काठमाडौं । नेपाली कांग्रेसले उखुको मूल्य तत्काल निर्धारण गर्न र किसानले पाउन बाँकी रकम अविलम्ब भुक्तानी गर्न सरकारसँग माग गरेको छ ।
बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासीनताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाएर मूल्य तोक्न माग गरेको हो ।
उखु बजारमा पठाउने समय नजिकिँदै गर्दा किसानमा देखिएको चिन्ता सम्बोधन गर्न तथा बक्यौता रकम तत्काल उपलब्ध गराउन बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
यसैबीच, बैठकमा आज ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । छलफल जारी रहेकाले बैठक मंसिर १० गते बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेसले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,
आजको राशिफल बिस २०८३ मङ्सिर १० गते विहिबार ईस २०२६ नोभेम्बर २६ नेपाल सम्बत ११४७ कछलाथ्व द्वितीया- १७, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, हेमन्त ऋतु, मङ्सिर कृष्ण पक्ष द्वितीया, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, सिद्ध योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ३३ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १० बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आफ्नो क्षमता र अनुभवलाई नयाँ काममा प्रयोग गर्ने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा महत्वपूर्ण जिम्मेवारी प्राप्त हुने वा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने अवस्था आउन सक्छ। व्यापारमा नयाँ योजना अघि बढाउन सकिनेछ। आर्थिक पक्षमा आम्दानीको नयाँ सम्भावना देखिए पनि लगानी गर्दा पर्याप्त जानकारी लिनुहोला। परिवारका सदस्यसँग भविष्यका योजनाबारे छलफल हुन सक्छ। आफ्नो निर्णयमा दृढ रहँदै अरूको सुझावलाई पनि महत्व दिनुहोला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आर्थिक स्थिरता र व्यावसायिक योजनामा ध्यान केन्द्रित हुनेछ। लामो समयदेखि रोकिएको कारोबार अघि बढ्ने वा नयाँ आम्दानीको बाटो पहिचान हुने सम्भावना छ। कार्यक्षेत्रमा जिम्मेवारी पूरा गर्न थप मेहनत गर्नुपर्ने हुन सक्छ। व्यापारमा पुरानो अनुभवले सही निर्णय लिन सहयोग गर्नेछ। अनावश्यक खर्च घटाएर बचत बढाउने प्रयास गर्नुहोला। परिवारमा महत्वपूर्ण विषयमा सहमति जुट्न सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज अध्ययन, ज्ञान र बौद्धिक गतिविधिमा रुचि बढ्नेछ। नयाँ सीप सिक्ने वा आफ्नो क्षमता विस्तार गर्ने अवसर मिल्न सक्छ। सञ्चार, लेखन, व्यापार तथा शिक्षण क्षेत्रमा संलग्न व्यक्तिका लागि दिन उपयोगी रहनेछ। कार्यक्षेत्रमा नयाँ प्रस्ताव प्राप्त हुन सक्छ। आर्थिक कारोबारमा स्पष्टता राख्नुहोला। नजिकका व्यक्तिसँग विचार आदानप्रदान गर्दा नयाँ सम्भावना पहिचान गर्न सकिनेछ। व्यक्तिगत सम्बन्धमा विश्वास कायम राख्नु राम्रो हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आर्थिक तथा पारिवारिक जिम्मेवारीका विषयमा गम्भीर हुनुपर्नेछ। पुरानो ऋण, भुक्तानी वा साझा सम्पत्तिसम्बन्धी विषयमा छलफल हुन सक्छ। कार्यक्षेत्रमा गोप्य रूपमा गरिएका प्रयासले सकारात्मक परिणाम दिन सक्छन्। नयाँ लगानी गर्नुअघि जोखिम र प्रतिफलको राम्रो मूल्याङ्कन गर्नुहोला। परिवारका सदस्यसँग संवेदनशील विषयमा कुरा गर्दा धैर्य अपनाउनु आवश्यक छ। मानसिक तनाव कम गर्न आफ्नो रुचिका काममा समय दिनुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साझेदारी र व्यक्तिगत सम्बन्धका दृष्टिले आज महत्वपूर्ण दिन हुन सक्छ। व्यावसायिक सम्झौता वा नयाँ सहकार्यको प्रस्ताव आउन सक्छ। कार्यक्षेत्रमा सहकर्मीसँग समन्वय गरेर अघि बढ्दा राम्रो परिणाम प्राप्त हुनेछ। व्यापारमा ग्राहकको विश्वास जित्ने अवसर मिल्नेछ। आर्थिक कारोबारमा पारदर्शिता अपनाउनुहोला। दाम्पत्य तथा प्रेम सम्बन्धमा आपसी सम्मान र समझदारी बढाउन सके सम्बन्ध अझ बलियो बन्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज दैनिक कामकाजमा व्यस्तता बढ्न सक्छ। कार्यक्षेत्रमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दा प्रशंसा प्राप्त हुनेछ। प्रतिस्पर्धात्मक गतिविधिमा राम्रो प्रदर्शन गर्न सकिनेछ। व्यापारमा व्यवस्थापन र सेवाको गुणस्तर सुधार गर्ने अवसर मिल्न सक्छ। आर्थिक पक्षमा नियमित आम्दानी रहे पनि दैनिक आवश्यकतामा खर्च बढ्न सक्छ। स्वास्थ्य र दिनचर्यामा अनुशासन कायम गर्नुहोला। परिवारका सदस्यको आवश्यकताप्रति पनि ध्यान दिनु राम्रो हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सिर्जनात्मक क्षमता र व्यक्तिगत प्रतिभा प्रस्तुत गर्ने अवसर मिल्न सक्छ। अध्ययन, कला, लेखन तथा प्रतिस्पर्धात्मक क्षेत्रमा लागेकालाई सकारात्मक परिणाम प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा नयाँ विचारले प्राथमिकता पाउन सक्छ। व्यापारमा नयाँ वस्तु वा सेवासम्बन्धी योजना बनाउन सकिनेछ। आर्थिक निर्णय गर्दा भावनाभन्दा व्यावहारिक पक्षलाई महत्व दिनुहोला। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ भने परिवारमा खुसीको वातावरण बन्न सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज घरपरिवार र व्यक्तिगत जीवनका विषय महत्वपूर्ण बन्न सक्छन्। घरको व्यवस्थापन, सम्पत्ति वा पारिवारिक जिम्मेवारीबारे निर्णय लिनुपर्ने हुन सक्छ। कार्यक्षेत्रमा केही चुनौती आए पनि धैर्यपूर्वक काम गर्दा समाधान निकाल्न सकिनेछ। आर्थिक रूपमा घरायसी खर्च बढ्न सक्ने भएकाले बजेट व्यवस्थित राख्नुहोला। परिवारका ज्येष्ठ सदस्यको सल्लाहले महत्वपूर्ण विषयमा सही दिशा दिन सक्छ। भावनात्मक विषयमा हतारमा निष्कर्ष ननिकाल्नुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज सञ्चार, सम्पर्क र भेटघाटबाट नयाँ अवसर प्राप्त हुन सक्छ। आफ्नो विचार स्पष्ट रूपमा राख्दा कार्यक्षेत्रमा सहयोग जुटाउन सकिनेछ। लेखन, सञ्चार, शिक्षण तथा व्यापारमा संलग्न व्यक्तिका लागि दिन फलदायी हुन सक्छ। छोटो यात्राको योजना बन्ने सम्भावना छ। आर्थिक कारोबारमा कागजी प्रक्रिया र सम्झौताका सर्तमा ध्यान दिनुहोला। दाजुभाइ तथा नजिकका व्यक्तिसँगको सम्बन्धमा सुधार आउनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक व्यवस्थापन र पारिवारिक आवश्यकतामा आज ध्यान दिनुपर्नेछ। आम्दानीका स्रोत बढाउने विषयमा नयाँ विचार आउन सक्छ। कार्यक्षेत्रमा आफ्नो मेहनतको उचित मूल्याङ्कन हुने सम्भावना छ। व्यापारमा नयाँ ग्राहकसँगको सम्बन्धले भविष्यमा फाइदा पुर्याउन सक्छ। सम्पत्ति वा बचतसम्बन्धी योजना अघि बढाउन सकिनेछ। परिवारमा आफ्नो बोली र व्यवहारले सकारात्मक प्रभाव पार्नेछ। खर्च गर्दा आवश्यकतालाई प्राथमिकता दिनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज आत्मविश्वास र सक्रियता बढ्न सक्छ। लामो समयदेखि सोचिरहेको व्यक्तिगत योजना अघि बढाउने अवसर मिल्नेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी वा नेतृत्वको भूमिका प्राप्त हुन सक्छ। व्यापारमा आफ्नो पहिचान विस्तार गर्ने प्रयास सफल हुन सक्छ। आर्थिक पक्षमा नयाँ सम्भावना देखिए पनि जोखिमपूर्ण निर्णयबाट बच्नुहोला। सामाजिक सम्बन्धमा प्रभाव बढ्नेछ। व्यक्तिगत रुचि र परिवारका लागि समय छुट्याउन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)
आज आत्ममूल्याङ्कन र भविष्यको योजना बनाउने समय छ। कार्यक्षेत्रमा पर्दापछाडि गरिएका प्रयासले विस्तारै परिणाम दिन सक्छन्। नयाँ काम सुरु गर्नुअघि आवश्यक तयारी पूरा गर्नुहोला। आर्थिक रूपमा पुराना दायित्व र अनावश्यक खर्चको समीक्षा गर्नुपर्नेछ। व्यापारमा गोपनीयता र विश्वासको विषयलाई महत्व दिनुहोला। धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्न सक्छ। परिवारका सदस्यसँग समय बिताउँदा मनमा शान्ति मिल्नेछ । एभरेष्ट न्यूज एजेन्सी,
(यो राशिफल परम्परागत ज्योतिषीय मान्यतामा आधारित सामान्य फलादेश हो। व्यक्तिगत जन्मकुण्डली र ग्रहस्थितिअनुसार फलादेश फरक हुन सक्छ ।)
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज विहिबार नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जानकारी दिएको छ ।
हाल बाँके, दाङ लगायत तराईको धेरै ठाउँमा हुस्सु तथा तुवालो लागेको र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्र, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ ।
त्यस्तै, राति कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ । बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भू-भागका केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । एभरेष्ट न्यूज एजेन्सी,
