२०८३ मंसिर ११
२०८३ मंसिर ११

काठमाडौँ । रुसका तेल प्रशोधन केन्द्र र निर्यात संरचनामाथि युक्रेनले लगातार ड्रोन आक्रमण गरेपछि विश्व बजारमा डिजेलको आपूर्ति प्रभावित भएको छ । मध्यपूर्वमा जारी द्वन्द्वले पनि इन्धन आपूर्तिमा दबाब बढाएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा डिजेलको उपलब्धता घट्ने र मूल्य उच्च रहने जोखिम बढाएको छ ।

रिपोर्ट अनुसार, रुसको डिजेल निर्यात गत वर्षको तुलनामा यस वर्ष सेप्टेम्बरमा करिब ७७ प्रतिशत घटेको छ। व्यापारसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने केप्लरका अनुसार रुसको डिजेल निर्यात घटेर दैनिक करिब १ लाख ४१ हजार ब्यारेलमा सीमित भएको छ । गत वर्ष सेप्टेम्बरमा यो मात्रा दैनिक ६ लाख ८ हजार ब्यारेल थियो ।

युक्रेनले रुसी तेल भण्डारण केन्द्र, प्रशोधन कारखाना र निर्यात संरचनालाई लक्षित गर्दै आक्रमण तीव्र बनाएको छ । पछिल्ला आक्रमणमा सेन्ट पिटर्सबर्गस्थित तेल निर्यात केन्द्रमा समेत आगलागी भएको खबर सार्वजनिक भएको छ। युक्रेनले रुसभित्र टाढा रहेका तेल प्रशोधन केन्द्रलाई पनि निशाना बनाउन थालेपछि क्षतिको प्रभाव बढेको छ ।

तेल प्रशोधन केन्द्रमा रहेका जटिल उपकरणमा क्षति पुग्दा मर्मत गर्न महिनौँ लाग्न सक्ने विज्ञहरूले बताएका छन् । प्रतिबन्ध र आपूर्ति शृङ्खलासम्बन्धी समस्याका कारण आवश्यक उपकरण छिटो उपलब्ध गराउन कठिन हुने भएकाले रुसी तेल उत्पादन र निर्यातमा लामो समयसम्म असर पर्न सक्ने देखिएको छ ।

मध्यपूर्वको द्वन्द्वले पनि विश्व बजारमा डिजेलको आपूर्ति घटाएको छ । होर्मुज जलडमरूमध्यबाट हुने डिजेल निर्यातमा कमी आएपछि रुस र मध्यपूर्व दुवैतर्फबाट विश्व बजारमा पुग्ने डिजेलको मात्रा घटेको छ ।  अमेरिकामा समेत डिजेलको औसत मूल्य बढेको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले डिजेल आपूर्तिमा देखिएको दबाब सन् २०२७ सम्म कायम रहन सक्ने चेतावनी दिएको छ । अमेरिकी तेल प्रशोधन केन्द्रहरू उच्च क्षमतामा सञ्चालन भइरहेकाले उत्पादन बढाएर विश्व बजारको अभाव पूर्ति गर्न पनि कठिन हुन सक्छ ।

डिजेलको आपूर्ति निरन्तर घटेमा मालसामान ढुवानी, कृषि, उद्योग र उत्पादन लागतमा असर पर्ने जोखिम छ । नेपाललगायत आयातमा निर्भर देशमा यसको प्रभाव कति पर्छ भन्ने कुरा अन्तर्राष्ट्रिय मूल्य, आयात लागत, घरेलु आपूर्ति र सरकारी नीतिमा निर्भर हुनेछ । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।

विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा दसैँ मनाइने उल्लेख गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् ।

प्रधानमन्त्री शाहले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने बताएका छन् । उनले भनेका छन्, ‘आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ ।’

परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्नुपर्ने उल्लेख गर्दै उनले इमानदार प्रयास, अठोट र सामूहिक मेहनतबाट विकृति हटाउन सकिने बताएका छन् ।

प्रधानमन्त्री शाहले विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताबद्ध बनाउने तथा टाढिएका आफन्त र साथीभाइसँग आत्मीयता साट्ने अवसर प्रदान गर्ने बताएका छन् ।

उनले सबैलाई आआफ्नो क्षमताअनुसार दसैँ मनाउँदै आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न पनि आग्रह गरेका छन् । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपत्ति र शोकबीच मनाउन लागिएको बडादसैँले नेपाली समाजलाई अझ सुदृढ र एकताबद्ध बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

विजयादशमी, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् ।

उनले यस वर्षको दसैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । विपत्तिका कारण हजारौँ परिवार घरबारविहीन र विस्थापित हुनुपरेको उनले बताएका छन् ।

