काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
हाल देशका हिमाली भू-भागमा आंशिक बादल तथा पहाडी र तराईका भू-भागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ ।
आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
त्यस्तै, आज राति कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । एभरेष्ट न्यूज एजेन्सी
आजको राशिफल बिस २०८३ असोज १४ गते बुधबार ईस २०२६ सेप्टेम्बर ३० नेपाल सम्बत ११४६ ञलागा चतुर्थी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल कृष्ण पक्ष चतुर्थी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, वज्र योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५३ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज काममा गति बढ्नेछ र आफूले चाहेको परिणामका लागि सक्रिय भएर लाग्न सकिनेछ। बुधको प्रभावले सहकर्मीसँगको संवाद सहज बनाउनेछ। नयाँ जिम्मेवारी आए पनि त्यसलाई व्यवस्थित रूपमा सम्हाल्न सकिनेछ। व्यापारमा ग्राहकसँगको सम्पर्कबाट नयाँ अवसर खुल्न सक्छ। आर्थिक रूपमा आम्दानी राम्रो भए पनि तत्काल ठूलो खर्च नगर्नुहोस्। परिवारमा महत्वपूर्ण निर्णयका विषयमा तपाईंको भूमिका रहनेछ। प्रेममा छोटो कुराकानीले पनि नजिकपन बढाउन सक्छ। शरीरमा ऊर्जा कायम राख्न पर्याप्त पानी पिउनुहोस् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज स्थिर ढंगले अघि बढ्दा लाभ मिल्नेछ। कार्यक्षेत्रमा पुरानो अनुभवले नयाँ समस्या समाधान गर्न सहयोग गर्नेछ। व्यापारमा ग्राहकको आवश्यकता बुझेर निर्णय गर्दा राम्रो प्रतिक्रिया प्राप्त हुनेछ। आर्थिक रूपमा बचतको योजना बनाउन वा पुरानो दायित्व व्यवस्थापन गर्न उपयुक्त दिन हो। परिवारमा घरायसी विषयमा छलफल हुनेछ। प्रेममा मनमा रहेको असन्तुष्टि खुलेर राख्दा समाधानको बाटो भेटिन सक्छ। खानपानमा सन्तुलन कायम राख्नुहोस् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बुध तपाईंको राशिको स्वामी भएकाले आज मानसिक सक्रियता उच्च रहनेछ। लेखन, अध्ययन, सञ्चार, व्यापारिक छलफल वा नयाँ योजना बनाउन दिन निकै उपयोगी हुनेछ। काममा छोटो समयमा धेरै विषय सम्हाल्नुपर्ने हुन सक्छ, त्यसैले प्राथमिकता छुट्याउनुहोस्। व्यापारमा नयाँ सम्पर्क भविष्यका लागि महत्वपूर्ण बन्न सक्छ। आर्थिक कारोबारमा लाभको सम्भावना भए पनि कागजी विवरण बेवास्ता नगर्नुहोस्। साथीभाइबाट उपयोगी सूचना प्राप्त हुन सक्छ। प्रेममा रमाइलो संवादले सम्बन्धमा ताजगी ल्याउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चन्द्रमाको प्रभावले आज मनमा परिवार र व्यक्तिगत सुरक्षासँग सम्बन्धित विचार बढी आउनेछन्। काममा भावनात्मक दबाब भए पनि जिम्मेवारी पूरा गर्न सकिनेछ। घर वा सम्पत्तिसम्बन्धी कुनै योजना अघि बढाउने अवसर मिल्न सक्छ। आर्थिक रूपमा घरायसी आवश्यकतामा खर्च बढ्नेछ। परिवारका सदस्यसँग सहकार्य गर्दा समस्या सहज बन्नेछ। प्रेममा संवेदनशील विषय उठ्न सक्छ, त्यसैले प्रतिक्रिया दिनुअघि अर्को पक्षको कुरा सुन्नुहोस्। पर्याप्त आरामले मानसिक सन्तुलन कायम राख्न मद्दत गर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सूर्यको प्रभावले नेतृत्व गर्ने क्षमता बलियो रहनेछ। कार्यक्षेत्रमा आफ्नो विचार स्पष्ट रूपमा राख्दा वरिष्ठको ध्यान आकर्षित गर्न सकिनेछ। नयाँ जिम्मेवारी वा अवसरका लागि आफूलाई तयार राख्नुहोस्। व्यापारमा प्रचार, सम्पर्क वा नयाँ ग्राहक जोड्ने काम अघि बढाउन सकिनेछ। आर्थिक रूपमा लाभको सम्भावना रहे पनि विलासिताका वस्तुमा खर्च बढ्न सक्छ। परिवारमा सम्मान र सहयोग मिल्नेछ। प्रेममा आफ्नो व्यस्तताबीच प्रिय व्यक्तिका लागि समय निकाल्नु