२०८३ मंसिर ११
२०८३ मंसिर ११

तराईमा बिहानै हुस्सु र कुहिरोको प्रभाव, पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली, यस्तो छ आजको मौसम पूर्वानुमान

बज्जिकाञ्चल खबर, कटहरिया, रौतहट । देशमा हाल कुनै पनि उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहे पनि तराईका विभिन्न स्थानमा बिहानको समयमा हुस्सु तथा तुवाँलो देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहनेछ भने हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना रहेको छ ।

महाशाखाले सार्वजनिक गरेको मौसम पूर्वानुमानअनुसार हाल देशको हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । तराई भूभागका थोरै स्थानमा हुस्सु तथा तुवाँलो लागेको अवस्था छ । विशेषगरी बिहानको समयमा तराईका केही स्थानमा दृश्यता कम हुन सक्ने भएकाले यातायात सञ्चालनमा सावधानी अपनाउनुपर्ने देखिन्छ ।आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली क्षेत्र तथा देशका विभिन्न पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।यद्यपि कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ । हिमाली क्षेत्रमा मौसममा आउने परिवर्तनले चिसो थप बढाउन सक्ने भएकाले त्यस क्षेत्रका बासिन्दा तथा यात्रुले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ ।त्यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा समेत आंशिक बादल लाग्ने सम्भावना छ । अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार शनिबार बिहान उपत्यका तथा खोँचहरूका साथै तराई भूभागका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ । बिहानको समयमा कुहिरोका कारण सडकमा दृश्यता घट्न सक्ने भएकाले सवारी चालकलाई सावधानीपूर्वक यात्रा गर्न आवश्यक देखिन्छ ।समग्रमा आज देशभर कुनै ठूलो मौसमी प्रणालीको प्रभाव नरहे पनि हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना र तराईमा बिहानको हुस्सु तथा कुहिरो प्रमुख मौसमी अवस्था रहने देखिएको छ । मौसमको अवस्थाबारे थप जानकारी लिन मौसम पूर्वानुमान महाशाखाको नियमित सूचना तथा बुलेटिनमा ध्यान दिनु उपयुक्त हुनेछ ।

स्रोत : मौसम पूर्वानुमान महाशाखा

पूर्वमुख्यसचिव एकनारायण अर्याल कोलकत्ताबाट पक्राउ! काठमाडौं ल्याएर सीआईबीको जिम्मा, उच्च तहमा खैलाबैला

काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई भारतको कोलकत्ताबाट पक्राउ गरी नेपाल ल्याइएको छ। बिहीबार उनलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गराइएपछि हवाईमार्गबाट काठमाडौं ल्याइएको हो।काठमाडौं विमानस्थलमा अवतरण गराएलगत्तै उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएको थियो। अहिले अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौं उपस्थित गराउने तयारी गरिएको छ।

 अर्यालमाथि मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणलगायतका नाममा अतिरिक्त रकम असुली गर्ने प्रकरणमा संलग्न रहेको आरोप छ। उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव हुँदा नेपाली श्रमिकलाई मलेसिया पठाउने प्रक्रियामा अतिरिक्त रकम असुली गर्ने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा अनुसन्धानको दायरामा आएका हुन्।

यस प्रकरणमा ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदालतबाट उनीविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको थियो।यसअघि यही प्रकरणमा तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन श्रमसचिव विनोद केसीसहित मन्त्रालयका उच्च अधिकारी तथा निजी क्षेत्रका व्यक्तिहरू गरी १० जना पक्राउ परिसकेका छन्।

अर्यालको पक्राउसँगै नेपाली श्रमिकलाई मलेसिया पठाउने नाममा भएको भनिएको अतिरिक्त रकम असुली प्रकरणमा अनुसन्धान थप पेचिलो बनेको छ।

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारका अधिकार सुनिश्चित गर्न नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।सरकारले आफ्ना माग बेवास्ता गरेको भन्दै महासंघले राजनीतिक दलका कार्यालयमा धर्नासहितका कार्यक्रम सार्वजनिक गरेको हो ।