लामिछानेले भनेका छन्, ‘सङ्कटको यस संवेदनशील परिस्थितिमा मलाई विश्वास छ विजयादशमीको यस महान् पर्वले हामी सबैमा सकारात्मक ऊर्जाको सञ्चार गर्दै सिङ्गो नेपाली समाजलाई विगतभन्दा अझ सुदृढ र अभूतपूर्व एकताको सूत्रमा बाँध्न सफल हुनेछ ।’

नवदुर्गा भवानीले सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति, सद्बुद्धि र सङ्कटसँग जुध्ने साहस प्रदान गरून् भन्ने कामना गर्दै उनले असत्यमाथि सत्यको विजयको पर्वले निराशाबाट आशा र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । इरानले आफ्नो एक ग्राम पनि प्रशोधित युरेनियम अर्को देशमा नपठाउने स्पष्ट पारेको छ ।

अमेरिकाले विश्वास दिलाउने ठोस कदम नचालेसम्म र इरानका सबै सर्त पूरा नगरेसम्म वार्ता पनि नहुने इरानी अधिकारीहरूले बताएका छन् । इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिकाले विश्वास जित्ने कदम चाल्नुपर्ने र इरानका सर्त स्वीकार गर्नुपर्ने बताएका हुन् ।

इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले पनि अमेरिकाले इरानका सात सर्त पूरा नगरेसम्म विश्वास जित्न नसक्ने बताएका छन् । ती सर्तहरूमा इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नाकाबन्दी अन्त्य गर्ने, तेल निर्यातमाथिका प्रतिबन्ध हटाउने र क्षेत्रका सबै मोर्चामा युद्ध रोक्ने माग समावेश छन् ।

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले पनि आणविक हतियार बनाउन आवश्यक स्तरको नजिक पुगेको प्रशोधित युरेनियम देशबाहिर पठाउन नहुने बताउँदै आएका छन् ।

इरानको आणविक कार्यक्रम अमेरिका र इरानबीच सहमति कायम गर्ने प्रमुख बाधक बनेको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यसै महिनाको सुरुवातमा इरानले युरेनियम प्रशोधन गर्ने क्षमतामा ठोस कटौती गर्नुपर्ने बताएका थिए । उनका अनुसार अमेरिका र इरानबीच आठ महिनादेखि जारी युद्ध अन्त्य गर्न पनि यो आवश्यक छ ।

प्रशोधित युरेनियममा एक प्रकारको आणविक कणको मात्रा बढाइएको हुन्छ । यसको प्रयोग आणविक ऊर्जा उत्पादनका साथै आणविक हतियार निर्माणमा पनि हुन सक्छ । अमेरिका, इजरायल र केही पश्चिमी देशले इरानले आणविक हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका छन् ।

इरानले युरेनियमलाई ६० प्रतिशतसम्म प्रशोधन गरिसकेको विषय उनीहरूको चिन्ताको प्रमुख कारण हो । सामान्य नागरिक प्रयोजनका लागि आणविक ऊर्जा उत्पादन गर्दा यति उच्च स्तरको प्रशोधन आवश्यक पर्दैन भने आणविक हतियारमा प्रयोग हुने युरेनियमको प्रशोधन स्तर करिब ९० प्रतिशत हुन्छ। इरानले भने आणविक हतियार बनाउन खोजेको आरोप अस्वीकार गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर १५ मा दिएको अन्तर्वार्तामा इरानलाई आणविक हतियार प्राप्त गर्न नदिने बताएका थिए । ट्रम्पले इरानसँग कहिल्यै आणविक हतियार नहोस् भन्ने सुनिश्चित गर्न अमेरिका चाहेको बताएका छन् । इरानले आणविक हतियार प्राप्त गरे त्यसको प्रयोग गर्न सक्ने उनको दाबी थियो । ट्रम्पले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित पहाडमुनि रहेको केन्द्रलाई निशाना बनाउनुपर्ने सम्भावना पनि औँल्याएका छन् । यद्यपि, उनले इरानविरुद्धको युद्धमा अमेरिकाले आणविक बम प्रयोग नगर्ने स्पष्ट पारेका छन् । एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौँ । भारतको जियो प्लेटफर्म्स लिमिटेडले आज (अक्टोबर २१) देखि हालसम्मकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुलाउँदै छ ।

यसमार्फत कम्पनीले ३० हजार १८८ करोड भारतीय रुपैयाँ जुटाउने लक्ष्य राखेको छ। निष्कासनमा अक्टोबर २३ सम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता १ हजार ६५ देखि १ हजार ११९ भारतीय रुपैयाँ मूल्य तोकेको छ । सर्वसाधारण लगानीकर्ताले न्यूनतम १२ कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम मूल्यका आधारमा न्यूनतम १३ हजार ४२८ भारतीय रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ ।