राम्रो हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बुधको प्रभावले आज सूक्ष्म विषयमा ध्यान दिने क्षमता बढाउनेछ। हिसाबकिताब, कागजी काम, अध्ययन वा योजनाको समीक्षा गर्न राम्रो दिन हो। कार्यक्षेत्रमा तपाईंले देखेको सानो कमजोरी सुधार्दा ठूलो फाइदा पुग्न सक्छ। व्यापारमा खर्च र आम्दानीको सन्तुलन मिलाउन सकिनेछ। आर्थिक रूपमा रोकिएको काम अघि बढ्ने सम्भावना छ। परिवारमा तपाईंको व्यवहारिक सल्लाहको आवश्यकता पर्न सक्छ। प्रेममा धेरै अपेक्षा नराखी सहज रूपमा समय बिताउनुहोस्। आँखामा थकान भए विश्राम लिनुहोस् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुक्र र बुधको प्रभावले आज सामाजिक सम्पर्क र संवादलाई बलियो बनाउनेछ। सहकार्यमा आधारित कामबाट राम्रो परिणाम प्राप्त गर्न सकिनेछ। व्यापारमा साझेदारी वा नयाँ ग्राहकसँग कुराकानी अघि बढ्न सक्छ। आर्थिक रूपमा सानो लाभ वा रोकिएको रकम प्राप्त हुने सम्भावना छ। परिवारमा कुनै सदस्यसँग महत्वपूर्ण समझदारी बन्न सक्छ। प्रेममा भेटघाट वा लामो संवादको अवसर मिल्नेछ। मनलाई सन्तुलित राख्न अनावश्यक विवादबाट टाढा रहनु राम्रो हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मंगलको प्रभावले निर्णय लिन साहस दिनेछ, तर आजको ग्रहस्थिति हेर्दा धैर्य पनि उत्तिकै आवश्यक छ। काममा प्रतिस्पर्धा बढे पनि आफ्नो रणनीति स्पष्ट राख्दा अघि बढ्न सकिनेछ। व्यापारमा नयाँ प्रस्ताव आए त्यसका सबै पक्ष बुझेर मात्र अघि बढ्नुहोस्। आर्थिक कारोबारमा जोखिम कम गर्नु राम्रो हुनेछ। परिवारमा कडा शब्द प्रयोग गर्दा सामान्य विषय पनि ठूलो बन्न सक्छ। प्रेममा शंका उत्पन्न गर्नेभन्दा विश्वास बढाउने व्यवहार गर्नुहोस्। सवारी चलाउँदा सावधानी अपनाउनुहोस् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बृहस्पतिको प्रभावले आज ज्ञान र अनुभवबाट लाभ उठाउने अवसर दिनेछ। अध्ययन, प्रशिक्षण वा भविष्यको योजनामा ध्यान केन्द्रित गर्न सकिनेछ। काममा अनुभवी व्यक्तिको सल्लाहले महत्वपूर्ण निर्णय सहज बनाउनेछ। व्यापारमा बाहिरी सम्पर्क वा नयाँ बजारसँग सम्बन्ध जोडिन सक्छ। आर्थिक रूपमा दीर्घकालीन बचत योजनातर्फ ध्यान दिनु राम्रो हुनेछ। परिवारमा खुसीको वातावरण बन्नेछ। प्रेम सम्बन्धमा पुरानो असमझदारी हटाउन उपयुक्त समय मिल्न सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शनिको प्रभावले आज काममा अनुशासन र निरन्तरताको आवश्यकता देखाउनेछ। केही काम तत्काल पूरा नहुन सक्छन्, तर धैर्य राख्दा परिणाम प्राप्त हुनेछ। कार्यालयमा जिम्मेवारी थपिन सक्छ। व्यापारमा स्थिर कारोबारलाई प्राथमिकता दिँदा लाभ हुनेछ। आर्थिक रूपमा ऋण वा ठूलो लगानीको निर्णय केही समय रोक्नु उचित हुन सक्छ। परिवारका सदस्यसँग भविष्यको योजना बनाउन सकिनेछ। प्रेममा व्यस्तताका कारण दूरी नबढोस् भन्नेमा ध्यान दिनुहोस्। शरीरमा भारीपन भए आराम लिनुहोस् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज नयाँ विचारलाई व्यवहारमा प्रयोग गर्ने अवसर मिल्नेछ। काममा तपाईंको फरक दृष्टिकोणले सकारात्मक प्रतिक्रिया पाउन सक्छ। बुधको प्रभावले प्रविधि, सञ्चार वा सिर्जनात्मक काममा लाभ दिनेछ। व्यापारमा नयाँ माध्यमबाट ग्राहकसँग जोडिने सम्भावना छ। आर्थिक रूपमा अतिरिक्त आम्दानीको बाटो देखिए पनि खर्चभन्दा बचतलाई प्राथमिकता दिनुहोस्। परिवारमा साथीभाइ वा आफन्तसँग भेटघाट हुन सक्छ। प्रेममा अचानक भएको संवादले मनमा उत्साह ल्याउनेछ। मानसिक थकान कम गर्न पर्याप्त विश्राम आवश्यक छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)