प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको पेशागत सुरक्षा तथा श्रमजीवी पत्रकारको हकहित सुनिश्चित गर्न माग गर्दै रौतहटका पत्रकारहरू सडकमा उत्रिएका छन्। नेपाल पत्रकार महासंघले घोषणा गरेको देशव्यापी आन्दोलनअन्तर्गत बुधबार रौतहटका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालयअगाडि विरोध प्रदर्शन गर्दै सरकारको नीतिप्रति असन्तुष्टि जनाएका हुन्।
नेपाल पत्रकार महासंघ रौतहट शाखाको अगुवाइमा भएको प्रदर्शनमा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। प्रदर्शनकारी पत्रकारहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानर बोकेर जिल्ला प्रशासन कार्यालय रौतहटअगाडि विरोध जनाएका थिए। उनीहरूले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न र पत्रकारको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको घोषित आन्दोलनलाई समर्थन गर्दै जिल्लामा आयोजित प्रदर्शनका क्रममा पत्रकारहरूले सञ्चारमाध्यम र पत्रकारमाथि भइरहेको भनिएको विभेदपूर्ण व्यवहार, आर्थिक दबाब, धरपकड तथा पेशागत असुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए। पत्रकारिता क्षेत्रलाई नियन्त्रणमा राख्ने तथा स्वतन्त्र रूपमा समाचार सम्प्रेषण गर्ने वातावरण कमजोर बनाउने गतिविधि स्वीकार्य नहुने उनीहरूको भनाइ थियो।
प्रदर्शनमा सहभागी पत्रकारहरूले सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दी गर्ने, लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने रकम कटौती गर्ने, श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन गर्ने तथा सञ्चारगृह सञ्चालनमा विभिन्न अवरोध सिर्जना गर्ने गतिविधि तत्काल रोक्न माग गरेका छन्।पत्रकारहरूले सञ्चारमाध्यम लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै स्वतन्त्र प्रेसबिना नागरिकको सूचनाको अधिकार र लोकतान्त्रिक अभ्यास बलियो हुन नसक्ने बताएका थिए। सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने र पत्रकारलाई पेशागत रूपमा असुरक्षित बनाउने कुनै पनि नीतिले समग्र पत्रकारिता क्षेत्र प्रभावित हुने उनीहरूको धारणा थियो।
त्यसैगरी, पत्रकारमाथि हुने आक्रमण, धम्की, धरपकड तथा समाचार लेखेकै आधारमा दुःख दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने मागसमेत प्रदर्शनका क्रममा उठाइएको थियो। श्रमजीवी पत्रकारले आफ्नो श्रमको उचित पारिश्रमिक पाउनुपर्ने, रोजगारीको सुरक्षा हुनुपर्ने र सञ्चारगृहले कानुनअनुसार पत्रकारका अधिकार सुनिश्चित गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष डिल्लीबहादुर कार्कीको नेतृत्वमा सम्पन्न विरोध प्रदर्शनमा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत सुरक्षाको विषय कुनै एक व्यक्ति वा संस्थाको मात्र नभई समग्र लोकतान्त्रिक व्यवस्था र नागरिकको सूचनाको अधिकारसँग जोडिएको विषय भएको बताएका थिए।
महासंघले पत्रकारलाई स्वतन्त्र र निर्भय रूपमा काम गर्ने वातावरण निर्माण गर्न, श्रमजीवी पत्रकारको अधिकार संरक्षण गर्न तथा सञ्चारमाध्यममाथि हुने आर्थिक र प्रशासनिक हस्तक्षेप रोक्न सरकारको ध्यानाकर्षण गराएको छ।

प्रदर्शनमा सहभागी पत्रकारहरूले आफूहरू कुनै व्यक्तिगत स्वार्थका लागि नभई स्वतन्त्र पत्रकारिता, श्रमको सम्मान र पेशागत सुरक्षाका लागि आन्दोलनमा उत्रिएको बताएका छन्। माग सम्बोधन नभएसम्म प्रेस स्वतन्त्रता र पत्रकारको अधिकारका पक्षमा एकताबद्ध भएर आन्दोलनलाई निरन्तरता दिने उनीहरूले प्रतिबद्धता व्यक्त गरेका छन्।
काञ्चल खबर संवाददाता, कटहरिया, रौतहट।| रौतहट, मंसिर ९ गते।
अदालतबाट पक्राउ नगर्न र कुनै पनि लिखतमा जबर्जस्ती सहीछाप नगराउन स्पष्ट निषेधाज्ञा जारी भएको अवस्थामा पनि प्रहरीले आफूलाई नियन्त्रणमा लिएर कुटपिट तथा दुर्व्यवहार गर्दै नेपाली कागजमा जबर्जस्ती सहीछाप गराएको ६२ वर्षीय लक्ष्मी महतोले गम्भीर आरोप लगाएका छन्।
कटहरिया नगरपालिका–५ बलिरामपुर निवासी महतोले रौतहट जिल्ला अदालत, गौरबाट जारी आदेशको जानकारी प्रहरी कार्यालयमा पुगिसकेको अवस्थामा समेत जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरीले आफूलाई कानुनी प्रक्रियाविपरीत व्यवहार गरेको दाबी गरेका हुन्।महतोका अनुसार उनले २०७९ सालमा देवाही गोनाही नगरपालिका–७ उचीडीह निवासी सरफलाल राउतसँग पाँच लाख रुपैयाँमा चार कठ्ठा जग्गा खरिद गरेका थिए। तर, अहिले आएर सरफलाल राउतलगायतका व्यक्तिहरूले सोही जग्गाको विषयलाई लिएर आफूविरुद्ध मिटरब्याजसम्बन्धी मुद्दा अघि बढाएको उनको भनाइ छ।