ग्रे मार्केटमा देखिएको मूल्यका आधारमा कम्पनीको सेयर सूचीकृत हुँदा करिब २२ प्रतिशतसम्म प्रतिफल प्राप्त हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, ग्रे मार्केटको मूल्य अनौपचारिक हुने भएकाले वास्तविक सूचीकृत मूल्य फरक पर्न सक्छ र प्रतिफल सुनिश्चित हुँदैन ।

कम्पनीले कर्मचारीका लागि ५०० करोड भारतीय रुपैयाँसम्म र रिलायन्स इन्डस्ट्रिजका योग्य सेयरधनीका लागि २ हजार ५०० करोड रुपैयाँसम्मका सेयर छुट्याएको छ। कर्मचारीले प्रतिकित्ता ५४ भारतीय रुपैयाँ छुटसमेत पाउनेछन् ।

कुल निष्कासनमध्ये ५० प्रतिशत योग्य संस्थागत लगानीकर्ता, १५ प्रतिशत गैरसंस्थागत लगानीकर्ता र ३५ प्रतिशत सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ ।

आईपीओबाट प्राप्त रकम रिलायन्स जियो इन्फोकम लिमिटेडको ऋण भुक्तानी तथा सामान्य व्यावसायिक प्रयोजनमा प्रयोग गरिने कम्पनीले जनाएको छ। निष्कासनपछि प्रवर्द्धक समूहको सेयर स्वामित्व ६६.४३ प्रतिशतबाट घटेर ६४.४८ प्रतिशतमा झर्नेछ ।

यसअघि सन् २०२४ मा हुन्डाई मोटर इन्डियाले २७ हजार ८५८ करोड भारतीय रुपैयाँको आईपीओ ल्याएको थियो। जियोको निष्कासन त्यसलाई उछिन्दै भारतकै सबैभन्दा ठूलो हुने दाबी गरिएको छ।

जियो प्लेटफर्म्स भारतको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी हो। सन् २०२६ जुन ३० सम्म कम्पनीका कुल ग्राहक ५३ करोड ३० लाख पुगेका थिए। तीमध्ये २८ करोड ४९ लाख ग्राहक पाँचौँ पुस्ताको दूरसञ्चार सेवा प्रयोग गर्ने रहेका छन् ।

कम्पनीले आईपीओ खुल्नुअघि २१२ संस्थागत लगानीकर्ताबाट ८ हजार ११० करोड भारतीय रुपैयाँ जुटाएको जनाएको छ। भारतीय धितोपत्र तथा विनिमय बोर्डबाट अगस्टमा आवश्यक स्वीकृति पाएपछि कम्पनीले अक्टोबर १४ मा निष्कासनसम्बन्धी विवरणपत्र दर्ता गरेको थियो । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा नवकन्याको विधिपूर्वक पूजार्चना गरेका छन् ।

बडादसैँका अवसरमा मंगलबार राष्ट्रपति पौडेलले परम्पराअनुसार ९ जना कन्याको पूजार्चना गरेका हुन् ।

नवरात्रमा नवदुर्गाका प्रतीकका रूपमा नौ जना कन्याको पूजार्चना गर्ने परम्परा छ । दुर्गा भगवतीका शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नौ स्वरूपको पूजा गरिन्छ ।

राष्ट्रपति पौडेलले नौ जना कन्याका गोडा धोएर टीका लगाइदिनुका साथै उपहारसमेत प्रदान गरेका थिए । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक बिनोदकुमार दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृत (चिफ अपरेटिंग अफिसर) मा नियुक्त भएका छन् । मलेसियाली क्रिकेट सङ्घले मंगलबार उनको नियुक्ति घोषणा गरेको हो ।

करिब ३० वर्षको क्रिकेट अनुभव भएका दासले नेपाली राष्ट्रिय टोलीको कप्तान, प्रशिक्षक तथा क्रिकेट प्रशासकका रूपमा काम गरिसकेका छन्। उनी अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का प्रशिक्षक प्रशिक्षकसमेत हुन् ।

मलेसियाली क्रिकेट सङ्घमा आबद्ध हुनुअघि उनी नेपाल क्रिकेट सङ्घमा क्रिकेट सञ्चालन व्यवस्थापकका रूपमा कार्यरत थिए । उनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् र एसियाली क्रिकेट परिषद्का विभिन्न प्रतियोगितामा प्रतियोगिता निर्देशकको जिम्मेवारीसमेत सम्हालेका थिए ।