महासंघले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड, सञ्चारमाध्यमबाट पत्रकार निष्कासन, श्रम अधिकार उल्लङ्घन र प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने प्रयास भएको आरोप लगाएको छ ।घोषित कार्यक्रमअनुसार मंसिर १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी, १४ गते नेपाली कांग्रेस, १५ गते नेकपा एमाले, १६ गते नेपाली कम्युनिस्ट पार्टी, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा बिहान ११ देखि १२ बजेसम्म धर्ना दिइनेछ ।

त्यस्तै, मंसिर २० गते काठमाडौंको माइतीघरलगायत देशभरका जिल्ला सदरमुकाममा कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर प्रदर्शन गरिने महासंघले जनाएको छ । मागप्रति लिखित ऐक्यबद्धता जनाउने दलको कार्यालयमा भने धर्ना नदिने र माग सम्बोधन नभए तेस्रो चरणको आन्दोलन गर्ने महासंघले जनाएको छ ।

यसअघि महासंघले देशभर सामुहिक गिरफ्तारी दिएको थियो । महासंघले पहिलो चरणको आन्दोलन देशव्यापी रुपमा सफलतापूर्वक सम्पन्न भएको भन्दै सरकारले आन्दोलनलाई अझै नजरअन्दाज गरिरहेको बताएको छ ।  एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । अमेरिकी नियामक निकायले अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सलाई पृथ्वीको कक्षमा १० लाखसम्म उपग्रह प्रक्षेपण गर्ने योजनाका लागि अनुमति दिएको छ ।

अन्तरिक्षमै डाटा सेन्टर  निर्माण गर्ने उद्देश्यसहित अघि सारिएको यो योजनालाई अमेरिकी संघीय सञ्चार आयोगले पहिलोपटक स्वीकृति दिएको हो ।

स्पेसएक्सले ‘स्टारमाइन्ड’ नाम दिएको यस परियोजनाअन्तर्गत सूर्यको प्रकाशबाट ऊर्जा प्राप्त गर्ने उपग्रहहरू अन्तरिक्षमा स्थापना गरिनेछन् । ती उपग्रहले कृत्रिम बुद्धिमत्तासम्बन्धी डाटा प्रशोधन गर्ने र त्यसबाट प्राप्त नतिजा पृथ्वीमा पठाउने काम गर्नेछन् ।

अमेरिकी संघीय सञ्चार आयोगले परियोजनालाई अनुमति दिँदै यसले अमेरिकाको तीव्र गतिमा विस्तार भइरहेको कृत्रिम बुद्धिमत्ता र उच्च क्षमताको कम्प्युटिङ क्षेत्रलाई सहयोग पुर्‍याउने जनाएको छ । आयोगका अध्यक्ष ब्रेन्डन कारले यस परियोजनालाई अमेरिकाको अन्तरिक्ष तथा अत्याधुनिक प्रविधिसम्बन्धी नेतृत्व विस्तार गर्ने नयाँ अवसरका रूपमा व्याख्या गरेका छन् ।

आयोगको स्वीकृतिअनुसार स्पेसएक्सले सन् २०३३ नोभेम्बरसम्म उपग्रह प्रक्षेपण सुरु गरिसक्नुपर्नेछ । सन् २०३५ नोभेम्बरसम्म स्वीकृत उपग्रहको १० प्रतिशत र सन् २०३८ नोभेम्बरसम्म ५० प्रतिशत प्रक्षेपण गरिसक्नुपर्ने सर्त राखिएको छ । कम्पनीले भने आगामी वर्ष नै पहिलो स्टारमाइन्ड उपग्रह प्रक्षेपण गर्ने लक्ष्य सार्वजनिक गरिसकेको छ ।

यी उपग्रहहरू पृथ्वीबाट ५०० देखि २ हजार किलोमिटर उचाइमा रहनेछन् । स्पेसएक्सको हाल सञ्चालनमा रहेको स्टारलिङ्क सञ्जालसँग जोडिएर तिनले डाटा आदानप्रदान गर्नेछन् । स्टारलिङ्कले हाल १० हजारभन्दा बढी उपग्रहमार्फत विश्वका विभिन्न क्षेत्रमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।