चन्द्रमा र बृहस्पतिको प्रभावले आज कल्पनाशक्ति र भावनात्मक समझ बलियो बनाउनेछ। सिर्जनात्मक काममा नयाँ विचार आउन सक्छ। कार्यक्षेत्रमा आफूले चाहेको परिणामका लागि निरन्तर प्रयास गर्नुपर्नेछ। व्यापारमा पुरानो सम्पर्कबाट उपयोगी सूचना वा प्रस्ताव आउन सक्छ। आर्थिक रूपमा परिवारसँग सम्बन्धित खर्च बढ्न सक्ने भएकाले बजेटमा ध्यान दिनुहोस्। परिवारबाट भावनात्मक साथ प्राप्त हुनेछ। प्रेममा मनका कुरा लुकाएर राख्नुभन्दा सही समयमा व्यक्त गर्नु राम्रो हुनेछ। नियमित आराम र सकारात्मक सोचले दिन सहज बनाउनेछ । एभरेष्ट न्यूज एजेन्सी
रौतहट । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्व रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादवले पार्टी परित्याग गरेका छन्।
मंगलबार यादवले साधारण सदस्यसहित पार्टीमा आफूले सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।
यादवले पार्टी परित्याग गरेपनि अब कसरी अघि बढ्ने भन्नेबारे भने केही खुलाएका छैनन् । पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले पछिल्लो समय पार्टीमा कार्यकर्तालाई ‘दास र नोकर’को जस्तो व्यवहार गर्ने प्रवृत्ति बढ्दै गएको आरोप लगाएका छन्।
पार्टीको नीति, नियम, विधान र सिद्धान्तविपरीत गतिविधि हुँदै गएको भन्दै आफू बाध्य भएर पार्टीबाट अलग हुने निर्णयमा पुगेको यादवले बताएका छन्।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका उपप्रमुख भोला प्रसाद अधिकारीको नेतृत्वमा अमलेखगञ्ज पुगेको टोलीले सडक र वन क्षेत्र अतिक्रमण गरे बनाइएका घर, टहरा हटाउन अवरोध गरेको हो ।
वन अधिकृत ललन राउत कुर्मीको नेतृत्वमा सोमबार एस्काभेटरसहित फिल्डमा पुगेको वनरक्षक र कर्मचारीको टोली जनप्रतिनिधिको अवरोधपछि खाली फर्केको थियो ।अमलेखगञ्ज ३ नम्बर पुल क्षेत्रमा ४ महिनाअघि (जेठ १ गते) डिभिजन वन कार्यालय, पर्सा राष्ट्रिय निकुञ्ज र सडक डिभिजन कार्यालय हेटौँडाले सडक र वनक्षेत्र अतिक्रमण गरी बनेका ७२ वटा घर, टहरा तथा होटल हटाएको थियो ।
तर, पछिल्लो समय स्थानीय जनप्रतिनिधिहरूकै बलमा सो क्षेत्रमा फेरि ६ वटा होटल तथा घर टहरा बनेका छन् । अतिक्रमण हटाउँदैछ भन्ने सूचना पाएर बिहानै अमलेखगञ्ज पुगेका जनप्रतिनिधिहरूले संघीय सरकारको निर्देशन नमान्ने अडान लिएपछि वन कार्यालय पछि हट्न बाध्य भएको थियो ।
उपप्रमुख भोलाप्रसाद अधिकारीले स्थानीय तहको अनुमती बिना संघीय सरकारले केही गर्न नसक्ने दाबी गरे । ‘संघीय सरकारको नेतृत्वमा रहेको जुनसुकै निकाय भए पनि स्थानीय निकायसँग सरोकार नराखी गरिने कुनै पनि काम वैध हुँदैन,’ उपप्रमुख अधिकारीले भने, ‘पहिला वन कार्यालयले आफ्नो अधिकार सुनिश्चित गरेर आउनुस् ।’
करिब ३ घन्टा लामो छलफलपछि चाडपर्वसम्म अतिक्रमण हटाउन कदम नचाल्ने सहमति भएको छ । जनप्रतिनिधि र वन कर्मचारीबिच चाडपर्वपछि जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय छलफल गरेर निर्णय लिने सहमति भएको छ ।
वन अधिकृत ललन राउत कुर्मीले जनप्रतिनिधिको आग्रहपछि तत्काललाई स्थगित गरिए पनि स्थानीय तह आफैँले अतिक्रमित संरचना नहटाएको खण्डमा पछि वन कार्यालयले भत्काउने बताए ।
‘यो नकारात्मक सूचीमा परेको अतिक्रमित क्षेत्र हो । यहाँ घरटहरा बनाएर बसोबास वा व्यापार गर्न पाइँदैन । आज नभए भोलि हट्छ,’ उनले भने, ‘स्थानीय आफैँले समयमै खाली गर्दा उपयुक्त हुन्छ ।’
बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जनप्रतिनिधिहरू आफैँ पुगेर अनुरोध गरेका कारण मुठभेडको स्थिति सिर्जना नहोस् भनेर केही दिनको लागि स्थगित गरिएको बताए ।
‘जनप्रतिनिधि आफैँ उभिएपछि मुठभेड नहोस् भन्नका लागि हामीले स्थानीयलाई खाली गर्न समय दिएर फर्किएका छौँ । यसको मतलब घरटहरा नहटाउने भन्ने होइन,’ प्रजिअ अधिकारीले भने, ‘केही दिनलाई समय दिएका छौँ । त्यस अवधिमा पनि खाली नभए डोजर लगेर हटाइनेछ । यसको अरु विकल्प छैन ।’
