Breaking News

सिँचाइ कुलोले जुम्ली किसानमा ल्यायाे खुशी

दिलमाया शाही/जुम्ला, १९ पुस

चन्दनाथ नगरपालिका–९ की नन्दलक्ष्मी रावलले सिँचाइ कुलो निर्माण भएपछि खेतीकिसानीबाट निकै नै राम्रो प्रतिफल लिन थालेको बताइन् । सिँचाइ सुविधा हुनुअघिसम्म जसोतसो एक बाली लगाउने रावल अहिले दुई बालीसम्म भित्र्याउँछिन् ।

सिँचाइपछि चन्दननाथ–९ मा रिमिज्युलोमा खेत भएका सबै किसान निकै खुशी छन् । उमगाड सिँचाइ कुलो निर्माणपछि किसानले बालीमा सहजै सिँचाइ गर्न पाएका छन् । कृषि विकास कार्यालय जुम्लाको ६ लाख र २० प्रतिशत स्थानीयको लागतमा यहाँ एक सय ४२ मिटर आरसिसी कुलो बनेको छ ।

यसअघि यहाँ माटो ढुंगाले कुलो बनाइएको थियो । समान्य बाढी आउँदा पनि बगाउने हुँदा किसानहरू दिक्क भएका थिए । आरसिसि कुलो बनेपछि भत्किने र पानी चुहिने समस्या नभएको स्थानीय नवराज रावतले बताए । उनले भने, ‘पक्की कुलो निर्माण भएसँगै किसानलाई निकै सहज भएको छ ।’

चन्दननाथ नगरपालिका–७ मा रहको छन्ने ज्युलोमा पनि दुई वटा  सिँचाई कुलो निर्माण भएका छन् । बालढुक्सादेखि दोकामुलसम्म १ सय २० मिटिरको कुलो बनेको छ भने दोकामुलदेखि अगाडि एक सय २० मिटर गरी दुई सय ४० मिटर आरसिसी कुलो निर्माण गरिएको छन्ने ज्युलो सिँचाई कुलो निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष माया बुढ्थापाले बताइन् । उनका अनुसार कुलो निर्माणसँगै तरकारीलगायतका नगदेबाली उत्पादनमा सहज भएको छ ।

जुम्ला हिमाली क्षेत्र भएकाले प्रायः सुक्खा रहन्छ । यहाँका किसानले माघ महिनामा  अनिवार्य रुपमा हिउँदेबालीमा सिँचाइ गर्नुपर्ने कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेशबहादुर अधिकारीले बताए । उनले भने, ‘चन्दननाथ नगरपालिकामा मात्रै तीन वटा कुलो निर्माण भएका छन् ।’ उनका अनुसार ६ लाख कृषि विकास कार्यालयको बजेट र २० प्रतिशत लागत सहभागितामा तीनवटै आरसिसी कुलो सम्पन्न भएका छन् ।

कृषि विकास कार्यालयका अनुसार जिल्लामा एक सय पाँच वटा सिँचाइ कुलो आयोजना रहेका छन् । जसअन्तर्गत केही सम्पन्न भएका छन् भने केही सम्झौता हुने क्रममा छन् । केही निर्माणधीन अवस्थामा छन् ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जुम्लामा सिँचाइको व्यवस्था क्रमशः हुन थालेपछि किसानले सहज महशुस गरिरहेको बताए । उनका अनुसार आवश्यकताका आधारमा सिँचाई योजना सञ्चालन गरेको खण्डमा पानीको अभावमा कुनै पनि किसानको जमीन बाँझो र रहने अवस्था आउँदैन । कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाभरी २६ हजार हेक्टर खेतीयोग्य जमीन रहेको छ ।न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar