२०८३ मंसिर ११
२०८३ मंसिर ११

काठमाडौं । नेपाली कांग्रेसले उखुको मूल्य तत्काल निर्धारण गर्न र किसानले पाउन बाँकी रकम अविलम्ब भुक्तानी गर्न सरकारसँग माग गरेको छ ।

बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासीनताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाएर मूल्य तोक्न माग गरेको हो ।

उखु बजारमा पठाउने समय नजिकिँदै गर्दा किसानमा देखिएको चिन्ता सम्बोधन गर्न तथा बक्यौता रकम तत्काल उपलब्ध गराउन बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

यसैबीच, बैठकमा आज ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । छलफल जारी रहेकाले बैठक मंसिर १० गते बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेसले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज विहिबार नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जानकारी दिएको छ ।

हाल बाँके, दाङ लगायत तराईको धेरै ठाउँमा हुस्सु तथा तुवालो लागेको र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्र, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ ।

त्यस्तै, राति कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ । बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भू-भागका केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । एभरेष्ट न्यूज एजेन्सी,

 

बज्जिकाञ्चल खबर संवाददाता।

अमेरिकी डलरको मूल्य कमजोर हुँदा नेपालको सार्वजनिक ऋणको भार केही घटेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा डलरको विनिमय दर घटेपछि सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण करिब ४३ अर्ब रुपैयाँले कम भएको हो।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कात्तिक मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। गत भदौ महिनामा सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड रुपैयाँ पुगेको थियो। असार मसान्तमा भने कुल ऋण २९ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ रहेको थियो।अमेरिकी डलरको मूल्यमा आएको गिरावटका कारण असार मसान्तको तुलनामा कात्तिकसम्म ४३ अर्ब ११ करोड रुपैयाँ बराबरको विनिमय लाभ भएको कार्यालयले जनाएको छ।नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तमा एक अमेरिकी डलरको मूल्य १५३ रुपैयाँ रहेकोमा अहिले घटेर करिब १४८ रुपैयाँ हाराहारीमा पुगेको छ। डलरको मूल्य घट्दा विदेशी मुद्रामा लिइएको ऋणलाई नेपाली रुपैयाँमा हिसाब गर्दा सरकारको ऋण दायित्व कम देखिएको हो।यस अवधिमा सरकारले ऋणको साँवा भुक्तानीसमेत गरेको छ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारले १ खर्ब १७ अर्ब रुपैयाँ बराबरको साँवा भुक्तानी गरेको छ। डलरको मूल्यमा आएको गिरावट र साँवा भुक्तानी दुवैले सार्वजनिक ऋणको आकार घटाउन सहयोग पुर्‍याएका छन्।

आन्तरिक र बाह्य ऋणको अवस्था

कात्तिक मसान्तसम्म नेपालको आन्तरिक ऋण १४ खर्ब ४७ अर्ब रुपैयाँ र बाह्य ऋण १५ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ। यसरी कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ।कुल गार्हस्थ्य उत्पादन (जीडीपी) का आधारमा नेपालको सार्वजनिक ऋण ४५.०८ प्रतिशत रहेको छ। यसमध्ये आन्तरिक ऋण जीडीपीको २१.२२ प्रतिशत र बाह्य ऋण २३.८६ प्रतिशत रहेको छ।

सरकारले साढे ६ खर्ब ऋण लिने लक्ष्य

चालु आर्थिक वर्षमा सरकारले ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण लिने लक्ष्य राखेको छ। तर, कात्तिक मसान्तसम्म १ खर्ब ५३ अर्ब ८४ करोड रुपैयाँ मात्र ऋण परिचालन भएको छ। यो वार्षिक लक्ष्यको २३.३७ प्रतिशत हो।सरकारले यस वर्ष ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण र २ खर्ब ४८ अर्ब रुपैयाँ बाह्य ऋण लिने लक्ष्य राखेको छ। कात्तिकसम्म आन्तरिक ऋण लक्ष्यको ३०.४९ प्रतिशत र बाह्य ऋण लक्ष्यको ११.६२ प्रतिशत मात्र परिचालन भएको छ।

