२०८३ मंसिर ११
२०८३ मंसिर ११

काठमाडौँ । अमेरिकी अर्बपति व्यवसायी इलोन मस्कले आगामी वर्ष अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो रकेट निर्माण कम्पनी स्पेसएक्सको एक कित्ता सेयर उपहार दिने घोषणा गरेका छन् ।

मस्कले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन्। हाल स्पेसएक्सको एक कित्ता सेयरको मूल्य १४६ अमेरिकी डलर अर्थात् करिब १४ हजार रुपैयाँ रहेको छ। अमेरिकामा करिब सात करोड २० लाख बालबालिका रहेकाले वितरण गरिने सेयरको कुल मूल्य करिब एक खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

यद्यपि, सेयर वितरण कसरी गरिनेछ, कुन उमेरका बालबालिका यसका लागि योग्य हुनेछन् र अमेरिकी नागरिकता नभएका बालबालिकाले पनि पाउनेछन् वा पाउने छैनन् भन्नेबारे मस्क वा कम्पनीले स्पष्ट पारेका छैनन् ।

बालबालिकाको नाममा सेयर कसरी राखिनेछ र उनीहरूका अभिभावकले त्यसलाई बिक्री वा हस्तान्तरण गर्न पाउनेछन् कि पाउने छैनन् भन्ने पनि खुलाइएको छैन ।

सन् २०२६ जुन ३० सम्मको विवरणअनुसार स्पेसएक्समा मस्कको ४८.४ प्रतिशत स्वामित्व रहेको छ। उक्त हिस्सेदारीको मूल्य करिब ८६० अर्ब अमेरिकी डलर अर्थात् ८० खर्ब रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

मस्कले यो घोषणा आफ्ना विभिन्न योजनामध्ये पहिलो भएको बताएका छन् । उनको घोषणासँगै अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनमा यसको राजनीतिक प्रभावबारे पनि चर्चा सुरु भएको छ। तर, निर्वाचनमा लाभ लिनकै लागि उनले यस्तो घोषणा गरेको कुनै प्रमाण प्रस्तुत गरिएको छैन ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले पनि निश्चित सर्त पूरा गर्ने सन् २०२५ जनवरी १ देखि २०२८ डिसेम्बर ३१ सम्म जन्मिएका बालबालिकाका खातामा एकमुष्ट एक हजार अमेरिकी डलर जम्मा गर्ने योजना अघि सारेको छ ।

सन् २००२ मा मस्कले स्थापना गरेको स्पेसएक्सले पुनः प्रयोग गर्न मिल्ने रकेट प्रविधिको विकासमार्फत अन्तरिक्ष अभियान र उपग्रह प्रक्षेपणको लागत घटाउन योगदान दिएको छ । एभरेष्ट न्यूज एजेन्सी

सागर संगम ठाकुर,रौतहट,कार्तिक ३ गते  ।

नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ३ क का क्षेत्रीय सभापति साबिर हुसैनले आगामी स्थानीय तह निर्वाचनमा गुजरा नगरपालिकाको नगर प्रमुख पदमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिने घोषणा गरेका छन्।नगरपालिकालाई स्पष्ट विकासको दृष्टिकोण र योजनासहित अगाडि बढाउने उद्देश्यले आफू उम्मेदवारीको तयारीमा सक्रिय रहेको उनले बताएका छन्।


सोमवार बज्जिकाञ्चल एफएम ८९.२ मेगाहर्जको ‘बज्जिकाञ्चल बहस’ कार्यक्रममा प्रस्तोता आरके श्रीवास्तव संग कुराकानी गर्दै कांग्रेस नेता हुसैनले अघिल्लो स्थानीय तह निर्वाचनमा पनि आफू उम्मेदवारीका लागि इच्छुक रहेको, तर पार्टीले आफूभन्दा वरिष्ठ नेता शेख महिबुललाई टिकट दिएको बताए।पार्टीको निर्णयअनुसार आफूले उहाँलाई सहयोग गरेको भए पनि निर्वाचनमा पराजय भोग्नुपरेको उनले उल्लेख गरे।