डिभिजन वन कार्यालय बाराका प्रमुख सुजितकुमार झाले अमलेखगञ्ज क्षेत्रमा यसअघि हटाइएका ३६ घरधुरी तथा ७२ वटा संरचनामध्ये २ वटा परिवारमात्रै वास्तविक सुकुमबासी भएको बताए । उनले दुधौरा पुलमुनिको बस्तीको हकमा करिब ५० घरधुरीमध्ये ६ देखि ८ घरधुरी सुकुमबासी रहेको र तिनीहरूले राज्यले व्यवस्थापनमा सहयोग गर्ने बताए ।
प्रमुख झाले जनप्रतिनिधिहरूले संगठित रूपमै गएर वनको काम हस्तक्षेत्र गर्नु गलत भएको टिप्पणी गरे । घरटहरा भत्काउन पुगेको वन कार्यालयको टोलीलाई रोक्न उपमहानगरका वडाध्यक्षहरू हिराबहादुर गुरुङ, धनबहादुर श्रेष्ठ, भोजबहादुर खत्री, दीपेन्द्र चौधरी, श्यामबाबु खाँ, हेमनारायण चौधरी, हरिदेव खरेल, सुभाष श्रेष्ठ, शेखरकाजी रुम्बा लगायत उपस्थित थिए ।
घरटहरा भत्काउन भने वन अधिकृत कुर्मी, वन अधिकृत मधुकान्त सिंहसहित डिभिजन वन कार्यालयका वन रक्षक र कर्मचारी पुगेका थिए भने इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टको नेतृत्वमा ७० जनाभन्दा बढी प्रहरी तैनाथ थिए ।
जनप्रतिनिधि र स्थानीयले समय माग गरेपछि सशस्त्र प्रहरीको टोलीलाई भने प्रमुख जिल्ला अधिकारीले पथलैयाबाटै फर्कन आदेश दिएका थिए । रातोपाटी
बज्जिकाञ्चल संवाददाता असोज १३ गते
रौतहट । रौतहटको गौर नगरपालिका–९ सिरसियामा मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय नारायण बैठाको मृत्यु भएको छ ।
मंगलबार साँझ करिब ७ः४५ बजे गौरबाट हजमिनियातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर २२ एच ६१५९ नम्बरको मोटरसाइकलले सडकमा उभिरहेका बैठालाई ठक्कर दिएको थियो ।दुर्घटनापछि चालक फरार भएका छन् । प्रहरीले चालकको पहिचान पर्साको वीरगन्ज घर भई हाल राजदेवी नगरपालिका–२ हजमिनियामा बस्दै आएका करिब २२ वर्षीय अमित भगतका रूपमा गरेको छ । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ । रातोपाटी
बज्जिकाञ्चल संवाददाता असोज १३ गते
जनकपुरधाम । प्रसिद्ध ऐतिहासिक, पुरातात्विक एवं धार्मिक स्थल जनकपुरधामको राम चोकमा रहेको गोपाल धर्मशाला एक शताब्दी अघि निर्माण भएको थियो । देश–विदेशबाट आएका तीर्थयात्रीले यो धर्मशाला सहज रूपमा प्रयोग गर्दै आएका छन् ।
जानकी मन्दिर दर्शन गर्न आउने धार्मिक पर्यटकहरूलाई बासको व्यवस्था गर्न भन्दै १ सय वर्ष अघि यो धर्मशाला निर्माण गरिएको हो । अहिले पनि यो धर्मशालाले धार्मिक पर्यटकहरूलाई सेवा दिँदै आएको छ ।जनकपुरको जानकी मन्दिर १३० वर्ष अघि निर्माण भएको थियो । मन्दिर निर्माण पश्चात यहाँ आउने पर्यटक तथा भक्तालुहरूलाई रातको समयमा बस्न स्थानको अभाव देखेपछि भारतको कलकत्ता निवासी रामबहादुर, बलदेव दास र रामेश्वरजी नथानीले यो धर्मशाला विसं. १९८३ मा निर्माण गरेका थिए ।एक सय वर्ष पुरानो संरचना भएकाले यसको भौतिक पूर्वाधार केही जीर्ण देखिए पनि अहिलेसम्म सञ्चालन भइरहेको छ । एक शताब्दी यता यो धर्मशालाको भौतिक संरचनाले ९० सालको महाभूकम्प, त्यसपछिको अन्य सानातिना भूकम्पसँगै ०७२ सालमा गएको भूकम्प पनि यसले थेग्यो ।
२० वर्षदेखि यो धर्मशालाका प्रबन्धक भएर कार्य गर्दै आइरहेका राजकुमार झा भन्छन्, ‘ती भूकम्पहरूमा सामान्य कतै चिरा लागे पनि ठुलो क्षति भएको छैन । जानकी मन्दिरकै शैली र निर्माणमा प्रयोग भएको सामग्रीबाट पनि निर्माण भएकाले होला, त्यस्तो विनाशकारी भूकम्पमा खासै केही भएन ।’
प्रबन्धक झाका बुवा काशीनाथले पनि प्रबन्धक भएर यो धर्मशालाको व्यवस्थापनमा ४० वर्ष कार्य गरेका छन् । प्रबन्धक राजकुमारले भने, ‘बुवा कार्यरत रहँदा यहाँको एउटा कोठा ३० देखि ३५ रुपैँयामा पाइन्थ्यो । त्यतिबेला जनकपुरमा अहिलेको जस्तो सुविधा सम्पन्न होटल, लजहरू नहुँदा यहाँ आउने अधिकांश पर्यटकहरूको बासस्थान नै यही धर्मशाला बन्ने गर्दथ्यो ।’
