
आरके श्रीवास्तव,रौतहट,०८ गते चैत ।
रौतहट । काठ दाउरा समयमा आपूर्ति गर्ने शर्तमा डिभिजन वन कार्यालयमा लगाइएको तालाबन्दी खोलीएको छ । सेवाग्राहीलाइ कठिनाइ असहजता र काठ दाउरा समयमा पूर्ति गर्न नसकेको भन्दै आज दिउँसो जिल्ला वन पैदावार आपूर्ती समिति र सेवाग्राही द्धारा तालाबन्दी गरिएको थियो ।
समितिको तर्फबाट विकास कुमार यादवको नेतृत्वमा गएको समूहले वन कार्यालयमा तालाबन्दी गरेका थिए । चालु आर्थिक वर्षमा डिभिजन वन कार्यालयले हालसम्म उपभोक्ता काठ दाउरा उपलब्ध गराउन आपूर्ती खोलेकै थिएन् । जसकारण उपभोक्ताहरु काठ पाउन बाट बञ्चित छन् ।
डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साहले आपूर्ती नखुलाएर दिनहुँ काठ गायब गर्न थालेको आरोपहरु लाग्दै आएको छ । कमिसन पाउने लोभमा निलामी प्रक्रियाबाट काठहरु विक्री गर्ने गरेको चुरे तथा वन जंगल संरक्षण अभियान नेपालका अभियन्ता नन्दकिशोर राम आरोप लगाएका छन् ।
शुक्रवार तालाबन्दी गर्ने पक्षले निलामी लगायतका कार्यहरुमा आपूर्ती समितिलाइ वेवास्ता गरेको,कटान,मुछान काठ दाउरा निलामी लागयतको कार्यहरुमा आपूर्ती समिति सँग समन्वय नगरी काठ दाउरा विक्री वितरण गरेको,सेवाग्राहीलाइ काठ दाउरा समयमा उपलब्ध नगराएको आरोप लगाएका थिए ।
त्यस्तै आपूर्ती समितिले पाउनुपर्ने नियमानुसारको काठ दाउरा समयमा उपलब्ध नगराएको,राम्राराम्रा काठदाउराहरु सबै निलामी गरेको र आपूर्ती द्धारा सेवाग्राहीलाइ दिनुपर्ने काठहरु कमसल र नराम्रा काठहरु छोडेको, आपूर्तीको वार्षिक कार्ययोजना अनुसार गर्नुपर्ने योजनाहरुको कार्यान्वयनमा वेवास्ता गरेको उनीहरुको आरोप थियो ।
त्यसैगरी वन कार्यालय अन्तर्गतका योजनाहरु कार्यान्वयनको प्रक्रियामा डिभिजनल अधिकृत साहले ढिलाइ गरेको भन्दै समितिका मान्छेहरु र उपभोक्ताहरु आक्रोशित बनेका थिए । समितिका नेतृत्वकर्ता यादवले दिएको जानकारी अनुसार डिभिजन वन कार्यालयले आफूहरुको माग सम्बोधन गर्ने भएपछि तालाबन्दी खोलिएको बताएका छन् ।
