि सहज रूपमा सम्पन्न हुनेछ। आर्थिक रूपमा सुधार आउने संकेत देखिन्छ। परिवारसँग रमाइलो समय बित्नेछ। नयाँ चिनजान भविष्यका लागि लाभदायक बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास पनि बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज घरपरिवारसँग सम्बन्धित विषयमा खुसीको वातावरण रहनेछ। परिवारका सदस्यहरूको साथ, सहयोग र विश्वासले मनोबल बढ्नेछ। कार्यक्षेत्रमा तपाईंको इमानदारी र मेहनतको उचित मूल्यांकन हुनेछ। रोकिएका काम सम्पन्न हुने सम्भावना बलियो देखिन्छ। आर्थिक रूपमा सामान्य सुधार आउनेछ। नयाँ योजना बनाउने वा महत्त्वपूर्ण निर्णय गर्ने समय अनुकूल रहनेछ। प्रियजनसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि शान्ति कायम रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज नेतृत्व क्षमता र आत्मविश्वासले तपाईंलाई विशेष उपलब्धि दिलाउन सक्छ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ र वरिष्ठ व्यक्तिको विश्वास जित्न सफल हुनुहुनेछ। व्यापार–व्यवसायमा विस्तारका सम्भावना देखिनेछन्। आर्थिक रूपमा लाभका अवसर भए पनि सोचविचार गरेर मात्र निर्णय लिनु राम्रो हुनेछ। सामाजिक क्षेत्रमा सम्मान र प्रतिष्ठा बढ्नेछ। परिवारको साथ र प्रोत्साहनले मनोबल थप बलियो बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर ऊर्जा कायम रहनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज अध्ययन, अनुसन्धान, तालिम तथा नयाँ ज्ञान हासिल गर्ने कार्यमा राम्रो सफलता मिल्नेछ। कार्यक्षेत्रमा अनुशासन, धैर्य र निरन्तर प्रयासले राम्रो परिणाम दिलाउनेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ, तर खर्च गर्दा सावधानी अपनाउनु उपयुक्त हुनेछ। परिवारमा सुखद वातावरण कायम रहनेछ। छोटो दूरीको यात्रा वा आवश्यक भेटघाट लाभदायक बन्न सक्छ। नयाँ सीपले भविष्यमा प्रगतिको मार्ग खोल्नेछ। स्वास्थ्य राम्रो रहनेछ र नियमित दिनचर्याले शरीरमा स्फूर्ति कायम राख्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन आउने सम्भावना छ। रोकिएको रकम प्राप्त हुने वा नयाँ आम्दानीको स्रोत खुल्ने संकेत देखिन्छ। व्यापार–व्यवसायमा लाभ बढ्नेछ। कार्यक्षेत्रमा सहकार्य र समन्वय राम्रो रहनेछ। परिवारसँग रमाइलो समय बित्नेछ र घरमा खुसीको वातावरण कायम रहनेछ। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध स्थापित हुनेछ, जसले भविष्यमा लाभदायक अवसर सिर्जना गर्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास उल्लेखनीय रूपमा बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज मेहनत, धैर्य र अनुभवले तपाईंलाई उल्लेखनीय सफलता दिलाउनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा राम्रो प्रदर्शन गर्ने अवसर मिल्नेछ। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ र नयाँ जिम्मेवारी पनि प्राप्त हुन सक्छ। आर्थिक रूपमा लाभका संकेत देखिए पनि ठूलो निर्णय गर्दा पर्याप्त सोचविचार गर्नु आवश्यक हुनेछ। परिवारमा खुसी, विश्वास र आत्मीयताको वातावरण कायम रहनेछ। सम्बन्ध थप मजबुत बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि स्फूर्ति कायम रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आज सकारात्मक सोच र उत्साहले तपाईंलाई नयाँ उपलब्धितर्फ डोर्‍याउनेछ। व्यापार, अध्ययन, यात्रा वा वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा शुभ संकेत देखिन्छ। कार्यक्षेत्रमा तपाईंको मेहनतको उचित मूल्यांकन हुनेछ। आर्थिक अवस्थामा सुधार आउने सम्भावना बलियो छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप आत्मीय बन्नेछ। सामाजिक क्षेत्रमा मान–सम्मान बढ्नेछ। दीर्घकालीन योजना बनाउन र भविष्यका लक्ष्य निर्धारण गर्न दिन अत्यन्त अनुकूल रहनेछ। स्वास्थ्य राम्रो रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारी बढे पनि योजनाबद्ध रूपमा अघि बढ्दा सबै काम सफलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग र विश्वास प्राप्त हुनेछ। आर्थिक रूपमा खर्च नियन्त्रण गर्नु आवश्यक हुनेछ र बचत गर्ने योजनाले राम्रो परिणाम दिनेछ। परिवारका सदस्यहरूको सुझावले महत्त्वपूर्ण निर्णय लिन सहयोग पुर्‍याउनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले पर्याप्त विश्राम गर्नु आवश्यक हुनेछ। दिनको अन्त्यमा प्राप्त उपलब्धिले आत्मसन्तुष्टि बढाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज सिर्जनशील सोच, नवीन योजना र सकारात्मक दृष्टिकोणले तपाईंलाई नयाँ सफलतातर्फ अघि बढाउनेछ। कार्यक्षेत्रमा रोकिएका काम सम्पन्न हुनेछन् र नयाँ अवसर प्राप्त हुनेछ। साथीभाइ तथा सहकर्मीको सहयोगले महत्त्वपूर्ण काम सहज रूपमा पूरा हुनेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना बलियो छ। परिवारमा खुसी, मेलमिलाप र समझदारी कायम रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ र नयाँ परिचय भविष्यका लागि उपयोगी बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि उत्साह कायम रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –

आज धैर्य, संयम र सकारात्मक सोचले दिनलाई उपलब्धिमूलक बनाउनेछ। केही काममा ढिलाइ भए पनि अन्ततः परिणाम सन्तोषजनक रहनेछ। कार्यक्षेत्रमा आफ्नो अनुभव र सीपको प्रभावकारी उपयोग गर्न सक्नुहुनेछ। आर्थिक रूपमा सोचविचार गरेर खर्च गर्नु आवश्यक हुनेछ, साथै बचत गर्ने अवसर पनि प्राप्त हुनेछ। परिवारको साथ र सहयोगले मानसिक शान्ति तथा आत्मबल बढाउनेछ। पुराना अधुरा काम पूरा हुने सम्भावना बलियो छ। साँझतिर कुनै सुखद समाचार प्राप्त हुन सक्छ, जसले भविष्यप्रति नयाँ आशा र उत्साह जगाउनेछ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास पनि निरन्तर बढ्दै जानेछ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । आज बुधबार नेप्से १४ अंकले बढेर २५९०.२९ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३६२ कम्पनिका ८४ लाख ७३ हजार १६ कित्ता शेयर ४ अर्ब १७ करोड ३ लाख ९८ हजार ४९ मा कारोबार भएको थियो । आज लगानी बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी एनएमबी डिभेन्चर ८९/९० को शेयर ९.२० प्रतिशतले बढेको छ भने नारायणी विकास बैंकको शेयर ८.४० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी उपकार लघुवित्तको शेयर ७.३२ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी हिमालयन बैंक डिभेन्चर ८३ को ४४ करोड १० लाख बराबरको कारोबार भएको छ भने आरबिबिएल डिभेन्चर २०८८ को ३३ करोड २० लाख बराबरको कारोबार भएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले द्रुत गतिमा काम अघि बढाइरहेको भन्दै होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा होटल संघ नेपालका पदाधिकारीसँग भएको छलफलमा उनले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न आग्रह गरेका हुन् । प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानुनको पालना गर्दै आफ्नो दायित्व पूरा गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारीमार्फत गर्न सकिने सहकार्यबारे अध्ययन गर्न आग्रह गरेका थिए ।