अन्तरिक्षमा डाटा सेन्टर स्थापना गर्ने अवधारणालाई गुगल र ब्लु ओरिजिनजस्ता कम्पनीले पनि अध्ययन गरिरहेका छन् । पृथ्वीमा निर्माण गरिने डाटा सेन्टर सञ्चालन गर्न ठूलो मात्रामा विद्युत् र उपकरण चिस्याउन पानी आवश्यक पर्ने भएकाले अन्तरिक्षमा सौर्य ऊर्जाबाट सञ्चालन हुने केन्द्रलाई वैकल्पिक उपायका रूपमा हेरिएको छ ।

पछिल्लो समय कृत्रिम बुद्धिमत्ताको प्रयोग तीव्र रूपमा बढेसँगै डाटा प्रशोधन र भण्डारणको माग पनि उल्लेख्य रूपमा बढेको छ । तर, पृथ्वीमा ठूला डाटा सेन्टर निर्माण गर्दा विद्युत् र पानीको अत्यधिक खपत हुने, वातावरणमा असर पर्ने तथा स्थानीय समुदायको विरोध सामना गर्नुपर्ने अवस्था छ । अमेरिकाका विभिन्न क्षेत्रमा यस्ता केन्द्र निर्माणको विरोध भइरहेको छ ।

यद्यपि अन्तरिक्षमा डाटा सेन्टर स्थापना गर्नु चुनौतीरहित भने छैन । विज्ञहरूका अनुसार उपग्रह र अन्य उपकरण अन्तरिक्षमा पठाउन अझै ठूलो खर्च लाग्छ । त्यहाँ उपकरणको तापक्रम नियन्त्रण, सुरक्षा र ऊर्जा व्यवस्थापन पनि जटिल विषय हुन् । त्यसैगरी अन्तरिक्षमा बढिरहेको फोहोरका कारण उपग्रहहरू एकआपसमा ठोक्किने जोखिमसमेत बढेको छ ।

स्पेसएक्सको स्टारलिङ्क सञ्जालले पृथ्वीको तल्लो कक्षमा अत्यधिक उपग्रह थपेर अन्तरिक्षमा भीड बढाएको आरोप लाग्दै आएको छ । तर, मस्कले भने यस्ता आरोप अस्वीकार गर्दै आएका छन् ।

अन्तरिक्षमा १० लाखसम्म उपग्रह राख्ने अनुमति पाए पनि स्पेसएक्सले वास्तवमै त्यति नै सङ्ख्यामा उपग्रह प्रक्षेपण गर्छ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन । एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितलाई डिजिटल कार्ड वा स्वास्थ्य बीमा परिचयपत्रको स्पष्ट विवरण देखाएर स्वास्थ्य सेवा लिन सकिने जनाएको छ ।

बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई यस्तो व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेको हो ।

सूचनाअनुसार बीमितले स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति, डिजिटल कार्ड वा विवरण स्पष्ट देखिने प्रतिलिपि पेस गरेर सेवा लिन सक्नेछन् । सेवा प्रदायक संस्थाले कार्डमा उल्लेखित स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा जाँच गरी सम्बन्धित व्यक्ति बीमित भए वा नभएको यकिन गर्नुपर्नेछ ।

बोर्डले भौतिक परिचयपत्र साथमा नभएकै कारण बीमितलाई स्वास्थ्य बीमाअन्तर्गत प्राप्त हुने सेवाबाट वञ्चित नगर्न आग्रह गरेको छ । एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति तथा नोक्सानी सम्बोधन गर्न गठित कोषले पूर्ण परियोजना प्रस्ताव पेस गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थालाई आह्वान गरेको छ ।

कृषि, वन तथा वातावरण मन्त्रालयले सूचना जारी गर्दै नेपालमा रहेका कोषका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त निकायलाई परियोजनाको पूर्ण प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।

सूचनाअनुसार प्रस्ताव जलवायु वित्त परिचालन निर्देशिका, २०८२ बमोजिम तयार गर्नुपर्नेछ । मन्त्रालयको जलवायु वित्त तथा विकास समन्वय शाखाले डिसेम्बर ५, २०२६ अर्थात् मंसिर २० गतेभित्र प्रस्ताव स्वीकार गर्ने जनाएको छ ।