यस विषयमा छलफलका लागि जिल्ला प्रहरी कार्यालयबाट आफूलाई पटक–पटक बोलाइएको महतोले बताएका छन्। उनका अनुसार यसअघि पनि प्रहरीले दुई पटक सम्पर्क गरी दुवै पक्षलाई राखेर छलफल गराएको थियो। तर, विवाद समाधान हुन सकेको थिएन।प्रहरीमा बोलाउने र आफूविरुद्ध मिटरब्याजसम्बन्धी उजुरी गर्ने क्रम नरोकिएपछि महतोले २०८३ मंसिर ४ गते रौतहट जिल्ला अदालत, गौरमा निषेधाज्ञासम्बन्धी मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा अदालतले २०८३ मंसिर ८ गते आफूलाई पक्राउ नगर्न तथा कुनै पनि लिखतमा सहीछाप नगराउन निषेधाज्ञा आदेश जारी गरेको र आदेश कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालयमा पत्रसमेत पठाइएको महतोको दाबी छ।
तर, अदालतको आदेश जारी भइसकेपछि पनि जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटभित्रै आफूलाई जबर्जस्ती नियन्त्रणमा लिइएको, कुटपिट तथा दुर्व्यवहार गरिएको र नेपाली कागजमा हस्ताक्षर गर्न बाध्य पारिएको महतोले आरोप लगाएका छन्।‘अदालतले पक्राउ नगर्न र कुनै पनि कागजमा सहीछाप नगराउन आदेश दिइसकेको थियो। त्यसको जानकारी प्रहरी कार्यालयमा समेत पठाइएको थियो। तर पनि मलाई कार्यालयभित्रै नियन्त्रणमा लिएर जबर्जस्ती सहीछाप गराइयो,’ महतोको भनाइ छ।
अदालतको आदेशको पालना र नागरिकको अधिकारको संरक्षण गर्ने जिम्मेवारी बोकेको प्रहरीबाटै आदेश उल्लंघन भएको भन्दै महतोले घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले आफूलाई अन्यायमा पारिएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन गर्न, जबर्जस्ती गराइएको भनिएको सहीछापको कानुनी परीक्षण गर्न तथा दोषी देखिने प्रहरी कर्मचारीमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।
यो घटनाले अदालतबाट जारी निषेधाज्ञा आदेशको कार्यान्वयन, नागरिकको मौलिक अधिकारको संरक्षण तथा प्रहरी प्रशासनको जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ।
यद्यपि, घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटको आधिकारिक धारणा प्राप्त हुन बाँकी छ। महतोले लगाएको आरोपको सत्यतथ्य पुष्टि गर्न प्रहरी प्रशासनको प्रतिक्रिया र निष्पक्ष छानबिन आवश्यक देखिन्छ।
जिल्ला वन पैदावार आपूर्ति समिति रौतहटको अध्यक्षमा रामबिर ठाकुर नियुक्त
रौतहट । जिल्ला वन पैदावार आपूर्ति समिति, रौतहटको अध्यक्ष पदमा रामबिर ठाकुर नियुक्त हुनुभएको छ ।
अध्यक्ष पदमा नियुक्त हुनुभएका ठाकुरलाई बधाई दिँदै उहाँका शुभचिन्तकहरूले नयाँ जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सक्नुहोस् भन्ने कामनासमेत गरेका छन् ।
वन पैदावारको उचित व्यवस्थापन, आपूर्ति प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउने तथा संस्थाको उद्देश्यअनुरूप प्रभावकारी कार्यसम्पादन गर्न ठाकुरको कार्यकाल सफल रहने अपेक्षा गरिएको छ ।
नयाँ जिम्मेवारीसँगै उहाँले आफ्नो अनुभव, क्षमता र नेतृत्वदायी भूमिकामार्फत समितिलाई थप प्रभावकारी बनाउनुहुने विश्वास व्यक्त गरिएको छ ।
नवनियुक्त अध्यक्ष रामबिर ठाकुरलाई हार्दिक बधाई तथा सफल, उपलब्धिमूलक र कार्यकालको शुभकामना । आरके श्रीवास्तव
### राजपुरमा दलित सशक्तीकरण ऐन निर्माणको प्रस्ताव, नगर प्रमुखलाई मस्यौदा बुझाइयो
राजेश निर्माणी | रौतहट, मंसिर ८
रौतहटको राजपुर नगरपालिकामा दलित समुदायको हकअधिकार सुनिश्चितता, जातीय छुवाछूतको अन्त्य तथा सामाजिक रूपान्तरणका लागि दलित सशक्तीकरण ऐन निर्माण गर्न प्रस्तावित मस्यौदा नगर प्रमुखलाई बुझाइएको छ।
दलित सामुदायिक विकास केन्द्रको टोलीले आज नगर प्रमुख राजिक आलमसमक्ष प्रस्तावित ऐनको प्रारम्भिक मस्यौदा पेश गरेको हो। मस्यौदामा दलित समुदायको हकअधिकार, जातीय भेदभाव तथा छुवाछूत अन्त्य, शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र सामाजिक रूपान्तरणका विषयलाई समेटिएको छ।
नेपालको संविधानले प्रत्याभूत गरेको समानताको हक, छुवाछूत तथा भेदभावविरुद्धको हक र सामाजिक न्यायको मर्मलाई स्थानीय तहबाट प्रभावकारी रूपमा कार्यान्वयन गर्न छुट्टै कानुनी व्यवस्था आवश्यक रहेको केन्द्रले जनाएको छ।
दलित समुदायले अझै जातीय भेदभाव, छुवाछूत, शैक्षिक पछौटेपन, आर्थिक अभाव, बेरोजगारी, भूमिहीनता, आवासको समस्या तथा राज्यका विभिन्न निकायमा न्यून सहभागिताजस्ता चुनौती सामना गरिरहेको भन्दै ती समस्याको दीर्घकालीन समाधानका लागि स्पष्ट नीति, कानुनी व्यवस्था, बजेट र प्रभावकारी कार्यान्वयन संयन्त्र आवश्यक रहेको मस्यौदामा उल्लेख छ।
