बज्जिकाञ्चल संवाददाता,सर्लाही, २७ मंसिर ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) जिल्ला कार्यसमिति सर्लाहीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका उम्मेदवारहरूको नाम सर्वसम्मत रूपमा टुंगो लगाई पार्टी केन्द्रमा सिफारिस गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय बबरमहलबाट जारी परिपत्रअनुसार शनिबार जिल्ला पार्टी कार्यालय मलंगवामा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारहरूको छनोट गरेको हो । जिल्ला अध्यक्ष रामप्रसाद राय यादवको अध्यक्षतामा बसेको बैठकमा केन्द्रदेखि वडा तहसम्मका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रत्यक्षतर्फ सर्लाहीका चारवटै निर्वाचन क्षेत्रबाट केन्द्रीय पदाधिकारी तथा अनुभवी नेताहरूलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । निर्वाचन क्षेत्र नम्बर १ बाट केन्द्रीय उपाध्यक्ष रामप्रकाश चौधरी, क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य भिनक लाल राय (सुजन) र रञ्जित कुमार ठाकुर (डा. बिरवंश बैठा), क्षेत्र नम्बर ३ बाट केन्द्रीय सचिव रामेश्वर राय तथा क्षेत्र नम्बर ४ बाट केन्द्रीय महासचिव मनिष कुमार मिश्रको नाम सिफारिस गरिएको छ ।
समानुपातिकतर्फ समावेशी सिद्धान्तलाई आधार मान्दै महिला, मधेसी, दलित तथा खुला समूहबाट उम्मेदवार छनोट गरिएको छ । सूचीमा अन्जु देवी बैठा, मिना देवी महतो कोइरी, सरिता देवी साह, सुनीता कुमारी देवी, कामरेन्द्र कुमार वर्मा र रेखा कुमारी साहलगायतका नेताहरूको नाम समावेश गरिएको छ ।
देश र मधेसको वर्तमान राजनीतिक परिवेशलाई ध्यानमा राख्दै यसपटक सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा युवा नेतृत्व अघि सार्ने उद्देश्यले उम्मेदवार छनोट गरिएको जिल्ला कार्यसमितिले जनाएको छ । साथै, पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरलाई समानुपातिकतर्फ उम्मेदवार बनाउने सुझावसहित सिफारिस गरिएको छ ।
पार्टीको नीति, सिद्धान्त र लोकतान्त्रिक समाजवादको मार्गदर्शनअनुसार योग्य, सक्षम तथा जनआधार भएका व्यक्तिहरूलाई उम्मेदवारका रूपमा छनोट गरिएको जिल्ला सचिव मिथलेश यादवले जानकारी दिनुभयो । सिफारिस गरिएका उम्मेदवारहरूको सूची पार्टी केन्द्रमा पठाइसकिएको छ ।








