काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
त्यस्तै आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । एभरेष्ट न्यूज एजेन्सी,
आजको राशिफल बिस २०८३ कार्तिक ७ गते शनिबार ईस २०२६ अक्टोबर २४ नेपाल सम्बत ११४६ कौलाथ्व चतुर्दशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल पक्ष चतुर्दशी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्रपदा नक्षत्र, व्याघात योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ०९ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कामको चाप बढ्न सक्छ, तर प्राथमिकता छुट्याएर अघि बढ्दा महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ। व्यापारमा नयाँ निर्णय लिनुअघि सम्भावित लाभ र जोखिम दुवैको मूल्याङ्कन गर्नुहोला। आर्थिक रूपमा पुरानो दायित्व पूरा गर्नुपर्ने अवस्था आउन सक्छ। परिवारका सदस्यसँग समय बिताउँदा आपसी समझदारी बढ्नेछ। प्रेम सम्बन्धमा आवेगमा प्रतिक्रिया दिनुभन्दा शान्त संवाद गर्नु उचित हुनेछ। अनावश्यक थकानबाट बच्न काम र विश्रामबीच सन्तुलन राख्नुहोला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज धैर्य र व्यावहारिक सोचले अप्ठ्यारा विषय समाधान गर्न सहयोग पुर्याउनेछ। कार्यक्षेत्रमा रोकिएका कामलाई पुनः अघि बढाउने अवसर मिल्न सक्छ। व्यवसायमा ग्राहकको विश्वास जित्न गुणस्तर र व्यवहारमा ध्यान दिनुहोला। खर्चको विवरण पुनरावलोकन गर्दा बचत बढाउने उपाय भेटिन सक्छ। परिवारमा कुनै निर्णयमा सहमति जुटाउन समय लागे पनि संवादबाट समाधान सम्भव छ। दाम्पत्य जीवनमा एकअर्काको जिम्मेवारी बुझ्दा सम्बन्ध सहज हुनेछ। दैनिक खानपान र आराममा नियमितता कायम राख्नुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज नयाँ जानकारी र पुराना अनुभवलाई जोडेर उपयोगी निर्णय लिन सकिनेछ। अध्ययन, लेखन तथा सञ्चारसम्बन्धी काममा प्रगति हुने सम्भावना छ। कार्यक्षेत्रमा आफ्नो विचार प्रस्तुत गर्दा तथ्य र तर्कलाई आधार बनाउनुहोला। व्यापारमा नयाँ सम्पर्क स्थापित हुन सक्छ, तर मौखिक आश्वासनका भरमा आर्थिक प्रतिबद्धता नगर्नु उचित हुनेछ। साथीभाइसँगको कुराकानीले नयाँ सम्भावनाबारे सोच्न प्रेरित गर्न सक्छ। प्रेम सम्बन्धमा पुरानो असमझदारी हटाउने अवसर मिल्नेछ। धेरै विषयमा एकैपटक ध्यान दिनुभन्दा एउटा काम पूरा गरेर अर्कोमा लाग्नु राम्रो हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज घरपरिवार र व्यक्तिगत जिम्मेवारीबीच तालमेल मिलाउनुपर्नेछ। काममा अरूको सहयोग लिन सकिए पनि अन्तिम निर्णयअघि सबै पक्ष बुझ्नुहोला। व्यापारमा आम्दानीको अवस्थाअनुसार खर्च मिलाउनु आवश्यक छ। घरायसी आवश्यकता वा परिवारको योजनामा केही रकम छुट्याउनुपर्ने हुन सक्छ। भावनात्मक विषयमा संवेदनशीलता बढ्न सक्ने भएकाले अरूको व्यवहारलाई हतारमा गलत अर्थ नलगाउनुहोला। प्रिय व्यक्तिसँगको आत्मीय संवादले मन हलुका बनाउनेछ। आफूलाई अनावश्यक दबाब नदिई आवश्यक विश्राम लिनुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नेतृत्व र जिम्मेवारी निर्वाह गर्ने क्षमताको परीक्षा हुन सक्छ। कार्यक्षेत्रमा नयाँ योजना अघि बढाउने अवसर प्राप्त भए त्यसको व्यावहारिक पक्ष स्पष्ट पार्नुहोला। सहकर्मीको सुझाव स्वीकार गर्दा काम अझ प्रभावकारी बन्न सक्छ। व्यापारमा प्रतिस्पर्धा भए पनि रणनीति र सेवाको गुणस्तरमा ध्यान दिए लाभ लिन सकिनेछ। आर्थिक लाभको आशामा अनावश्यक खर्च नगर्नुहोला। परिवारमा आफ्नो विचार राख्दा अरूको आवश्यकतालाई पनि स्थान दिनु उचित हुनेछ। प्रेम सम्बन्धमा प्रशंसा र सम्मानले आत्मीयता बढाउनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज व्यवस्थित कार्यशैलीले समय र स्रोतको सदुपयोग गर्न मद्दत गर्नेछ। हिसाबकिताब मिलाउने, कागजात जाँच्ने र अधुरा काम पूरा गर्ने विषयमा प्रगति हुन सक्छ। कार्यालयमा सानो त्रुटिसमेत बेवास्ता नगर्नुहोला। व्यापारमा खर्च घटाउने र कामको गुणस्तर सुधार्ने उपाय उपयोगी बन्न सक्छ। आर्थिक कारोबारमा प्रमाण सुरक्षित राख्नु उचित हुनेछ। परिवारमा व्यावहारिक विषयमा तपाईंको सुझाव महत्त्वपूर्ण बन्न सक्छ। प्रेम सम्बन्धमा अत्यधिक अपेक्षा राख्नुभन्दा एकअर्काको परिस्थिति बुझ्नुहोला। निरन्तर काम गर्दा थकान बढे विश्राम लिनु आवश्यक छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सहकार्य र सन्तुलित व्यवहारले जटिल विषयलाई सहज बनाउन सक्छ। कार्यक्षेत्रमा साझेदार वा सहकर्मीसँग जिम्मेवारी बाँडेर काम गर्दा राम्रो परिणाम आउने सम्भावना छ। व्यापार विस्तारको सोच बनाइरहनुभएको छ भने बजारको अवस्था र आवश्यक लागत बुझ्नुहोला। आर्थिक निर्णयमा भावनाभन्दा तथ्यलाई प्राथमिकता दिनु उचित हुनेछ। परिवारमा दुई पक्षबीच असमझदारी भए समाधान खोज्न तपाईंको भूमिका महत्त्वपूर्ण बन्न सक्छ। प्रेम सम्बन्धमा विश्वास कायम राख्न स्पष्ट संवाद आवश्यक हुनेछ। व्यक्तिगत योजनालाई पनि समय दिनुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज दृढ इच्छाशक्ति र धैर्यले कठिन जिम्मेवारी पूरा गर्न सहयोग पुर्याउनेछ। कार्यक्षेत्रमा प्रतिस्पर्धात्मक अवस्था देखिए पनि आफ्नो लक्ष्यमा केन्द्रित रहनुहोला। आर्थिक कारोबार, ऋण वा लगानीसम्बन्धी निर्णय गर्दा आवश्यक कागजात र सर्त ध्यानपूर्वक जाँच्नु आवश्यक छ। व्यापारमा तत्काल लाभको लोभमा जोखिम नलिनुहोला। परिवारमा मनमा दबिएका कुरा खुलेर राख्दा सम्बन्धमा सहजता आउन सक्छ। प्रेम जीवनमा शंका बढाउनेभन्दा विश्वास बलियो बनाउने प्रयास गर्नु उचित हुनेछ। बाहिरी काम गर्दा समय र सुरक्षामा ध्यान दिनुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज अनुभवबाट सिक्ने र भविष्यका लागि ठोस योजना बनाउने अवसर मिल्न सक्छ। अध्ययन, तालिम वा नयाँ सीप हासिल गर्ने विषयमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी स्वीकार गर्नुअघि त्यसका लागि आवश्यक तयारी गर्नुहोला। व्यापारमा विस्तारको सम्भावना खोज्न सकिए पनि स्रोत र जनशक्तिको मूल्याङ्कन आवश्यक