आरके श्रीवास्तव,मधेस,०५ गते माघ ।
जनकपुरधाम । गृह, सञ्चार तथा कानुन मन्त्रालय, मधेश प्रदेशको आयोजनामा जनकपुरधाममा ८ औं वलिदानी दिवस भव्य रूपमा मनाइएको छ । कार्यक्रमको प्रमुख आकर्षणका रूपमा शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले सहिद परिवारहरूलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिवारीले सहिदहरूको बलिदानकै कारण आज स्वतन्त्र, लोकतान्त्रिक र समावेशी मधेश प्रदेशको आधार निर्माण भएको स्पष्ट पार्नुभयो । उहाँले सहिदहरूले देखेको सपना केवल स्मरणमा सीमित नराखी व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।

“शान्त, समृद्ध र शिक्षित मधेश प्रदेश निर्माण गर्नु हामी सबैको साझा जिम्मेवारी हो,” मन्त्री तिवारीले भन्नुभयो, “यसका लागि हरेक नागरिकले आ–आफ्नो स्थानबाट इमानदार योगदान गर्न आवश्यक छ ।” उहाँले विशेषगरी शिक्षा, संस्कृति र सामाजिक सद्भावलाई मधेशको विकासको मुख्य आधारका रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा विभिन्न मन्त्री, प्रदेश सभा सदस्य, सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि, सहिद परिवार तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । वलिदानी दिवसले सहिदहरूको त्याग र योगदानलाई स्मरण गर्दै लोकतन्त्र, समानता र न्यायका मूल्यहरूलाई अझ सुदृढ बनाउने सन्देश दिएको सहभागीहरूले बताएका छन् ।









