बलिउड अभिनेता सलमान खानको फिल्म ‘मातृभूमि’ ले केन्द्रीय चलचित्र प्रमाणन बोर्ड (सीबीएफसी) बाट प्रदर्शन अनुमति पाएको छ । सन् २०२० मा भारत र चीनका सैनिकबीच गलवान उपत्यकामा भएको झडपको पृष्ठभूमिमा फिल्म निर्माण गरिएको छ । यो युद्धप्रधान फिल्मलाई लिएर दर्शकमाझ सुरुदेखि नै उत्सुकता छ।
नाम परिवर्तनदेखि कथावस्तु र प्रदर्शन मितिसम्म जस्ता विषयले यो फिल्म निरन्तर चर्चामा छ । केन्द्रीय चलचित्र प्रमाणन बोर्ड (सीबीएफसी) मुम्बई क्षेत्रीय कार्यालयले नोभेम्बर १८ मा ‘मातृभूमि’ लाई यूए १६ प्लस सर्टिफिकेट दिएको हो ।
कति लामो छ ‘मातृभूमि’ ?
बोर्डको वेबसाइटमा उपलब्ध विवरणअनुसार फिल्मको कुल लम्बाइ २ घण्टा ३४ मिनेट १२ सेकेन्ड छ । हिन्दी भाषामा निर्माण गरिएको यस फिल्मको प्रमाणपत्रका लागि सलमान खान भेन्चर्स प्राइभेट लिमिटेडले आवेदन दिएको थियो ।

केछ ‘मातृभूमि’ को कथामा ?
सेन्सर बोर्डले सार्वजनिक गरेको फिल्मको आधिकारिक सारांशमा यसको कथावस्तुबारे पनि जानकारी दिइएको छ । बोर्डले फिल्मलाई ‘दुई मोर्चामा साहसको महागाथा’ भनेको छ ।
फिल्ममा कर्नेल सन्दीप देशको रक्षाका लागि आफ्नो ज्यान जोखिममा राखेर लडिरहेको देखाइनेछ । अर्कोतर्फ उनकी पत्नीले परिवारको जिम्मेवारी सम्हाल्दै अनेक कठिनाइको सामना गर्नेछिन् । सन्दीप देशको सुरक्षाका लागि युद्धभूमिमा लडिरहँदा उनकी पत्नीले उनलाई आफ्नो जिम्मेवारी पूरा गर्ने हौसला दिनेछिन् ।
फिल्मले युद्ध र शान्तिबीचको सम्बन्धलाई पनि उठाएको छ ।
फिल्ममा चिनियाँ सेनाको कमाण्डरको भूमिका नेपाली अभिनेता अनुपविक्रम शाहीले निभाएका छन् ।
काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गर्न प्रहरीले अनुमति लिएको छ । सीआईबीले अदालतबाट प्रक्राउ अनुमति लिएको हो ।मलेसिया जाने श्रमिकमाथि भएको ठगी र त्यसबाट संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीमाथि पक्राउ पुर्जी जारी भएको बताइएको छ । सोही प्रकरणमा प्रहरीले दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ ।सीआईबीले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर, अर्का तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव बिनोद के.सी., मन्त्रालयको तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख उमेश ढुङ्गाना, सह–सचिव राजिव पोखरेल र रोजगार व्यवस्थापन महाशाखाकी तत्कालीन कानुन अधिकृत (उप–सचिव) निर्मला गुरुङलाई विहिबार पक्राउ गरेको हो ।
उनीहरुलाई नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारी विपरीत गैरकानुनी रूपमा श्रमिकसँग ठगी गरी संकलन गरिएको ८३ लाख ७० हजार ४३९.९२ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८०.८० पाउण्ड स्टर्लिङगरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ६६ पैसा मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता देखिएको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । चीन, रुस र अमेरिकाका राष्ट्रप्रमुखले ऐतिहासिक त्रिपक्षीय भेटवार्तापछि शान्तिका लागि संयुक्त घोषणा जारी गरेका छन् ।
चीनको सेन्जेनमा बिहीबार भएको बैठकपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चारबुँदे घोषणा सार्वजनिक गरेका हुन् ।