चार महिनामै ऋणको साँवा ब्याजमा १ खर्ब ४० अर्ब खर्च

सरकारले चालु आर्थिक वर्षको पहिलो चार महिनामै सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा १ खर्ब ४० अर्ब ९३ करोड रुपैयाँ खर्च गरिसकेको छ।यस वर्ष सरकारले सार्वजनिक ऋण सेवाका लागि ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ। कात्तिकसम्म वार्षिक लक्ष्यको ३३.७३ प्रतिशत रकम भुक्तानी भइसकेको छ।सरकारले आन्तरिक ऋणको साँवा भुक्तानीमा ९९ अर्ब ९४ करोड र ब्याजमा १९ अर्ब २४ करोड रुपैयाँ खर्च गरेको छ। त्यस्तै, बाह्य ऋणको साँवा भुक्तानीमा २१ अर्ब ७४ करोड र ब्याजमा ४ अर्ब ३६ करोड रुपैयाँ खर्च भएको छ।

सात वर्षमा दोब्बरभन्दा बढी सार्वजनिक ऋण

नेपालको सार्वजनिक ऋण पछिल्लो सात वर्षमा दोब्बरभन्दा बढी भएको छ। आर्थिक वर्ष २०७६/७७ सम्म नेपालको सार्वजनिक ऋण १४ खर्ब ३३ अर्ब ४० करोड रुपैयाँ रहेको थियो। अहिले यो बढेर करिब ३० खर्ब रुपैयाँको हाराहारीमा पुगेको छ।सात वर्षअघि जीडीपीको ३८.०५ प्रतिशत रहेको सार्वजनिक ऋण अहिले बढेर ४५ प्रतिशतभन्दा माथि पुगेको छ।बढ्दो सरकारी खर्च, वैदेशिक अनुदानमा कमी तथा अपेक्षाअनुसार राजस्व संकलन हुन नसक्दा सार्वजनिक ऋण निरन्तर बढिरहेको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ।

अर्थविज्ञहरूले ऋण लिएर उत्पादन, रोजगारी सिर्जना र पूर्वाधार विकासमा लगानी गर्नुपर्नेमा जोड दिएका छन्। ऋणको सदुपयोग हुन नसके भविष्यमा साँवा तथा ब्याज भुक्तानीको भार अझ बढ्ने र शिक्षा, स्वास्थ्य तथा अन्य अत्यावश्यक क्षेत्रमा बजेट अभाव हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पनि आन्तरिक ऋणलाई प्रशासनिक तथा चालु खर्चमा प्रयोग नगरी रोजगारी सिर्जना, उत्पादन वृद्धि र दीर्घकालीन प्रतिफल दिने आयोजनामा लगानी गर्न सरकारलाई सुझाव दिएको छ।

त्यस्तै, महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले समेत सार्वजनिक ऋणको रकम पूँजी निर्माण हुने क्षेत्रमा पर्याप्त रूपमा खर्च हुन नसकेको विषय उठाएको छ।डलर कमजोर हुँदा तत्काल सार्वजनिक ऋणको हिसाबमा केही राहत देखिए पनि नेपालको बढ्दो ऋणभार, साँवा ब्याज भुक्तानी र ऋणको सदुपयोग चुनौतीपूर्ण विषयका रूपमा रहेको छ।

स्रोत: अनलाइनखबर,
Online Khabar

काञ्चल खबर संवाददाता, कटहरिया, रौतहट।| रौतहट, मंसिर ९ गते।

अदालतबाट पक्राउ नगर्न र कुनै पनि लिखतमा जबर्जस्ती सहीछाप नगराउन स्पष्ट निषेधाज्ञा जारी भएको अवस्थामा पनि प्रहरीले आफूलाई नियन्त्रणमा लिएर कुटपिट तथा दुर्व्यवहार गर्दै नेपाली कागजमा जबर्जस्ती सहीछाप गराएको ६२ वर्षीय लक्ष्मी महतोले गम्भीर आरोप लगाएका छन्।

कटहरिया नगरपालिका–५ बलिरामपुर निवासी महतोले रौतहट जिल्ला अदालत, गौरबाट जारी आदेशको जानकारी प्रहरी कार्यालयमा पुगिसकेको अवस्थामा समेत जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरीले आफूलाई कानुनी प्रक्रियाविपरीत व्यवहार गरेको दाबी गरेका हुन्।महतोका अनुसार उनले २०७९ सालमा देवाही गोनाही नगरपालिका–७ उचीडीह निवासी सरफलाल राउतसँग पाँच लाख रुपैयाँमा चार कठ्ठा जग्गा खरिद गरेका थिए। तर, अहिले आएर सरफलाल राउतलगायतका व्यक्तिहरूले सोही जग्गाको विषयलाई लिएर आफूविरुद्ध मिटरब्याजसम्बन्धी मुद्दा अघि बढाएको उनको भनाइ छ।