अहिले नगरभित्रमात्र नभएर ग्रामीण क्षेत्रमा समेत होटल तथा लज सञ्चालनमा आएसँगै यहाँ खासै पर्यटक नआउने उनले बताए ।
करिब ३ बिघा क्षेत्रफलमा फैलिएको यो धर्मशालाको तल्लो तलामा ८ वटा ठुलो कोठा, एउटा हल गरी १० र माथिल्लो तलामा ठुलो र सानो गरी १३ वटा कोठा छन् । यी कोठा अहिले ३ सय देखि ८ सय रुपैयाँमा दैनिक भाडामा लगाइँदै आएको छ ।
निर्माणकर्ता रामबहादुर, बलदेवदास रामेश्वरजी नाथानी च्यारिटेबल ट्रस्टको नामबाट सञ्चालित यो धर्मशाला व्यवस्थापनका लागि ५ जना कर्मचारी खटिँदै आएका छन् । प्रबन्धक झाका अनुसार उच्च वर्गका पर्यटकहरू खासै नआए पनि भारतबाट आउने पर्यटकहरूका कारण अहिलेसम्म यो सञ्चालन भइरहेको छ । उनीहरू नआउने हो भने यसको वार्षिक मर्मत खर्च पनि नउठ्ने उनको भनाइ छ ।
वार्षिक २८ देखि ३० लाख रुपैयाँसम्मको कारोबार हुने यस धर्मशालाको आफ्नै ३ दर्जनभन्दा बढी सटर व्यावसायिक प्रतिष्ठानका लागि भाडामा लगाइएको छ । ती सटरको भाडा मासिक २ हजारदेखि २५ सय रुपैयाँसम्म हुने गरेको छ । त्यसैबाट उठ्ने र पर्यटक बसेबापत उठने रकमबाट कर्मचारीको तलब, भवन मर्मतमा खचिने गरेको छ ।
भारत, बिहारको मोतिहारीबाट यहाँ बास बस्न आएका रामशिष यादवले भने, ‘म त अहिलेसम्म १० पटकभन्दा बढी जनकपुर आइसकेँ । जतिपटक आए पनि यही धर्मशालामा बस्ने गर्छु ।’ उनका अनुसार बाहिरको होटलमा बास बस्न र खाना खान महँगो पर्ने भएकाले धर्मशाला हुँदा सहज हुने गरेको छ ।
यो धर्मशालामा विजया दशमी तथा विवाह पञ्चमीमा ठुलो मेला पनि लाग्ने गर्छ । वडा दसैँमा स्थानीय उद्योगव्यापारीहरूले यहीँ सस्तो बजार लगाउने गर्छन् । त्यतिबेला सस्तो बजार घुम्न तथा किनमेल गर्न आउनेहरूका कारण ठुलो चहलपहल हुने गर्छ ।
त्यस्तै विवाह पञ्चमीमा पनि मेलासँगै यहाँ रात बिताउने तीर्थालुहरूको ठुलो घुइँचो लाग्छ । धर्मशाला बाहिर रहेको एक चियापसलमा चिया पिउँदै गरेका स्थानीय अमोद कुशवाहाले भने, ‘यस्तो पवित्र सहरको बिचमा यो धर्मशाला छ, तर यसको संरक्षणमा कसैले ध्यान दिएजस्तो लाग्दैन । दिन प्रतिदिन जीर्ण हुँदै गएको देख्छु ।’
स्थानीय तहले जानकी मन्दिरजस्तै यस्तो ऐतिहासिक सम्पदाको संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ । उनका अनुसार यस्तो सम्पदालाई मर्मत गरी समयसापेक्ष सुधार गर्न सके पर्यटकको ओइरो लाग्छ ।
म उल्लेख नगर्ने सर्तमा धर्मशालाको एक सटर व्यवसायीले भने, ‘यो धर्मशाला नगरको मुख्य स्थानमा छ र धेरै जग्गा पनि छ । त्यही भएर यसको जग्गामा धेरै ठुलाबडाले आँखा लगाइरहेका छन् । केही समय अघि नगरभित्रकै एक जना वरिष्ठ व्यक्तिको नाम समेत यसमा जोडिएको थियो ।’
स्थानीयबासीका अनुसार एकै स्थानमा धेरै जग्गा भएकाले पनि धेरैले विगतदेखि नै यसको जग्गा हडपिने प्रयास गर्दै आए पनि उनीहरू आफ्नो उद्देश्यमा सफल हुन सकेका छैनन् ।
प्रबन्धक झाका अनुसार तत्कालीन श्री ३ जंगबहादुर राणाले यो धर्मशालालाई धर्म, कृति प्रयोजनार्थ खड्ग निशान दिएका थिए । प्रदेश सरकार तथा स्थानीय तहले यसको भौतिक पूर्वाधार मर्मतमा चासो नदेखाएको उनले बताए ।
कतिपयले धर्मशालामै कार्यक्रम आयोजना गर्ने तर त्यसबापत शुल्कसमेत नतिर्ने गरेको झाले बताए । उनका अनुसार धर्मशालाको वार्षिक लेखापरीक्षण हुने गरेको छ । यो विशुद्ध सेवाभावका साथ सञ्चालित भएको, ट्रस्टले सञ्चालन गरेको संस्था रहेकाले नाफामूलकभन्दा पनि सेवाभावले काम गरिँदै आएको उनले बताए ।