छ। आर्थिक पक्षमा नियमित बचतको बानीले भविष्यको दबाब कम गर्न सक्छ। परिवारसँग भविष्यका योजनाबारे छलफल गर्दा उपयोगी सुझाव प्राप्त हुन सक्छ। प्रेम सम्बन्धमा साझा लक्ष्यले आपसी समझदारी बढाउनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज अनुशासन र निरन्तर मेहनतले काममा आधार बलियो बनाउनेछ। केही काम ढिलो हुन सक्छन्, तर हतारमा निर्णय लिनुभन्दा क्रमबद्ध रूपमा अघि बढ्नुहोला। पुरानो भुक्तानी, आर्थिक हिसाब वा बाँकी जिम्मेवारी पूरा गर्ने अवसर मिल्न सक्छ। व्यवसायमा नयाँ खर्च थप्नुअघि उपलब्ध स्रोतको समीक्षा गर्नु उचित हुनेछ। परिवारको सहयोगले मानसिक दबाब कम हुन सक्छ। प्रेम सम्बन्धमा कामको व्यस्तताबीच पनि आत्मीयता कायम राख्न समय छुट्याउनुहोला। पर्याप्त आराम र नियमित दिनचर्यामा ध्यान दिनुहोस् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज नयाँ विचारलाई व्यवहारमा उतार्ने योजना बनाउन सकिनेछ। सामूहिक काम, सिर्जनात्मक गतिविधि वा नयाँ सीपसँग सम्बन्धित विषयमा अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा फरक दृष्टिकोण प्रस्तुत गर्दा त्यसलाई कार्यान्वयन गर्ने आधार पनि देखाउनुहोला। आर्थिक लाभको सम्भावना खोज्दा प्रस्तावको विश्वसनीयता जाँच्नु आवश्यक छ। परिवारमा आफ्नो स्वतन्त्रता र साझा जिम्मेवारीबीच सन्तुलन राख्नुहोला। प्रेम सम्बन्धमा एकअर्काको विचार सुन्ने बानीले सम्बन्ध बलियो बनाउनेछ। हतारमा धेरै प्रतिबद्धता नलिनु राम्रो हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)
आज संवेदनशीलता र कल्पनाशीलताले व्यक्तिगत तथा सिर्जनात्मक काममा सहयोग पुर्याउन सक्छ। कार्यक्षेत्रमा नयाँ उपाय सोच्न सकिए पनि कार्यान्वयनअघि व्यावहारिक पक्षको समीक्षा गर्नुहोला। आर्थिक रूपमा भावनामा आएर खर्च गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्नु उचित हुनेछ। परिवारका सदस्यको आवश्यकता बुझेर सहयोग गर्दा सम्बन्धमा आत्मीयता बढ्नेछ। अरूको समस्या समाधान गर्न लाग्दा आफ्ना जिम्मेवारीलाई बेवास्ता नगर्नुहोला। प्रेम सम्बन्धमा मनका कुरा स्पष्ट राख्दा अन्योल हट्न सक्छ। मानसिक शान्तिका लागि मनपर्ने काममा केही समय बिताउनुहोला । एभरेष्ट न्यूज एजेन्सी,
एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा आयोजित एनडीटिभी विश्व शिखर सम्मेलन २०२६ मा भारत–नेपाल सहकार्यबाट समृद्धि हासिल गर्ने विषयमा सम्बोधन गरेका छन् ।
नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित सम्मेलनमा अर्थमन्त्री वाग्लेले ‘निकटतामार्फत समृद्धि : भारत–नेपाल अवसर’ विषयक विशेष सत्रमा अतिथि वक्ताका रूपमा सम्बोधन गरेका हुन् ।
वाग्लेले नेपालमा विपद्का बेला भारतले गरेको सहयोगको प्रशंसा गर्दै विपद् व्यवस्थापन, पोषण र स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा द्विपक्षीय तथा क्षेत्रीय सहकार्यलाई संस्थागत गर्नुपर्ने बताएका छन् । वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग प्रत्यक्ष संवाद गर्दै नेपाल–भारत सम्बन्ध र दक्षिण एसियाका साझा हितबारे छलफल गरेका थिए ।