यस विषयमा छलफलका लागि जिल्ला प्रहरी कार्यालयबाट आफूलाई पटक–पटक बोलाइएको महतोले बताएका छन्। उनका अनुसार यसअघि पनि प्रहरीले दुई पटक सम्पर्क गरी दुवै पक्षलाई राखेर छलफल गराएको थियो। तर, विवाद समाधान हुन सकेको थिएन।प्रहरीमा बोलाउने र आफूविरुद्ध मिटरब्याजसम्बन्धी उजुरी गर्ने क्रम नरोकिएपछि महतोले २०८३ मंसिर ४ गते रौतहट जिल्ला अदालत, गौरमा निषेधाज्ञासम्बन्धी मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा अदालतले २०८३ मंसिर ८ गते आफूलाई पक्राउ नगर्न तथा कुनै पनि लिखतमा सहीछाप नगराउन निषेधाज्ञा आदेश जारी गरेको र आदेश कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालयमा पत्रसमेत पठाइएको महतोको दाबी छ।

तर, अदालतको आदेश जारी भइसकेपछि पनि जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटभित्रै आफूलाई जबर्जस्ती नियन्त्रणमा लिइएको, कुटपिट तथा दुर्व्यवहार गरिएको र नेपाली कागजमा हस्ताक्षर गर्न बाध्य पारिएको महतोले आरोप लगाएका छन्।‘अदालतले पक्राउ नगर्न र कुनै पनि कागजमा सहीछाप नगराउन आदेश दिइसकेको थियो। त्यसको जानकारी प्रहरी कार्यालयमा समेत पठाइएको थियो। तर पनि मलाई कार्यालयभित्रै नियन्त्रणमा लिएर जबर्जस्ती सहीछाप गराइयो,’ महतोको भनाइ छ।

अदालतको आदेशको पालना र नागरिकको अधिकारको संरक्षण गर्ने जिम्मेवारी बोकेको प्रहरीबाटै आदेश उल्लंघन भएको भन्दै महतोले घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले आफूलाई अन्यायमा पारिएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन गर्न, जबर्जस्ती गराइएको भनिएको सहीछापको कानुनी परीक्षण गर्न तथा दोषी देखिने प्रहरी कर्मचारीमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।

यो घटनाले अदालतबाट जारी निषेधाज्ञा आदेशको कार्यान्वयन, नागरिकको मौलिक अधिकारको संरक्षण तथा प्रहरी प्रशासनको जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ।

यद्यपि, घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटको आधिकारिक धारणा प्राप्त हुन बाँकी छ। महतोले लगाएको आरोपको सत्यतथ्य पुष्टि गर्न प्रहरी प्रशासनको प्रतिक्रिया र निष्पक्ष छानबिन आवश्यक देखिन्छ।

कागजमै तालिम, डेराबाटै चेक ! गरुडा नगरपालिकामा हाकिम नाथु र लेखापाल राजेशमाथि अनियमितताको आरोप

रौतहट, ८ मंसिर । रौतहटको गरुडा नगरपालिकामा भ्रष्टाचार र प्रशासनिक बेथिति बढेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह र लेखापाल राजेश साहमाथि विकास निर्माण तथा सामाजिक विकासका कार्यक्रमको बजेट दुरुपयोग गरेको गम्भीर आरोप लागेको छ।

लेखापाल साहको सक्रियतामा सामाजिक विकास र पूर्वाधार निर्माणका योजनामा ठूलो आर्थिक अनियमितता तथा कमिसनको चलखेल भएको स्थानीयको आरोप छ। गत आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तमा हतारहतार गुणस्तरहीन तथा अधुरा योजनाको समेत प्राविधिक मूल्याङ्कन गराई विभिन्न योजनाको शतप्रतिशत भुक्तानी गरिएको आरोप लगाइएको छ। यसले गर्दा नगरपालिकामा विकास निर्माणका काम प्रभावित भएको स्थानीयको भनाइ छ।

स्थानीयका अनुसार मेयर कन्थमणि जयसवालको आग्रहमा गरुडा नगरपालिका आएका लेखापाल राजेश साह र प्रमुख प्रशासकीय अधिकृत नाथु साहले खरिद प्रक्रियामा समेत अनियमितता गर्ने गरेको आरोप छ। बोलपत्र प्रक्रियालाई छल्न फर्निचर, विद्युतीय सामग्री तथा मसलन्दजस्ता एउटै प्रकृतिका सामानलाई साना–साना बिल बनाएर कोटेसन वा सोझै खरिद गर्ने गरिएको स्थानीयको दाबी छ।