जनकपुर नगर क्षेत्रभित्र रौनियार सेवा समिति, मारवाडी सेवा समिति, पगलबाबा धर्मशाला लगायतका विभिन्न धर्मशाला रहे पनि गोपाल धर्मशाला तुलनात्मक रूपमा निकै सस्तो रहेकाले विपन्न वर्गका तीर्थयात्रीहरूको रोजाइमा पर्ने गरेको छ ।
एक शताब्दी पुरानो यो धर्मशालाको स्तरोन्नति तथा संरक्षणमा प्रदेश सरकार तथा स्थानीय तहले ध्यान दिनुपर्ने स्थानीयबासी बताउँछन् । रातोपाटी
बज्जिकाञ्चल संवाददाता असोज ११ गते
नकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ भने परिवारका अन्य चार जनाको सकुशल उद्धार गरिएको छ।
आइतबार बिहान सवा ९ बजे मिथिला नगरपालिका–११ आँपगाछीमा राजन श्रेष्ठको एकतले टालीको छानो भएको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
घर पुरिएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय ढल्केवर र इलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीको संयुक्त टोली घटनास्थलमा पुगेको थियो। घरमा रहेका पाँच जनामध्ये चार जनालाई सकुशल उद्धार गरिएको प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए।
खोज तथा उद्धारका क्रममा बिहान ११ बजे राजनकी श्रीमती ३५ वर्षीया कमला श्रेष्ठलाई मृत अवस्थामा फेला पारिएको थियो। उनको शव सरकारी अस्पताल बर्दिबास, महोत्तरी पठाइएको प्रहरीले जनाएको छ।
मधेश प्रदेशमा पछिल्लो दुई दिनदेखि लगातार वर्षा भइरहेको भए पनि आइतबार दिउँसो १२ बजेपछि मौसम सामान्य भएको प्रहरीले जनाएको छ।सभार रातोपाटी
बज्जिकाञ्चल संवाददाता असोज ११ गते
गौर । रौतहटमा प्रहरीले शनिबार छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा, भन्सार छली भारततर्फ लैजाँदै गरेको सोफी रक्सी तथा भारतबाट अवैध रूपमा भित्र्याइएका बोइलर कुखुरा बरामद गरेको छ ।
यमुनामाई गाउँपालिका–४ स्थित सरुअठादेखि झुलुङ्गे पुल जाने बाटोमा जाँच गर्ने क्रममा प्रहरीले ५ किलो २५० ग्राम गाँजासहित दुर्गाभगवती गाउँपालिका–१ का २६ वर्षीय पुजन साहलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। साहको गुम्ती पसलमा खानतलासी गर्दा थप २५० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, राजदेवी नगरपालिका–९ ब्रह्मपुरीमा नेपालबाट भारततर्फ भन्सार छली लैजाँदै गरिएको ६४ कार्टुन सोफी रक्सी बरामद भएको छ । प्रहरीले रक्सी ओसार्न प्रयोग गरिएको इलेक्ट्रोनिक लोडरसहित चालक सोही स्थानका ४५ वर्षीय सुरेन्द्र गोसाईलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको छ । बरामद रक्सीको मूल्य करिब ६७ हजार २०० रुपैयाँ रहेको छ ।
यसैगरी, परोहा नगरपालिका–८ नरकटिया आँप बगैँचाबाट भारतबाट अवैध रूपमा ल्याइँदै गरेको १३७ वटा बोइलर कुखुरा प्रहरीले बरामद गरेको छ । पाँच वटा साइकलमा ल्याइँदै गरेको ४११ किलो कुखुरा, अन्दाजी १ लाख २३ हजार ३०० रुपैयाँ मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । बरामद कुखुरा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । सभार रातोपाटी
बज्जिकाञ्चल संवाददाता असोज १० गते
काठमाडौँ । नेपालको पश्चिमी भूभागमा भारी वर्षा भइरहेकाले बाढी र पहिरोको उच्च जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी प्रदेशहरूमा भारीदेखि धेरै भारी वर्षा भइरहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। पूर्वी भूभागमा भने मौसम क्रमिक रूपमा सुधार हुँदै गएको छ।