घोषणामा आणविक युद्ध जित्न नसकिने र यस्तो युद्ध कहिल्यै हुन नहुने उल्लेख गर्दै आणविक जोखिम न्यूनीकरण र आणविक हतियारको प्रसार रोक्न संवाद गर्ने प्रतिबद्धता जनाइएको छ । तीनै देशले विश्वव्यापी चुनौतीको प्रभावकारी सामना गर्न संयुक्त राष्ट्रसंघमा सुधार गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

त्यस्तै, विश्वभर ऊर्जा आपूर्ति स्थिर राख्न प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्ति बढाउने सहमति भएको छ । तीन देशका राष्ट्रप्रमुखले अन्तर्राष्ट्रिय फौजदारी अदालतलगायत निकायले आफ्नो अधिकारक्षेत्रको दुरुपयोग गर्न नहुने र राष्ट्रप्रमुख तथा सरकारी अधिकारीको कानुनी उन्मुक्तिको सम्मान हुनुपर्ने धारणा पनि राखेका छन् ।
करिब ८० मिनेट चलेको यो बैठक तीनै देशका राष्ट्रप्रमुखबीच भएको पहिलो औपचारिक त्रिपक्षीय शिखर बैठक हो । बैठकमा अन्तर्राष्ट्रिय परिस्थिति, रणनीतिक स्थिरता र अन्तर्राष्ट्रिय सुरक्षाका विषयमा छलफल भएको जनाइएको छ ।
यद्यपि, युक्रेन र इरानमा जारी युद्धबारे संयुक्त घोषणामा कुनै उल्लेख गरिएको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पले ती विषयमा छलफल गरेको बताए पनि घोषणामा आणविक जोखिम, ऊर्जा आपूर्ति र संयुक्त राष्ट्रसंघ सुधारलाई मात्र स्थान दिइएको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । विपद्का समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले सरकारले ‘सेल ब्रोडकास्टिङ प्रणाली’ परीक्षण गर्ने भएको छ ।सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल टेलिकमको समन्वयमा शुक्रबार मङ्सिर ४ गते काठमाडौंको बलम्बु क्षेत्रमा प्रणालीको सीमित प्राविधिक परीक्षण गरिने भएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार परीक्षणका क्रममा तोकिएको क्षेत्रमा रहेका परीक्षण मोबाइल उपकरणमा नेटवर्कमार्फत पूर्वसूचना सन्देश पठाइनेछ । परीक्षणका लागि तोकिएका उपकरणमा मात्र सन्देश प्राप्त हुनेछ ।यो प्रणालीमार्फत निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना पठाउन सकिन्छ । सामान्य सन्देश सेवाभन्दा फरक यस प्रविधिले इन्टरनेट वा सिमकार्ड सेवा नभए पनि मोबाइल नेटवर्कको पहुँचमा रहेका उपकरणमा सूचना पुर्याउन सक्छ। नेटवर्कमा अत्यधिक चाप भएका बेला पनि छोटो समयमा धेरै मोबाइलमा सन्देश पठाउन सकिने यसको विशेषता हो ।प्रारम्भिक परीक्षण सफल भएमा प्रणालीलाई चरणबद्ध रूपमा विस्तार गरी बाढी, पहिरोलगायत प्राकृतिक विपद्को उच्च जोखिम रहेका क्षेत्रमा लागू गर्ने योजना छ । यसबाट जोखिममा रहेका नागरिकलाई समयमै सचेत गराउन र सम्भावित क्षतिबाट जोगिन पूर्वतयारी गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमने सामने हुदैछन् । टियु क्रिकेट मैदानमा यो खेल साँझ ५ बजेदेखि हुने तालिका छ ।
सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएर दोस्रो क्वालिफायर खेल्न लागेको हो । त्यस्तै चितवन राइनोजले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायर खेल्न लागेको छ ।
दोस्रो क्वालिफायरमा विजयी हुने टिमले फाइनलमा लुम्बिनी लायन्सको सामना गर्ने छ भने पराजित हुने टिम बाहिरिने छ ।
