काठमाडौं , माघ १ गते
नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ ।
भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरेको सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
मूल्य घटेपछि सोमबार राति १२ बजेदेखि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ कायम भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५६ कायम भएको छ ।
त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल १५३ रुपैयाँ कायम भएको छ ।
सुर्खेत र दाङ क्षेत्रमा भने पेट्रोल प्रतिलिटर १६५ र डिजल तथा मट्टितेल १५५ कायम भएको छ । स्रोत आनलाइन
महोत्तरी, माघ १ गते
महोत्तरी — विभिन्न नाकाबाट भन्सार छली गरी चोरी पैठारीबाट नेपाल ल्याइएको २१ लाख मुल्य बढीको कपडा प्रहरीले बरामद गरेको छ ।
गौशाला नगरपालिका-२, निगौल हुँदै ३ वटा टेम्पु र २ वटा मोटरसाइकलमा ल्याइएको कपडा भन्सार छलेर ल्याएको भन्ने सुचनाको आधारमा सोमबार विहान ४ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो ।
५वटा सवारीबाट भन्सार छली गरी ल्याइएको २१ लाख २८ हजार ३ सय मूल्य बराबरको विभिन्न कपडाहरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।
प्रहरीका अनुसार दुई भारतीय नम्बरको मोटरसाइकल र ०२–००१ ह १७२३ नम्बरको हरियो रंगको टेम्पो, स १ ह ५२८० नम्बरको निलो टेम्पो र प्र ०४–००१ ह ०१५२ नम्बरको निलो रंगको टेम्पोसहित भन्सार छलेर ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
बरामद भएका सामान सहित नियन्त्रणमा लिएको सवारी र चालकलाई पनि आवश्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय पठाइने प्रहरीले जनाएको छ । स्रोत आनलाइन
काठमाडौँ, माघ ०१ गते ।
महोत्तरी — महोत्तरीको गौशालामा बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जना स्थानीयालाई पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौशाला नगरपालिका-१२ का ४५ वर्षीय उपेन्द्रसिंह कुशवाहालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।
मामावली घरमा बस्दै आएकी बालिकालाई पुस २१ गते राति करिब साढे ८ बजे सुतिरहेको अवस्थामा ललाइफकाइ गरेर सामूहिक बलात्कार गरेको आरोपमा उपेन्द्र सिंह कुशवाहालाई पक्राउ गरिएको प्रहरी निरीक्षक यादवले बताए ।
प्रलोभनमा पारी सामूहिक करणी गरेको भनी पीडितको परिवारले आइतबार साँझ इलाका प्रहरी कार्यालय गौशालामा जाहेरी दिएपछि जाहेरी दरखास्तमा उल्लेखित विपक्षीहरुलाई खोजतलासको क्रममा उपेन्द्र सिंह कुशवाहालाई पक्राउ गरिएको जनाएको छ ।
फरार रहेको प्रतिवादीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । सुतिरहेकी बालिकालाई बलात्कार गरेको दृश्य मोबाइलमा कैद भएको भिडियोसहित पीडित परिवारले जाहेरी दिएको प्रहरी निरीक्षक यादवले बताए । स्रोत कान्तिपुर
काठमाडौँ, माघ ०१ गते ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनको लागि उम्मेदवारहरूलाई चुनावी चिह्न वितरण गरिएसँगै आइतबारदेखि चुनावी दौडधुप शुरू भएको छ।
निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न दलहरूले लबिङका साथै अपिल गर्न शुरू गरेका छन्। आज सोमबार माघी बिदा परेकोले मंगलबारदेखि चुनावी गतिविधि अझै तीव्र रूपमा अघि बढ्ने देखिएको छ।
चुनावी मैदानमा आठ वटा राजनीतिक दलका उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिए पनि सत्तागठबन्धनको चुनावी सक्रियता देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत र नेपाल मजदुर किसान पार्टी भने एक्ला एक्लै चुनावी मैदानमा छन्।
राष्ट्रियसभाको १९ सिटमै जित हात पार्ने निश्चित भए पनि गठबन्धनले मतदातासँग अन्तरक्रिया कार्यक्रमलाई प्राथमिकता दिएको छ। राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट कांग्रेसका १०, माओवादी केन्द्रका ६, एकीकृत समाजवादीका २ र जसपाका १ उम्मेदवार छन् । निर्वाचनमा कुल ५१ जना उम्मेदवारहरू प्रतिस्पर्धामा रहेका छन्।
राजनीतिक दलहरूले राष्ट्रियसभा निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखलाई लक्षित गरी चुनावी गतिविधि शुरू गर्ने जनाएको छ । सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचन लक्षित गरी तीनवटा प्रदेशमा कार्यक्रम गर्ने भएको छ।
गठबन्धनले माघ पहिलो साता कोशी, मधेस र वागमती प्रदेशमा राष्ट्रियसभाका मतदातासँगको अन्तरक्रिया कार्यक्रम गर्ने बताइएको छ। यसैबीच गठबन्धनका उम्मेदवार सबैका साझा उम्मेदवार भएकाले सबैले मतदान गरेर जिताउनका लागि शीर्ष नेताहरूले अपिल गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचेतक लेखकले प्रदेश र जिल्लाहरूमा समन्वय समितिहरू गठन भएको बारेमा नेताहरूलाई ब्रिफिङ गरिएको जानकारी पनि दिनुभयो।
यसै गरी प्रमुख प्रतिपक्ष दल एमालेले पार्टी पंक्तिलाई सक्रिय गर्नुका साथै विभिन्न प्रदेशमा अन्तरक्रिया र छलफल गर्ने तयारी अघि बढाएको छ। अरू दलले पनि आफ्नो नीति, योजनाको प्रचारको रूपमा चुनावलाई उपयोग गर्ने नीति लिएको छ।
राष्ट्रिय सभाको निर्वाचनमा सात वटै प्रदेशका गरी ५ सय ४९ जना प्रदेशसभा सदस्य मतदाता रहेका छन्। त्यसै गरी ७ सय ५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ हजार ४ सय ९८ मतदाता रहेका छन्।
राष्ट्रियसभा निर्वाचनमा प्रदेश सांसद र पालिका प्रमुख–उपप्रमुख मतदाता रहन्छन्। सातै प्रदेशमा सत्ता गठबन्धनसँग सुविधाजनक मतभार छ।
कुल मतदातामध्ये प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउ“पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ कायम गरिएको छ।
आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार ४ सय ६२ गरी जम्मा ५७ हजार ५ सय ५९ मतभार रहेको छ।
चुनाव प्रचारप्रसार खर्चको सीमा तोकियो
राजनीतिक दलहरूले चुनावी प्रचारको गतिविधिहरू अघि बढाएसँगै आयोगले चुनाव प्रचारप्रसारको खर्च सीमा तोकेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रिय सभा सदस्यको उम्मेदवारले ३ लाख ५० हजार रुपिया“सम्म खर्च गर्न पाउने छन्।
आयोगका अनुसार मतदान नामावली खरिद, सवारी साधन र इन्धन, प्रचार सामग्री, गोष्ठी अन्तरक्रिया, प्रचार प्रसार कार्यालय सञ्चालनलगायत गरी कुल तीन लाख ५० हजार रुपियाँसम्म खर्च गर्न सक्नेछन्।
उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा खाता खोलेर त्यसबाट खर्च गर्नुपर्नेछ। साथै निर्वाचन सकिएको ३० दिनभित्र आयोगमा विवरण बुझाउनसमेत आयोगले उम्मेदवारहरूलाई आग्रह गरेको छ।
आचारसंहिता लागू
मंगलबारदेखि नै लागू हुने गरी आयोगले निर्वाचन आचारसंहिता जारी गरेको छ। राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको भोलिपल्ट माघ १२ गतेसम्मका लागि आचारसंहिता लागू हुने आयोगले जनाएको छ।
आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, दफा ५ को खण्ड (क), खण्ड (क १) र खण्ड (छ), दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्यवस्था लागू गर्न लागेको हो।
निर्वाचन आचारसंहिताले कुनै पनि सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रयोग गर्न वा गराउन नपाइने उल्लेख गरेको छ।
आयोगले निर्वाचनका लागि सार्वजनिक संस्था, विद्यालय, विश्वविद्यालयलगायत क्षेत्रमा पनि प्रचारप्रसार तथा भेला नगर्न निर्देशन दिएको छ।
त्यसै गरी ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैड्डिक अल्पसङ्ख्यक समुदाय र अपांगता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन तथा बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन नहुने पनि प्रवक्ता पौडेलले बताउनुभयो।
आचारसंहिताअनुसार प्रचलित कानुनबमोजिम निषेध गरिएको समय र स्थानमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने भनिएको छ।
सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्नेजस्ता भ्रामक टीकाटिप्पणी गर्न वा गराउन नहुने व्यवस्था छ ।
निर्वाचनको ४८ घण्टाअगाडि मौन अवधि शुरू हुने पनि आयोगले जनाएको छ। आयोगका अनुसार माघ ८ गते मध्यराति १२ बजेदेखि उक्त मौन अवधि शुरू हुन्छ।
त्यस अवधिमा निर्वाचनको प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाइने भनिएको छ।
त्यसै गरी मतदान स्थलको दुई सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, कुनै पनि विधि प्रक्रिया वा माध्यमबाट मत माग्न र प्रचार गर्न नहुने भनिएको छ। स्रोत न्युज आफ नेपाल
बज्जिकाञ्चल संवाददाता,०१ गते माघ ।
आज देशैभरी माघे संक्रान्ति मनाउने क्रममा यहाँ पनि मनाइँदै । मदेश प्रदेशमा तिला संक्रान्त खिचडी पर्व रहेको छ ।आज माघ ०१ गते अर्थात् मकर संक्रान्ति ।

देशैभरी विभिन्न समुदायले आ–आफनो नामबाट मनाउने गर्दछन् । तराइ मधेशमा पनि यसको बेग्लै विशेषता छ । मधेशी समुदायहरु बिच तीलको लड्डु पनि लोकप्रिय रहेको छ । आज दहि,चिउरा,तिलको लडु सहित मिठो परिकार बनाएर खाने चलन छ ।

आजको दिन खिचडी खाने पनि परम्परा छ । बिहानै नुहाइ धुवाइ गरी बिहानै चोखो भई सर्वप्रथम तिल र चामल छोइ पितृहरुको निकाले गरिन्छ । यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ । चिउरा, मुढि,जनेरा लगायत विभिन्न किसिमका लड्ड बनाइन्छ । यी परिकार पूजापाठ गरी सर्वप्रथम घरका कुल देवतालाई चढाइन्छ । देविदेवतालाइ चढाएर मात्र खाने चलन रहेको छ ।