प्रस्तावित ऐनमार्फत दलित समुदायको समानता, आत्मसम्मान, सामाजिक न्याय तथा समग्र विकास सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। स्थानीय तहबाटै आवश्यक कानुनी र नीतिगत व्यवस्था गरी समुदायको अवस्था सुधार गर्न ऐन निर्माणको पहल गरिएको केन्द्रले जनाएको छ।
मस्यौदा बुझ्दै नगर प्रमुख डा. राजिक आलमले ऐनलाई छिट्टै प्रमाणीकरण गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको दलित सामुदायिक विकास केन्द्रले जनाएको छ।
केन्द्रका अध्यक्ष उदय नारायण रामले दलित समुदायको हकअधिकार सुनिश्चित गर्न तथा सामाजिक विभेद अन्त्यका लागि स्थानीय सरकारबाट ठोस कानुनी पहल हुनु आवश्यक रहेको बताउँदै प्रस्तावित ऐन कार्यान्वयनमा आए समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक अवस्था सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
मस्यौदा बुझाउने टोलीमा दलित सामुदायिक विकास केन्द्रका सदस्यहरू पुनम राम, अवधनायण राम, संजय राम, मुकेश राम र हरिशंकर पासवान सहभागी थिए। राजेश निर्माणी | रौतहट, मंसिर ८
कागजमै तालिम, डेराबाटै चेक ! गरुडा नगरपालिकामा हाकिम नाथु र लेखापाल राजेशमाथि अनियमितताको आरोप
रौतहट, ८ मंसिर । रौतहटको गरुडा नगरपालिकामा भ्रष्टाचार र प्रशासनिक बेथिति बढेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह र लेखापाल राजेश साहमाथि विकास निर्माण तथा सामाजिक विकासका कार्यक्रमको बजेट दुरुपयोग गरेको गम्भीर आरोप लागेको छ।
लेखापाल साहको सक्रियतामा सामाजिक विकास र पूर्वाधार निर्माणका योजनामा ठूलो आर्थिक अनियमितता तथा कमिसनको चलखेल भएको स्थानीयको आरोप छ। गत आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तमा हतारहतार गुणस्तरहीन तथा अधुरा योजनाको समेत प्राविधिक मूल्याङ्कन गराई विभिन्न योजनाको शतप्रतिशत भुक्तानी गरिएको आरोप लगाइएको छ। यसले गर्दा नगरपालिकामा विकास निर्माणका काम प्रभावित भएको स्थानीयको भनाइ छ।
स्थानीयका अनुसार मेयर कन्थमणि जयसवालको आग्रहमा गरुडा नगरपालिका आएका लेखापाल राजेश साह र प्रमुख प्रशासकीय अधिकृत नाथु साहले खरिद प्रक्रियामा समेत अनियमितता गर्ने गरेको आरोप छ। बोलपत्र प्रक्रियालाई छल्न फर्निचर, विद्युतीय सामग्री तथा मसलन्दजस्ता एउटै प्रकृतिका सामानलाई साना–साना बिल बनाएर कोटेसन वा सोझै खरिद गर्ने गरिएको स्थानीयको दाबी छ।

स्थानीय धिरेन्द्र यादवले नगरपालिकामा सामान खरिद गरेको बिल पेस गर्ने तर जिन्सी खातामा दाखिला नगर्ने तथा आवश्यकताभन्दा बढी मूल्यमा सामान खरिद गर्ने गरिएको आरोप लगाएका छन्। उनले नगरपालिकाको आर्थिक गतिविधिमाथि गम्भीर प्रश्न उठाउँदै अनियमितताको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।
त्यस्तै, नगरपालिकाका एक कर्मचारीले नाम नबताउने सर्तमा लेखापाल साहले सवारीसाधन, मेसिनरी तथा कार्यालयका उपकरण मर्मतका नाममा अस्वाभाविक बिल पेस गरी भुक्तानी लिने गरेको आरोप लगाएका छन्।

महिला, दलित, बालबालिका, युवा तथा कृषक लक्षित सीपमूलक तालिम, जनचेतनामूलक कार्यक्रम र गोष्ठीसमेत कागजमै सीमित राखेर भत्ता, खाजा तथा स्टेसनरीका नक्कली बिल बनाई भुक्तानी लिने गरिएको स्थानीयको आरोप छ। वास्तविक रूपमा कार्यक्रम सञ्चालन भए–नभएको तथा खर्चको विवरणबारे छानबिन गर्नुपर्ने उनीहरूको माग छ।
त्यसैगरी, नेपाल सरकारको मापदण्डविपरीत आफन्त तथा नजिकका व्यक्तिलाई करार र ज्यालादारीमा नियुक्त गरी तलबभत्ता खुवाउने गरिएको आरोपसमेत लेखापाल साहमाथि लागेको छ।

सवारीसाधनको लगबुक व्यवस्थित रूपमा नराख्ने तथा बिदाका दिन र निजी प्रयोजनमा प्रयोग भएका सवारीसाधनका लागि समेत कार्यालयबाट इन्धन कुपन जारी गर्ने गरिएको आरोप स्थानीयले लगाएका छन्। यस विषयमा लेखापाल राजेश साह र प्रमुख प्रशासकीय अधिकृत नाथु साहको सम्पत्तिसमेत छानबिन गर्न स्थानीयले माग गरेका छन्।
अझ रोचक पक्ष त के छ भने कार्यालय छाडेर चन्द्रपुरस्थित डेराबाटै चेक काट्ने गरिएको आरोपसमेत उनीहरूमाथि लागेको छ। यस विषयमा प्रतिक्रिया लिन खोज्दा दुवै अधिकारी सम्पर्कमा नआएको समाचारमा उल्लेख छ।
