बज्जिकाञ्चल,१४ गते माघ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा सरमुजवाको २९ औ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । आज उपशाखाका सभापति तेज नारायण यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा बौधीमाइ नगरपालिकाको नगर प्रमुख प्रदीप कुमार यादव रहनु भएको थियो ।
उपशाखा उपसभापति शिवजी कुशवाहाले स्वागत मन्तव्य राखेका थिए भने उपशाखाका सचिव रामनारायण कुशवाहाले बार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । संस्थाका कोषाध्यक्ष सोना लाल बैठाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्न भएको थियो । संस्थाका पदाधिकारी सदस्य, आजीवन सदस्य,साधारण सदस्य महिला समेतको उपस्थितिमा वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन र आगामी प्रस्तावित कार्यक्रम पारित सहित कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम संचालन आजीवन सदस्य एवम् स्वास्थ्यकर्मी कौस्तुभमणी साहले गर्नु भएको थियो । कार्यक्रममा बिशिस्ट अतिथि रौतहट जिल्ला शाखाका सभापति राज किशोर प्र. यादव, अर्का विशिष्ट अतिथि नगर उप प्रमुख प्रमिला जयसवाल, वडा नं ९ को वडा अध्यक्ष मुक्तिनारायण मिश्र ,८ नम्बर का वडा अध्यक्ष बिन्देश्वर यादव, ३ नम्बरका वडा अध्यक्ष कार्यपालिका सदस्य सुनिल जयसवाल,पुर्व वडा अध्यक्ष वडा नम्बर ७ का विजय कुशवाहा,मन्त्री धर्मेन्द्र प्र . सिंह लगायत स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।
रौतहट, १४ माघ । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ गढवामा दाइजो नदिएको निहुमा एक विवाहिता महिलाको हत्या गरिएको छ। बिहेमा नगद रुपैयाँ कम दिएको, सुत्ने खाट, कुर्सीलगायत फर्निचर नदिएको भन्दै यातना दिँदै आएको ससुराल पक्षले छोरीको हत्या गरेको मृतकका आमा बुबाले आरोप लगाएका छन्।
सामाजिक परम्परा अनुसार २०७७ साल जेष्ठ महिनामा विवाह गरेका रौतहट जिल्लाको मौलापुर नगरपालिकाको बौधामा साबिक घर भई हाल गौर नगर पालिका ४ मा बस्दै आएका बिजुली बैठाका छोरा सुनिल बैठाले आफ्नी आमासँग मिलेर २१ वर्षीय छोरी पुनमदेवी बैठाको शुक्रबार हत्या गरेको मृतकको बुवा संजय बैठाले बताएका छन्।
भारतको मोतिहारी जिल्ला रुसुलपुर घर भई हाल काठमाडौंमा व्यापार गरी बस्दै आएका बैठाले गौरमा सन्चारकर्मीसँग कुरा गर्दै दाइजोको विषयलाईँ लिएर छोरीलाई सधैँ कुटपिट गर्दै आएका ज्वाइ सुनिल बैठा र छोरीकी सासुले मिलेर हत्या गरेर घरमा झुन्ड्याएको दाबी गरेका छन्।
छोरीलाई पटक-पटक लोग्ने, सासु र ससुराले दाइजो माग गर्न मानसिक, शारीरिक यातना दिने गरेकोले काठमाडौंमा प्रहरीमा उजुरीसमेत दिएको उल्लेख गर्दै ससुरा बिजुली बैठाको इशारामा यस्तो घटना मृतक महिलाकी आमा सीता देवीले बताइन्।
मृतकको १६ महिनाको छोरासमेत रहेका छन्। उनको माइती पक्षले दोषिलाई कानुनी कारबाही गर्न माग गरेको छ।
सुत्ने कोठामा रहेको खाट नजिक दुवै खुट्टा भुइँमा छोएको र घाँटीमा सलले बाँधिएको अवस्थामा शव फेला परेकाले उनलाई हत्यापछि झुण्ड्याइएको माइती पक्षको आरोप छ। हत्यामा संलग्न रहेको भन्दै ज्वाइ र उनका आमाबुवा विरुद्ध जाहेरी दरखास्त लिएर जिल्ला प्रहरी कार्यालयमा जाँदा प्रहरीले जाहेरी लिन नमानेको उनीहरूको दुखेसो छ।न्युजकारखाना