यसपटक भने नेपाली कांग्रेसले आफूलाई टिकट दिने विश्वास व्यक्त गर्दै हुसैनले नगरपालिकालाई योजनाबद्ध विकासको बाटोमा लैजाने र आफ्ना विकाससम्बन्धी योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।


संगठन सुदृढीकरणमा जोड
आफ्नो राजनीतिक यात्राबारे चर्चा गर्दै कांग्रेस नेता साबिर हुसैनले आफ्नो परिवार लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध रहेको बताए।उनका पिता शेख अब्दुल मतीनले समेत लोकतन्त्र र प्रजातन्त्रका लागि योगदान गरेको उल्लेख गर्दै आफू पारिवारिक राजनीतिक पृष्ठभूमिबाट प्रेरित भएर सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय भएको उनले बताए।


विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा विद्यार्थी संगठनमा विभिन्न जिम्मेवारी सम्हालेको अनुभव सुनाउँदै उनले संगठन निर्माण, अनुशासन र सबै तहका कार्यकर्तालाई समेटेर अघि बढ्नुपर्ने धारणा राखे।


विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा विद्यार्थी र शिक्षकबीचको सम्बन्ध सुधार, अनुशासन कायम तथा अभिभावकको सहभागितामा जोड दिएको उनले बताए।
विशेषगरी मुस्लिम समुदायका छात्राहरूको शैक्षिक सहभागिता बढाउन आफूले भूमिका निर्वाह गरेको उनको भनाइ थियो।क्षेत्रीय सभापतिको जिम्मेवारीमा संगठनलाई वडादेखि क्षेत्रसम्म व्यवस्थित बनाउने, नियमित बैठक सञ्चालन गर्ने र कार्यकर्तालाई जिम्मेवारीको अनुभूति गराउने आफ्नो प्राथमिकता रहेको उनले स्पष्ट पारे।


दुई नगरपालिका जोड्ने सडक तथा पुल निर्माण गर्न आग्रह

कार्यक्रममा कांग्रेस नेता हुसैनले दुई नगरपालिका जोड्ने सडक तथा पुल निर्माणको विषयलाई समेत प्राथमिकताका साथ उठाए।प्रदेश सरकारबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको गुनासो गर्दै उनले यस वर्ष बजेट विनियोजन भए पनि निर्माण कार्य सम्पन्न हुनेमा आशंका व्यक्त गरे।


जमुनियाबाट कनकपुर स्थित विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई आवतजावतमा सहज बनाउन सडक तथा पुल निर्माण आवश्यक रहेको उनको भनाइ थियो।
विद्यार्थीको भविष्य र स्थानीय नागरिकको सुविधालाई ध्यानमा राख्दै प्रदेश सरकारलाई निर्माण कार्य अघि बढाउन उनले बज्जिकाञ्चल एफएममार्फत आग्रह गरे।


रामकृपाल यादवलाई सहयोग गरेको स्मरण

प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामकृपाल प्रसाद यादवलाई समर्थन गर्नुको कारणबारे बोल्दै हुसैनले यादव शिक्षित, योग्य र युवा व्यक्तित्व भएकाले पार्टीको उम्मेदवारका रूपमा आफूले सहयोग गरेको बताए।पार्टीले टिकट दिएर पठाएको उम्मेदवारलाई जिताउन कार्यकर्ताले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने उल्लेख गर्दै उनले आगामी दिनमा पनि पार्टीका उम्मेदवारलाई विजयी गराउन आफू सक्रिय रहने बताए।


योग्य उम्मेदवार छनोट गर्न मतदातालाई आग्रह
कार्यक्रमको अन्त्यमा कांग्रेस नेता शेष साबिर हुसैनले मतदातालाई क्षणिक स्वार्थ र आर्थिक प्रलोभनभन्दा माथि उठेर उम्मेदवारको योजना, दृष्टिकोण र विकाससम्बन्धी प्रतिबद्धताका आधारमा मतदान गर्न आग्रह गरे।