पूर्ण परियोजना प्रस्तावको नमुना क्षति तथा नोक्सानी सम्बोधन कोषको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ ।

प्रस्तावसम्बन्धी जानकारी तथा सहयोगका लागि मन्त्रालयले ९८५१२७११२३ नम्बर र [email protected] इमेलमार्फत सम्पर्क गर्न सकिने जनाएको छ ।  एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । नशालु पदार्थ खुवाएर बेहोस बनाई सुन तथा नगद लुटपाट गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न स्थानमा भएका लुटपाटका घटनाको अनुसन्धानपछि चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले वृद्ध तथा महिलालाई निशाना बनाई नशालु पदार्थ मिसाइएको खानेकुरा खुवाएर बेहोस बनाउने र सुनका गरगहना, नगद तथा मोबाइल लुट्ने गरेका थिए । काभ्रेका विभिन्न स्थानमा भएका घटनाको अनुसन्धानका क्रममा उनीहरूको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा छवबहादुर कार्की, वीरबहादुर तामाङ, अमरबहादुर विक र प्रवीण सुनुवार रहेका छन् । उनीहरूलाई आवश्यक अनुसन्धान पूरा गरी अभियोजनका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरिएको प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिमा नागरिक लगानी कोषको कामकारबाही, लगानी र प्रतिफलको अवस्थाबारे आज छलफल हुने भएको छ ।

समितिको ३६औँ बैठक मङ्सिर १० गते आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने तय भएको छ ।

बैठकमा नागरिक लगानी कोषबाट हालसम्म सम्पादन भएका काम, कोष परिचालनको अवस्था, लगानी तथा प्रतिफल, भावी कार्ययोजना र संस्थाले भोगिरहेका समस्या एवं सुधारका क्षेत्रबारे प्रस्तुति र छलफल हुने कार्यसूची रहेको छ ।

बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयका सचिव तथा नागरिक लगानी कोषका अध्यक्षलाई आमन्त्रण गरिएको समितिले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । नेपाली कांग्रेसले उखुको मूल्य तत्काल निर्धारण गर्न र किसानले पाउन बाँकी रकम अविलम्ब भुक्तानी गर्न सरकारसँग माग गरेको छ ।

बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासीनताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाएर मूल्य तोक्न माग गरेको हो ।

उखु बजारमा पठाउने समय नजिकिँदै गर्दा किसानमा देखिएको चिन्ता सम्बोधन गर्न तथा बक्यौता रकम तत्काल उपलब्ध गराउन बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

यसैबीच, बैठकमा आज ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । छलफल जारी रहेकाले बैठक मंसिर १० गते बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेसले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,

