काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज बुधबार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने जनाएको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भू-भागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
त्यस्तै, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबै भू-भागमा आंशिक बादल लाग्नेछ। देशको बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । एभरेष्ट न्यूज एजेन्सी,
रौतहट कार्तिक १५ गते
रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत लमाहा खोला पुल, चपुर–सुकदेव चोक–लौकाहा सडक खण्डको लौकाहा खोला पुल र महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नति आयोजनाको ठेक्का तोडिएको हो।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट काम अघि बढाउने निर्णय गरिएको जानकारी दिएका छन्।

मन्त्री लम्सालका अनुसार चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत लमाहा खोला पुल र चपुर–सुकदेव चोक–लौकाहा सडक खण्डको लौकाहा खोला पुल निर्माणको काम विगत १० वर्षदेखि अलपत्र थियो। पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन नसकेपछि दुवै पुलको ठेक्का सम्झौता अन्त्य गरिएको हो।

यी दुवै पुल निर्माणका लागि २०७३ चैत २१ गते पप्पु र शिवशंकर जेभी, गरुडा, रौतहटसँग सम्झौता भएको थियो। सम्झौताअनुसार आर्थिक वर्ष २०७५/७६ भित्रै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि पटक–पटक म्याद थप गर्दै अन्तिम समयसीमा २०८० असार ३० गतेसम्म पुर्याइएको थियो। तर, निर्धारित समयभित्र निर्माण सम्पन्न हुन सकेन।

पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयले लामो समयदेखि आवागमनमा सास्ती भोग्दै आएका छन्। अलपत्र आयोजनाको बाँकी काम नयाँ प्रक्रियाबाट सम्पन्न गर्ने निर्णयमा सरकार पुगेको मन्त्री लम्सालले बताएका छन्।

त्यस्तै, महेन्द्र राजमार्गको धनसार–बागमती खण्डमा सडक स्तरोन्नति तथा पुनर्स्थापनाका लागि गरिएको ठेक्का सम्झौता पनि तोडिएको छ। गत आर्थिक वर्षभित्रै सम्पन्न गर्नुपर्ने उक्त आयोजनामा भौतिक प्रगति शून्य देखिएपछि ठेक्का अन्त्य गर्ने निर्णय गरिएको मन्त्री लम्सालले जानकारी दिएका छन्।

सडक डिभिजन चन्द्रनिगाहपुरले पनि ठेक्का सम्झौता अन्त्य गरिएको सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको छ। सूचनाअनुसार लमाहा र लौकाहा खोला पुल निर्माणका लागि पप्पु/शिवशंकर जेभीसँग गरिएका दुईवटा ठेक्का तथा महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नतिसम्बन्धी ठेक्का सम्झौता अन्त्य गरिएको हो।

सरकारले देशभर रुग्ण अवस्थामा रहेका पूर्वाधार आयोजनाको निर्माण अघि बढाउन कडा नीति लिएको मन्त्री लम्सालले बताएका छन्। निर्माण सम्पन्न गर्ने आधार देखिएका आयोजनालाई अन्तिम मौका दिने र त्यसबाट पनि काम अघि नबढे ठेक्का तोडेर नयाँ प्रक्रियाबाट बाँकी काम सम्पन्न गरिने उनको भनाइ छ।

