
रौतहट,फागुन ६ गते
रौतहटमा विद्युतका एक कर्मचारीलाई गुण्डागर्दी शैलीमा अपहरण गरी कुटपिट गरेको पाइएको छ । आम जनता पार्टीका नेता त्रिभुवन साह भनिने अमर र धिरज पाण्डेको समुहले नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका सहायक ईन्जिनीयर महेन्द्र प्रसाद चौधरीलाई शुक्रवार कुटपिट गरेको मौलापुर वितरण केन्द्रले एक विज्ञप्ती मार्फत जानकारी गराएको हो ।
शुक्रवार विहान पौने १० बजेको समयमा साह र पाण्डेको नेतृत्वमा आएका २०,३० जनाको अराजक समुहले कार्यालय भित्र प्रवेस गरी विना कारण ईन्जिनीयर चौधरीलाई कुटपिट गर्नुको साथै गाली गलौज गरेको नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रले जनाएको छ ।
उनीहरुले ईन्जिनीयर चौधरीलाई कुटपिट तथा गाली गलौज गर्दै तानाशाही शैलीमा अपहरण गरी गाडीमा लगेको र विना प्रकृयाको विधुत लाइन जडान गर्न लगाएको नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका प्रमुख अरुण कुमार साहले बताएका छन् ।
कार्यालय प्रमुख साहले एक विज्ञप्ती जारी गर्दै विना कारण आफना कर्मचारीलाई गुण्डाशैलीमा अपहरण गरी कुटपिट गर्नुका साथै विधुत लाइन जडान गर्न लगाउने जस्ता कार्य नेपाल विद्युत प्राधिकरण ऐन विपरीतको काम भएकोले यस कार्यमा संलग्नहरुलाई आवश्यक कार्यवाही गर्न माग गरेका छन् । दोषीलाइ २४ घण्टाभित्र कार्यवाही गर्न जोडदार माग गरिएको छ । अन्यथा कार्यालयको सम्पूर्ण काम काज ठप्प गरी आन्दोन गर्ने चेतावनी दिइएको हो । यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार स्वंम व्यवस्थापक पक्ष हुने जनाइएको छ ।