आजको राशिफल बिस २०८३ मङ्सिर १० गते विहिबार ईस २०२६ नोभेम्बर २६ नेपाल सम्बत ११४७ कछलाथ्व द्वितीया- १७, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, हेमन्त ऋतु, मङ्सिर कृष्ण पक्ष द्वितीया, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, सिद्ध योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ३३ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १० बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज आफ्नो क्षमता र अनुभवलाई नयाँ काममा प्रयोग गर्ने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा महत्वपूर्ण जिम्मेवारी प्राप्त हुने वा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने अवस्था आउन सक्छ। व्यापारमा नयाँ योजना अघि बढाउन सकिनेछ। आर्थिक पक्षमा आम्दानीको नयाँ सम्भावना देखिए पनि लगानी गर्दा पर्याप्त जानकारी लिनुहोला। परिवारका सदस्यसँग भविष्यका योजनाबारे छलफल हुन सक्छ। आफ्नो निर्णयमा दृढ रहँदै अरूको सुझावलाई पनि महत्व दिनुहोला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज आर्थिक स्थिरता र व्यावसायिक योजनामा ध्यान केन्द्रित हुनेछ। लामो समयदेखि रोकिएको कारोबार अघि बढ्ने वा नयाँ आम्दानीको बाटो पहिचान हुने सम्भावना छ। कार्यक्षेत्रमा जिम्मेवारी पूरा गर्न थप मेहनत गर्नुपर्ने हुन सक्छ। व्यापारमा पुरानो अनुभवले सही निर्णय लिन सहयोग गर्नेछ। अनावश्यक खर्च घटाएर बचत बढाउने प्रयास गर्नुहोला। परिवारमा महत्वपूर्ण विषयमा सहमति जुट्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज अध्ययन, ज्ञान र बौद्धिक गतिविधिमा रुचि बढ्नेछ। नयाँ सीप सिक्ने वा आफ्नो क्षमता विस्तार गर्ने अवसर मिल्न सक्छ। सञ्चार, लेखन, व्यापार तथा शिक्षण क्षेत्रमा संलग्न व्यक्तिका लागि दिन उपयोगी रहनेछ। कार्यक्षेत्रमा नयाँ प्रस्ताव प्राप्त हुन सक्छ। आर्थिक कारोबारमा स्पष्टता राख्नुहोला। नजिकका व्यक्तिसँग विचार आदानप्रदान गर्दा नयाँ सम्भावना पहिचान गर्न सकिनेछ। व्यक्तिगत सम्बन्धमा विश्वास कायम राख्नु राम्रो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज आर्थिक तथा पारिवारिक जिम्मेवारीका विषयमा गम्भीर हुनुपर्नेछ। पुरानो ऋण, भुक्तानी वा साझा सम्पत्तिसम्बन्धी विषयमा छलफल हुन सक्छ। कार्यक्षेत्रमा गोप्य रूपमा गरिएका प्रयासले सकारात्मक परिणाम दिन सक्छन्। नयाँ लगानी गर्नुअघि जोखिम र प्रतिफलको राम्रो मूल्याङ्कन गर्नुहोला। परिवारका सदस्यसँग संवेदनशील विषयमा कुरा गर्दा धैर्य अपनाउनु आवश्यक छ। मानसिक तनाव कम गर्न आफ्नो रुचिका काममा समय दिनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साझेदारी र व्यक्तिगत सम्बन्धका दृष्टिले आज महत्वपूर्ण दिन हुन सक्छ। व्यावसायिक सम्झौता वा नयाँ सहकार्यको प्रस्ताव आउन सक्छ। कार्यक्षेत्रमा सहकर्मीसँग समन्वय गरेर अघि बढ्दा राम्रो परिणाम प्राप्त हुनेछ। व्यापारमा ग्राहकको विश्वास जित्ने अवसर मिल्नेछ। आर्थिक कारोबारमा पारदर्शिता अपनाउनुहोला। दाम्पत्य तथा प्रेम सम्बन्धमा आपसी सम्मान र समझदारी बढाउन सके सम्बन्ध अझ बलियो बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज दैनिक कामकाजमा व्यस्तता बढ्न सक्छ। कार्यक्षेत्रमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दा प्रशंसा प्राप्त हुनेछ। प्रतिस्पर्धात्मक गतिविधिमा राम्रो प्रदर्शन गर्न सकिनेछ। व्यापारमा व्यवस्थापन र सेवाको गुणस्तर सुधार गर्ने अवसर मिल्न सक्छ। आर्थिक पक्षमा नियमित आम्दानी रहे पनि दैनिक आवश्यकतामा खर्च बढ्न सक्छ। स्वास्थ्य र दिनचर्यामा अनुशासन