लामो समयदेखि अलपत्र आयोजनाका कारण नागरिकले भोग्नुपरेको सास्ती अन्त्य गर्न र सार्वजनिक पूर्वाधार निर्माणलाई गति दिन सरकारले ठेक्का व्यवस्थापनमा कडाइ गरेको मन्त्री लम्सालले स्पष्ट पारेका छन्।सभार नागरिक न्युज
प्रधानमन्त्री बालेन शाहले गलत काम गर्ने कोही पनि उम्किन नसक्ने भन्दै सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्।
आइतबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री शाहले सही समय आएपछि सबैको खराब दिन सुरु हुने बताएका हुन्।
प्रधानमन्त्री शाहले लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’
प्रधानमन्त्रीले चेतावनी कसलाई लक्षित गरेर दिएको हो भन्नेबारे भने खुलाएका छैनन्।
काठमाडौं । विचौलियाका अवाञ्छित गतिविधिसँग जोडेर प्रधानन्यायाधीश र न्यायाधीशबारे सञ्चारमाध्यममा आएका विवादका विषयमा निर्णय लिन सोमबार (कात्तिक १३) सर्वोच्च अदालतको फुलकोर्ट बैठक बस्दै छ ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शनिबार बसेको बैठकले अदालतमा देखिएका विकृति र विवाद समाधानका लागि संसद्बाट निकास खोज्न संसदीय दलको सचिवालयलाई निर्देशन दिइसकेको अवस्थामा बस्न थालेको सर्वोच्चको फुलकोर्ट बैठकलाई विशेष चासोपूर्वक हेरिएको छ ।
रास्वपाको उक्त निर्देशनका कारण सर्वोच्चका जो सुकैमाथि महाअभियोग लाग्न सक्ने त्रासको छायामा सर्वोच्चका न्यायाधीश परेका छन् ।
बिचौलियासँग हिमचिम र उठ–बसको विषय बाहिरिएपछि ठोस धारणा बनाउन प्रधानन्यायाधीश डा. मनोज शर्माले शुक्रबार डाकेको सम्पूर्ण न्यायाधीश संलग्न फुलकोर्ट बैठक ठोस निष्कर्षबिना उठेको थियो ।
कार्यालय खुलेलगत्तै करिब एक घण्टासम्म चलेको बैठकमा न्यायाधीशद्वय सपना मल्ल प्रधान र अब्दुल अजिज मुसलमान विदेशमा रहेका कारण सहभागी थिएनन् ।
भोलिको बैठकमा महाभियोगको विषयवस्तु र आन्तरिक छानबिन प्रस्तावमा छलफल हुने जानकारी सर्वोच्चका एक न्यायाधीशले दिए । “सत्तारुढ दलबाटै संसद्बाट निकास खोज्न संसदीय दलको सचिवालयलाई निर्देशन दिएको विषय मिडियामार्फत जानकारीमा आएको छ । यस्ले सबै श्रीमान् (न्यायाधीश) हरूमा भयत्रासको वातावरण छ,” सर्वोच्चका ती न्यायाधीशले बाह्रखरीले राखेको जिज्ञासामा संक्षिप्त प्रक्रिया दिँदै भने, “यो विषय (महाभियोग) मा फुलकोर्ट बैठकमा छलफल हुने स्वाभाविक भैहाल्यो । जहाँसम्म बिचौलिया भनिएकासँग भेटघाटबारे कुरा छ, संसद्को विषय बन्न नदिई आन्तरिक रूपमा छानबिनको प्रस्ताव जाने र एक मतले एउटा निष्कर्षमा पुग्ने सम्भावना छ ।”
शुक्रबारकै बैठकमा सहभागी कतिपय न्यायाधीशहरूले उच्चस्तरीय आन्तरिक छानबिन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउन उपयुक्त हुने भन्दै सुझाए पनि ठोस निर्णय भने भएन ।
बिचौलियाको आरोप लागेका सापकोटासँग हिमालय होटलमा भेटघाट गरी सँगै चिया–खाजा लिएको विषयमा अरु न्यायाधीशसमेत संलग्न रहेको विषय मिडियामार्फत बाहिरिएपछि शुक्रबार सर्वोच्चका कतिपय न्यायाधीशले समकक्षी न्यायाधीश हरि फुयाललाई भेटेर सरोकार राखेका थिए ।
“चारजना न्यायाधीशले उहाँ (फुयाल) लाई च्याम्बरमा गएर कुरा राख्दा आफ्नो बारेमा प्रस्ट पारेको हुँ, अरुका बारे केही भनेको होइन । कसरी आयो मलाई थाहा भएन भन्नुभयो,” सर्वोच्चका एक न्यायाधीशले भने ।
यता, न्यायपालिकामा देखिएका विकृति र विवादमा संसद्बाटै आवश्यक प्रक्रिया अगाडि बढाउने तयारीमा रास्वपा छ । सम्पत्ति शुद्धीकरण र अन्य शंकास्पद आर्थिक कारोबारको अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिनुअघि सापकोटासँग सर्वोच्चका न्यायाधीश सम्पर्कमा रहेको तथ्य बाहिरिएपछि रास्वपाभित्र ‘महाभियोग’ र ‘न्यायालय पुनर्संरचना’ को एजेण्डाले प्रवेश पाएको हो ।
सभापति रवि लामिछानेकै पहलकदमीमा महाभियोगदेखि न्यायालय पुनर्संरचनासम्म पार्टी सचिवालयबाट संस्थागत निर्णय भएको छ ।
लामिछानेले बिहीबार पनि यस विषयमा सभामुख डीपी अर्यालसँग ‘वान टू वान’ कुराकानी गरेका थिए । कानुन पृष्ठभूमिका एकजना रास्वपा सांसदले बताएअनुसार, लामिछानेले न्यायाधीश–बिचौलिया सम्बन्ध, सम्पर्कलाई लिएर अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतम, कानुनविद् रहेका रास्वपानिकट प्रतिनिधिसभा सदस्यलगायतसँग छलफल गरेका थिए ।
कानुन पृष्ठभूमिका सांसदले बताएअनुसार रास्वपा बैठकमा तत्कालै एक्सनमा जानुपर्ने भन्दै अधिकांश पदाधिकारीको राय आएकोे छ । कतिपय रास्वपा सांसदले सर्वोच्च वा न्यायपरिषद्बाटै आन्तरिक छानबिन गरी निकास निकास खोज्न समेत सुझाएका थिए । रास्वपाका अधिकांश सांसद भने महाभियोगको पक्षमा देखिएको जनाइएको छ ।
“प्रधानन्यायाधीश शर्मा आफैँ सापकोटासँग प्रत्यक्ष कुराकानीमा संलग्न नदेखिएकाले शंकाको सुविधा दिनुपर्ने भन्ने एकाथरी साथीहरूको कुरा पनि आएको छ । माथिदेखि तलसम्म जो जोबाट गलत भएको छ, सबैलाई सजायको भागिदार बनाउनुपर्छ भन्ने पनि छ,” ती सांसदले भने, “संविधानबमोजिम महाभियोगको औचित्य पुष्टि हुनेगरी प्रत्यक्ष्य विवादमा मुछिएकाको हकमा मात्र एक्सनमा जानुपर्ने भन्ने पनि कुरा आएको छ । होइन, सोलोडोलो अदालतको पुनर्संरचनामै जानुपर्ने भन्ने राय पनि छ ।”
रास्वपा संसदीय दलको सचिवालयले सोमबार यस विषयमा थप छलफल र परामर्श गर्ने भएको छ । बिचौलिया आरोपित सापकोटासँग कुपण्डोलस्थित हिमालय होटलमा सर्वोच्चका न्यायाधीश हरि फुयालसँगै अरु न्यायाधीश समेतले मुद्दाका सन्दर्भमा भेटघाट गरेको विषय मिडियामा बाहिरिएपछि अहिले संसद्, न्यायालय, सत्तारुढ रास्वपासहितका राजनीतिक दल, नागरिक समाज, नेपाल बारलगायत क्षेत्र तरंगीत छ ।
रामअधार यादब, रौतहट, कार्तिक १४ गते ।
सागर संगम ठाकुर,रौतहट, कार्तिक १४ गते।
रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरका प्रत्याशी धर्मेन्द्र पटेलले नगरपालिकाको विकास निर्माण, स्वास्थ्य सेवा, नगर अस्पतालको सञ्चालन तथा सार्वजनिक सम्पत्तिको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै स्थानीय सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