नगरपालिकामा उठेका यी आरोपहरूको निष्पक्ष छानबिन गरी योजनाको भुक्तानी विवरण, खरिद प्रक्रिया, तालिम तथा गोष्ठीका खर्च र कर्मचारी नियुक्तिसम्बन्धी कागजात सार्वजनिक गर्न स्थानीयवासीले माग गरेका छन्।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण क्रममा नेपाल र भारतबीच आर्थिक सहायता, हवाई तथा रेल सम्पर्क, ऊर्जा, व्यापार र पूर्वाधार विकास क्षेत्रमा सहमति भएका छन्।
सोमबार नयाँदिल्लीमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्ति अनुसार भारतले नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रूपैयाँ बराबरको अनुदान तथा ऋण सहायता उपलब्ध गराउने भएको छ।
दुई देशबीच लामो समयदेखि छलफलमा रहेका हवाई प्रवेशमार्ग, सीमापार रेलमार्ग र जलविद्युत आयोजनाका विषयमा पनि केही नयाँ सहमति भएका छन्।
काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने, रक्सौल–काठमाडौं रेलमार्ग अघि बढाउने र नेपालमा भारतीय प्रविधि संस्थान (आइआइटी) को क्याम्पस स्थापना गर्ने सहमति भएको छ।
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन टुंग्याउने तथा बाँकी सीमा विवाद समाधान गर्ने विषयमा भने दुवै देशले पुरानै प्रतिबद्धता दोहोर्याएका छन्।
संयुक्त वक्तव्यको पूर्ण पाठ —
भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री श्री बालेन्द्र शाहले सन् २०२६ नोभेम्बर २२ देखि २३ सम्म भारतको राजकीय भ्रमण गर्नुभयो। उहाँका साथमा उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल पनि थियो। प्रधानमन्त्री पद सम्हालेपछि बालेन्द्र शाहको यो पहिलो भारत भ्रमण थियो।२. प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा औपचारिक सम्मानसहित स्वागत गरियो। उहाँले राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो। प्रधानमन्त्री शाहले भारतका सम्माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभयो। भारतका विदेशमन्त्री डा. एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नुभयो।

३. प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहसँग वार्ता गर्नुभयो र उहाँको सम्मानमा दिवाभोज आयोजना गर्नुभयो। दुई नेताबीचको छलफलमा द्विपक्षीय सहकार्यका प्रमुख क्षेत्र, आपसी चासोका क्षेत्रीय मुद्दा तथा विश्वव्यापी घटनाक्रम समेटिएका थिए।
४. प्रधानमन्त्री शाहले नेपालमा ठूलो जनधनको क्षति पुर्याएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारतले प्रदान गरेको मानवीय तथा प्राविधिक सहयोग र ऐक्यबद्धताको प्रशंसासहित कदर गर्नुभयो।

५. प्रधानमन्त्री मोदीले घनिष्ठ मित्र तथा छिमेकीका रूपमा नेपालको विकास यात्रामा भारतको अटल सहयोग रहने प्रतिबद्धता पुनः व्यक्त गर्नुभयो। भारतले नेपाललाई १५ हजार करोड भारतीय रूपैयाँ (२४ हजार करोड नेपाली रूपैयाँ) बराबरको विकास सहायता प्रदान गर्नेछ।
यसअन्तर्गत नेपालमा विपदपछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार आयोजनाहरूका लागि ३ हजार ५ सय करोड भारतीय रूपैयाँ (५ हजार ६ सय करोड नेपाली रूपैयाँ) अनुदान सहायता र ऊर्जा क्षेत्रका आयोजनाहरूका लागि ११ हजार ५ सय करोड भारतीय रूपैयाँ (१८ हजार ४ सय करोड नेपाली रूपैयाँ) बराबरको भारतीय रूपैयाँमा आधारित ऋण सुविधा उपलब्ध गराइनेछ।
विकास सहायता उपलब्ध गराउने विशिष्ट आयोजना तथा त्यसका प्रक्रियाहरू आपसी परामर्शबाट अन्तिम रूप दिइनेछ।
६. दुवै नेताले उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजनाहरू (एचआइसिडिपी) सहित नेपालमा सञ्चालित विकास आयोजनाहरूको कार्यान्वयनमा भइरहेको प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभयो। उहाँहरूले भारत सरकारको सहयोगमा निर्माण भइरहेको नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणमा भएको प्रगतिबारे पनि चर्चा गर्नुभयो। दुवै नेताले भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणाको स्वागत गर्नुभयो।

७. दुवै नेताले ‘विकसित भारत र समुन्नत नेपाल’ का लागि संयुक्त दृष्टिकोण अपनाउनुभयो। संयुक्त दृष्टिकोणसम्बन्धी वक्तव्यले भारत र नेपालबीचको आकांक्षापूर्ण तथा भविष्यमुखी साझेदारीका लागि मार्गचित्र प्रस्तुत गर्दछ। यसमा आर्थिक तथा विकास साझेदारी, सम्पर्क सञ्जाल, ऊर्जा तथा जलस्रोत र जनस्तरको सम्बन्धजस्ता परम्परागत रूपमा बलिया द्विपक्षीय सहकार्यका क्षेत्रलाई थप विस्तार गर्ने पहलहरू समेटिएका छन्।
साथै, जलवायु परिवर्तनका असर सामना गर्ने क्षमता, विपद न्यूनीकरण तथा व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष तथा नवप्रवर्तनका क्षेत्रमा नयाँ सहकार्यका सम्भावना पनि समेटिएका छन्।