संवादका क्रममा वाग्लेले नेपालमा हालै रसुवाको भोटेकोशी क्षेत्रमा आएको जलवायु परिवर्तनबाट प्रभावित विपद् तथा सन् २०१५ को भूकम्पका बेला भारतले गरेको सहयोगको स्मरण गरे । उनले दुवै घटनामा विपद् आएको केही घण्टाभित्रै भारतले सहयोग उपलब्ध गराएको उल्लेख गर्दै नेपाल भारतप्रति आभारी रहेको बताए ।
‘नेपालको मन्त्रीका रूपमा म भन्न सक्छु, रसुवा भोटेकोशीको हालैको विपद् र सन् २०१५ को भूकम्पमा भारतबाट असाधारण सहयोग प्राप्त भएको थियो। दुवै घटनामा विपद् आएको केही घण्टाभित्रै भारत सहयोगका लागि उपस्थित भएको थियो,’ वाग्लेले भने ।
उनले विपद् प्रतिकार्य, पोषण र स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा भारत र नेपालबीच मात्र नभई त्रिपक्षीय तथा उपक्षेत्रीय तहमा समेत सहकार्यलाई संस्थागत गर्न सकिने सम्भावनाबारे प्रश्न उठाएका थिए ।
जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले सम्भव भएका क्षेत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनजस्ता औपचारिक संस्थागत संयन्त्रको महत्त्व रहेको बताए । तर, पछिल्लो समय समान सोच भएका देशबीच आवश्यकताअनुसार सहकार्य गर्ने र ठोस नतिजामा केन्द्रित हुने अभ्यास बढिरहेको उनको भनाइ थियो ।
यसअघि बिहीबार साँझ अर्थमन्त्री वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको सत्रमा सहभागिता जनाएका थिए । त्यसक्रममा उनले प्रधानमन्त्री मोदीसँग संक्षिप्त भेटघाट तथा कुराकानीसमेत गरेका थिए ।
उनी सम्मेलनमा सहभागी हुन बिहीबार नयाँदिल्ली पुगेका थिए ।
काठमाडौं । दक्षिण अफ्रिकाले दोस्रो टेस्टमा अस्ट्रेलियालाई एक इनिङ्स र ३१ रनले पराजित गरेको छ । योसँगै तीन खेलको टेस्ट शृङ्खला १–१ को बराबरीमा पुगेको छ । अस्ट्रेलिया तीन वर्षपछि पहिलो पटक इनिङ्स अन्तरले पराजित भएको हो ।
वर्षाका कारण खेलका पहिलो दुई दिन जम्मा ४३ ओभर मात्रै सम्भव भएको थियो । त्यसपछि दक्षिण अफ्रिकाले कप्तान टेम्बा बावुमाको १७९ रनको शतकीय पारीको मद्दतमा पहिलो इनिङ्स ९ विकेट गुमाएर ४२५ रनमा घोषित गरेको थियो। मार्को यानसनले ८५ र साइमन हार्मरले ८२ रन बनाए ।
जवाफमा अस्ट्रेलियाको पहिलो इनिङ्स ९९ रनमै समेटियो । स्टिभ स्मिथले सर्वाधिक २८ रन बनाए। दक्षिण अफ्रिकाका मार्को यानसनले पाँच विकेट लिए भने कागिसो रबाडा र वियान मुल्डरले दुई–दुई विकेट हात पारेका थिए ।
फलोअनमा परेको अस्ट्रेलियाले दोस्रो इनिङ्समा २९५ रन बनायो । ट्राभिस हेडले १२१ रनको शतकीय पारी खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। एलेक्स केरी ३७ रनमा अविजित रहे ।