जनताले ठूलो आशा र भरोसाका साथ निर्वाचित गरेका जनप्रतिनिधिहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्दै उनले नगरपालिकाको विकासका लागि स्पष्ट दृष्टिकोण, योजनाबद्ध कार्यशैली र जवाफदेहिताको आवश्यकता औँल्याएका हुन्।

शुक्रबार बज्जिकाञ्चल एफएम ८९.२ मेगाहर्जको ‘बज्जिकाञ्चल बहस’ कार्यक्रममा प्रस्तोता सागर संगम ठाकुरसँगको अन्तर्वार्ताका क्रममा पटेलले नगरपालिकाको वर्तमान राजनीतिक अवस्था, जनप्रतिनिधिहरूको कार्यशैली र विकास निर्माणका योजनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले नगर प्रमुख प्रेमलाल साह र वडा नं. ४ का अध्यक्ष रामप्रवेश प्रसाद पटेल निलम्बनमा परेको प्रसंग उल्लेख गर्दै त्यसपछि नगरपालिकाको नेतृत्व तथा विकास निर्माणको अवस्था सन्तोषजनक नरहेको बताए। यसअघि तत्कालीन नगर प्रमुख धर्मेन्द्र पटेल निलम्बनमा पर्दा परनिया देवी पटेलले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी सम्हालेको प्रसंग स्मरण गराउँदै उनले पटक–पटक नेतृत्व परिवर्तन भए पनि नगरपालिकाको विकासले अपेक्षित गति लिन नसकेको टिप्पणी गरे।