जाडोमौसममा यो पर्व पर्ने गर्दछ । यस पर्वामा खाने परिकारले शरीरलाई न्यानो राख्न सहयोग पुर्याउने गर्दछ । यस्ता खाने कुराहरु स्वास्थ्यको हिसाबले पनि लाभदायक मान्निछ । आजको दिन सूर्य उत्तरायणमे प्रवेश गर्दछ । दिन लामो र रात सानो हुँदै जान्छ । तिल भर दिन बढने गरेको जानकारहरु बताउँछन् ।
तरुल(अलुुुुुुवा)लाई पुस मसान्तका दिन उसिनेर माघ १ गते आजकै दिन खाने परम्परा छ । तरुल खेती गर्ने किसानहरु लाइ पनि भ्याइनभ्याइ छ ।
रौतहट,२९ गते पुस ।
रौतहटको कटहरिया नगरपालिकाले हिउँदे अधिवेशन आइतबार सम्पन्न गरेको छ । कटहरिया नगरपालिका वडा नम्बर ९ स्थित डुमरियामा एक कार्यक्रमको बिच नगर सभाको ९ औँ अधिवेश २०८० सम्पन्न गरेको हो ।

कटहरिया नगरपालिकाका बहुमत सदस्यहरुले अधिवेशन सम्पन्न गरेका छन् । राष्ट्रियगान बाट सुुरु भएको कार्यक्रममा ज्ञातहज्ञात शहिदहरुको समझानामा एक मिनेट मौन धारण गरिएको थियो । पानसमा दिप प्रजवलन गरी कार्यक्रमलाइ नगर प्रमुख अजय प्रकाश जयसवालले उद्धघाटन गर्नु भएको थियो । आयोजित सभालाई सम्बोधन गर्दै नगरप्रमुख अजय जयसवालले नगरपालिकाको कामकाज अगाडी बढाउने उदेश्यले आफूले हिउँदे अधिवेशन आयोजन गरेको बताए ।

जनताले प्रदान गरेको मैनडेड अनुसार नै आफू अगाडी बढिरहेको बताए । उनले भने,कार्यपालिका बोर्डको सहमतीले नै कामहरु बढन सक्छ । सबै कार्यपालिका सदस्यहरुको अधिकार सामान रहेको बताए । जनताको सुख सुविधाको लागि आफू लडन तयार रहेको प्रष्ट पारे । अहिले जुन नगरपालिकालाइ बिथोल्ने काम भइरहेको छ ।

त्यो गलत रहेको उनको भनाइ छ । नगरपालिकालाइ बन्द गर्ने काम,सेवाग्राहीलाइ मर्कामा पर्नेगरी तालाबन्दी गर्नु गलत हो । जे पनि माग छ त्याृे मागलाइ कार्यपालिका बोर्डमा आएर राख्न आन्दोलनरक्त पक्षलाइ आग्रह गरे । कार्यपालिका बोर्डको निर्णय लाइ आफूू मान्न तयार रहेको प्रष्ट पारे । यदि आफनो दायित्व,कर्तव्य जनताको प्रति इमान्दारी पूर्वक गरिरहेको छ भने कसैले पनि गलत भन्न नसक्ने ठोकुवा गरे ।

सत्यको लडाँइ लडन यथार्थ सँग हिडन् सबै सँग आग्रह गरे । जनताको सुख सुविधा जसले रोक्न प्रयास गरिरहेको छ । त्यसको खुलेर विरोध गर्न आग्रह गरे । कटहरिया वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त यादवले स्वागत मन्तव्य राख्दै बाध्यताले नगरपालिकामा गर्नुपर्ने कार्यक्रम बाहिर गर्नुपरेको बताए । हिउँदे अधिवेशन गर्नलाइ अति नै जरुरी रहेकोले हामीले अधिवेशन आयोजन गरिएको उनको भनाइ रहेको थियो । त्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै कार्यपालिका सदस्य मनोज जयसवालले जनताको सेवा सुविधा बन्द गरेर लडाइमा नलाग्न आग्रह गरे ।

उनले तालबन्दी खोलेर कार्यपालिका बैठकमा कुरा राख्न अनुरोध समेत गरे । त्यसैगरि वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चौधरीले आफनो व्यक्तिगत स्वार्थको लागि नगरपालिकामा तालाबन्दी गरेको कारण अन्तै हिउँदे अधिवेशन गर्नुु परेको बताए । कार्यक्रम सञ्चालन योजना शाखा प्रमुख रामनरेश यादवले गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गौरीशंकर कुमार सिंहले पुस मसान्त भित्र हिउँदे अधिवेशन गर्नुपर्ने भएकोले कार्यक्रम गर्नुुपरेको बताए ।