होटल संघ नेपालका पदाधिकारीहरूले नेपालका होटलहरू वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको तर हाल करिब १२ लाख पर्यटक मात्र भित्रिरहेको जानकारी गराएका थिए। पर्यटक आगमन बढेमा रोजगारी सिर्जना हुने र नेपाली युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न होटल उद्योग प्रभावकारी माध्यम बन्न सक्ने उनीहरूको भनाइ थियो।

व्यवसायीहरूले आरोग्य पर्यटन, गन्तव्य विवाह र सीमापार पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत दिन, साना तथा मझौला होटलका लागि वातावरणीय अध्ययनसम्बन्धी व्यवस्था सहज बनाउन तथा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्। साथै नेपाल वायुसेवा निगमको सेवा सुधार, होटल क्षेत्रसँग सम्बन्धित कानुन संशोधन तथा आरोग्य पर्यटन र गन्तव्य विवाह प्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधार गर्न पनि माग गरेका छन् ।

छलफलमा छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलसहित हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्यद्वय जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा हान सचिवालयका प्रमुख टेकबहादुर महतको सहभागिता रहेको थियो।एभरेष्ट न्यूज एजेन्सी

इलाम । इलाममा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चुलाचुली गाउँपालिका-३ बस्ने ३२ वर्षीय राज कुमार मगर र झापा कमल गाउँपालिका-५ घर भएका ५३ वर्षीय डिल्ली प्रसाद दुलाललाई प्रहरीले पक्राउ गरेको छ ।

चुलाचुली गाउँपालिका-५ शिखर कटेरी बस्ने ६० वर्षीय पाराङ तामाङ, राज कुमार र डिल्ली प्रसादले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरीले उनीहरू मध्ये राज कुमार र डिल्ली प्रसादलाई पक्राउ गरेको हो ।

प्रहरीले हाल फरार पाराङको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्‍यक अनुसन्धान गरिरहेको जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । स्पेनले फिफा विश्वकप फुटबलको सेमिफाइनलमा बलियो दाबेदार मानिएको फ्रान्सलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।

डलास रङ्गशालामा भएको खेलमा स्पेनले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सका आक्रमणलाई प्रभावहीन बनाएको थियो । अवसर कम सिर्जना भएको खेलमा स्पेनले बलमाथिको नियन्त्रण कायम राख्दै जित दर्ता गरेको हो ।

स्पेनका लागि पहिलो गोल मिकेल ओयारजाबालले पहिलो हाफको मध्यतिर पेनाल्टीमार्फत गरेका थिए । फ्रान्सका बायाँ रक्षक लुकास डिन्येले लामिन यामालमाथि फउल गरेपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो। ओयारजाबालले त्यसलाई सहज रूपमा गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा पनि स्पेनले आफ्नो लय कायम राख्यो । खेलको नियन्त्रण आफ्नो पक्षमा राखेको स्पेनका लागि पेड्रो पोरोले डानी ओल्मोसँग उत्कृष्ट पास आदानप्रदानपछि नजिकको कुनाबाट गोल गर्दै अग्रता दोब्बर बनाए ।

त्यसपछि फ्रान्सले खेलमा फर्कने प्रयास गरे पनि स्पेनको अनुशासित र संगठित रक्षापङ्क्ति तोड्न सकेन । प्रतियोगिताभर एक गोल मात्र बेहोरेको स्पेनले अन्तिमसम्म संयमित प्रदर्शन गर्दै सहज जित सुरक्षित गर्यो ।

यस हारसँगै लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने फ्रान्सको सपना समाप्त भएको छ । अब फ्रान्सले तेस्रो स्थानका लागि हुने खेल खेल्नेछ । साथै, १४ वर्षदेखि टोली सम्हालिरहेका मुख्य प्रशिक्षक डिडियर डेसचाम्पको कार्यकाल पनि यही प्रतियोगितापछि समाप्त हुनेछ ।