समुह चरण भएको सुदूरपश्चिम र चितवनबीचको खेलमा सुदूरपश्चिम ५ विकेटले विजयी भएको थियो । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । अन्तर्राष्ट्रिय पुरुष दिवस आज नोभेम्बर १९ मा मनाइँदैछ । यस वर्ष दिवसको नारा ‘सबैको भविष्य’ रहेको छ । यसले स्वस्थ परिवार, कार्यस्थल र समाज निर्माणका लागि महिला तथा पुरुषबीच समानता, सहकार्य र साझा जिम्मेवारीमा जोड दिएको छ ।
अन्तर्राष्ट्रिय पुरुष दिवस सन् १९९९ मा त्रिनिडाड तथा टोबागोमा इतिहासका प्राध्यापक डा. जेरोम टिलक्सिङले सुरु गरेका थिए । उनले पुरुष तथा बालकका सकारात्मक भूमिकालाई सम्मान गर्ने, उनीहरूको स्वास्थ्य र कल्याणका विषयलाई प्राथमिकता दिने तथा समाजमा सकारात्मक पुरुष आदर्श स्थापित गर्ने उद्देश्यले यो दिवस सुरु गरेका थिए ।
यस दिवसले पुरुष तथा बालकको शारीरिक र मानसिक स्वास्थ्य, सामाजिक चुनौती, लैङ्गिक समानता, परिवारप्रतिको जिम्मेवारी तथा समाजमा उनीहरूको सकारात्मक योगदानलाई उजागर गर्ने लक्ष्य राख्छ । साथै, पुरुषहरूलाई स्वास्थ्य समस्याबारे खुलेर कुरा गर्न र आवश्यक उपचार लिन प्रोत्साहित गरिन्छ ।
अन्तर्राष्ट्रिय पुरुष दिवस महिला दिवसको प्रतिस्पर्धी नभई पुरुषका अनुभव, समस्या, योगदान र सम्भावनालाई सम्मान गर्ने अवसरका रूपमा मनाइन्छ । यस वर्षको अभियानले अन्तर्राष्ट्रिय पुरुष दिवसलाई संयुक्त राष्ट्रसंघबाट औपचारिक मान्यता दिलाउनेदेखि महिला तथा पुरुषबीच सम्मान, सहकार्य र समानतामा आधारित समाज निर्माण गर्नु रहेको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज विहिबार हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
हाल कोशी प्रदेशमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ र तराई भू-भाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा तुवाँलो/हुस्सु लागेको छ ।
आज दिउँसो कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।
त्यस्तै आज राति कोशी र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । एभरेष्ट न्यूज एजेन्सी,
आजको राशिफल बिस २०८३ मङ्सिर ३ गते विहिबार ईस २०२६ नोभेम्बर १९ नेपाल सम्बत ११४७ कछलाथ्व दशमी-१०, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्ल पक्ष दशमी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्रपदा नक्षत्र, व्याघात योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर २८ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ११ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आफ्नो क्षमता देखाउने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुने वा रोकिएको विषयमा छलफल अघि बढ्ने सम्भावना छ। व्यापारमा ग्राहकसँगको सम्बन्ध सुधारिँदा कारोबार विस्तार गर्न सहज हुनेछ। आर्थिक निर्णय गर्दा तत्कालको फाइदाभन्दा भविष्यको स्थायित्वलाई प्राथमिकता दिनुहोला। परिवारमा आफ्नो कुरा राख्दा अरूको भावना पनि बुझ्ने प्रयास गर्नु राम्रो हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आर्थिक तथा पारिवारिक विषयमा आज महत्वपूर्ण निर्णय लिनुपर्ने अवस्था आउन सक्छ। आम्दानीको नयाँ बाटो खोजिरहेका व्यक्तिका लागि उपयोगी सुझाव प्राप्त हुन सक्छ। काममा निरन्तरता र धैर्यले राम्रो नतिजा दिनेछ। अनावश्यक खर्च र अरूको प्रभावमा परेर गरिने लगानीबाट बच्नुहोला। घरपरिवारका सदस्यसँग समय बिताउँदा मनमा रहेको तनाव कम हुन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज विचार र अभिव्यक्तिमा स्पष्टता रहनेछ। अध्ययन, लेखन, सञ्चार तथा सिर्जनात्मक क्षेत्रमा संलग्न व्यक्तिका लागि दिन उत्साहजनक हुन सक्छ। नयाँ योजना प्रस्तुत गर्ने वा महत्वपूर्ण व्यक्तिसँग भेटघाट गर्ने अवसर मिल्न सक्छ। व्यापारमा नयाँ सम्भावना देखिए पनि सम्झौता गर्नुअघि सबै पक्ष बुझ्नु आवश्यक छ। सम्बन्धमा अनावश्यक शंका नगरी खुलेर संवाद गर्नुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज भावनात्मक विषयले केही समय लिन सक्छ। विगतमा भएका घटनालाई सम्झेर निर्णय गर्नुभन्दा वर्तमान परिस्थितिको मूल्याङ्कन गर्नु राम्रो हुनेछ। कार्यक्षेत्रमा पर्दापछाडि रहेका काम पूरा गर्ने अवसर मिल्न सक्छ। आर्थिक रूपमा घरायसी आवश्यकतामा खर्च बढ्न सक्ने भएकाले बजेटमा ध्यान दिनुहोला। परिवारका ज्येष्ठ सदस्यको सुझाव उपयोगी हुन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक सम्बन्ध र सहकार्यबाट लाभ लिन सकिने दिन छ। काममा आफ्नो नेतृत्व क्षमता देखाउने अवसर आउन सक्छ। नयाँ व्यक्तिसँगको चिनजानले भविष्यमा व्यावसायिक फाइदा पुर्याउन सक्छ। आम्दानी र खर्चबीच सन्तुलन कायम राख्न सके आर्थिक पक्ष सहज रहनेछ। साथीभाइसँगको भेटघाटले मन प्रसन्न बनाउन सक्छ। आफ्नो प्रतिष्ठा जोगाउन बोली र व्यवहारमा संयम राख्नुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यावसायिक क्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। लामो समयदेखि तयारी गरिरहेको कामलाई निष्कर्षमा पुर्याउने प्रयास सफल हुन सक्छ। वरिष्ठ व्यक्तिसँगको छलफलबाट नयाँ बाटो खुल्ने सम्भावना छ। आर्थिक कारोबारमा हिसाबकिताब स्पष्ट राख्नुहोला। पारिवारिक जीवनमा सानातिना असमझदारी देखिए पनि संवादबाट समाधान निकाल्न सकिनेछ। कामको चापबीच आफ्नो आरामलाई पनि महत्व दिनुहोला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
ज्ञान, सीप र अनुभव बढाउने काममा आज विशेष रुचि जाग्न सक्छ। उच्च शिक्षा, तालिम वा नयाँ विषयको अध्ययनमा लागेकालाई सकारात्मक परिणाम प्राप्त हुन सक्छ। व्यवसायमा नयाँ बजार वा साझेदारीबारे सोच्न सकिनेछ। आर्थिक क्षेत्रमा योजनाबद्ध ढङ्गले अघि बढ्दा भविष्यका लागि राम्रो आधार बन्नेछ। धार्मिक तथा सामाजिक गतिविधिमा सहभागी हुने अवसर पनि मिल्न सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आर्थिक जिम्मेवारी र व्यक्तिगत सम्बन्धका विषयमा सचेत रहनुपर्नेछ। पुरानो हिसाब मिलाउने वा रोकिएको भुक्तानीका विषयमा छलफल हुन सक्छ। कार्यक्षेत्रमा अरूको जिम्मेवारीसमेत आफ्नो काँधमा आउन सक्ने भएकाले प्राथमिकता छुट्याउनुहोला। जोखिमपूर्ण आर्थिक निर्णयबाट टाढा रहनु उचित हुनेछ। नजिकका व्यक्तिसँग मनका कुरा साझा गर्दा सम्बन्धमा विश्वास बढ्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज साझेदारी र सहकार्यका काममा अनुकूलता देखिन्छ। नयाँ सम्झौता, व्यावसायिक छलफल वा सामूहिक योजनाले सकारात्मक दिशा लिन सक्छ। आफ्नो विचार स्पष्ट रूपमा राख्दा अरूको सहयोग प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा दीर्घकालीन योजनाले महत्व पाउनेछ। दाम्पत्य तथा प्रेम सम्बन्धमा आपसी सम्मान र समझदारी बढाउन सके दिन सुखद बन्न सक्छ। अरूको जिम्मेवारी लिँदा आफ्नो क्षमताको पनि ख्याल गर्नुहोला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दैनिक कामकाजलाई व्यवस्थित बनाउने अवसर छ। कार्यक्षेत्रमा समयमै जिम्मेवारी पूरा गर्न सके विश्वास बढ्नेछ। सेवा, व्यवस्थापन तथा प्राविधिक काममा संलग्न व्यक्तिले नयाँ उपाय अपनाउन सक्नेछन्। सानातिना खर्च एकैपटक बढ्न सक्ने भएकाले आर्थिक अनुशासन आवश्यक छ। परिवारमा व्यावहारिक विषयमा छलफल हुन सक्छ। नियमित कामसँगै नयाँ सीप सिक्न समय निकाल्नुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सिर्जनात्मक सोच र नयाँ प्रयोगका लागि दिन उपयोगी हुन सक्छ। अध्ययन, कला, मनोरञ्जन तथा प्रतिस्पर्धात्मक क्षेत्रमा लागेकाले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाउन सक्छन्। व्यवसायमा नयाँ अवधारणाले गति लिन सक्छ, तर लगानी गर्दा पर्याप्त तयारी आवश्यक हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्ने सम्भावना छ। सन्तान वा परिवारका सदस्यको रुचि र आवश्यकतामा ध्यान दिनुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)
आज घरपरिवार र व्यक्तिगत योजनालाई प्राथमिकता दिनुपर्नेछ। घर, जग्गा वा पारिवारिक सम्पत्तिसँग सम्बन्धित विषयमा छलफल हुन सक्छ। कार्यक्षेत्रमा आफ्नो अनुभवको उपयोग गर्दै जटिल काम सहज बनाउन सकिनेछ। आर्थिक रूपमा नयाँ जिम्मेवारी थपिन सक्ने भएकाले खर्चको पूर्वयोजना बनाउनुहोला। आफन्तसँगको सम्बन्धमा पुराना असमझदारी हटाउने अवसर मिल्न सक्छ। भावनामा मात्र नभई व्यावहारिक पक्षलाई समेत ध्यान दिएर निर्णय लिनुहोला । एभरेष्ट न्यूज एजेन्सी,
(यो राशिफल परम्परागत ज्योतिषीय मान्यतामा आधारित सामान्य फलादेश हो। व्यक्तिगत जन्मकुण्डली र ग्रहस्थितिअनुसार फलादेश फरक हुन सक्छ ।)
काठमाडौँ । प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाइएपछि दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई हटाउनुको कारण पेस गर्न सकारका नाममा आदेश जारी गरेको छ । साथै अन्तरिम आदेशको विषयमा छलफलका लागि विपक्षी प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई लाई झिकाउने आदेश गरेको छ ।
कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, पूर्णमान शाक्य, सचितकृष्ण खरेल, डा. दिनमणि पोखरेल, अधिवक्ताहरू टीकाबहादुर कुँवर, माधव बस्नेत लगायतले अन्तरिम आदेश माग गर्दै बहस गरेका थिए ।
कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै महानिरीक्षक पदमा पुनर्बहालीका लागि र नवनियुक्त महानिरीक्षकलाई कामकाज नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।

बालेन्द्र शाह सरकारले डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो । रिटमा कार्कीले आफूलाई हटाउने निर्णय कार्यान्वयन रोक्न र पुनः पदमा बहाली गर्नसमेत माग गरेका थिए ।
आजको राशिफल बिस २०८३ मङ्सिर २ गते बुधबार ईस २०२६ नोभेम्बर १८ नेपाल सम्बत ११४७ कछलाथ्व नवमी-९, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्ल पक्ष नवमी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, ध्रव योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर २७ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १२ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कार्यक्षेत्रमा नयाँ जिम्मेवारी वा महत्वपूर्ण प्रस्ताव प्राप्त हुन सक्छ। आफ्नो योजना कार्यान्वयन गर्न सहकर्मीको सहयोग मिल्नेछ। व्यापारमा