मौसमविद् रोजन लामिछानेका अनुसार पछिल्लो २४ घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरैजसो स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। यस अवधिमा सबैभन्दा धेरै पाल्पाको अर्चले मौसम मापन केन्द्रमा २०८ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ। महाशाखाका अनुसार १५० मिलिमिटरभन्दा बढी पानी पर्नुलाई अति भारी वर्षा मानिन्छ। यसैगरी कोशी प्रदेशको सोलुखुम्बु आसपास र बागमती प्रदेशको काभ्रे, सिन्धुपाल्चोक तथा रसुवा आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ। अन्य भूभागमा भने हल्कादेखि मध्यम वर्षा मात्र भएको छ।पछिल्लो समय लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। पूर्वी भूभागअन्तर्गत कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा भने अहिले पानी परेको छैन। ती क्षेत्रमा घाम र बादल लाग्ने क्रम जारी छ।
नेपालमा अहिले भारतको मध्य प्रदेश र उत्तर प्रदेश आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव परेको छ। बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा सोही प्रणालीमार्फत पश्चिमी क्षेत्रमा केन्द्रित हुँदा नेपालको पश्चिममा बढी पानी परेको मौसमविद् लामिछानेले जानकारी दिए। यो प्रणाली बिस्तारै पश्चिमतिर सर्दै कमजोर हुने अवस्थामा रहे पनि आज र भोलिसम्म नेपालको पश्चिमी क्षेत्रमा यसको गहिरो प्रभाव रहनेछ।
आज (शनिबार) दिउँसो र राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा हल्कादेखि मध्यम तथा ५० देखि ८० प्रतिशत भूभागमा भारी वर्षा हुने सम्भावना छ। भोलिसम्म यी प्रदेशका केही क्षेत्रमा वर्षा कायम रहनेछ। तर पूर्वी भूभागहरू कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा भने मौसम क्रमिक रूपमा सुधार हुँदै जानेछ।
भोलि राति र पर्सिबाट भने देशभरिकै मौसममा सुधार आउने र पहाडी भूभागका थोरै स्थानमा मात्र हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान महाशाखाको छ। आउँदो सोमबारबाट भने देशभरको मौसम सफा रहने र कतै पानी परिहाले पनि त्यसले ठुलो प्रभाव नपार्ने बताइएको छ।
पश्चिमी क्षेत्रमा लगातार भारी वर्षा हुने सम्भावना रहेकाले महाशाखाले ती क्षेत्रका लागि जोखिमको स्तर हेरी ‘सुन्तला’ र ‘रातो’ रङको चेतावनी (अलर्ट) जारी गरेको छ। रातो रङ लगाइएका क्षेत्रमा बाढी र पहिरोको जोखिम अति उच्च हुन्छ। पूर्वी क्षेत्रमा वर्षा कम हुँदै गएकाले सम्भावित जोखिम कम हुने जनाउँदै ‘पहेँलो’ रङको सतर्कता दिइएको छ।
भोलि ११ गतेसम्म पश्चिमी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढी र पहिरोको जोखिम उच्च छ। यसै विषयलाई मध्यनजर गर्दै मौसमविद् लामिछाने भन्छन्, ‘पहिरो जाने, डुबान हुने र कटान गर्ने क्षेत्रका सर्वसाधारण तथा सरोकारवाला निकायले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउनुहोला।’ सभार रातोपाटी
बज्जिकाञ्चल संवाददाता असोज १० गते
जनकपुरधाम । मधेस प्रदेश र कोशी प्रदेश सरकारबिच सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, राजस्व वृद्धि, रोजगारी सिर्जना, उद्यमशीलता तथा आर्थिक विकासका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।
मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराई र कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारीअनुसार दुवै प्रदेशले आगामी दिनमा बजेट निर्माण, राजस्व प्रशासन, वित्तीय सङ्घीयता, बेरुजु फर्छ्योट तथा सार्वजनिक वित्तीय व्यवस्थापनका क्षेत्रमा अनुभव र उत्कृष्ट अभ्यास आदानप्रदान गर्नेछन् ।
मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले नेपालको संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई अङ्गीकार गर्दै यो समझदारी भएको बताए । उनले भने,‘एक प्रदेशले अर्को प्रदेशसँग साझा चासो, सरोकार र हितका विषयमा सूचना आदानप्रदान गर्न, परामर्श गर्न, आफ्नो कार्य तथा विधायनका बारेमा समन्वय गर्न र आपसी सहयोग विस्तार गर्न सक्ने संवैधानिक व्यवस्थालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न यो समझदारी गरेका हौँ ।’