निर्वाचनका बेला जनतासमक्ष विभिन्न प्रतिबद्धता गर्ने तर निर्वाचित भएपछि ती प्रतिबद्धता कार्यान्वयनमा पर्याप्त ध्यान नदिने प्रवृत्तिप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे। जनताले विश्वास गरेर सुम्पिएको जिम्मेवारीलाई जनप्रतिनिधिहरूले परिणाममुखी काममार्फत प्रमाणित गर्नुपर्ने उनको भनाइ थियो।

नगर अस्पताल निर्माणसँगै सञ्चालनमा पनि ध्यान दिनुपर्ने
अन्तर्वार्ताका क्रममा पटेलले नगर अस्पताल निर्माण तथा सञ्चालनको विषयलाई विशेष प्राथमिकताका साथ उठाए। आफ्नो कार्यकालमा नगर अस्पतालको शिलान्यास गरिएको र अहिले भवन निर्माणको काम अघि बढिरहेको उल्लेख गर्दै उनले अस्पताल निर्माणका लागि उपयुक्त स्थान छनोट तथा सहज पहुँचलाई प्राथमिकता दिनुपर्ने बताए।

जयनगर–वीरगन्ज मुख्य सडकसँग जोडिएको क्षेत्रमा फोरलेन सडक निर्माण भइरहेको र उक्त सडकखण्डमा दैनिकजसो दुर्घटना हुने गरेको उल्लेख गर्दै उनले दुर्घटनामा घाइते हुने तथा अन्य बिरामीलाई तत्काल उपचार उपलब्ध गराउन सकिने स्थानमा अस्पताल स्थापना गर्नुपर्ने धारणा राखे।

नगरपालिकाले भाडाको घरमा तामझामका साथ नगर अस्पतालको सेवा सुरु गरे पनि केही समयपछि नियमित सञ्चालन हुन नसकेको विषयमा उनले प्रश्न उठाए। अस्पताल किन नियमित सञ्चालन हुन सकेन र स्वास्थ्य सेवा प्रभावकारी बनाउन के–कस्ता समस्या देखिए भन्नेबारे नगरपालिकाले स्पष्ट जवाफ दिनुपर्ने उनको माग थियो।

नगर अस्पताल निर्माणमा ठूलो रकम लगानी भइसकेको अवस्थामा त्यसको प्रभावकारी उपयोग हुनुपर्नेमा जोड दिँदै उनले भवन निर्माण सम्पन्न भएपछि आवश्यक जनशक्ति, उपकरण र व्यवस्थापनसहित नियमित स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने बताए।

पोखरी सौन्दर्यीकरणमा करोडौँ लगानी, उपलब्धिमाथि प्रश्न
पटेलले नगरपालिकाको कार्यालयअगाडि रहेको पोखरीको संरक्षण तथा सौन्दर्यीकरणमा भएको लगानीको उपलब्धिमाथि पनि प्रश्न उठाए। पोखरीको संरक्षण र सौन्दर्यीकरणका नाममा करोडौँ रुपैयाँ खर्च भएको भनिए पनि त्यसअनुरूपको सुधार र आकर्षक स्वरूप देखिन नसकेको उनको टिप्पणी थियो।

उनका अनुसार पोखरीको नियमित सरसफाइ, घेराबार, पैदलमार्ग निर्माण, व्यायामस्थल, फूलबारी तथा हरियाली व्यवस्थापन गर्न सके त्यसलाई नगरको आकर्षक सार्वजनिक स्थलका रूपमा विकास गर्न सकिन्छ। तर नगरपालिकाको कार्यालयकै अगाडि रहेको पोखरीको अवस्था दयनीय रहनुले विकाससम्बन्धी प्राथमिकता र योजनाको प्रभावकारितामाथि प्रश्न उठाएको उनले बताए।

अघिल्लो नेतृत्वको कार्यकालमा समेत पोखरी सौन्दर्यीकरणले अपेक्षित गति लिन नसकेको र वर्तमान कार्यवाहक नेतृत्वले जिम्मेवारी सम्हालेको करिब दुई महिना बितिसक्दा पनि ठोस पहल तथा प्रगति सार्वजनिक हुन नसकेको उनको आरोप थियो।

