आजको राशिफल बिस २०८३ कार्तिक २२ गते आइतबार ईस २०२६ नोभेम्बर ८ नेपाल सम्बत ११४६ कौलागा चतुर्दशी-२९, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष चतुर्दशी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, आयुष्मान योग, शकुन करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर १९ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १७ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ जिम्मेवारी सम्हाल्ने र आफ्नो क्षमता प्रमाणित गर्ने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा नेतृत्वदायी भूमिका प्राप्त हुने सम्भावना छ। लामो समयदेखि रोकिएको योजनाले गति लिन सक्छ। व्यापारमा नयाँ ग्राहक वा व्यावसायिक सम्पर्कबाट लाभ मिल्ने संकेत छ। आर्थिक पक्षमा आम्दानीको तुलनामा खर्च बढ्न नदिनुहोला। परिवारमा आफ्नो निर्णयलाई समर्थन प्राप्त हुन सक्छ। प्रेम सम्बन्धमा स्पष्टता र विश्वास कायम राख्नु आवश्यक छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज विगतका अनुभवबाट सिकेर नयाँ निर्णय लिनुपर्ने दिन छ। कार्यक्षेत्रमा धैर्यपूर्वक अघि बढ्दा कठिन काम पनि पूरा गर्न सकिनेछ। व्यापारमा पुरानो कारोबारको समीक्षा गर्दा सुधार गर्नुपर्ने पक्ष पहिचान हुनेछ। आर्थिक विषयमा ठूलो जोखिम लिनुभन्दा सुरक्षित योजनालाई प्राथमिकता दिनुहोला। धार्मिक तथा सामाजिक गतिविधिमा रुचि बढ्न सक्छ। परिवारका ज्येष्ठ सदस्यसँगको छलफल उपयोगी बन्नेछ। व्यक्तिगत सम्बन्धमा समय र ध्यान दिनु राम्रो हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज नयाँ सम्पर्क र सहकार्यका माध्यमबाट अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा समूहसँग मिलेर काम गर्दा अपेक्षित उपलब्धि हासिल गर्न सकिनेछ। सञ्चार, लेखन, व्यापार तथा प्रविधिसम्बन्धी काममा सक्रियता बढ्नेछ। कुनै महत्वपूर्ण सूचना प्राप्त हुन सक्छ, जसले आगामी योजना बनाउन सहयोग गर्नेछ। आर्थिक कारोबारमा अरूको आश्वासनभन्दा वास्तविक अवस्थालाई आधार बनाउनुहोला। साथीभाइसँगको भेटघाटले नयाँ विचार जन्माउन सक्छ। पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज व्यावसायिक प्रतिष्ठा र जिम्मेवारीसँग सम्बन्धित विषयमा ध्यान केन्द्रित हुनेछ। कार्यक्षेत्रमा आफ्नो मेहनतको मूल्याङ्कन हुन सक्छ। वरिष्ठ व्यक्तिसँगको भेटघाट वा छलफलबाट नयाँ बाटो खुल्ने सम्भावना छ। व्यापारमा गुणस्तर र विश्वसनीयतालाई प्राथमिकता दिनुहोला। आर्थिक पक्षमा पुरानो भुक्तानी प्राप्त गर्ने प्रयास सफल हुन सक्छ। परिवारका सदस्यको अपेक्षा पूरा गर्न समय व्यवस्थापन गर्नुपर्नेछ। भावनात्मक विषयमा शान्त र स्पष्ट व्यवहार अपनाउनुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सूर्यको प्रभावसँग जोडिएको राशि भएकाले आज आत्मविश्वास र प्रतिष्ठासम्बन्धी विषय बलियो बन्न सक्छन्। नयाँ योजना अघि बढाउने तथा महत्वपूर्ण निर्णय लिने अवसर मिल्न सक्छ। अध्ययन, अध्यापन र कानुनी विषयमा सकारात्मक प्रगति हुन सक्छ। कार्यक्षेत्रमा आफ्नो विचार स्थापित गर्न सकिनेछ। व्यापार विस्तारका लागि नयाँ सम्भावना खोज्न सक्नुहुनेछ। आर्थिक पक्षमा दीर्घकालीन फाइदालाई ध्यान दिनुहोला। पारिवारिक तथा प्रेम सम्बन्धमा आफ्नो व्यवहार उदार राख्नु आवश्यक छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज आर्थिक व्यवस्थापन र महत्वपूर्ण कागजी प्रक्रियामा ध्यान दिनुपर्नेछ। कार्यक्षेत्रमा गोप्य योजना वा अधुरा जिम्मेवारी पूरा गर्ने अवसर मिल्न सक्छ। व्यापारमा साझेदारी र लगानीसम्बन्धी विषयमा सावधानी अपनाउनुहोला। अनावश्यक खर्चले आर्थिक दबाब बढाउन सक्छ। रोकिएको रकम वा पुरानो कारोबारको विषयमा छलफल हुन सक्छ। परिवारमा आफ्नो विचार राख्दा अरूको भावना पनि बुझ्नुहोला। व्यक्तिगत स्वास्थ्य र मानसिक शान्तिका लागि आरामलाई महत्व दिनु राम्रो हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज साझेदारी, दाम्पत्य जीवन र सामाजिक सम्बन्धमा विशेष ध्यान जानेछ। कार्यक्षेत्रमा सहकार्यबाट नयाँ उपलब्धि हासिल गर्न सकिनेछ। व्यावसायिक सम्झौता वा नयाँ जिम्मेवारीको प्रस्ताव आउन सक्छ। निर्णय गर्नुअघि आफ्नो भूमिका स्पष्ट पार्नुहोला। आर्थिक कारोबारमा पारदर्शिता आवश्यक छ। जीवनसाथी वा नजिकका व्यक्तिसँग भविष्यका योजनाबारे छलफल हुन सक्छ। अरूको विचारलाई सम्मान गर्दा सम्बन्धमा विश्वास र आत्मीयता बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज कामको व्यस्तता बढ्न सक्छ। जिम्मेवारीबाट पछि नहटी योजनाबद्ध रूपमा अघि बढ्दा राम्रो परिणाम प्राप्त हुनेछ। कार्यक्षेत्रमा प्रतिस्पर्धात्मक वातावरण देखिए पनि आफ्नो दक्षतामा विश्वास राख्नुहोला। व्यापारमा व्यवस्थापन र कर्मचारीसँगको समन्वय सुधार गर्नुपर्ने हुन सक्छ। आर्थिक पक्षमा दैनिक खर्चको विवरण राख्नु उपयुक्त हुनेछ। परिवारमा सानो विषयलाई लिएर मतभेद हुन सक्छ, त्यसैले बोलीमा संयमता अपनाउनुहोला। खानपान र आराममा ध्यान दिनु आवश्यक छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज सिर्जनात्मकता, अध्ययन र व्यक्तिगत रुचिका क्षेत्रमा सक्रियता बढ्नेछ। विद्यार्थीका लागि नयाँ विषय बुझ्ने र आफ्नो क्षमता विकास गर्ने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा फरक सोचले समस्या समाधान गर्न सहयोग पुर्याउनेछ। व्यापारमा नयाँ योजना परीक्षण गर्न सकिनेछ। आर्थिक पक्षमा मनोरञ्जन र व्यक्तिगत रुचिका क्षेत्रमा खर्च बढ्न सक्छ। सन्तान वा परिवारका सदस्यसँग महत्वपूर्ण विषयमा छलफल हुन सक्छ। प्रेम सम्बन्धमा आत्मीयता र समझदारी बढ्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज घरपरिवार र व्यक्तिगत सुरक्षासँग सम्बन्धित विषय प्राथमिकतामा पर्न सक्छन्। घरको व्यवस्थापन, सम्पत्ति वा सवारीसाधनसम्बन्धी योजना अघि बढ्न सक्छ। कार्यक्षेत्रमा केही नयाँ चुनौती आए पनि अनुभवले समाधान खोज्न सहयोग गर्नेछ। व्यापारमा पुरानो कार्यशैली सुधार गर्ने अवसर मिल्न सक्छ। आर्थिक पक्षमा घरायसी खर्चको योजना बनाउनुपर्नेछ। परिवारका सदस्यसँग समय बिताउँदा मनमा उत्साह बढ्नेछ। व्यक्तिगत निर्णयमा हतार नगर्नुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज सञ्चार, सम्पर्क र छोटो यात्रासँग सम्बन्धित काममा व्यस्तता बढ्न सक्छ। आफ्नो विचार स्पष्ट रूपमा राख्न सके कार्यक्षेत्रमा समर्थन प्राप्त हुनेछ। नयाँ सीप सिक्ने वा व्यावसायिक तालिममा सहभागी हुने अवसर मिल्न सक्छ। व्यापारमा प्रचारप्रसार र नयाँ ग्राहकसँगको सम्बन्धले फाइदा पुर्याउन सक्छ। आर्थिक कारोबारमा कागजी प्रक्रिया पूरा गर्नुहोला। दाजुभाइ तथा साथीभाइसँगको सहकार्य उपयोगी बन्नेछ। पारिवारिक सम्बन्धमा संवादलाई प्राथमिकता दिनुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)
आज आर्थिक स्थायित्व र पारिवारिक आवश्यकताका विषयमा ध्यान दिनुपर्नेछ। कार्यक्षेत्रमा आफ्नो सीप र अनुभवको उपयोग गरेर नयाँ अवसर खोज्न सकिनेछ। व्यापारमा आम्दानी बढाउने योजना बनाउन अनुकूल समय छ। पारिवारिक आवश्यकताका कारण खर्च हुन सक्छ, त्यसैले बजेटको सीमा कायम राख्नुहोला। बोल्दा स्पष्टता र व्यवहारमा नम्रता अपनाउँदा सम्बन्ध राम्रो बन्नेछ। नयाँ कामका लागि आवश्यक स्रोत जुटाउने प्रयास सफल हुन सक्छ। आफ्नो क्षमतामाथि विश्वास राखेर अघि बढ्नुहोला ।
(यो राशिफल परम्परागत ज्योतिषीय मान्यतामा आधारित सामान्य फलादेश हो। व्यक्तिगत जन्मकुण्डली र ग्रहस्थितिअनुसार फलादेश फरक हुन सक्छ ।)
काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको आधिकारिकता पाउने दाबी गरेका छन् ।
शनिबार कांग्रेस देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै डा. महतले सर्वोच्च अदालतको रिभ्युमार्फत आफुहरुले नै आधिकारिकता पाउने बताएका हुन् ।
नेता महतले कांग्रेसको विचार, सिद्धान्त र आदर्शलाई आफूहरूले बोकिरहेको बताउदै कांग्रेसको आत्मा शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेसमा नै रहेको टिप्पणी गरे ।
नेता महतले गगन थापा नेतृत्वको कांग्रेसले प्रजातान्त्रिक समाजवादी विचार छाडेको आरोपसमेत लगाए । थापाले कांग्रेसको संस्कारसमेत त्यागेको र व्यक्तिवादी बाटोमा हिँडिरहेको आरोप लगाउदै उनले नेता कार्यकर्तालाई अझ सक्रिय हुन आग्रह गरे ।
उनले अब सामाजिक सञ्जालमा समेत सक्रिय हुनुपर्ने बताउदै अहिले पार्टीमा र देशमा नै सामाजिक सञ्जालमा भ्रम फैलाइएको आरोप लागाए । एभरेष्ट न्यूज एजेन्सी,
पार्टीको आधिकारिकता हामीले नै पाउछौं- डा. प्रकाशशरण महत
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने १४७ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा ४-४ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा ३ जनाको तथा मधेश, बागमती र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १४७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४६ जना घाइते भएका छन् भने कोशीमा २५ जना, काठमाडौँ उपत्यकामा १० जना, सुदूरपश्चिममा २५ जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा २६ जना, कर्णालीमा २ जना र गण्डकीमा ५ जना घाइते भएका छन् । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज विहिबार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल मधेश, कोशी र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेको र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको जानकारी दिएको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
त्यस्तै, आज राति कोशी,बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्ने र देशका बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
गृहमन्त्री सुधन गुरुङले केसीलाई नियुक्तिपत्रसहित दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नवनियुक्त महानिरीक्षक केसीले आजै प्रहरी प्रधान कार्यालय पुगेर पद बहाली गर्ने भएका छन् ।
आजै बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई महानिरीक्षकमा नियुक्त गरेको थियो । त्यस्तै निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको थियो । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सिंहदरबारमा रमिता चलिरहेको टिप्पणी गरेका छन् ।
सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै वरिष्ठ उपसभापति शर्माले कुनै कारण स्पष्ट नगरी प्रहरी महानिरीक्षक हटाएकोप्रति टिप्पणी गर्दै सिंहदरबारमा रमिता चलिरहेको बताएका हुन् ।
उनले भने- ‘सरकारको प्रवक्ता के भन्नुहुन्छ, पार्टीको निर्देशनमा हटाइयो । एक घण्टा नभइकन पार्टीको प्रवक्ता प्रवक्ता के भन्नुहुन्छ, हाम्रो निर्देशन गएको छैन । लेख्नुस् सिंहदरबारमा रमिता चलिरहेको छ । लेख्नुस् बालुवाटारमा रमिता चलिरहेको छ ।’
उनले अहिले सार्बजनिक भएको भनिएको अडियोको विषय छानबिन गर्न माग गर्दै काँग्रेस आफु र आफ्नो नेतृत्वमाथि उठेका सबै प्रश्नको सामना गर्न तयार रहेको बताए ।
काँग्रेसले सरकारसँग पारदर्शिता र जवाफदेहिताको माग गर्दै आफुहरुले सरकारका गलतकामको प्रश्न गर्न नछोड्ने स्पष्ट गरेका छन् ।
उनले उपसभापति पुष्पा भुसालको समन्वयमा विपक्षी दलहरुसँग छलफल गर्ने जानकारी दिएका छन् । शर्माले सञ्चारमाध्यमहरुलाई प्रश्न गर्दै आफ्नै कार्यालय अगाडी राखेको गाडीको विषयमा प्रश्न गर्न छोडेको उल्लेख गर्दै प्रश्न गर्न नछोड्न आग्रह गरे ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक परिवर्तन बारे टिप्पणी गर्दै अर्हाएको काम गर्ने व्यक्ति ल्याएको बताएका छन् ।
पार्टी कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै ओलीले अर्हाएको काम गर्छ भनेर बनाएको बताए । उनले भने- ‘आफुले अर्हाएको काम गर्छ भनेर बनाएको होला’
त्यस्तै ओलीले काँग्रेस सभापति गगन थापासँग राम्रो भेट भएको भन्दै राजनीतिक कुरा भएको बताए । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
ऊर्जा मन्त्रालयमा भएको भेटमा दुई देशबीच ऊर्जा व्यापार, जलविद्युत् आयोजना निर्माण, विपद् प्रतिकार्य र पूर्वसूचना प्रणालीलगायत विषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री श्रेष्ठले नेपालमा हालै भएका विपद्का क्रममा सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद दिँदै विद्युत् व्यापार विस्तार, नेपालमा सञ्चालित आयोजना समयमै सम्पन्न गर्न र निजी क्षेत्रको लगानी बढाउन आग्रह गरेका थिए ।
भारतीय विदेश सचिव मिश्रीले ऊर्जा क्षेत्रमा भारत सहकार्य गर्न तयार रहेको बताएका थिए ।