लिजामा बढि मार्क ल्याउन हिउँदे अधिवेशन गर्नुपरेको बताए । जनप्रतिनिधीहरुले आपसी मतभेदले नगरपालिकामा हिउँदे अधिवेशन नगरि अन्तै गर्नुु परेको बताए । हिउँदे अधिवेशन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सिंह सँगै वडा नम्बर ८ का वडा अध्यक्ष समिश बिक्रम साह, वडा नम्बर ९ का वडा अध्यक्ष रुपेश यादव,कार्यपालिका सदस्य दिलिप जयसवाल सहित वडा सदस्यहरु,कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

यता आफूहरुको ८ बुँदे मांगलाइ सम्बोधन नगरी नगर सभा गर्न एकदम गलत रहेको वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले प्रतिक्रिया दिनुभएको हो । कटहरिया नगरपालिकाको उपप्रमुख रिता देवी यादव सहितका जनप्रतिनिधीहरु नगरपालिका कार्यालयमा तालाबन्दी गरि धर्नामा बसिरहेका छन् ।
राजविराज (सप्तरी), २९ पुस :
सप्तरीबाट सशस्त्र प्रहरीले रू १२ लाख बराबरको काठसहित एक पिकअप गाडीलाई आज नियन्त्रणमा लिएको छ । भारदहस्थित कोशी ब्यारेजबाट खटिएको सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस क्याम्पको प्रहरी टोलीले काठसहित सो गाडी नियन्त्रणमा लिएको हो ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको प्र २–०१–००१च ०२६० नं को बोलेरो पिकअप गाडीलाई नियन्त्रणमा लिइएको सप्तरीस्थित सशस्त्र प्रहरी बल, नेपाल नं ६ गणका सूचना अधिकृत तथा सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज विष्टले जानकारी दिनुभयो ।
गाडीमा बिनाबिलविजक लोड गरिएको २६ दशमलब ६६ क्यूविक फिट काठ बरामद गरिएको र नियन्त्रणमा लिइएको काठ तथा सवारीसाधनलाई सव डिभिजन वन कार्यालयमा बुझाइएको उहाँको भनाइ थियो । (रासस)
महोत्तरी, २९ पुस :
लामो समयदेखि वनक्षेत्रमा थाक लगाएर राखिएका बहुमूल्य काठ धोत्रिन थालेका छन् । न्यायिक निकायबाट समयमै मुद्दा किनारा नलाग्दा जिल्लाका वनक्षेत्रमा राखिएका काठ सड्न र धोत्रिन थालेका हुन् ।
वनक्षेत्रबाट चोरी तथा कटानका क्रममा वन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका काठ न्यायिक निकायबाट मुद्दाको छिनोफानो नहुँदा लिलामी प्रक्रियामा जान नसकिएको डिभिजन वन कार्यालयले जनाएको छ । यसरी वनसम्बन्धी मुद्दा नछिनिँदा एकातर्फ बहुमूल्य काठ धोत्रिदै सड्न थालेका छन् भने सर्वसाधारणले काठ खरिद गर्न पाउनबाट वञ्चित भएका कार्यालयका प्रमुख सन्तोष झाले बताउनुभयो ।
“हामीले घरायसी काम, बार तथा पर्खाल लगाउन स–साना हाँगाबिगा किन्न समेत पाएका छैनौँ, यहाँ सडेर बसेको छ”, बर्दिबास–२ का भोला महतोले भन्नुभयो, “समयमै बिक्री, लिलामी गरेमा काठ सदुपयोग हुने थियो । स्थानीयले आवशयकता अनुसार खरिद गर्न पाउने थिए ।” वनसम्बद्ध मुद्दा हेर्ने न्यायिक निकायको ढिलाइले थाक लगाइएका काठ वर्षैँदेखि घामपानीले धोत्रिन थालेका उहाँको भनाइ थियो ।
चोेरी कटान भएका काठ नियन्त्रणमा लिएपछि त्यसको प्रारम्भिक न्यायिक सुनवाइ जिल्लास्थित डिभिजन वन कार्यालय र जिल्ला अदालतमा हुने व्यवस्था छ । चोरी निकासीका क्रममा वा चोरी कटान गरी लुकाइछिपाइ राखिएका काठ सम्बन्धी मुद्दाका कारबाही अगाडि बढाउँदा रु दुई लाख बिगोभित्रका मुद्दा वन कार्यालयको इजलासले सुनुवाइ गर्ने व्यवस्था छ । रु दुई लाखभन्दा बढीका काठ बरामद भएका सोसम्बन्धी मुद्दा जिल्ला अदालतमा हुने कानुनी व्यवस्था रहेको कार्यालय प्रमुख झाले जानकारी दिनुभयो ।