स्थानीय तहमा निर्वाचित नेतृत्वले शिक्षा, सडक, पूर्वाधार र बालबालिकाको भविष्यसँग सम्बन्धित योजनालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न भोग्नुपर्ने झन्झट कम गर्ने तथा नागरिकलाई सहज सेवा उपलब्ध गराउने व्यवस्था आवश्यक रहेको उनले बताए।


कार्यक्रममा हुसैनले बज्जिकाञ्चल एफएमको स्टुडियो र सञ्चारमाध्यमले जनसरोकारका विषय उठाउन गरेको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा पनि जनताको आवाजलाई प्राथमिकता दिन शुभकामना व्यक्त गरे।

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ स्थित छिदी चोकमा यस वर्षको श्री दुर्गा पूजा मेला भव्यताका साथ सञ्चालन भइरहेको छ । ग्रामीण क्षेत्रका बासिन्दाहरूको उत्साहजनक सहभागितामा धार्मिक तथा सांस्कृतिक माहोलका बीच मेला सञ्चालन भइरहेको हो ।

मेला सञ्चालन तथा व्यवस्थापनका लागि स्थानीय सहयोगदाताहरूले योगदान दिने क्रम जारी छ । यसै क्रममा कटहरिया नगरपालिकाका मेयर पदका प्रत्याशी एवं नेपाली कम्युनिस्ट पार्टी कटहरियाका नगर अध्यक्ष नसरुद्दीन अंसारीले पूजा समितिलाई नगद ११ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन् ।

अंसारीले प्रत्येक वर्ष दुर्गा पूजाको अवसरमा सहयोग गर्दै आएको र यस वर्ष पनि सोही निरन्तरतास्वरूप रकम हस्तान्तरण गरेको जानकारी दिइएको छ । मेलालाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन दुई दिनसम्म भव्य कुस्ती (दंगल) प्रतियोगिता आयोजना गरिएको थियो ।

कुस्ती प्रतियोगितामा चर्चित पहलवान देवा थापा तथा नेपालका नामुद खेलाडी त्रिलोक यादव लगायतका पहलवानहरूको सहभागिता रहेको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको खेल हेर्न वरपरका ग्रामीण क्षेत्रबाट ठूलो संख्यामा दर्शकहरूको घुइँचो लागेको थियो ।

 

मेला क्षेत्रमा सर्वसाधारण तथा बालबालिकाहरूका लागि विभिन्न प्रकारका मनोरञ्जनका साधन, झुला तथा व्यापारिक स्टलहरूको समेत व्यवस्था गरिएको छ । सहयोग रकम हस्तान्तरण तथा मेला अनुगमनका क्रममा स्थानीय जनप्रतिनिधि तथा समाजका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा कटहरिया वडा नम्बर १ का वडा अध्यक्ष भुपेन्द्र महतो कोइरी, वडा नम्बर २ का वडा अध्यक्ष हरेन्द्र साह कलवार र वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त यादवका साथै स्थानीय मेला व्यवस्थापन समितिका पदाधिकारी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

