कृष्ण तिवारी,मौलापुर,वैशाख ६ गते
सामुदायिक विद्यालयमा विद्यार्थी नियमित गराउन सरकारले सुरु गरेको विद्यालय दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ । विद्यालयमा नियमित दिवा खाजा सुरु भएपछि विद्यार्थीको सङ्ख्या बढेको छ । विद्यार्थी नियमित विद्यालय उपस्थित हुने गरेका छन्
फतुवा बिजयपुर नगरपालिका–८, बिजयपुर पिपल बोट स्थित श्री सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक तथा दिवा खाजा कार्यक्रम संयोजक सुबोध यादवले खाजा कार्यक्रमपछि विद्यार्थीको आकर्षण बढेको र बीचमै पढाइ छाड्ने प्रवृत्तिको अन्त्य भएको बताउनुभयो । प्र.अ. यादवको अनुसार विद्यार्थीलाई चना, अन्डा, खीर, हलुवा, जाउलोजस्ता खाजा खुवाउने गरिएको छ ।
सरकारले लागू गरेको दिवा खाजा कार्यक्रमले विद्यार्थी बढेको प्रधानाध्यापक यादवले बताउनुभयो । दिवा खाजाले विद्यार्थी सङ्ख्या बढाउन मद्दत गरेको बताउनुभयो । सरकारले बालविकासदेखि पाँच कक्षासम्मका बालबालिकालाई लक्षित गरी दिवा खाजा कार्यक्रम लागू गरेको छ ।
विद्यार्थीले विद्यालयमा नै खाजा खाने सुविधा पाएपछि बजारमा पाइने चटपटे, चाउचाउ, कुरमुरे, बिस्कुटजस्ता जङ्कफुड खान रोकिएको श्री सरस्वती प्राथमिकका प्रधानाध्यापक यादवले बताउनुभयो । दिवा खाजा कार्यक्रमले खाजामा एकरूपता ल्याएको र अभिभावकलाई पनि सहज भएको अभिभावक लखिचन यादव र लाल महम्मदले बताउनुभयो ।