जनकपुर, १४ माघ ।
धनुषामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
धनुषाको जनकपुर उपमहानगरपालिका-१० जानकी मन्दिरको उत्तर गेट अगाडी सडकको छेउमा पहिचान खुल्न नसकेका एक पुरुषको शव फेला परेको प्रहरीको भनाइ छ। अन्दाजी ५५ वर्ष उमेर देखिने पुरुषको शव फेला परेको र घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।न्युजकारखाना
रौतहट,१४ गते माघ ।
रौतहटको बौधीमाइ नगरपालिकामा प्रशासन र स्वास्थ्यका कर्मचारीहरु बिच मैत्रिपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।
सो नगरपालिकाको वडा नम्बर ८ स्थित रहेको गुुजरामाइको खेल मैदानमा एक दिवसीय क्रिकेट प्रतियोगिता भएको हो । प्रतियोगितामा प्रशासन टिमले टस जितेर ब्याटिङ्ख गर्दै १ सय ४८ रन बनाएको थियो ।
जवाफमा स्वास्थ्यकर्मीको टिमले निर्धारित १६ ओभरमा १ सय ४१ रन मात्र बनाउन सक्यो । र उक्त खेलमा स्वास्थ्यकर्मीको टिम ७ रनले पराजित हुन पुुग्यो । बौधीमाइ नगरपालिकाको सहयोगमा उक्त क्रिकेट प्रतियोगिता भएको हो ।
प्रशासनको टिम बाट खेलाडीको रूपमा ब्याटिङ्ग गर्दै अरविन्द कुमार यादव ८ रन, बिक्की जयसवाल २६ रन, वडा अध्यक्ष तुरन्तनारायण यादव २ रन, जाहगिर आलम १ रन, सुनिल यादव ३० रन, रवीन्द्र यादव ३५ रन, नितेश यादव ५ रन बनाएका थिए ।
स्वास्थ्यकर्मीकाे तर्फबाट गजेन्द्र महताेले एक्लै १६ ओभरमा नट आउट रहँदै १ सय ११ रन बनाएका थिए ।
सिरहा, १४ माघ।
सिरहाको धनगढीबाट प्रहरीले अवैध लागूऔषध गाँजा करिब २ किलो र नगद ६ हजार ४ सय ४५ रूपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले धनगढीमाई नगरपालिका ५ स्थित सडकबाट नगरपालिकाकै वडा नम्वर १३ भोर्लेनीका ४८ वर्षीय राम सुफल महतोलाई शनिबार साँझ पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई गाँजा र नगदसहित पक्राउ गरेको जनाएको छ। प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।न्युजकारखाना
काठमाडौं,१४ माघ ।
मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ ।
आइतबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई ९ रनले पराजित गरेको हो ।
मधेश प्रदेशले दिएको १६९ रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेशले ४०.५ ओभरमा अलआउट हुदै १६० रन बनाएको हो ।
यस अघि मधेश प्रदेशले पहिला ब्याटिंग गर्दै ४१.३ ओभरमा अल आउट हुदै १६९ रन बनाएको थियो ।
यो जितपछि मधेश प्रदेश ९ खेलमा १२ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । योसहित मधेश प्रदेशका सबै खेल सकिएका छन् र मधेश प्रदेश फाइनल खेल्न भने असफल भएको छ ।
त्यस्तै लुम्बिनी प्रदेशले भने छैटौं हार बेहोरेको छ । ७ खेलमा एक जितसहित लुम्बिनी नवौं स्थानमा रहेको छ ।न्युजकारखाना
सिरहा, १४ माघ ।
सिरहाको मिर्चैया नगरपालिका–६ मा प्रहरी कार्यालयदेखि पाँचसय मिटरको दूरीमा जेसिभी लिएर रातको समयमा घरभत्काउँदा समेत प्रहरी मुकदर्शक बनेको आरोप लगाएको छ ।