अब स्पेन उपाधि भिडन्तका लागि न्यु जर्सी पुग्नेछ। फाइनलमा स्पेनले इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । स्पेन दोस्रो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा रहेको छ । स्पेनले यसअघि २०१० मा विश्वकप उपाधि जितेको थियो ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । भारतले पहिलो एकदिवसीय क्रिकेट खेलमा इङल्याण्डलाई ६ विकेटले पराजित गर्दै तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

पहिले ब्याटिङ गरेको इङल्याण्ड ४७.५ ओभरमा २५८ रनमा समेटियो । जवाफमा भारतले ४५.२ ओभरमा ४ विकेट गुमाउँदै २६२ रन बनाएर लक्ष्य पूरा गरेको थियो ।

भारतको जितमा कप्तान शुभमन गिल, अक्षर पटेल र वासिङ्टन सुन्दरले अर्धशतकीय इनिङ्स खेलेका थिए । शुभमन गिलले ८० रन बनाएका बेला खुट्टामा समस्या देखिएपछि मैदान छाड्दै उपचारका लागि बाहिरिएका थिए । भारतको सुरुआत भने राम्रो हुन सकेन । रोहित शर्मा र विराट कोहली सस्तैमा आउट भएपछि शुभमन गिल र श्रेयस अय्यरले तेस्रो विकेटका लागि १०१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

गिल मैदानबाट बाहिरिएपछि श्रेयस अय्यर रनआउट भए भने केएल राहुल पनि धेरै समय टिक्न सकेनन् । त्यसपछि अक्षर पटेल र वासिङ्टन सुन्दरले जिम्मेवारी सम्हाल्दै पाँचौँ विकेटका लागि अविजित १०२ रनको साझेदारी गरेका थिए ।

अक्षरले ३९ बलमा अर्धशतक पूरा गर्दै अविजित ५७ रन बनाए भने वासिङ्टनले विजयी छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका थिए । उनी ५२ रनमा अविजित रहे । इङल्याण्डका लागि जोफ्रा आर्चर, जोस टङ र साम करनले समान एक-एक विकेट लिए ।

त्यस्तै इङल्याण्डका लागि जो रुटले ७६, लियाम डावसनले ६८ र बेन डकेटले ४३ रन बनाएका थिए भने भारतीय बलर अक्सर पटेलले ४ विकेट लिएका थिए भने गुरनूर ब्रार र प्रसिद्ध कृष्णले २-२ विकेट लिएका थिए ।

यो जितपछि भारतले सिरिजमा १-० को बढ्त बनाएको छ भने अब सिरिजको दोस्रो खेल विहिबार हुने छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक आज दिउसो १: १५ बजेदेखि बस्दैछ ।

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले महान्यायाधिवक्ताको कार्यलयको आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसुची रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । आज प्रतिनिधिसभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ । आज अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।

आज बिहान साढे ८ बजे हुने अर्थ समितिको बैठकमा नेपाल धितोपत्र बोर्डसँग आव २०८२/८३ मा भए गरेका मुख्य-मुख्य कामकारबाही, धितोपत्र बजारको नियमन एवं विकासका लागि भएका प्रयासहरू र उपलब्धिहरू लगानीकर्ताहरूको हित संरक्षणका लागि भएका प्रयास एवं उपलब्धिहरू बारेमा जानकारी लिने कार्यसूची रहेको छ ।

त्यस्तै आज बिहान साढे ८ बजे बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । साथै छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री र सचिव तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला कार्यकारी निर्देशकसँग छलफलको कार्यसूची रहेको छ ।

त्यसैगरी आज बिहान ८ बजेका लागि बोलाइएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र सचिवसँग पकाउने ग्यासको आपूर्तिमा देखिएका समस्या र उपभोक्तामा परेको प्रभावका सम्बन्धमा छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।