अवसर पाए कामबाट क्षमता देखाउने दाबी
नगरपालिकाको विकासका लागि बजेट खर्च गर्नु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै पटेलले योजनाको छनोट, कार्यान्वयनमा पारदर्शिता र दीर्घकालीन विकासको दृष्टिकोण आवश्यक रहेको बताए।

नगर अस्पताल, पोखरी सौन्दर्यीकरणलगायत सार्वजनिक महत्त्वका योजनालाई प्राथमिकतामा राखेर जनताको वास्तविक आवश्यकता सम्बोधन हुने गरी काम गर्नुपर्ने उनको धारणा थियो।

उनले अवसर पाए देवाही गोनाही नगरपालिकाको विकासका लागि आफ्नो क्षमता र दृष्टिकोण काममार्फत प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गरे। जनताले दिएको आशा र भरोसालाई सम्मान गर्दै नगरको समग्र विकास तथा नागरिकको सेवामा जनप्रतिनिधिहरू केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।

नगरपालिकामा नेतृत्व परिवर्तनसँगै विकास निर्माण र सेवा प्रवाहको अवस्थाबारे विभिन्न प्रश्न उठिरहेका बेला पटेलले सार्वजनिक गरेका धारणा तथा आरोपबारे नगरपालिका र वर्तमान कार्यवाहक नगर प्रमुखको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। यस विषयमा सम्बन्धित पक्षको धारणा पनि उत्तिकै महत्त्वपूर्ण देखिन्छ।

आरएन पटेल, रौतहट, कार्तिक १२ गते।
रौतहटको फतुवा बिजयपुर नगरपालिकाका नगर प्रमुख गोपाल राय यादवका छोरा आदित्य कुमार यादव नेपाली कांग्रेस परित्याग गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। उनीसँगै सयोंको संख्यामा युवा तथा विभिन्न दलका नेता–कार्यकर्ताहरू पनि जसपा नेपालमा प्रवेश गरेका छन्। यस पार्टी प्रवेश कार्यक्रमले फतुवा बिजयपुरको स्थानीय राजनीतिमा नयाँ तरङ्ग सिर्जना गरेको छ।

बिहीबार गुजराको नगरपालिका–८ मा आयोजित जसपा नेपालको दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमसँगै आयोजित पार्टी प्रवेश कार्यक्रममा आदित्य कुमार यादवसहित सयकड़ो संख्याका नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरिएको हो।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री एवं पूर्वसंविधानसभा सदस्य माननीय गोविन्द चौधरी, मधेश प्रदेश समिति अध्यक्ष बालकिशोर प्रसाद यादव, केन्द्रीय सदस्य तथा गुजराको नगरपालिकाका नगर प्रमुख सन्तलाल प्रसाद चौधरीलगायत पार्टीका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेता–कार्यकर्ता सहभागी थिए।

नेपाली कांग्रेस पार्टीबाट दुई कार्यकाल फतुवा बिजयपुर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका गोपाल राय यादवका छोरा आदित्य कुमार यादवको जसपा नेपाल प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। उनीसँगै जेनजी पुस्ताका युवासहित विभिन्न राजनीतिक दल परित्याग गरी आएका कार्यकर्ताहरू जसपा नेपालमा आबद्ध भएपछि नगरपालिकाको आगामी राजनीतिक समीकरणमा समेत प्रभाव पर्न सक्ने चर्चा सुरु भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरीले पार्टीमा प्रवेश गरेका नयाँ सदस्यहरूलाई उचित स्थान र जिम्मेवारी दिँदै आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । उनले पार्टीमा आबद्ध भएका नेता तथा युवाहरूलाई संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन ।

त्यसैगरी, जसपा नेपालका मधेश प्रदेश समिति अध्यक्ष बालकिशोर प्रसाद यादवले नवप्रवेशीहरूलाई बधाई तथा शुभकामना दिँदै पार्टीमा उचित सम्मान र स्थान प्रदान गरिने बताए। उनले अग्रगामी मोर्चा तथा जसपा नेपाल जनताको सुख–दुःखमा साथ रहने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे। युवाहरूको सक्रियता र योगदानको कदर गर्दै उनीहरूलाई आवश्यक सहयोग तथा अवसर उपलब्ध गराउने विश्वाससमेत उनले दिलाए।

कार्यक्रममा नेपाली कांग्रेस लगायत विभिन्न राजनीतिक दल परित्याग गरी जसपा नेपालमा प्रवेश गर्ने नेता, कार्यकर्ता तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। नवप्रवेशीहरूको आगमनले जसपा नेपालको संगठन विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फतुवा बिजयपुरका नगर प्रमुखका छोरासहित युवाहरूको पार्टी प्रवेशले स्थानीय राजनीतिमा नयाँ बहस सुरु भएको छ। आगामी दिनमा यसले नगरपालिकाको राजनीतिक गतिविधि र दलहरूबीचको प्रतिस्पर्धामा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोका साथ हेरिएको छ।

काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत बहुप्रतीक्षित एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई २–१ गोलले पराजित गरेको छ । गएराति सम्पन्न खेलमा जित निकाल्दै रियल म्याड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनामाथि महत्त्वपूर्ण सफलता हासिल गरेको हो ।
रियल म्याड्रिड र बार्सिलोनाबीचको प्रतिस्पर्धालाई विश्व फुटबलकै चर्चित भिडन्तमध्ये एक मानिन्छ । दुवै टोलीका समर्थकले निकै चासोका साथ हेर्ने यस खेलमा रियल मड्रिडले बार्सिलोनालाई उसकै मैदानमा पराजित गरेको छ ।
खेलको ४१औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा बार्सिलोनाका राफिन्हाले ६१औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए। तर, खेलको ८७औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल म्याड्रिडले २–१ को जित पक्का गरेको थियो ।
यस जितसँगै रियल म्याड्रिडले जारी सिजनको लिगमा बार्सिलोनालाई पहिलो हार चखाएको छ । बार्सिलोना १० खेलबाट २७ अंकसहित शीर्ष स्थानमा कायम छ भने एट्लेटिको मड्रिड २६ अंकसहित दोस्रो र रियल मड्रिड २४ अंकसहित तेस्रो स्थानमा रहेका छन् । रियलले यस जितसँगै शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी तीनमा झारेको छ एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज सोमबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।
आज दिउँसो देशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । देशको पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
त्यस्तै आज राति कोशी प्रदेश तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । देशको तराई भू-भाग, उपत्यका तथा खाँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । एभरेष्ट न्यूज एजेन्सी,
आजको राशिफल बिस २०८३ कार्तिक ९ गते सोमबार ईस २०२६ अक्टोबर २६ नेपाल सम्बत ११४६ कौलाथ्व पुर्णिमा, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल पक्ष पुर्णिमा, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, वज्र योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर १० मिनेटमा र सूर्यास्त साँझ ५ बजेर २६ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज काममा नयाँ जिम्मेवारी सम्हाल्नुपर्ने वा महत्त्वपूर्ण निर्णय लिनुपर्ने अवस्था आउन सक्छ। आफ्नो क्षमता देखाउने अवसर मिले पनि अरूको सुझावलाई बेवास्ता नगर्नुहोला। व्यापारमा नयाँ ग्राहकसँग सम्पर्क बढ्न सक्छ, तर तत्काल लाभको आशामा जोखिम नलिनु उचित हुनेछ। आर्थिक कारोबारमा खर्चको सीमा निर्धारण गर्नुहोला। परिवारमा विचार नमिले पनि शान्त संवादबाट समाधान खोज्न सकिनेछ। प्रेम सम्बन्धमा समय दिन नसक्दा असन्तुष्टि बढ्न सक्ने भएकाले आत्मीय कुराकानीका लागि