<

बज्जिकाञ्चल संवाददाता, रौतहट ३१ गते चैत ।

रौतहटको राजदेवी नगरपालिका बाट सशस्त्र प्रहरीको टोलीले शनिबार राति एकजना भारतीय नागरिकलाई पेस्तोल सहित पक्राउ गरेको छ ।

शनिबार राति करिब ९ बजेको समयमा रौतहटको राजदेवी नगरपालिका १० बेलविछवा सीसी क्यामेरा नाका स्थित जैसवाल मदिरा पसल बाहिर मदिरा सेवन गरि दुई समूहले एकआपसमा झगडा गरेको सूचना पाएर बिओपि बेलविछवा बाट सशस्त्र प्रहरी नायब निरीक्षक कृष्ण प्रसाद यादवको कमाण्डमा गएको टोलीले पेस्तोल सहित एकजनालाई पक्राउ गरेको हो ।

सप्रनानि यादवको कमाण्डमा ७ जनाको टोली झगडा भएको स्थानमा पुग्दा प्रहरी देखेर भाग्ने क्रममा भारत विहार राज्यको सितामढी जिल्ला नन्दवरा बस्ने अन्दाजी २३ वर्षका किशन कुमारलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका किशन कुमार लाई खानतलासी गर्दा उनको साथबाट पेस्तोल १ थान बरामद हुनुका साथै लागुऔषध पनि बरामद भएको बिओपी बेलविछवाले जनाएको छ ।

बिओपी बेलविछवाका अनुसार पक्राउ परेका किशन कुमारको साथबाट लागुऔषध कोरेक्स ३ पीस, नाइट्रोभेट ट्याबलेट ५ पीस, मोबाइल १ थान र हातमा लगाउने बाला बरामद भएको छ । हतियार र लागुऔषध सहित पक्राउ परेका भारतीय नागरिक किशन कुमारलाई थप अनुसन्धानका लाथि जिल्ला पठाईएको बिओपी बेलविछवाले जनाएको छ ।

यसरी मधेशका जिल्लाहरुबाट पटक पटक भारतीय नागरिकहरु हतियार सहित पक्राउ पर्ने गरेका छन् । उनिहरु माथि प्रहरीले अनुसन्धान पनि गर्ने गरेको छ । तर प्रहरीले अनुसन्धान पश्चात हतियार कुन प्रयोजनका लागि नेपालमा लिएर आए भन्ने कुराको जानकारी सार्वजनिक नगर्दा निशानामा पर्ने व्यक्ति असुरक्षित हुँदै गएका छन् ।

पिएसआर खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0