कायम गर्नुहोला। परिवारका सदस्यको आवश्यकताप्रति पनि ध्यान दिनु राम्रो हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सिर्जनात्मक क्षमता र व्यक्तिगत प्रतिभा प्रस्तुत गर्ने अवसर मिल्न सक्छ। अध्ययन, कला, लेखन तथा प्रतिस्पर्धात्मक क्षेत्रमा लागेकालाई सकारात्मक परिणाम प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा नयाँ विचारले प्राथमिकता पाउन सक्छ। व्यापारमा नयाँ वस्तु वा सेवासम्बन्धी योजना बनाउन सकिनेछ। आर्थिक निर्णय गर्दा भावनाभन्दा व्यावहारिक पक्षलाई महत्व दिनुहोला। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ भने परिवारमा खुसीको वातावरण बन्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज घरपरिवार र व्यक्तिगत जीवनका विषय महत्वपूर्ण बन्न सक्छन्। घरको व्यवस्थापन, सम्पत्ति वा पारिवारिक जिम्मेवारीबारे निर्णय लिनुपर्ने हुन सक्छ। कार्यक्षेत्रमा केही चुनौती आए पनि धैर्यपूर्वक काम गर्दा समाधान निकाल्न सकिनेछ। आर्थिक रूपमा घरायसी खर्च बढ्न सक्ने भएकाले बजेट व्यवस्थित राख्नुहोला। परिवारका ज्येष्ठ सदस्यको सल्लाहले महत्वपूर्ण विषयमा सही दिशा दिन सक्छ। भावनात्मक विषयमा हतारमा निष्कर्ष ननिकाल्नुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज सञ्चार, सम्पर्क र भेटघाटबाट नयाँ अवसर प्राप्त हुन सक्छ। आफ्नो विचार स्पष्ट रूपमा राख्दा कार्यक्षेत्रमा सहयोग जुटाउन सकिनेछ। लेखन, सञ्चार, शिक्षण तथा व्यापारमा संलग्न व्यक्तिका लागि दिन फलदायी हुन सक्छ। छोटो यात्राको योजना बन्ने सम्भावना छ। आर्थिक कारोबारमा कागजी प्रक्रिया र सम्झौताका सर्तमा ध्यान दिनुहोला। दाजुभाइ तथा नजिकका व्यक्तिसँगको सम्बन्धमा सुधार आउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आर्थिक व्यवस्थापन र पारिवारिक आवश्यकतामा आज ध्यान दिनुपर्नेछ। आम्दानीका स्रोत बढाउने विषयमा नयाँ विचार आउन सक्छ। कार्यक्षेत्रमा आफ्नो मेहनतको उचित मूल्याङ्कन हुने सम्भावना छ। व्यापारमा नयाँ ग्राहकसँगको सम्बन्धले भविष्यमा फाइदा पुर्‍याउन सक्छ। सम्पत्ति वा बचतसम्बन्धी योजना अघि बढाउन सकिनेछ। परिवारमा आफ्नो बोली र व्यवहारले सकारात्मक प्रभाव पार्नेछ। खर्च गर्दा आवश्यकतालाई प्राथमिकता दिनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज आत्मविश्वास र सक्रियता बढ्न सक्छ। लामो समयदेखि सोचिरहेको व्यक्तिगत योजना अघि बढाउने अवसर मिल्नेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी वा नेतृत्वको भूमिका प्राप्त हुन सक्छ। व्यापारमा आफ्नो पहिचान विस्तार गर्ने प्रयास सफल हुन सक्छ। आर्थिक पक्षमा नयाँ सम्भावना देखिए पनि जोखिमपूर्ण निर्णयबाट बच्नुहोला। सामाजिक सम्बन्धमा प्रभाव बढ्नेछ। व्यक्तिगत रुचि र परिवारका लागि समय छुट्याउन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)

आज आत्ममूल्याङ्कन र भविष्यको योजना बनाउने समय छ। कार्यक्षेत्रमा पर्दापछाडि गरिएका प्रयासले विस्तारै परिणाम दिन सक्छन्। नयाँ काम सुरु गर्नुअघि आवश्यक तयारी पूरा गर्नुहोला। आर्थिक रूपमा पुराना दायित्व र अनावश्यक खर्चको समीक्षा गर्नुपर्नेछ। व्यापारमा गोपनीयता र विश्वासको विषयलाई महत्व दिनुहोला। धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्न सक्छ। परिवारका सदस्यसँग समय बिताउँदा मनमा शान्ति मिल्नेछ । एभरेष्ट न्यूज एजेन्सी,

(यो राशिफल परम्परागत ज्योतिषीय मान्यतामा आधारित सामान्य फलादेश हो। व्यक्तिगत जन्मकुण्डली र ग्रहस्थितिअनुसार फलादेश फरक हुन सक्छ ।)

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।