आरके श्रीवास्तव,मधेस,१० गते पुस ।
राैतहट । मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको पदभार ग्रहणसँगै मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने पहिलो निर्णय कार्यान्वयनतर्फ अघि बढाइएको छ । सोही क्रममा मधेश प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले २०८२ साल पुस ९ गते केन्द्रीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय महावीर पुनसँग भेटवार्ता गर्नुभएको छ ।
भेटका क्रममा मधेश प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने लक्ष्यसहित केन्द्र र प्रदेश सरकारबीच गरिने सहकार्य, प्रदेशमा हाल रहेको शिक्षाको अवस्था तथा आगामी दिनमा सञ्चालन गरिने शैक्षिक कार्यक्रम र योजनाका विषयमा विस्तृत छलफल भएको थियो ।
छलफलमा साक्षरता अभियानलाई प्रभावकारी बनाउन नीतिगत सहयोग, प्राविधिक समन्वय र स्रोत व्यवस्थापनमा केन्द्र सरकारको भूमिका महत्वपूर्ण रहने विषयमा समेत सहमति भएको बताइएको छ ।
मन्त्री रानी शर्मा तिवारीका अनुसार मधेश प्रदेशलाई साक्षर घोषणा गर्न आवश्यक तयारीका लागि विशेष विज्ञ कार्यदल तथा प्रदेशस्तरीय समिति गठन गरिसकिएको छ । ती समितिहरूले प्रदेशभर साक्षरता अवस्था मूल्याङ्कन, कार्यक्रमको कार्ययोजना निर्माण र कार्यान्वयनको अनुगमन गर्ने जिम्मेवारी पाउनेछन् ।
प्रदेश सरकारको यस अभियानले मधेश प्रदेशमा शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धि गर्दै समग्र सामाजिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।