प्रमुख झाका अनुसार नियन्त्रणमा लिई कारबाही तथा मुद्दा फछ्र्यौटका क्रममा रहेका काठ वन कार्यालयअन्तर्गत रहेको सशस्त्र वन सुरक्षा शाखा बर्दिबास–४ माइस्थान कार्यालय र यसक्षेत्रका चारवटा सव डिभिजन वन कार्यालय परिसरमा थाक लगाएर राखिएको छ । मुद्दा किनारा नलागी उक्त काठ बिक्री तथा लिलाम गर्न नपाइने व्यवस्थाका कारण राखिएको ठाउँमा नै धोत्रिदै गएका वनसम्बद्ध अधिकारीको भनाइ छ ।
मुद्दा किनारा नलागी काठ लिलाम तथा बिक्री गर्न कानुनी प्रक्रिया नपुग्दा बरामद गरी राखिएका काठ सड्न थालेका प्रमुख झाले बताउनुभयो । उहाँका अनुसार अहिले करिब चार हजार क्यूबीफिट साखु र अन्य काठका गिड (गिण्डा) लिलामीका लागि अदालती निर्णयको पर्खाइमा छन् । लिलामीका लागि अदालती फैसला कुर्नु परेको भन्दै थन्काइएका काठको मूल्य एक करोडसम्म पर्ने वन कार्यालयका कर्मचारीको भनाइ छ ।
“चोरी कटानबाट नियन्त्रणमा लिइएका काठ लामो समयदेखि घामपानीले सड्ने र धोत्रिदै गएका छन्” झाले भन्नुभयो, “थाकमा रहेका काठको लिलामीका लागि अदालती फैसला कुर्नु पर्ने बाध्यात्मक कानुनी व्यवस्थाका कारण बिक्री गर्न सकिएको छैन ।”
डिभिजन वन कार्यालयमा विसं २०४८ यता हालसम्म दुई सय भन्दाबढी वन मुद्दा (काठ चोरी निकासी सम्बन्धी) रहेका डिभिजन प्रमुख झाको भनाइ थियो । उहाँका अनुसार यी मुद्दा दुई लाख बिगोभित्रका हुन् । यसबाहेक दुई लाखभन्दा बढी बिगोका मुद्दा जिल्ला अदालत महोत्तरीमा विचाराधीन रहेका कार्यालयले जनाएको छ ।
अदालतमा मुद्दाको अत्यधिक चापका साथै मुद्दा फैसला प्रक्रियामा पुग्न नसकेका (अभियुक्तमध्ये केही फरार रहेका, साक्षी वकपत्र हुन नसकेका) ले फैसलामा ढिलाइ भएको झाले जानकारी दिनुभयो । उहाँका अनुसार यसबाहेक पूर्व–पश्चिम रेल मार्ग र विद्युत् प्रसारण लाइन निर्माणका लागि कटान गरिएका काठमध्ये साखु बिक्री भए पनि साझेदारी वन उपभोक्ता समितिको जिम्मेवारीमा रहेका काठ अझै वनमा थाक लगाएर राखिएका छन् ।
पछिल्ला केही दिनयता जिल्लाका तीन साझेदारी वन उपभोक्ता समितिमा नयाँ नेतृत्व चयन भएका भन्दै यसअघि नेतृत्वको नहुँदा पनि काममा ढिलाइ भएको प्रमुख झाको भनाइ थियो । “समितिमा केहीदिनअघि मात्रै नयाँ निर्वाचित पदाधिकारीले जिम्मेवारी लिएका छन् । अब केही दिनभित्रै यसको टुङ्गो लाग्छ र डिभिजन कार्यालयले हेर्ने मुद्दाको छिनोफानो गर्ने प्रक्रिया अगाडि बढाउने छौँ”, उहाँले भन्नुभयो । (रासस)
रौतहट,२८ गते पुस ।
रौतहट। रौतहटको चन्द्रपुर नगगरपालिका वडा नं ६ चन्द्रनिगाहपुर स्थित साथि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको छ ।