दक्षिण अफ्रिकाका रबाडाले दोस्रो इनिङ्समा चार, मुल्डरले तीन र हार्मरले दुई विकेट लिए । रबाडा र यानसनले खेलमा कुल ६–६ विकेट लिएका थिए । अस्ट्रेलिया सन् २०२३ मा भारतसँग इनिङ्स अन्तरले पराजित भएयता पहिलो पटक यसरी हारेको हो । दोस्रो टेस्टमा दक्षिण अफ्रिकाको जितसँगै तीन खेलको शृङ्खला १-१ खेलको बराबरी भएको छ भने तेस्रो तथा निर्णायक खेल अक्टोबर २७ देखि केपटाउनमा हुने तालिका छ ।एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । चर्चित फ्रेन्चाइज फिल्म ‘कबड्डी’को पाँचौं श्रृंखलालाई ‘द फाइनल म्याच’ आजदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ ।
यो फिल्मको पहिलो दुई भागमा काजीले मैयाँलाई एकोहोरो प्रेम गरेका थिए भने त्यसपछिका दुई भागमा काजीको जीवनमा नयाँ सोल्टिनीहरू आएका थिए । अब भने ‘कबड्डी ५’मा काजी र मैयाँको मिलन भएको छ भने काजीको जीवनमा अवरोध खडा गर्न विपिन कार्कीको आगमन भएको ट्रेलरबाट बुझ्न सकिन्छ ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ राई, विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्तान, सुरज यादव, रमेश बज्राचार्य, ज्ञानु जोशीलगायतको अभिनय देख्न सकिनेछ ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ निर्मातामा छन् । सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन छ ।
यस फिल्मले नेपाली बक्स अफिसमा असोज ३० गतेदेखि प्रदर्शनमा आएको अ बाट आमा- २ र असोज ३१ गतेदेखि प्रदर्शनमा आएको छ माया छपक्कै- २ सँग प्रतिष्पर्धा गर्ने भएको छ ।एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी आज चीन जाने भएकी छन् । भण्डारी चाइना साउदर्न एयरलाइन्सबाट विहिबार अपरान्ह गोन्जाओ प्रस्थान गरेकी हुन् ।
भण्डारीले अक्टोबर २३ देखि २५ सम्म चीनको हेबेई प्रान्तस्थित सियोङआनमा आयोजना हुने ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
भण्डारीको साथमा डा. कैलाश कुमार भण्डारी र सोम राई जाँदैछन् । एमालेको वरिष्ठ नेता बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो ।
चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए) ले आयोजना गर्ने फोरममा विश्वका विभिन्न देशका राजनीतिक नेता, कूटनीतिज्ञ, व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ । एभरेष्ट न्यूज एजेन्सी,
सन्धिखर्क । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा बाबु-छोराको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दशैँको टीका लगाउन जादै गर्दा भूमिकास्थान नगरपालिका–८ का ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोरा विवेक आचार्यको दुर्घटनामा परी मृत्यु भएको हो ।
लम्चीबाट भूमिकास्थानको ढाकाबाङ टीका लगाउन जानेक्रममा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल भूमिकास्थान नगरपालिका–२ स्थित सडकबाट तल जंगलमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
रातिसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी कार्य थालेका थिए । खोजी गर्ने क्रममा बिहीबार बिहान सडकभन्दा तल जंगलमा उनीहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल पुरस्कारपछि लेखनका लागि पुलित्जर पुरस्कार नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