भेटमा ऊर्जा सचिव डा. जगदीश्वर कर्माचार्यसहित मन्त्रालयका अधिकारी तथा भारतका तर्फबाट राजदूत सुधाकर दलेला र विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर सहभागी थिए । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा १३ खेल सम्पन्न हुँदा लुम्बिनी लायन्सले अंकतालिकाको शीर्ष स्थानमा पकड जमाएको छ ।

न खेल खेलेको लुम्बिनीले दुई जित र एक खेलको नतिजा नआउँदा पाँच अंक जोडेको छ । विराटनगर किङ्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स समान चार अंकसहित प्रतिस्पर्धामा छन् ।
लुम्बिनी तीन खेलमा अपराजित छ । दुई जित र एक खेल वर्षाका कारण नतिजाविहीन हुँदा टोलीले पाँच अंक बनाएको हो । उसको नेट रनरेट ४.०५१ छ, जुन प्रतियोगितामा सहभागी आठ टोलीमध्ये सबैभन्दा राम्रो हो । यसले लुम्बिनीलाई अंक र रनरेट दुवै आधारमा शीर्ष स्थानमा राखेको छ ।
विराटनगर किङ्सले चार खेलमा दुई जित र दुई हारसहित चार अंक जोडेको छ । उसको नेट रनरेट ०.४०८ छ । कर्णाली याक्सले तीन खेलमा दुई जित र एक हार बेहोर्दै चार अंक बनाएको छ । कर्णालीको नेट रनरेट ०.२९५ रहेको छ ।
जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले पनि चार खेलबाट दुई जित र दुई हारसहित समान चार अंक जोडेका छन् । जनकपुरको नेट रनरेट ०.०९९ छ भने सुदूरपश्चिमको माइनस १.०६४ छ । समान अंक भए पनि नेट रनरेटका कारण यी टोलीको स्थान फरक परेको छ ।
चितवन राइनोजले तीन खेलमा एक जित, एक हार र एक नतिजाविहीन खेलबाट तीन अंक जोडेको छ । उसको नेट रनरेट माइनस ०.४८६ छ । काठमाडौं गोर्खाजले दुई खेलमा एक जित र एक हारसहित दुई अंक बनाएको छ । काठमाडौंको नेट रनरेट माइनस ०.४६६ रहेको छ ।
पोखरा एभेन्जर्सले तीनवटै खेल गुमाएको छ । टोलीले अहिलेसम्म अंक जोड्न सकेको छैन र उसको नेट रनरेट माइनस १.७७० छ । लगातार तीन हारपछि पोखरा अंकतालिकाको पुछारमा रहेको छ ।
एनपीएलको तेस्रो सिजनको सुरुआती चरणमै टोलीहरूबीच कडा प्रतिस्पर्धा देखाएको छ । शीर्ष पाँच स्थानमा रहेका टोलीबीचको अन्तर एक अंक मात्रै छ । लुम्बिनीले अपराजित यात्रा र उत्कृष्ट नेट रनरेटका कारण अग्रता बनाएको छ भने कर्णालीले कम खेल खेलेर पनि चार अंक जोड्दै आफूलाई बलियो अवस्थामा राखेको छ ।
विराटनगर, जनकपुर र सुदूरपश्चिमका लागि आगामी खेलमा जितसँगै नेट रनरेट सुधार्नु पनि महत्त्वपूर्ण हुनेछ । चितवन र काठमाडौंसँग पनि माथिल्लो स्थानमा उक्लिने अवसर छ । पोखराका लागि भने प्रतियोगितामा फर्कन आगामी खेलमा जित निकाल्नु आवश्यक देखिन्छ ।
समग्रमा, लुम्बिनीले उत्कृष्ट सुरुआत गरेको भए पनि चार अंकमा रहेका चार टोली र नजिकै रहेका चितवन तथा काठमाडौंका कारण प्लेअफको दौड अझ रोचक र प्रतिष्पर्धात्मक हुने देखिन्छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा थापा र ओलीबीच छलफल भएको हो । एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस संसदीय दलका नेता कृष्ण यादव नेतृत्वको सरकार संकटमा रहेको बेला थापा र ओलीबीच भेटवार्ता भएको छ ।
एमाले, जसपा र नेकपा मिलेर नयाँ सरकारको गृहकार्य गरिरहेका बेला थापाले ओलीलाई भेटेका छन् ।
भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । एभरेष्ट न्यूज एजेन्सी,