स्थानीय धिरेन्द्र यादवले नगरपालिकामा सामान खरिद गरेको बिल पेस गर्ने तर जिन्सी खातामा दाखिला नगर्ने तथा आवश्यकताभन्दा बढी मूल्यमा सामान खरिद गर्ने गरिएको आरोप लगाएका छन्। उनले नगरपालिकाको आर्थिक गतिविधिमाथि गम्भीर प्रश्न उठाउँदै अनियमितताको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।

त्यस्तै, नगरपालिकाका एक कर्मचारीले नाम नबताउने सर्तमा लेखापाल साहले सवारीसाधन, मेसिनरी तथा कार्यालयका उपकरण मर्मतका नाममा अस्वाभाविक बिल पेस गरी भुक्तानी लिने गरेको आरोप लगाएका छन्।

महिला, दलित, बालबालिका, युवा तथा कृषक लक्षित सीपमूलक तालिम, जनचेतनामूलक कार्यक्रम र गोष्ठीसमेत कागजमै सीमित राखेर भत्ता, खाजा तथा स्टेसनरीका नक्कली बिल बनाई भुक्तानी लिने गरिएको स्थानीयको आरोप छ। वास्तविक रूपमा कार्यक्रम सञ्चालन भए–नभएको तथा खर्चको विवरणबारे छानबिन गर्नुपर्ने उनीहरूको माग छ।

त्यसैगरी, नेपाल सरकारको मापदण्डविपरीत आफन्त तथा नजिकका व्यक्तिलाई करार र ज्यालादारीमा नियुक्त गरी तलबभत्ता खुवाउने गरिएको आरोपसमेत लेखापाल साहमाथि लागेको छ।

सवारीसाधनको लगबुक व्यवस्थित रूपमा नराख्ने तथा बिदाका दिन र निजी प्रयोजनमा प्रयोग भएका सवारीसाधनका लागि समेत कार्यालयबाट इन्धन कुपन जारी गर्ने गरिएको आरोप स्थानीयले लगाएका छन्। यस विषयमा लेखापाल राजेश साह र प्रमुख प्रशासकीय अधिकृत नाथु साहको सम्पत्तिसमेत छानबिन गर्न स्थानीयले माग गरेका छन्।अझ रोचक पक्ष त के छ भने कार्यालय छाडेर चन्द्रपुरस्थित डेराबाटै चेक काट्ने गरिएको आरोपसमेत उनीहरूमाथि लागेको छ। यस विषयमा प्रतिक्रिया लिन खोज्दा दुवै अधिकारी सम्पर्कमा नआएको समाचारमा उल्लेख छ।

नगरपालिकामा उठेका यी आरोपहरूको निष्पक्ष छानबिन गरी योजनाको भुक्तानी विवरण, खरिद प्रक्रिया, तालिम तथा गोष्ठीका खर्च र कर्मचारी नियुक्तिसम्बन्धी कागजात सार्वजनिक गर्न स्थानीयवासीले माग गरेका छन्।

रौतहट, ६ मंसिर। रौतहटको यमुनामाई गाउँपालिका–५ झुनखुनवा चोकमा मोटरसाइकलको सामान्य ठक्करपछि उत्पन्न विवादमा एक युवक धारिलो हतियार प्रहारबाट घाइते भएका छन्। घटनामा संलग्न व्यक्ति फरार भएपछि आक्रोशित स्थानीयवासीले गौर–चपुर सडकखण्ड अवरुद्ध गरेका छन्।

प्रहरीका अनुसार राजपुर नगरपालिका–१ भगवानपुर निवासी रविन्द्र यादवका करिब ३०/३५ वर्षीय छोरा राजेश यादवलाई मोटरसाइकलले सामान्य ठक्कर दिएको थियो। ठक्करपछि मोटरसाइकल चालकलाई रोक्ने क्रममा विवाद भएको र सोही क्रममा चालकले राजेशमाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी लक्षुमन शाहीले बताए।

हतियार प्रहार गरी घाइते बनाउने व्यक्ति मोटरसाइकल घटनास्थलमै छाडेर फरार भएको बताइएको छ। घाइते राजेशलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।