आजको राशिफल बिस २०८३ कार्तिक ३ गते मंगलबार ईस २०२६ अक्टोबर २० नेपाल सम्बत ११४६ कौलाथ्व नवमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पक्ष नवमी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शूल योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ०७ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ३२ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज नयाँ कामको नेतृत्व लिने वा चुनौतीपूर्ण जिम्मेवारी पूरा गर्ने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा आफ्नो क्षमता देखाउन सकिनेछ, तर सहकर्मीसँग प्रतिस्पर्धा गर्दा व्यवहारमा नम्रता कायम राख्नुहोला। व्यापारमा नयाँ योजना अघि बढाउन सकिने भए पनि लगानीको जोखिम मूल्याङ्कन गर्नु आवश्यक छ। आम्दानीको तुलनामा खर्च बढ्न सक्ने भएकाले आर्थिक अनुशासन अपनाउनुहोला। परिवारमा आफ्नो कुरा मनाउन खोज्नुभन्दा अरूको भावना बुझ्नु राम्रो हुनेछ। प्रेम सम्बन्धमा रिसलाई नियन्त्रण गर्न सके आत्मीयता कायम रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज हतारभन्दा धैर्यलाई प्राथमिकता दिनुपर्ने दिन छ। रोकिएका कामलाई व्यवस्थित रूपमा अघि बढाउँदा प्रगति देखिन सक्छ। कार्यालयमा जिम्मेवारी पूरा गर्ने क्रममा केही अतिरिक्त समय दिनुपर्ने हुन सक्छ। व्यापारमा पुराना ग्राहकसँगको सम्बन्ध बलियो बनाउने अवसर मिल्नेछ। आर्थिक विषयमा बचत र दीर्घकालीन आवश्यकतालाई ध्यान दिनुहोला। परिवारका सदस्यसँगको छलफलले व्यावहारिक समस्या समाधान गर्न सहयोग पुर्‍याउनेछ। प्रेम जीवनमा विश्वास र निरन्तर संवादले सम्बन्धलाई स्थिर बनाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज नयाँ जानकारी प्राप्त गर्ने र उपयोगी सम्पर्क विस्तार गर्ने सम्भावना छ। सञ्चार, लेखन, अध्ययन तथा व्यापारिक छलफलमा संलग्न व्यक्तिले आफ्नो विचार प्रभावकारी ढङ्गले प्रस्तुत गर्न सक्नेछन्। एकैपटक धेरै काम सम्हाल्दा महत्त्वपूर्ण विवरण छुट्न सक्ने भएकाले प्राथमिकता निर्धारण गर्नुहोला। आर्थिक कारोबारमा स्पष्ट हिसाब राख्नु आवश्यक छ। साथीभाइसँगको भेटघाटले नयाँ सोच विकसित गर्न मद्दत गर्नेछ। प्रेम सम्बन्धमा पुरानो असमझदारी हटाउने अवसर मिल्न सक्छ। निद्रा र दैनिक कार्यतालिकामा नियमितता कायम राख्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज भावनात्मक विषयले निर्णयमा प्रभाव पार्न सक्छ। परिवारको आवश्यकता र कार्यक्षेत्रको जिम्मेवारीबीच तालमेल मिलाउनुपर्नेछ। काममा अरूको प्रतिक्रियालाई मात्र आधार बनाएर निर्णय नगर्नुहोला। व्यापारमा खर्च व्यवस्थापन र सामानको उचित उपयोगमा ध्यान दिनु लाभदायी हुनेछ। घरायसी आवश्यकताका कारण केही आर्थिक भार थपिन सक्छ। नजिकका व्यक्तिसँग खुलेर कुरा गर्दा मनमा रहेको अन्योल कम हुनेछ। प्रेम सम्बन्धमा संवेदनशील विषय उठाउँदा शब्द चयनमा सावधानी अपनाउनुहोला। मानसिक शान्तिका लागि केही समय एकान्तमा बिताउनु उपयोगी हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज आत्मविश्वासका साथ अघि बढ्ने अवसर मिल्नेछ। कार्यक्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुन सक्छ। आफ्नो निर्णयको प्रभाव अरूमा पर्ने भएकाले निष्पक्षता र जिम्मेवारीलाई महत्त्व दिनुहोला। व्यापारमा प्रतिस्पर्धीको रणनीति बुझेर योजना बनाउँदा फाइदा पुग्न सक्छ। आर्थिक लाभको सम्भावना रहे पनि प्रतिष्ठा कायम राख्ने नाममा अनावश्यक खर्च नगर्नु उचित हुनेछ। परिवारमा तपाईंको सुझाव उपयोगी बन्न सक्छ। प्रेम सम्बन्धमा प्रशंसा र सम्मान व्यक्त गर्दा सम्बन्धमा सकारात्मकता बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज योजनाबद्ध काम र सूक्ष्म विश्लेषणले सफलता नजिक ल्याउन सक्छ। कागजी प्रक्रिया, हिसाबकिताब