समय छुट्याउनुहोला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज व्यावहारिक सोच र धैर्यले कामलाई सही दिशामा अघि बढाउन मद्दत गर्नेछ। कार्यक्षेत्रमा अधुरा जिम्मेवारी पूरा गर्ने अवसर मिल्न सक्छ। व्यापारमा पुराना ग्राहकसँगको सम्बन्धले फाइदा पुर्याउन सक्छ। आम्दानी र खर्चको हिसाब मिलाउँदा बचत बढाउने उपाय पहिचान हुनेछ। परिवारमा घरायसी योजना वा आवश्यकताबारे छलफल हुन सक्छ। दाम्पत्य जीवनमा एकअर्काको विचारलाई सम्मान गर्दा निकटता बढ्नेछ। थकान महसुस भए कामको गति मिलाएर पर्याप्त आराम लिनुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज संवाद, अध्ययन र नयाँ जानकारी प्राप्त गर्ने विषयमा रुचि बढ्नेछ। लेखन, सञ्चार तथा व्यापारिक छलफलमा संलग्न व्यक्तिका लागि उपयोगी अवसर आउन सक्छ। कार्यक्षेत्रमा आफ्नो विचार प्रस्तुत गर्दा स्पष्ट तथ्य राख्नुहोला। आर्थिक कारोबारमा मौखिक सहमतिभन्दा लिखित विवरणलाई प्राथमिकता दिनु राम्रो हुनेछ। साथीभाइसँगको भेटघाटले नयाँ योजना बनाउन प्रेरित गर्न सक्छ। प्रेम सम्बन्धमा मनमा रहेका कुरा लुकाउनुभन्दा स्पष्ट रूपमा राख्दा अन्योल कम हुनेछ। समय व्यवस्थापनमा ध्यान दिनुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज पारिवारिक वातावरण र व्यक्तिगत भावनाले निर्णयमा प्रभाव पार्न सक्छ। काममा चुनौती आए पनि शान्त भएर अघि बढ्दा समाधान भेटिनेछ। व्यापारमा आम्दानीको अवस्था बुझेर खर्चको योजना बनाउनुहोला। घरायसी आवश्यकता वा परिवारका सदस्यसँग सम्बन्धित काममा समय र रकम खर्च हुन सक्छ। नजिकका व्यक्तिसँग मनका कुरा साझा गर्दा भावनात्मक सहजता मिल्नेछ। प्रेम सम्बन्धमा साना कुरालाई लिएर निष्कर्ष निकाल्नुभन्दा अर्को पक्षको अवस्था बुझ्नु उचित हुनेछ। आफ्नो मानसिक शान्तिका लागि केही समय छुट्याउनुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आत्मविश्वास र नेतृत्व क्षमताको सदुपयोग गर्ने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा नयाँ योजना अघि बढाउने वा जिम्मेवारी विस्तार हुने सम्भावना छ। सहकर्मीसँग सहकार्य गर्दा कामको परिणाम अझ राम्रो बन्न सक्छ। व्यापारमा प्रतिस्पर्धा भए पनि आफ्नो सेवा र व्यवहारमा ध्यान दिनुहोला। आर्थिक लाभको अपेक्षामा अनावश्यक खर्च नगर्नु उचित हुनेछ। परिवारमा आफ्नो निर्णय सुनाउँदा सबैको आवश्यकतालाई पनि विचार गर्नुहोला। प्रेम जीवनमा सम्मान र प्रशंसाले सम्बन्धमा न्यानोपन ल्याउनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज विवरणमा ध्यान दिने र काम व्यवस्थित बनाउने क्षमताले फाइदा पुर्याउनेछ। कागजी प्रक्रिया, हिसाबकिताब वा पुराना योजनाको समीक्षा गर्न अनुकूल समय छ। कार्यक्षेत्रमा जिम्मेवारी थपिए पनि समयतालिका मिलाएर अघि बढ्दा सहज हुनेछ। व्यापारमा अनावश्यक खर्च घटाउने उपाय भेटिन सक्छ। आर्थिक कारोबारमा स्पष्ट अभिलेख राख्नुहोला। परिवारमा व्यावहारिक विषयमा तपाईंको सुझाव उपयोगी बन्न सक्छ। प्रेम सम्बन्धमा आलोचनाभन्दा सकारात्मक संवादलाई प्राथमिकता दिनुहोला। काम र विश्रामबीच सन्तुलन कायम राख्नु आवश्यक छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सहकार्य र सामाजिक सम्बन्धबाट उपयोगी अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा साझेदार वा सहकर्मीसँग मिलेर अघि बढ्दा काममा सहजता आउनेछ। व्यापार विस्तारको योजना बनाइरहनुभएको छ भने लागत र बजारको अवस्था