दुवै प्रदेशले प्रत्येक आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभन्दा कम्तीमा तीन महिना अघि साझा प्राथमिकता, राजस्व तथा आर्थिक नीतिका विषयमा पूर्व–बजेट परामर्श र संयुक्त कार्यशाला आयोजना गर्ने सहमति भएको छ ।
त्यस्तै, वार्षिक सहकार्य कार्ययोजना निर्माण तथा प्रगति समीक्षा गर्न संयुक्त अन्तरप्रदेशीय समन्वय समिति गठन गरिनेछ । मन्त्रीस्तरीय उच्चस्तरीय सम्मेलन पनि पालैपालो आयोजना गरिने समझदारीमा उल्लेख छ ।
बेरुजु फर्छ्योट र सार्वजनिक खर्च सुधारमा सहकार्य
समझदारीमा सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, परिणाममा आधारित बजेट प्रणाली, आन्तरिक नियन्त्रण तथा बेरुजु फर्छ्योटलाई प्राथमिकतामा राखिएको छ ।
एक प्रदेशले सार्वजनिक वित्त व्यवस्थापनमा अपनाएका असल अभ्यास अर्को प्रदेशमा प्रयोग गर्ने तथा अनावश्यक प्रशासनिक खर्च घटाउने विषयमा समेत सहकार्य गरिने सहमति पत्रमा उल्लेख छ ।
राजस्व वृद्धि र डिजिटल प्रणालीमा सहकार्य
दुवै प्रदेशले राजस्व सम्भाव्यता अध्ययन, राजस्व सुधार कार्ययोजना तथा स्थानीय तहको राजस्व प्रशासन सुदृढीकरणमा संयुक्त रूपमा काम गर्नेछन् । वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँट तथा प्रदेश र स्थानीय तहबीचको वित्तीय सम्बन्धबारे संयुक्त अध्ययन गरिने र एीःद्यक्ष्क्, क्गत्च्ब्, ऋन्ब्क् लगायतका डिजिटल सार्वजनिक वित्तीय प्रणालीको प्रयोग र कर्मचारीलाई तालिम दिने विषयमा पनि सहकार्य हुनेछ । धार्मिक तथा अन्य पर्यटकीय संयुक्त संरचना विकास गरी त्यसबाट प्राप्त हुने राजस्व बाँडफाँटका लागि आवश्यक ढाँचा तयार गर्ने समझदारीसमेत भएको छ ।
रोजगारी र उद्यमशीलतालाई प्राथमिकता
समझदारीले युवा रोजगारी, नवप्रवर्तन, उद्यमशीलता, साना तथा मझौला उद्योग र निजी क्षेत्रको लगानी प्रवर्द्धनलाई पनि सहकार्यको प्रमुख क्षेत्रका रूपमा समेटेको छ ।
दुवै प्रदेशले कर्मचारीको क्षमता विकासका लागि संयुक्त तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नेछन् । बाढी, पहिरो र डुबानजस्ता विपद्का क्षेत्रमा पनि अनुभव आदानप्रदान तथा आपतकालीन समन्वय गर्ने पनि सहमति भएको छ ।
दुवै प्रदेशका मन्त्रीको नेतृत्वमा संयन्त्र
समझदारी कार्यान्वयनका लागि अर्थमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्रीको नेतृत्वमा उच्चस्तरीय मार्गदर्शक समिति गठन गर्ने र समितिको अध्यक्षता दुवै प्रदेशले पालैपालो गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, दुवै मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक तथा कार्यान्वयन समिति रहने र उक्त समितिमा बजेट वा राजस्व हेर्ने उपसचिवस्तरका एक–एक जना अधिकारीलाई सम्पर्क व्यक्ति तोकिने पनि सहमति भएको छ । ।
संयुक्त कार्यक्रमको खर्च ५०–५० प्रतिशत व्यहोर्ने
संयुक्त रूपमा सञ्चालन हुने कार्यशाला, तालिम, प्रविधि विकास तथा अध्ययन–अनुसन्धानका कार्यक्रमको खर्च दुवै प्रदेशले ५०–५० प्रतिशत व्यहोर्ने समझदारी भएको छ । उच्चस्तरीय तथा प्राविधिक बैठक आयोजना गर्ने प्रदेशले व्यवस्थापन खर्च व्यहोर्ने र सहभागी टोलीको भ्रमण भत्ता सम्बन्धित मन्त्रालयले व्यहोर्नु पर्ने समझदारी पत्रमा उल्लेख छ ।
त्यस्तै दुवै प्रदेश बिच भएको समझदारी अन्तर्गत २०८२ कात्तिक १५ गते हेटौँडामा प्रदेशका अर्थ तथा आर्थिक मामिला मन्त्रीहरूले जारी गरेको ‘वित्तीय सङ्घीयता सुदृढीकरणका लागि प्रदेशका आर्थिक मामिला मन्त्रीहरूको साझा प्रतिबद्धता’ लाई समेत मार्गदर्शनका रूपमा आत्मसात् गर्ने उल्लेख छ भने यो समझदारी हस्ताक्षर भएको मितिदेखि ५ वर्षसम्म लागू हुने उल्लेख गरिएको छ ।
सभार रातोपाटी