वा अधुरा काम पूरा गर्न अनुकूल समय छ। कार्यक्षेत्रमा अरूको गल्ती औँल्याउँदा समाधानसमेत प्रस्तुत गर्नुहोला। व्यवसायमा वस्तु तथा सेवाको गुणस्तर सुधार्ने सोच उपयोगी बन्न सक्छ। आर्थिक निर्णयमा साना विवरणसमेत बेवास्ता नगर्नुहोला। परिवारमा व्यावहारिक विषयमा छलफल हुनेछ। प्रेम सम्बन्धमा अपेक्षा स्पष्ट राख्दा अनावश्यक असन्तुष्टि घट्न सक्छ। निरन्तर काममा व्यस्त रहँदा थकान बढ्न सक्ने भएकाले विश्राम लिनुहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज सहकार्य र सन्तुलित व्यवहारले काममा सहजता ल्याउन सक्छ। नयाँ साझेदारी वा सामूहिक योजनाबारे छलफल हुने सम्भावना छ। कुनै सम्झौतामा पुग्नुअघि आफ्नो जिम्मेवारी र अधिकार स्पष्ट पार्नुहोला। व्यापारमा सम्बन्ध विस्तार गर्न सकिनेछ, तर तत्काल लाभको लोभमा निर्णय नगर्नु राम्रो हुनेछ। आर्थिक पक्षमा आम्दानी र खर्चबीच सन्तुलन कायम राख्नु आवश्यक छ। परिवारमा फरक विचारलाई सम्मान गर्दा आपसी सम्बन्ध बलियो हुनेछ। प्रेम जीवनमा एकअर्काको समय र भावनाको कदर गर्न सके निकटता बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज दृढ इच्छाशक्ति र साहसले कठिन परिस्थितिमा पनि अघि बढ्न प्रेरित गर्नेछ। कार्यक्षेत्रमा प्रतिस्पर्धात्मक वातावरण बन्न सक्छ, तर आवेगभन्दा रणनीतिका आधारमा काम गर्नुहोला। महत्त्वपूर्ण निर्णय गर्दा पर्याप्त जानकारी जुटाउनु आवश्यक छ। आर्थिक कारोबारमा जोखिमपूर्ण प्रस्तावबाट टाढा रहनु उचित हुनेछ। परिवारमा जिम्मेवारी बाँडफाँटबारे छलफल हुन सक्छ। प्रेम सम्बन्धमा शंका वा पुराना विवाद दोहोर्‍याउनुभन्दा वर्तमान समस्याको समाधान खोज्नुहोला। बाहिरी काम गर्दा आफ्नो सुरक्षा र समय व्यवस्थापनमा ध्यान दिनुहोस् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज नयाँ अनुभव हासिल गर्ने र आफ्नो क्षमता विस्तार गर्ने अवसर मिल्न सक्छ। अध्ययन, तालिम वा पेसागत विकासका लागि बनाएका योजना अघि बढाउन सकिनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी स्वीकार गर्दा त्यसका दीर्घकालीन प्रभाव बुझ्नुहोला। व्यापारमा नयाँ बजार खोज्ने सोच आए पनि आवश्यक तयारी पूरा गर्नु उचित हुनेछ। आर्थिक रूपमा भविष्यका लागि बचतको योजना बनाउन सकिनेछ। परिवारसँग विचार आदानप्रदान गर्दा उपयोगी सुझाव प्राप्त हुन सक्छ। प्रेम सम्बन्धमा साझा रुचि र भविष्यका योजनाले आत्मीयता बढाउनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज अनुशासन र व्यावहारिक सोचले जिम्मेवारी पूरा गर्न मद्दत गर्नेछ। काममा अपेक्षित परिणाम आउन केही समय लागे पनि निरन्तर प्रयास खेर जानेछैन। पुराना दायित्व पूरा गर्ने वा आर्थिक हिसाब मिलाउने अवसर मिल्न सक्छ। व्यापारमा नयाँ खर्च थप्नुअघि उपलब्ध स्रोतको मूल्याङ्कन गर्नुहोला। परिवारका सदस्यको सहयोगले कठिन काम सहज बन्न सक्छ। प्रेम सम्बन्धमा कामको व्यस्तताले दूरी बढ्न नदिन समय छुट्याउनु आवश्यक छ। शारीरिक थकानलाई बेवास्ता नगरी आराम र खानपानमा ध्यान दिनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज परम्परागत तरिकाभन्दा फरक उपाय अपनाउने सोच विकसित हुन सक्छ। सिर्जनात्मक काम, समूहगत योजना र नयाँ विचार प्रस्तुत गर्न अनुकूल अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा सुझाव दिँदा त्यसलाई व्यवहारमा उतार्ने सम्भावना पनि देखाउनुहोला। व्यापारमा नयाँ सम्पर्क उपयोगी बन्न सक्छ, तर साझेदारीको विश्वसनीयता जाँच्नु आवश्यक छ। आर्थिक विषयमा भावी आवश्यकतालाई ध्यानमा राखेर निर्णय गर्नुहोला। परिवारमा आफ्नो स्वतन्त्रता र अरूको अपेक्षाबीच तालमेल मिलाउनु राम्रो हुनेछ। प्रेम सम्बन्धमा खुलापनले आपसी समझदारी बढाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)