नयाँ ग्राहकसँग सम्पर्क विस्तार हुने सम्भावना छ। आर्थिक पक्षमा आम्दानीको नयाँ स्रोत खोज्न सकिनेछ, तर खर्च पनि बढ्न सक्छ। कागजी प्रक्रिया र सम्झौतामा विशेष ध्यान दिनुहोला। परिवारमा आफ्नो निर्णयलाई लिएर छलफल हुन सक्छ। अरूको कुरा सुनेर अघि बढ्दा सम्बन्धमा सहजता कायम हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आर्थिक व्यवस्थापन र व्यावहारिक निर्णयमा ध्यान दिनुपर्नेछ। कार्यक्षेत्रमा आफ्नो अनुभवको उपयोग गरेर महत्वपूर्ण काम पूरा गर्न सकिनेछ। व्यापारमा पुरानो कारोबारको समीक्षा गर्दा नयाँ सम्भावना पहिचान हुनेछ। आम्दानीको केही हिस्सा बचत गर्न सके भविष्यमा सहयोग पुग्नेछ। पारिवारिक सम्पत्ति वा घरायसी विषयमा छलफल हुन सक्छ। नजिकका व्यक्तिसँगको सम्बन्धमा विश्वास कायम राख्नुहोला। अनावश्यक खर्च र विवादबाट टाढा रहनु राम्रो हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बुध ग्रहसँग सम्बन्धित राशि भएकाले आज बौद्धिक क्षमता, संवाद र निर्णयशक्तिको राम्रो उपयोग गर्न सकिनेछ। अध्ययन, लेखन, सञ्चार तथा व्यापारिक छलफलमा सफलता मिल्ने सम्भावना छ। नयाँ योजना प्रस्तुत गर्दा सकारात्मक प्रतिक्रिया प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा महत्वपूर्ण सूचना वा प्रस्ताव आउन सक्छ। आर्थिक कारोबारमा स्पष्टता अपनाउनुहोला। साथीभाइसँगको भेटघाटले नयाँ अवसरको बाटो खोल्न सक्छ। प्रेम सम्बन्धमा खुलेर कुराकानी गर्दा पुरानो असमझदारी हट्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज व्यक्तिगत र पारिवारिक विषयमा केही बढी समय दिनुपर्ने हुन सक्छ। कार्यक्षेत्रमा पर्दापछाडि रहेका काम पूरा गर्ने अवसर मिल्नेछ। कुनै महत्वपूर्ण निर्णय लिनुअघि पर्याप्त जानकारी जुटाउनुहोला। व्यापारमा नयाँ लगानी गर्नुभन्दा चलिरहेको कारोबारलाई व्यवस्थित बनाउनु उपयुक्त हुनेछ। आर्थिक पक्षमा घरायसी खर्च बढ्न सक्छ। परिवारका सदस्यसँगको संवादले मनमा रहेका कुरा स्पष्ट पार्न सहयोग गर्नेछ। भावनामा आएर निर्णय नगर्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज सामाजिक सम्पर्क र व्यावसायिक सम्बन्धबाट लाभ लिन सकिनेछ। कार्यक्षेत्रमा सामूहिक प्रयासले महत्वपूर्ण काम पूरा गर्न सहयोग गर्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ। व्यापारमा प्रचारप्रसार र ग्राहकसँगको सम्बन्ध विस्तार गर्न सकिनेछ। आर्थिक रूपमा अतिरिक्त आम्दानीको सम्भावना खोज्न सकिनेछ। साथीभाइसँगको भेटघाटले नयाँ योजना बनाउन प्रेरित गर्नेछ। परिवारमा आफ्नो व्यस्तताका बाबजुद समय दिनुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज व्यावसायिक जिम्मेवारी र व्यक्तिगत लक्ष्यमा ध्यान केन्द्रित हुनेछ। कार्यक्षेत्रमा आफ्नो दक्षता देखाउने अवसर मिल्न सक्छ। कागजात, हिसाबकिताब र महत्वपूर्ण विवरणमा सावधानी अपनाउनुहोला। व्यापारमा नयाँ योजना अघि बढाउन सकिनेछ, तर त्यसको लागत र सम्भावित लाभको मूल्याङ्कन गर्नु आवश्यक छ। आर्थिक पक्षमा नियमित आम्दानीलाई व्यवस्थित गर्ने समय छ। परिवारमा तपाईंको सल्लाह महत्वपूर्ण बन्न सक्छ। कामको चापबीच आरामलाई पनि महत्व दिनुहोला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज अध्ययन, ज्ञान र नयाँ अनुभवप्रति रुचि बढ्नेछ। शैक्षिक तथा