शनिबार भएको सभाले आर्थिक वर्ष २०८०र०८१ असार मसान्तसम्मको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो । “दिगो विकासका लागि बचत गर्ने बानी बसालौँ” भविष्यका लागि ढुक्क होऔं भन्ने नारा साथ सहकारी सञ्चालनमा आएको सो संस्थाका अध्यक्ष मोहन लाल साहले जानकारी दिए। कार्यक्रममा सो संस्थाका कोषाध्यक्ष नरेन्द्र प्रसाद साहले गत आर्थिक वर्ष २०७९र०८० को आए व्याय प्रस्तुत गर्नुभएको थियो भने अध्यक्ष मोहनलाल शाहले सो संस्थाका भाभी कार्ययोजना तथा नीति नियमबारे जानकारी गराउंदै तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समाजको आर्थिक, सामाजिक र साँस्कृतिक विकासका लागि सो सहकारी संस्था सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
उनले आगामी आर्थिक वर्षदेखि बचत तथा ऋण कारोबारका आधारमा मात्र सेयर बिक्री गरिने जानकारी दिए।अध्यक्ष साहले नियमित बचत र ऋण साँवा ब्याज समयमा बुझाउन अनुरोध गर्दै इमानदारीताका साथ काम गर्न र सहयोग गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन्। साधारण सभामा उत्कृष्ट ऋणी एवं बचतकर्ता र सेयर सदस्यहरु मध्ये सबै भन्दा बढी बचत तथा शेयर गर्ने एकजना बचतकर्ता लाई फुलमाला तथा दोसल्ला ओढाई सम्मान गरिएको थियो।
कार्यक्रमको प्रमुख अतिथि चन्द्रपुर नगरपालिका सहकारी शाखाका प्रमुखशेख नसरे आलमले सहकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीहरुलाई आग्रह गर्दै नेपाल सरकारले लागु गरेको सहकारी नियमानुसार भन्दा बढि व्याज नलिन आग्रह गरे ।सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुँदा सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोबार गर्नुपर्ने बताए । संस्थाले आफ्ना सदस्यहरुलाई गोष्ठी र सेमिनारमार्फत सहकारी शिक्षा दिन संचालकलाई आग्रह गरे ।
कार्यक्रमको सभाध्यक्षता सो संस्थाका अध्यक्ष मोहनलाल शाहले गर्नुभएको थियो भने सो कार्यक्रमको प्रमुख अथितिमा चन्द्रपुर नगरपालिका सहकारी शाखाका प्रमुख शेख नसरे आलम, अतिथिमा संकल्प बचतका अध्यक्ष विभू पोखरेल,नव विकासका कार्यकारी सचिव राजु तिवारी,एकिकृत बचत तथा सहकारीका कृष्ण खडका,भुपु अध्यक्षहरु भुपेन्द्र कुमार खड्का,भरत अधिकारी तथा जीवन विज्ञान योग ध्यान केन्द्र चन्द्रपुरका प्रशिक्षकहरू मुन्ना शर्मा अधिकारी,राम ईश्वर शाह,राम नरेश शाह लगायतका शेयर सदस्यहरु तथा ऋणी सदस्यहरूको समेत उपस्थिति थियो। कार्यक्रमको उद्घोषण साथी सहकारीका सचिव रामअग्या शाहले गर्नभएको थियो ।
आरके श्रीवास्तव,मधेश,२८ गते पुस ।
रौतहट । ईलाका प्रहरी कार्यालय कटहरियाले आज सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
प्रहरीप्रति नागरिकका गुनासा, प्रहरीले खेल्नुपर्ने भूमिका, स्थानीय समस्या पहिचान र सामाधानको साथै प्रहरी प्रति नागरिकको विश्वास बढाउन सो कार्यक्रम आयोजना गरिएको थियोे । जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा शनिबार सम्पन्न भएको सो सार्वजनिक सुनुवाइ कार्यक्रममा रौतहट प्रहरी प्रमुख उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ,जिल्ला प्रहरी प्रवक्ता डिएसपि एलिजा गिरी,ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ओमप्रकाश प्रकाश खनाल समेतको सहभागीता सम्पन्न भएको छ ।