आज अन्तर्ज्ञान र संवेदनशीलताले मानिसको भावना बुझ्न सहयोग गर्न सक्छ। सिर्जनात्मक कार्य, अध्ययन वा व्यक्तिगत रुचिका क्षेत्रमा समय दिन सकिनेछ। काममा अरूको सहयोग गर्नुपर्ने अवस्था आए पनि आफ्नो लक्ष्यबाट विचलित नहुनुहोला। आर्थिक रूपमा भावनामा आएर खर्च गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्नु उचित हुनेछ। परिवारमा पुरानो विषयलाई नयाँ दृष्टिकोणबाट हेर्दा समाधान भेटिन सक्छ। प्रेम सम्बन्धमा मनका कुरा लुकाउनुभन्दा स्पष्ट रूपमा व्यक्त गर्नु राम्रो हुनेछ। दिनभरको व्यस्ततापछि आफूलाई सहज लाग्ने गतिविधिमा समय बिताउँदा मन हलुका हुनेछ ।

एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । भारतको पश्चिम बङ्गालस्थित कोलकातामा शनिबार साँझ दुर्गा पूजा पण्डालमा भागदौड हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका पनि रहेका छन् । घटनामा २५ जना घाइते भएको विवरणमा उल्लेख छ ।

कोलकाताको चोरबागान दुर्गा पूजा पण्डालमा भएको घटनामा कोलकाता मेडिकल कलेजका स्रोतले भने २० जनाको मृत्यु र ४५ जनाभन्दा बढी घाइते भएको दाबी गरेका छन् । मृतक तथा घाइतेको सङ्ख्याबारे फरक विवरण सार्वजनिक भएका छन् ।

कोलकाता प्रहरीका अनुसार शनिबार साँझ वर्षा भएपछि पानीबाट जोगिन धेरै मानिस पण्डालभित्र बसेका थिए । साँझ बाहिर रहेका मानिसले पनि भित्र प्रवेश गर्न खोजेपछि धकेलाधकेल भएको थियो । त्यसपछि भागदौड मच्चिएको बताइएको छ ।

घटनापछि पण्डालका बत्ती निभाएर मानिसको प्रवेश रोकिएको थियो । सुरक्षाका कारण सहरका अन्य केही दुर्गा पूजा पण्डालसमेत बन्द गराइएको विवरणमा उल्लेख छ ।

कोलकातामा दुर्गा पूजा मनाउन करिब ३ हजार ५०० पण्डाल निर्माण गरिएको छ ।    एभरेष्ट न्यूज एजेन्सी,

 