प्रहरीसँगको मिलोमतोमै मिर्चैया नगरपालिका ६ का राजेशप्रसाद सिंहको घर मिर्चैया नगरपालिकाकै वडा नम्बर ५ का राजदेव कापरी सहितको समूहले रातिको समयमा जेसिभी लिएर गुण्डागर्दीशैलीमा घर भत्काएको पीडितले आरोप लगाएका हुन् ।
घर भत्काएको भन्दै आक्रोसित स्थानीयले शनिबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गतको मिर्चैयामा सडक जाम गरेका थिए।
इलाका प्रहरी कार्यालय मिर्चैयादेखि पाँच सय मिटरको दूरीमा घरभत्काउँदा समेत प्रहरी मुकदर्शक बनेको भन्दै पीडितपरिवार र आक्रोशित स्थानीयहरूले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका थिए।

जेसीभीसहित ३०÷४० जनाको समूहमा आएका कापरले आफूहरुलाई कुटपीट गर्दा र घर भत्काएको र यसबारे जानकारी गराएको एक घण्टापछि पुग्नुले प्रहरीको आइपुग्नुले उनीहरुबीच मिलोमतो रहेको पीडित पक्षले आशंका गरेका हुन् ।
‘रातिको समयमा जेसीभीसहित आएका समूहले घर भत्काउन थालेपछि के भएछ भनी घरबाट निस्कँदै गर्दा कुटपीट गरे । म ज्यान जोगाउँदै प्रहरीकोमा पुगे पनि प्रहरी एक घण्टाभन्दा बढी समयपछिमात्र कार्यालयबाट निस्क े। घटनास्थल पुगेर पनि प्रहरीले रोकथाम गरेन,’ पीडित राजेशप्रसाद सिंहले भने ।
घटनास्थल पुगेका प्रहरीको व्यवहारले प्रहरीसँगको मिलेमत्तोमै घटना भएको सिंहले आरोप लगााए । उनले भने, ‘म गेटैमा पुगेर खबर गर्दा पनि एक घण्टा लगायो । घटनास्थल पुगेर पनि प्रहरीले कसैलाई रोकेन । यो सबै सेटिङमा भएको हो।’
घर भएको जग्गाको विषयमा अदालतमा मुद्दा चल्दै आएको छ । सोही विषयमा जग्गा नापजाँचका लागि शनिबार जिल्ला अदालत सिरहाबाट अमिन आउने भनिएको थियो।
तर, ३ बजे रातिकै समयमा सबै सुतिरहेको अवस्थामा राजदेवले गुण्डाशैलीका मानिसहरु ल्याएर घर भत्काइदिएको पीडित परिवारको आरोप छ । घटनामा संलग्नहरुलाई कारबाही र क्षतिपूर्तीको माग राखेर स्थानीयले चक्का जाम गरेको थियो । न्युजकारखाना
काठमाडौं, १४ माघ ।
सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले गत वर्ष भएको निर्वाचनपछि पनि देशको राजनीतिक अस्थिरता अन्त्य हुन नसकेको बताएका छन् ।
आइतबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले २०७९ सालको निर्वाचनपछि राजनीतिक शक्ति सन्तुलन र समीकरणहरुमा केही केही फेरबदल भए पनि राजनीतिक अस्थिरता अन्त्य हुन भने नसकेको बताएका हुन् । निर्वाचनपछि देशमा राजनीतिक अस्थिरता कायमै रहेको बताउँदै उनले देशको राजनीतिमा अस्थिरताका बादल मडारिरहेको बताए ।
देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको एमालेले सत्ता गठबन्धन तोड्न अनेक उपाय लगाइरहेको उनको आरोप छ ।
रौतहट,१४ माघ ।
जिल्लाको फतुवा बिजयपुर नगरपालिकाका कर्मचारीले लामो समय देखी तलव खान पाएका छैनन् ।
राजनीतिक टकरावका कारण रौतहटको फतुवा विजयपुर नगरपालिकाका कर्मचारीले तलव खान नपाएका हुन । सो नगरपालिकामा समयमा बजेट पास नगर्दा त्यहाँका कर्मचारीले तलब नपाएका हुन् ।
फतुवा विजयपुर नगरपालिकाको कार्यपालिका बैठक बसे पनि बजेट पास हुन नसकेको पालिकाको सूचना तथा सञ्चार प्रविधि अधिकृत हंसराजककुमार यादवले बताए । उनले भने, ‘वैशाखदेखि हामीले तलब पाएका छैनौँ । कार्यपालिका बैठक बस्न सकेको छैन ।’