ईलाका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायव निरीक्षक अरूण कुमार सिंहले आगमन भएको दिन नै पत्रकारहरु संग कुरा गर्दै अबको केही दिनमै सार्वजनिक सुनुवाइ कार्यक्रम राख्ने प्रतिबद्धता अनुसार आज सो कार्यक्रमको आयोजना गरेका थिए । सिंह हाजिर भइ आएको एक महिना पनि नबित्दै सो इप्रकामा प्रतिक्षालय ,चमेनागृह र सौचालयको रंगरोदन गराउने देखि लिएर सो क्षेत्रमा शान्ति सुरक्षामा पनि एकदमै सुधार आएको छ ।

उक्त कार्यक्रम कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवाल,उपप्रमुख रिता देवी यादव,पूर्व नगर प्रमुख सियाराम कुशवाहा, माओवादी केन्द्रका नेता तथा मेयर प्रत्यासी नसरुदिन अन्सारी,वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महतो,वडा नम्बर ५ का वडा अध्यक्ष शर्फलाल गुप्ता,वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त यादव,वडा नम्बर ८ का वडा अध्यक्ष समिश विक्रम साह,वडा नम्बर ९ का वडा अध्यक्ष रुपेश यादव लगायत विभिन्न आम नागरिक,बुद्धिजीवी,व्यापारी सहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको समेत सहभागीतामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै मेयर प्रत्यासी नसरुदिन अन्सारीले कटहरिया ईलाका प्रहरी कार्यालयमा प्रहरी जनशक्तिको कमिले गर्दा सो क्षेत्रमा विभिन्न अपराधीक गतिविधिहरु बढिरहेकोले अझ थप जन शक्तिको व्यवस्था मिलाउन महेन्द्र कुमार श्रेष्ठसंग आग्रह गर्दै ईलाका प्रहरी कार्यालय कटहरियामा भवन र जमिनको कमि रहेकोले त्यस प्रति जनप्रतिनिधि र प्रहरी प्रमुखलाई समेत लाग्न ध्यानाकर्षण गाराए ।

कार्यक्रममा सहभागीहरुले अत्याधिक तीब्र गतिमा सवारी चलाउँदा दुर्घटना बढ्ने गरेको,कटहरिया नगर भरिमा अबैध रुपमा अबेर सम्म भइरहेको मदिरा बिक्रीवितरण,सामाजिक अपराध न्यूनीकर, चोरी, तस्करी,बाल हिंसा,महिला हिंसा लगायत सचेतना मूलक विद्यालय सम्पर्क कार्यक्रम,प्रहरी ईकाईको स्थापना,विद्यालय लगायत सबै क्षेत्रमा हुने लागू औषध नियन्त्रण तथा यौनजन्य हिंसा न्यूनीकरण गर्ने लगायतका बिषय सन्दर्भमा सवाल उठाएका थिए । नागरिकबाट उठेका हरेक प्रश्नको सम्बोधन गर्नु हुँदै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले आमनागरीक पनि बिना बर्दीको प्रहरी नै रहेको भन्दै अपराध नियन्त्रणको लागी प्रहरीलाई समयमै सूचना दिएर सहयोग गर्न सकियो भने मात्रै केही हदसम्म अपराध न्यूनीकरणमा टेवा पुग्ने बताए ।
प्रहरीसँग हातेमालो गरी कानून कार्यन्वयनमा सचेत रहनुपर्ने बताउँदै प्रमुख श्रेष्ठले प्रहरीको एक्लो प्रयासले केही गर्न नसक्ने बताएका थिए । प्रमुख श्रेष्ठ ईप्रका कटहरियामा स्थानीय सरकार सहयोगले एउटा राम्रो भवन बनाउन खोजिरहेको तर, यदि स्थानीय सरकारले सहयोग गरेन भने पनि आफुले जुनसुकै हालतमा आफ्नो कार्यकालमा एउटा राम्रो भवनको निर्माण गरेर जाने प्रतिबद्धता जनाए । एसपी श्रेष्ठले समाजलाई राम्रो समाज निर्माण गर्न जति प्रहरीको भुमिका छ त्यति नै आम नागरिकको पनि भुमिका रहेकोले सबै जना आ–आफ्नो बाल बच्चालाई राम्रो शिक्षा दिन तथा पढाउन लेखाउन आग्रह गर्दै आफुले समातेको अपराधीहरुको सिफारिसमा कोही पनि न आउन आग्रह गर्नुभयो ।