<

महोत्तरी, ११ मङ्सिर :

महोत्तरी सहित मिथिला क्षेत्रमा सामाचकेवा पर्व आज समापन गरिँदैछ । दाजुभाइ–दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने यो पर्व आज ११औँ दिनमा समापन हुन लागेको हो । कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खर्नाका दिनदेखि सुरु हुने यो पर्व कात्तिक पूर्णिमाका दिन समापन गरिने मैथिल परम्परा रहेको छ । द्वापरयुगका पौराणिक पात्र सामाचकेवा (श्रीकृष्ण पुत्री सामा र उनका प्रेमी चक्रधर) को अमर प्रेमको सम्झनामा यो पर्व मनाउन थालिएको हो । सामा र चक्रधरलाई श्रीकृष्णले स्वच्छन्द प्रवृत्तिका भए भन्दै चरा योनीमा जाने श्राप दिनुभएको किंवदन्ती छ । पिताका श्रापले चरा योनीमा पुगेका सामा र चक्रधर (चकेवा) लाई श्रापमुक्त गराउन सामाका दाजु साम्बले श्रीशिवको कठोर तपस्या गरेर पितालाई रिझाई सामा र चक्रधरलाई श्रापमुक्त गराउन सक्ने वरदान पाएका थिए । उक्त वरदानले सामा र चक्रधर श्रापमुक्त भई पूर्वयोनीमा आई विवाह गरी घरजम गर्न पाएका कथा नै पर्वको परम्परा बनेको संस्कृतिका जानकार बताउँछन् । बहिनी सामाप्रति साम्बले देखाएका उदारता र स्नेहको कदर गर्दै मिथिलामा दिदीबहिनीले साम्बजस्तै समर्पित हुने दाजुभाइ हुन भन्ने विश्वासमा पर्वका गीतमार्फत भाव पोख्दछन् । पर्वमा सामा, चकेवा, चरा, वृन्दावनसहितका कथासँग जोडिने आकृतिका माटाका खेलौना बनाएर पर्वभरि रातमा दाजुभाइको सौर्य बखान गर्दै गीत गाइन्छ । बोलीचालीमा ‘सामा खेल’ भनिने यो पर्व मिथिलामा थारु जाति समुदायमा विशेष तयारीका साथ मनाइन्छ । मिथिलाका अन्य समुदायका दिदीबहिनीले पनि यो पर्व उल्लासका साथ मनाउँदै आएका छन् । दाजुभाइ दिदीबहिनीबीच प्रेम र सद्भावको प्रतीक मानिने सामाचकेवा पर्वमा दिदीबहिनीले पछिल्ला १० दिनभरि चकमन्न रातमा बस्तीका चौबाटोमा जम्मा भएर आफ्ना दाजुभाइको सौर्य (बहादुरी) बखान गर्दै राती सामूहिक गीत गाएका थिए । कात्तिक पूर्णिमाका दिन माटो मुछेर बनाइएका चुगला, बृन्दावन, सप्तर्षिसहितका आकृति दाजुभाइले घुँडामा राखेर फुटाएपछि दिदीबहिनीले जोतेको खेतमा ती टुक्रा विसर्जन गर्दै आज यो पर्व समापन गर्दैछन् । पर्व मनाउन विवाहित कतिपय दिदीबहिनी माइत जान्छन् । कतिपयले भने आफ्नै घरमा दाजुभाइ बोलाउँछन् । अविवाहित दिदीबहिनीले भने दाजुभाइसँगै आफ्ना घरमा पर्व मनाउँछन् । द्वापरयुगमा श्रीकृष्ण पुत्र साम्बले आफ्नी बहिनी सामाको चारुवक्त्र (चक्रधर) सँगको प्रेम सफल बनाउन गरेका योगदानको स्मरण गर्दै दाजुभाइलाई यो पक्षमा सम्झना गरिएको सामा खेल्ने मिथिलानी बताउँछन् । पर्व समापनमा दिदीबहिनीले दाजुभाइलाई पुजन गर्दै मिष्ठान्न भोजन गराउँछन् भने दाजुभाइले दिदीबहिनीलाई वस्त्रआभूषण र गच्छअनुसार दक्षिणा दिन्छन् । यो पर्वले दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम र सद्भाव प्रगाढ बनाउने मैथिल विश्वास गर्छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0