रौतहट । रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित मौलापुर–शीतलपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आइतबार बिहान करिब १ बजे मौलापुरबाट शीतलपुरतर्फ जाँदै गरेको बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । मोटरसाइकलमा तीन जना सवार थिए ।

दुर्घटनामा मोटरसाइकल चालक फतुवा विजयपुर नगरपालिका–२ शीतलपुरका ५३ वर्षीय त्रिविक्रम ठाकुर, उनकी करिब ७० वर्षीया आमा सोमरिया देवी ठाकुर र करिब २८ वर्षीया बुहारी सीमा कुमारी ठाकुर घाइते भएका थिए ।

तीनै जनालाई उपचारका लागि बाराको कलैयास्थित राजलक्ष्मी अस्पताल लगिएको थियो । उपचारका क्रममा आइतबार बिहान ५ बजे सोमरिया देवी ठाकुरको मृत्यु भएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा ३ जना तथा लुम्बिनी प्रदेश एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा २५७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४३ जना घाइते भएका छन् भने कोशीमा ६६ जना, काठमाडौँ उपत्यकामा २९ जना, सुदूरपश्चिममा २१ जना, बागमतीमा २० जना घाइते भएका छन् भने लुम्बिनीमा ६० जना, कर्णालीमा १० जना र गण्डकीमा ८ जना घाइते भएका छन् ।  एभरेष्ट न्यूज एजेन्सी,

चितवन । चितवनको राप्ती नगरपालिका–२ सिमरा चोकमा यात्रुवाहक बस अनियन्त्रित भई नालीमा पल्टिँदा १० जना घाइते भएका छन् ।

आइतबार बिहान करिब १०ः४५ बजे भरतपुरबाट हेटौँडा हुँदै राजविराजतर्फ जाँदै गरेको बा ४ ख ७३९० नम्बरको बस सडक छेउको नालीमा पल्टिएको हो ।

बसमा सवार करिब २३ जनामध्ये १० जना घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजन पौडेलको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको थियो ।

बस चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीका करिब ४६ वर्षीय नवराज कार्की प्रहरी नियन्त्रणमा छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ । देश बाढीपहिरोका कारण शोकमा रहेकाले कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार भोटेकोशीमा आएको बाढीले १ हजार ४०० भन्दा बढीको मृत्यु र ५ हजारभन्दा बढी बेपत्ता भएको तथा बूढीगण्डकीमा आएको बाढीले समेत जनधनको क्षति पुर्‍याएकोले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान स्थगित गरिएको हो ।

बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएपछि २०३४ सालको कोजाग्रत पूर्णिमामा शुभकामना आदानप्रदान र आपसी सौहार्दता अभिवृद्धि गर्ने उद्देश्यले चियापान समारोह सुरु गरेका थिए । त्यसयता केही वर्षबाहेक कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो ।

कांग्रेस सभापति गगनकुमार थापाले शोकको घडीमा चाडपर्व मनाउँदा भड्किलो शैली अपनाउनुको सट्टा शान्त र संयमित भएर परिवारमा सीमित रही मनाउन आग्रह गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी,

रौतहट । रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित मौलापुर–शीतलपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आइतबार बिहान करिब १ बजे मौलापुरबाट शीतलपुरतर्फ जाँदै गरेको बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । मोटरसाइकलमा तीन जना सवार थिए ।

दुर्घटनामा मोटरसाइकल चालक फतुवा विजयपुर नगरपालिका–२ शीतलपुरका ५३ वर्षीय त्रिविक्रम ठाकुर, उनकी करिब ७० वर्षीया आमा सोमरिया देवी ठाकुर र करिब २८ वर्षीया बुहारी सीमा कुमारी ठाकुर घाइते भएका थिए ।

तीनै जनालाई उपचारका लागि बाराको कलैयास्थित राजलक्ष्मी अस्पताल लगिएको थियो । उपचारका क्रममा आइतबार बिहान ५ बजे सोमरिया देवी ठाकुरको मृत्यु भएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।