रौतहट, असोज १० गते ।
रौतहट प्रहरीले ठूलो परिमाणको अवैध लागूपदार्थसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
चन्द्रपुर नगरपालिका–६ देउराली चोकबाट ३ हजार थान अवैध लागूपदार्थ ट्रामाडोल सहित चन्द्रपुर नगरपालिका–७ बस्ने ५२ वर्षीय दिपेन्द्र कुमार साह पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार साह ना.३३ प ९५३३ नम्बरको मोटरसाइकलमार्फत सो परिमाणमा ट्रामाडोल लैजाँदै गरेका अवस्थामा नियन्त्रणमा लिइएका हुन्।
यस्तै, साहकै चन्द्रपुर–७ मा सञ्चालनमा रहेको औषधि पसलमा समेत खानतलासी गर्दा थप ४५ थान ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्सपेक्टर सोनु रामका अनुसार पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको छ।








