
आरके श्रीवास्तव,रौतहट,०९ गते भदौ
रौतहट । रौतहट सहित तराई–मधेशका जिल्लामा पानी नपर्दा किसान चिन्तित बनेका छन् । सिँचाइको अभावमा किसानले लगाएको धानबाली सुक्न थालेको छ । केहि समय पहिले रोपिएको धान खेतमा धाँजा फाटेको छ ।
खडेरीको मार मै जेनतेन रोपाइँ गरेका किसानको खेतमा धानका बोट हुर्कन पाएको छैन । पर्याप्त वर्षा नभएपछि भदौ पहिलो सातासम्म रोपाइँ गरेका खेतमा पनि धाँजा फाटेर धानका बोट पहेँलिन थालेका छन् । बोट हलक्क बढ्नुपर्ने बेला सुक्न थालेपछि किसानहरू आकाशतिर हेर्दै दिन काटिरहेका छन् ।
रौतहटमा अहिले कटहरिया,फतुवा विजयपुर,देवाही गोनाही,गरुडा लगायत पालिकाका किसानले कृषि मोटर चलाएर धान बालीमा सिँचाई गरिरहेका छन् । पानी नपरेपछि किसानहरुलाइ अहिले चिन्ताले सताएको छ ।