८. दुवै नेताले हवाई सम्पर्क विस्तार गर्ने तथा द्विपक्षीय आर्थिक संलग्नता बढाउने उद्देश्यले नागरिक उड्डयनसम्बन्धी विषयमा भइरहेका छलफलबारे चर्चा गर्नुभयो। दुवै पक्ष हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको बी–३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा सहमत भए।
यससम्बन्धी प्रक्रियालाई अन्तिम रूप दिन तथा हाल छलफलमा रहेका दुवै पक्षका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावहरू सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ।
९. प्रधानमन्त्री मोदीले नेपालको पारवहन व्यापारका लागि दीनदयाल बन्दरगाह (कान्डला, गुजरात) हुँदै नयाँ सम्पर्क मार्ग उपलब्ध गराउने घोषणा गर्नुभयो।यसका अतिरिक्त आवश्यक पूर्वाधार तयार भएपछि उडिसास्थित पारादीप बन्दरगाहमा पनि पहुँच उपलब्ध गराइनेछ।
१०. दुवै नेताले नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी (आइसिपी) तथा पेट्रोलियम पाइपलाइन स्थापना गरेर सीमापार सम्पर्क सञ्जाल सुधार गर्ने र सीमा पूर्वाधार सुदृढ बनाउने महत्त्वमा जोड दिनुभयो।
११. दुवै प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीचको सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटन गर्दै हरियो झन्डा देखाएर सेवा शुभारम्भ गर्नुभयो।
यस रेल सेवाले सम्पर्क सञ्जाल सुधार गर्नुका साथै रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रोत्साहन गर्ने र भारत तथा नेपालबीचको सभ्यतागत सम्बन्ध सुदृढ बनाउनेछ।
दुवै नेताले बौद्ध तथा शिव–शक्ति धार्मिक पर्यटन सर्किट विकास गर्न यस्तै प्रकारका सम्पर्क सञ्जालको सम्भावना खोज्ने सहमति गर्नुभयो।
१२. दुवै नेताले प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्भे (स्थलगत मार्ग निर्धारण सर्वेक्षण) अन्तिम रूप दिइएको घोषणा गर्नुभयो। साथै, नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासका लागि दुवै पक्षले सहकार्य गर्ने घोषणा गर्नुभयो।
१३. दुवै नेताले भर्चुअल माध्यमबाट बनबासामा नयाँ एकीकृत जाँच चौकी (आइसिपी) निर्माणको शिलान्यास गर्नुभयो। उहाँहरूले भैरहवा, सुनौली तथा दोधारा–चाँदनीमा एकीकृत जाँच चौकी निर्माणमा भइरहेको प्रगतिको स्वागत गर्नुभयो।
भारत र नेपालबीच तीनवटा एकीकृत जाँच चौकी यसअघि नै सञ्चालनमा आइसकेका छन्।
१४. दुवै नेताले भारतको धार्चुला र नेपालको दार्चुलाबीच निर्माण भएको नयाँ सीमापार सवारीसाधन सञ्चालनयोग्य पुलको उद्घाटन गर्नुभयो। यसले पश्चिम नेपाल र भारतबीचको प्रत्यक्ष सम्पर्क सुधार गर्न सहयोग पुर्याउनेछ।
१५. दुवै नेताले सीमा स्तम्भहरूको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कार्यमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभयो। उहाँहरूले समाधान हुन बाँकी सीमा विवादका विषयमा काम गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिनुभयो।
१६. भारत र नेपालबीच सीमापार पेट्रोलियम पूर्वाधार विस्तार गर्ने क्रममा दुवै नेताले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाली जनतालाई समर्पण गर्नुभयो। दुवै नेताले भर्चुअल माध्यमबाट नेपालको झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास पनि गर्नुभयो।
उहाँहरूले सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण कार्य छिट्टै सुरू गर्नुको महत्त्वमा जोड दिनुभयो। दुवै पक्षले भारत र नेपालबीच ग्यास पाइपलाइन निर्माणमा सहकार्य गर्ने सम्भावनाको अध्ययन गर्न सहमति जनाए।
१७. दुवै पक्षले ऊर्जा क्षेत्रको सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त दृष्टिकोण दस्तावेज तथा दीर्घकालीन विद्युत व्यापार सम्झौताअनुरूप जलविद्युत क्षेत्रमा भएको द्विपक्षीय प्रगतिप्रति सन्तोष व्यक्त गरे। दुवै पक्षले नेपालको जलविद्युत क्षेत्रमा भारतीय कम्पनीहरूको सक्रिय संलग्नताको स्वागत गरे।
उनीहरूले नेपालमा भारतीय कम्पनीहरूले विकास गरिरहेका विभिन्न जलविद्युत आयोजनाहरू शीघ्र सम्पन्न हुने सुनिश्चित गर्न सहमति जनाए।
यस अवसरमा दुवै नेताले भर्चुअल माध्यमबाट ६६९ मेगावाट क्षमताको तल्लो अरूण जलविद्युत् आयोजनाको शिलान्यास गर्नुभयो।
१८. दुवै नेताले पञ्चेश्वर विकास प्राधिकरण तथा जलस्रोतसम्बन्धी संयुक्त समितिलाई पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) शीघ्र अन्तिम रूप दिन र आयोजना कार्यान्वयनको काम सुरू गर्न निर्देशन दिनुभयो। दुवै नेताले जलस्रोतको आपसी लाभका लागि उपयोग गर्न तथा बाढीको प्रभाव न्यूनीकरण गर्न सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाहरूको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काम तीव्र पार्नुपर्ने आवश्यकतामा पनि सहमति जनाउनुभयो।
१९. दुवै पक्षले इनरूवा (नेपाल)–नयाँ पूर्णिया (भारत) तथा दोधारा (नेपाल)–बरेली (भारत) बीचका दुई उच्च क्षमताका सीमापार विद्युत प्रसारण लाइनका लागि संयुक्त उद्यम (जेभी) गठन गर्ने कार्यमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरे।
२०. नेपाललाई भारतले प्रदान गर्दै आएको विकास तथा क्षमता अभिवृद्धिसम्बन्धी सहयोग विस्तार गर्ने क्रममा दुवै नेताले भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आइआइटी) को विदेशी क्याम्पस स्थापना गर्ने सहमति गर्नुभयो। यसले नेपालको शिक्षा क्षेत्रमा प्रभाव विस्तार गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै रोजगारी सिर्जनालाई पनि प्रवर्द्धन गर्नेछ।
दुवै नेताले स्टार्टअप तथा डिजिटल र वित्तीय सम्पर्कसहित प्रविधिका क्षेत्रमा भारत र नेपालबीच विस्तार भइरहेको सहकार्यको स्वागत गर्नुभयो।
२१. दुवै पक्षले एकअर्काको देशमा बसोबास गर्ने नागरिकहरूका लागि बैंकिङ तथा दूरसञ्चारसहितका सेवामा सहज पहुँच उपलब्ध गराउन आपसी सहजीकरण गर्नुपर्ने आवश्यकता स्वीकार गरे।
२२. भ्रमणका क्रममा दुवै पक्षबीच निम्न समझदारीपत्रहरू आदानप्रदान गरिए —
१) भारतको गुजरातस्थित गान्धीनगरमा रहेको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारीपत्र।
२) भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू) र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एनपिए) बीचको समझदारीपत्र।
३) भारत सरकारको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागअन्तर्गतको नेसनल सेन्टर फर गुड गभर्नेन्स र नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच नेपाली निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धिसम्बन्धी तालिम कार्यक्रमका लागि समझदारीपत्र।
४) भारत सरकार र नेपाल सरकारबीच आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र।
५) भारत सरकारको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसियाली भूउपग्रहको उपयोगका लागि भूउपग्रहमा आधारित सञ्चार सञ्जाल (स्याटकम) स्थापना गर्ने विषयमा समझदारीपत्र।
६) भारत सरकार र नेपाल सरकारबीच दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहकार्यसम्बन्धी समझदारीपत्र।
७) भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र।
८) भारत सरकार र नेपाल सरकारबीच पशुपालन तथा मत्स्य विकासका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र।
२३. नेपालका प्रधानमन्त्रीले आफू र आफ्नो प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यका लागि भारतका प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्नुभयो।
उहाँले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पनि दिनुभयो। भारतीय प्रधानमन्त्रीले निमन्त्रणा स्वीकार गर्नुभयो। भ्रमणको औपचारिक मिति कूटनीतिक माध्यमबाट तय गरिनेछ।
२४. भारत–नेपाल साझेदारी गहिरो विश्वास, मित्रता, आपसी सम्मान तथा सबै तहमा रहेको समझदारीमा आधारित छ।
दुई देशबीचको बलियो जनस्तरीय सम्बन्ध तथा निकट आर्थिक र विकास सहकार्यले यस साझेदारीलाई थप सुदृढ बनाएको छ।
यस भ्रमणले दुई देशबीच नियमित उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने परम्परा तथा त्यसलाई अझ अघि बढाउने दुवै पक्षको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
२३ नोभेम्बर २०२६
नयाँ दिल्ली
७ मंसिर, काठमाडौं । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ ।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भएको दुईपक्षीय वार्तापछि जारी संयुक्त प्रेस वक्तव्यमा यसबारे जानकारी गराइएको हो ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको २ खर्ब ४० अर्ब आर्थिक सहयोगको प्याकेजमध्ये भोटेकोशी बाढीपछिको पुनर्निमाणका लागि ३५ अर्ब भारु अर्थात् ५६ अर्ब नेपाली अनुदान छुट्टयाइएको हो ।
बाँकी १ खर्ब १५ अर्ब भारु अर्थात् १ खर्ब ८४ रुपैयाँ लाइनअफ क्रेडिट (सहुलियतपूर्ण ऋण) अन्तर्गत दिइने विज्ञप्तिमा उल्लेख छ ।