व्यावसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा आफ्नो विचार स्पष्ट रूपमा प्रस्तुत गर्दा समर्थन मिल्नेछ। व्यापार विस्तारका लागि नयाँ क्षेत्रसँग सम्बन्ध जोड्ने प्रयास सफल हुन सक्छ। आर्थिक पक्षमा दीर्घकालीन योजनालाई प्राथमिकता दिनुहोला। धार्मिक तथा सामाजिक गतिविधिमा सहभागिता बढ्न सक्छ। परिवारका सदस्यसँग भविष्यका विषयमा छलफल गर्दा उपयोगी सुझाव प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आर्थिक कारोबार र साझा जिम्मेवारीका विषयमा विशेष सतर्कता आवश्यक छ। कार्यक्षेत्रमा जटिल विषयको समाधान खोज्ने अवसर मिल्न सक्छ। पुरानो भुक्तानी वा लेनदेनको हिसाब मिलाउन पहल गर्नुहोला। व्यापारमा साझेदारी वा लगानीसम्बन्धी निर्णय गर्दा सबै पक्ष बुझ्नु आवश्यक छ। आर्थिक लाभको सम्भावना रहे पनि जोखिमपूर्ण कारोबारबाट टाढा रहनु राम्रो हुनेछ। परिवारमा विश्वासको वातावरण बनाउन खुला संवाद गर्नुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज व्यक्तिगत सम्बन्ध र साझेदारीका विषय महत्वपूर्ण बन्न सक्छन्। कार्यक्षेत्रमा सहकर्मी वा साझेदारसँगको सहकार्यले राम्रो परिणाम दिन सक्छ। नयाँ सम्झौता वा व्यावसायिक प्रस्ताव प्राप्त हुने सम्भावना छ। निर्णय गर्नुअघि आफ्नो जिम्मेवारी र लाभको पक्ष स्पष्ट पार्नुहोला। आर्थिक कारोबारमा पारदर्शिता कायम राख्नु आवश्यक छ। दाम्पत्य जीवनमा आपसी समझदारी बढ्नेछ। सामाजिक सम्बन्ध विस्तारका लागि पनि दिन उपयोगी रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज दैनिक काम र जिम्मेवारीलाई व्यवस्थित बनाउने अवसर मिल्नेछ। कार्यक्षेत्रमा समयमै काम सम्पन्न गर्न प्राथमिकता निर्धारण गर्नुहोला। सहकर्मीसँगको समन्वयले समस्या समाधान गर्न सहयोग पुर्याउनेछ। व्यापारमा व्यवस्थापन र सेवाको गुणस्तर सुधार गर्न सकिनेछ। आर्थिक पक्षमा साना खर्चलाई बेवास्ता नगर्नुहोला। परिवारका सदस्यको आवश्यकतामा सहयोग गर्नुपर्ने हुन सक्छ। आफ्नो स्वास्थ्य र दिनचर्यामा नियमितता कायम राख्नु राम्रो हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज सिर्जनात्मक सोच र नयाँ योजनाले प्राथमिकता पाउनेछन्। अध्ययन, कला, लेखन तथा प्रतिस्पर्धात्मक क्षेत्रमा राम्रो प्रगति हुन सक्छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी वा प्रस्ताव प्राप्त हुने सम्भावना छ। व्यापारमा नयाँ वस्तु वा सेवाको योजना अघि बढाउन सकिनेछ। आर्थिक पक्षमा व्यक्तिगत रुचिका क्षेत्रमा खर्च बढ्न सक्छ। सन्तान वा परिवारका सदस्यसँग महत्वपूर्ण विषयमा छलफल हुन सक्छ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)
आज घरपरिवार र व्यक्तिगत योजनामा ध्यान दिनुपर्नेछ। घरको व्यवस्थापन, मर्मतसम्भार वा सम्पत्तिसम्बन्धी विषयमा छलफल हुन सक्छ। कार्यक्षेत्रमा आफ्नो जिम्मेवारी पूरा गर्न थप मेहनत गर्नुपर्नेछ। व्यापारमा पारिवारिक सहयोगबाट नयाँ काम अघि बढाउन सकिनेछ। आर्थिक पक्षमा घरायसी खर्चको योजना बनाउनुहोला। परिवारका ज्येष्ठ सदस्यको सुझाव उपयोगी बन्न सक्छ। व्यक्तिगत सम्बन्धमा भावनाभन्दा व्यवहारिक पक्षलाई पनि महत्व दिनु राम्रो हुनेछ । एभरेष्ट न्यूज एजेन्सी,
(यो राशिफल परम्परागत ज्योतिषीय मान्यतामा आधारित सामान्य फलादेश हो। व्यक्तिगत जन्मकुण्डली र ग्रहस्थितिअनुसार फलादेश फरक हुन सक्छ ।)