बुझ्नुहोला। आर्थिक निर्णयमा अरूको दबाबभन्दा आफ्नो आवश्यकता र क्षमतालाई प्राथमिकता दिनु उचित हुनेछ। परिवारमा फरक विचार आए पनि समझदारीबाट सहमति जुटाउन सकिनेछ। प्रेम सम्बन्धमा एकअर्काको समय र स्वतन्त्रताको सम्मान गर्दा विश्वास बलियो बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज एकाग्रता र दृढ इच्छाशक्तिले जटिल जिम्मेवारी पूरा गर्न मद्दत गर्नेछ। कार्यक्षेत्रमा अरूको व्यवहारबाट प्रभावित नभई आफ्नो लक्ष्यमा केन्द्रित रहनुहोला। कुनै निर्णय लिनुअघि आवश्यक जानकारी जुटाउनु उचित हुनेछ। आर्थिक कारोबार वा लगानीमा जोखिमको पक्ष बेवास्ता नगर्नुहोला। परिवारमा पुरानो असमझदारी सुल्झाउने अवसर मिल्न सक्छ। प्रेम सम्बन्धमा शंका वा मौनता बढाउनुभन्दा खुलेर कुरा गर्नु राम्रो हुनेछ। बाहिरी काम गर्दा समय व्यवस्थापन र सुरक्षामा ध्यान दिनुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज नयाँ अनुभव र ज्ञान हासिल गर्ने अवसर मिल्न सक्छ। अध्ययन, तालिम वा पेसागत सीप विकासका लागि योजना बनाउन सकिनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी स्वीकार गर्दा त्यसका लागि आवश्यक समय र स्रोतको मूल्याङ्कन गर्नुहोला। व्यापारमा विस्तारको सम्भावना देखिए पनि तयारीबिना ठूलो खर्च नगर्नु उचित हुनेछ। आर्थिक पक्षमा भविष्यका दायित्वलाई ध्यानमा राखेर बचत योजना बनाउनुहोला। परिवारसँग भविष्यका लक्ष्यबारे छलफल गर्दा उपयोगी सुझाव प्राप्त हुन सक्छ। प्रेम सम्बन्धमा साझा रुचिले आत्मीयता बढाउनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज जिम्मेवारी पूरा गर्न अनुशासन र निरन्तर प्रयास आवश्यक हुनेछ। कार्यक्षेत्रमा परिणाम आउन केही समय लागे पनि योजनाबद्ध ढङ्गले अघि बढ्दा प्रगति सम्भव छ। पुरानो हिसाबकिताब मिलाउने वा बाँकी दायित्व पूरा गर्ने अवसर मिल्न सक्छ। व्यापारमा नयाँ खर्च थप्नुअघि उपलब्ध स्रोतको समीक्षा गर्नुहोला। परिवारको सहयोगले व्यस्तता व्यवस्थापन गर्न सहज हुनेछ। प्रेम सम्बन्धमा कामको चापले आत्मीयता कम हुन नदिन समय छुट्याउनुहोला। नियमित दिनचर्या र आराममा ध्यान दिनु राम्रो हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज फरक ढङ्गले सोच्ने र नयाँ उपाय खोज्ने क्षमता प्रभावकारी बन्न सक्छ। सिर्जनात्मक काम, सामूहिक योजना वा नयाँ सीपसँग सम्बन्धित विषयमा प्रगति हुने सम्भावना छ। कार्यक्षेत्रमा आफ्नो विचार प्रस्तुत गर्दा कार्यान्वयनको स्पष्ट योजना पनि बनाउनुहोला। आर्थिक लाभको प्रस्ताव आए त्यसको विश्वसनीयता जाँच्नु आवश्यक छ। परिवारमा व्यक्तिगत स्वतन्त्रता र साझा जिम्मेवारीबीच सन्तुलन राख्नुहोला। प्रेम सम्बन्धमा एकअर्काको विचार सुन्ने र बुझ्ने प्रयासले सम्बन्ध बलियो बनाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)
आज संवेदनशीलता र कल्पनाशीलताले सम्बन्ध तथा सिर्जनात्मक काममा सहयोग पुर्याउन सक्छ। कार्यक्षेत्रमा नयाँ उपाय सोच्न सकिए पनि त्यसलाई व्यवहारमा उतार्न आवश्यक तयारी गर्नुहोला। आर्थिक विषयमा भावनामा आएर खर्च नगर्नु उचित हुनेछ। परिवारका सदस्यको आवश्यकतामा ध्यान दिँदा आत्मीयता बढ्नेछ। अरूलाई सहयोग गर्दा आफ्ना जिम्मेवारी पनि पूरा गर्नुपर्ने कुरा नबिर्सनुहोला। प्रेम सम्बन्धमा मनका कुरा स्पष्ट रूपमा व्यक्त गर्दा असमझदारी कम हुन सक्छ। मानसिक शान्तिका लागि आफूलाई मन पर्ने गतिविधिमा समय दिनुहोला ।एभरेष्ट न्यूज एजेन्सी,