ट्रम्पले एक सभामा उनले रुससँग सम्बन्धित अनुसन्धानात्मक समाचारका लागि पुलित्जर पुरस्कार पाएका पत्रकारहरूको आलोचना गर्दै उनीहरूले गलत समाचार लेखेको आरोप लगाए ।
ट्रम्पले विभिन्न युद्ध रोक्न आफूले भूमिका खेलेको दाबी गर्दै नोबेल शान्ति पुरस्कार नपाएको विषयमा पनि असन्तुष्टि दोहोराएका थिए । उनले अहिलेसम्म १९ वटा पुस्तक लेखिसकेका छन् । सन् १९८७ मा प्रकाशित उनको पुस्तक ‘द आर्ट अफ द डिल’ चर्चित छ ।
ट्रम्पको दाबीपछि सामाजिक सञ्जालमा उनको लेखन क्षमतामाथि प्रश्न उठाउँदै प्रयोगकर्ताहरूले व्यङ्ग्य गरेका छन् । पुलित्जर पुरस्कार पत्रकारिता, पुस्तक, नाटक र सङ्गीतका क्षेत्रमा प्रदान गरिने प्रतिष्ठित सम्मान हो ।
सन् २०२६ को पुलित्जर पुरस्कारमा ट्रम्प प्रशासनका नीति र कामकारबाहीबारे समाचार लेखेका विभिन्न सञ्चारमाध्यम पनि सम्मानित भएका थिए। ‘द न्युयोर्क टाइम्स’, ‘द वासिङ्टन पोस्ट’, रोयटर्स र ‘द सिकागो ट्रिब्युन’ले ट्रम्प प्रशासनका निर्णय, निजी स्वार्थ र आप्रवासनसम्बन्धी कारबाहीका विषयमा गरेको रिपोर्टिङका लागि पुरस्कार पाएका थिए ।
यसअघि सन् २०१८ मा ‘द न्युयोर्क टाइम्स’ र ‘द वासिङ्टन पोस्ट’ले सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेप तथा ट्रम्पको चुनावी टोलीसँगको सम्बन्धबारे गरेको रिपोर्टिङका लागि पुलित्जर पुरस्कार पाएका थिए । ट्रम्पले ती समाचार गलत भएको भन्दै पुरस्कार फिर्ता लिन माग गरेका थिए ।
तर सन् २०२२ मा पुलित्जर पुरस्कार बोर्डले उनको माग अस्वीकार गरेको थियो । बोर्डले पुरस्कार पाएका समाचार पछि गलत प्रमाणित भएको देखाउने कुनै प्रमाण नभेटिएको जनाएको थियो । एभरेष्ट न्यूज एजेन्सी,
बाँके । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी हुँदा करिब एक करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
गएराती विद्युत् तारमा सर्ट सर्किट भएर ट्यांकीमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
दुई लाख लिटर क्षमताको उक्त ट्यांकीमा लागेको आगो नेपाल प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा बिहान करिब २: ३० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट मानवीय क्षति भने नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । भारतको दिल्ली प्रहरीको अपराध शाखाले ककरोच जनता पार्टी (सीजेपी) का नेता सौरभ दास, आशुतोष रांका र अजिंक्य शिन्देलाई अनुसन्धानका लागि बोलाएको छ ।
तिहाड जेलबाट रिहा भएपछि सौरभ दास र आशुतोष रांकालाई सोधपुछका लागि उपस्थित हुन सूचना जारी गरिएको र अजिंक्य शिन्देलाई पनि उपस्थित हुन समन पठाइएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
प्रहरीको अनुसन्धान सरकारी आदेशको कथित उल्लङ्घन र जन्तरमन्तर पुग्ने क्रममा अर्काको सम्पत्तिमा अनधिकृत प्रवेश गरेको आरोपसँग सम्बन्धित रहेको बताइएको छ ।
यसअघि सौरभ र आशुतोषलाई निषेधित क्षेत्र जन्तरमन्तरमा प्रदर्शन गर्न गएको भन्दै हिरासतमा लिएर तिहाड जेलमा राखिएको थियो । एभरेष्ट न्यूज एजेन्सी