पालिकाका अनुसार नगरप्रमुख गोपाल राय यादव पक्षका वडाध्यक्षहरु र नगर उपप्रमुख अमवेया खातुनबिचको टकरावका कारण नगरसभाको बैठकले बजेट पास गर्न नसकेको हो ।
लालबकैया नदीको टेन्डरमा भएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले दोषी ठहर गरे पछि त्यहाँका मेयर यादव निलम्बनमा छन् । पालिकाको कार्यवाहक मेयर खातुन छिन् । आफू निलम्बनमा परे पछि पनि पालिकामा यादवको दबदबा बढेको पालिकाका एक कर्मचारी बताउँछन् । उनले भने, ‘कार्यवाहक मेयरले अहिले बजेट एकै ठाउँमा ल्याएर पास गरौँ, कर्मचारीलाई तलब खान दिनुपर्छ भन्नुहुन्छ तर, यादव पक्षका वडाध्यक्षहरुले मानिरहेका छैनन् ।’
यो पालिकामा शिक्षक र कर्मचारीगरी झण्डै ६ सय कर्मचारीले गत साउनदेखि तलब नपाएको सूचना अधिकृत हंसराजले बताए । सो नगरपालिकामा शिक्षक तथा कर्मचारीले तलब खान नपाएको भन्दै केही समयअघि सम्म नगरपालिकाको कार्यालयमा धर्ना दिएका थिए ।
निलम्बनमा परेका फतुवा विजयपुर नगरपालिकाका मेयर यादवले आफूले चुनावमा खर्च गरेको पैसा उठाउनका लागि विभिन्न दबाब दिएका कारण समयमा नगरपालिकाको बजेट आउन नसकेको बताइएको छ। मेयर मात्र नभएर सो पालिकाका नेपाली कांग्रेस निकटका ठेकेदार तथा व्यापारीले समेत मनोमानी रुपमा आफ्नो तरिकाले नगरको बजेट बनाउन दबाब दिने गरेको स्रोतले बताएको छ ।
निलम्बनमा परेका मेयर यादव नेपाली कांग्रेसबाट दोस्रोपटक निर्वाचित भएका थिए। लामो समयदेखि कर्मचारी तथा शिक्षकहरूले तलब खान नपाएका कारण उनीहरूले विभिन्न समस्या झेल्दै आएको गुनासो गरेका छन् । समयमा नगरसभा नभएका कारण फतुवा विजयपुर नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि दिइने दिवा खाजा समेत प्रभावित भएको शिक्षकहरूले गुनासो गरेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययबजेटको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । असार मसान्तभित्र बजेट पास गर्नुपर्ने हुन्छ ।
न्युजकारखाना
बज्जिकाञ्चल,राैतहट,१३ गते माघ ।
रंगपुर साझेदारी बन व्यवस्थापन समूहको अध्यक्षमा अशोकप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।
शनिवार गरुडामा भएको साधारण सभाबाट यादव निर्विरोध निर्वाचित भएका हुन् । गरुडा नगरपालिका ५ झाँझपुलस्थित माध्यमिक विद्यालयको प्रांगणमा भएको साधारण सभामा एउटा मात्र यादवको मनोनयन दर्ता भएकोले निर्वाचन समितिले यादवलाई निर्विरोध चयन भएको घोषणा गरेको छ ।
अध्यक्ष पदमा यादव निर्विरोध निर्वाचित भएपछि अन्य पदमा सहमतिको वातावरण बनिरहेको समितिले जनाएको छ । साधारण सभाको उदघाटन सत्रमा पूर्व प्रदेश राज्यमन्त्री नागेन्द्र यादवले साझेदारी बनले जनताको जीवनस्तर र वातावरण सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।
समूहको नयाँ नेतृत्वले बनबाट सर्वसाधारणलाई हुने सुविधामा अझ राम्ररी सहजीकरण गर्ने तथा बन जोगाउन र वातावरणमा योगदान दिन विशिष्ट भूमिका खेल्ने बताएका छन् ।
साधारण सभाका वक्ताहरुले वातावरण जोगाउनको लागि बन आवश्यक भएको बताउँदै मधेशको भूमिलाई मरुभूमिकरणबाट बचाउन पनि सबैले बन जोगाउन तथा रुख रोप्न सिक्नुपर्ने बताएका छन् । समूहको अध्यक्षमा यादव दोस्रोपटक निर्वाचित भएका हुन् ।