घटनापछि आक्रोशित स्थानीयवासी सडकमा उत्रिएर गौर–चपुर सडकखण्ड अवरुद्ध गरेका छन्। उनीहरूले घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गर्न र पीडितलाई न्याय दिलाउन माग गर्दै प्रदर्शन गरिरहेका छन्।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी टोली घटनास्थल पुगेको डीएसपी शाहीले बताए। फरार व्यक्तिको खोजी भइरहेको र अवरुद्ध सडक खुलाउने प्रयाससमेत भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आन्तरिक राजनीतिक मतभेदभन्दा मुलुकको राष्ट्रिय हित सधैँ सर्वोपरि हुने बताएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणको सन्दर्भमा आइतबार सामाजिक सञ्जाल फेसबूकमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले परराष्ट्र नीति र अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व हुँदा आन्तरिक विमतिलाई थाती राखेर राष्ट्रको स्वाभिमान र हितको पक्षमा उभिनुपर्ने बताएका हुन् ।

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन् ।

गएराति रुबीभ्याली गाउँपालिका–४ कलदाङस्थित लापाबाट बोराङतर्फ जाँदै गरेको बा.प्र.०२०३३ च ७१६९ नम्बरको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेको थियो ।

दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकसहित अन्य नौ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि बोराङ स्वास्थ्य चौकी पठाइएको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौं । विपद्का समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले सरकारले ‘सेल ब्रोडकास्टिङ प्रणाली’ परीक्षण गर्ने भएको छ ।सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल टेलिकमको समन्वयमा शुक्रबार मङ्सिर ४ गते काठमाडौंको बलम्बु क्षेत्रमा प्रणालीको सीमित प्राविधिक परीक्षण गरिने भएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार परीक्षणका क्रममा तोकिएको क्षेत्रमा रहेका परीक्षण मोबाइल उपकरणमा नेटवर्कमार्फत पूर्वसूचना सन्देश पठाइनेछ । परीक्षणका लागि तोकिएका उपकरणमा मात्र सन्देश प्राप्त हुनेछ ।यो प्रणालीमार्फत निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना पठाउन सकिन्छ । सामान्य सन्देश सेवाभन्दा फरक यस प्रविधिले इन्टरनेट वा सिमकार्ड सेवा नभए पनि मोबाइल नेटवर्कको पहुँचमा रहेका उपकरणमा सूचना पुर्‍याउन सक्छ। नेटवर्कमा अत्यधिक चाप भएका बेला पनि छोटो समयमा धेरै मोबाइलमा सन्देश पठाउन सकिने यसको विशेषता हो ।प्रारम्भिक परीक्षण सफल भएमा प्रणालीलाई चरणबद्ध रूपमा विस्तार गरी बाढी, पहिरोलगायत प्राकृतिक विपद्को उच्च जोखिम रहेका क्षेत्रमा लागू गर्ने योजना छ । यसबाट जोखिममा रहेका नागरिकलाई समयमै सचेत गराउन र सम्भावित क्षतिबाट जोगिन पूर्वतयारी गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबार २०८३ मंसिर ३ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४१ पैसा रहेको छ । बेलायती पाउन्ड एकको खरिददर १९६ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९७ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।

स्वीस फ्र्याङ्क एकको खरिददर १७७ रुपैयाँ २२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९३ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ४० पैसा र बिक्रीदर १०० रुपैयाँ ८० पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ २२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।

त्यस्तै, सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११६ रुपैयाँ १८ पैसा रहेको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९३ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४१ रुपैयाँ १० पैसा रहेको छ । संयुक्त अरब इमिरेट्सको दिराम एकको खरिददर ४० रुपैयाँ ६३ पैसा र बिक्रीदर ४० रुपैयाँ ७९ पैसा कायम भएको छ ।

थाई भाट एकको खरिददर ४ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४ रुपैयाँ ४१ पैसा रहेको छ। मलेसियन रिंगेट एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४० पैसा तथा दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ २० पैसा र बिक्रीदर ११ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।

यसैगरी, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ७० पैसा र बिक्रीदर १४ रुपैयाँ ७६ पैसा रहेको छ। डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २२ रुपैयाँ कायम भएको छ । हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २ पैसा र बिक्रीदर १९ रुपैयाँ ९ पैसा रहेको छ ।

कुवेती दिनारको एकको खरिददर ४८३ रुपैयाँ ४ पैसा र बिक्रीदर ४८४ रुपैयाँ ९८ पैसा कायम गरिएको छ । बहराइन दिनार एकको खरिददर ३९५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ११ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ११ पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदरमा भने केही फरक हुन सक्ने जानकारी दिएको छ । एभरेष्ट न्यूज एजेन्सी,

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।