नेपाली महिला राष्ट्रिय टोली र पुरुष १९ वर्षमुनिको टोलीका पूर्वप्रशिक्षकसमेत रहेका दासले मलेसियाली क्रिकेटको उच्च प्रदर्शन, राष्ट्रिय टोलीको सुदृढीकरण र अन्तर्राष्ट्रिय वरीयता सुधारमा काम गर्नेछन् । मलेसियाली क्रिकेट सङ्घका अध्यक्ष महिन्दा वल्लिपुरमले दासको अन्तर्राष्ट्रिय अनुभव र प्राविधिक ज्ञानले मलेसियाली क्रिकेटको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौँ । क्यानडाको तेलसम्पन्न प्रान्त अल्बर्टाका ७६ प्रतिशत मतदाताले क्यानडासँगै रहने पक्षमा मत दिएका छन् । प्रान्तलाई क्यानडाबाट अलग गर्ने प्रक्रियातर्फ अघि बढाउने प्रस्तावलाई उनीहरूले अस्वीकार गरेका हुन् ।

१० लाखभन्दा बढी मत गणना हुँदा करिब ७६ प्रतिशतले क्यानडासँगै रहने पक्षमा र २३ प्रतिशतले अलग हुने विषयमा बाध्यकारी जनमतसङ्ग्रह गराउने प्रक्रिया सुरु गर्ने पक्षमा मत दिएका थिए ।

यो मतदान क्यानडाबाट स्वतन्त्र हुने विषयमा प्रत्यक्ष जनमतसङ्ग्रह भने थिएन । प्रस्ताव पारित भएको भए भविष्यमा अलग हुने वा नहुने विषयमा जनमतसङ्ग्रह गराउने प्रक्रिया अघि बढ्न सक्थ्यो ।

अल्बर्टामा विश्वको चौथो ठूलो तेल भण्डार रहेको छ। यो प्रान्त क्यानडाको सङ्घीय सरकारप्रति असन्तुष्टि राख्ने र परम्परागत रूपमा रूढिवादी राजनीतिक प्रभाव भएको क्षेत्रका रूपमा चिनिन्छ । तर, विगतमा त्यस्तो असन्तुष्टि स्वतन्त्रताका लागि व्यापक समर्थनमा परिणत भएको थिएन ।

मतदानमा आप्रवासन र संवैधानिक परिवर्तनसम्बन्धी अन्य नौ प्रश्न पनि समावेश थिए । क्यानडाको सार्वजनिक प्रसारण संस्था सीबीसीका अनुसार मतदानका सबै १० प्रश्न गैरबाध्यकारी थिए । त्यसैले प्राप्त नतिजाअनुसार प्रान्तीय सरकारले कानुनी रूपमा निर्णय कार्यान्वयन गर्नुपर्ने बाध्यता छैन । एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले दशैँको अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि २ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ ।

दशैँको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधनहरू अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकहरूलाई आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल, नेपालद्वारा यो निःशुल्क बस सेवा सञ्चालन गरिएको हो ।

सशस्त्र प्रहरी बल, नेपालले उपत्यकाभित्र सञ्चालन गर्ने सो निःशुल्क बस सेवा आजबाट लगातार ३ दिन , बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ । काठमाडौँ उपत्यकामा सञ्चालन गरिने बसहरूमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर,नयाँ बसपार्क,हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।

दशैँको समयमा सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै नागरिकलाई सहज यात्राको सुविधा दिलाउन सशस्त्र प्रहरी बल, नेपालले निरन्तर निःशुल्क बसको सेवा सञ्चालन गर्दै आइरहेको छ । एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, महँगी र सार्वजनिक सेवाको अवस्थालाई लिएर भएका प्रदर्शन हिंसात्मक बनेपछि पेरिससहित विभिन्न सहरमा रात्रीकालीन कर्फ्यु लगाइएको छ ।

पेरिसको प्लास द ला रिपुब्लिक र लेस आल क्षेत्रमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागू गरिएको छ। मार्से, बोर्डो, निस र लियोनसहितका सहरमा पनि आंशिक कर्फ्यु लगाइएको छ ।

प्रदर्शनका क्रममा २ हजार ५०० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् भने करिब १ हजार सुरक्षाकर्मी घाइते भएका छन् । दङ्गाका क्रममा पसल, सवारीसाधन र भवनमा आगजनी तथा लुटपाट भएको छ ।

फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले क्षतिग्रस्त क्षेत्रको पुनर्निर्माणका लागि सहयोग उपलब्ध गराउने र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेबाट त्यसको खर्च असुल्ने बताएका छन् ।

फ्रान्सका वाणिज्य तथा उद्योगसम्बन्धी संस्थाका अनुसार हिंसाका कारण २ हजारभन्दा बढी पसल तथा व्यवसाय प्रभावित भएका छन् । क्षतिको रकम करोडौँ युरो पुग्न सक्ने अनुमान गरिएको छ । एभरेष्ट न्यूज एजेन्सी,

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।