आरके श्रीवास्तव,राैतहट,असाेज २१ गते ।
अबिरल वर्षाका कारण रौतहट जिल्लाका विभिन्न स्थानहरूमा नदी, खोला र नालाहरूमा पानीको प्रवाह कायमै छ । डुबानका कारण जनधनको क्षति समेत भएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय, रौतहटले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रहरी कार्यालयको सूचना सम्प्रेषण शाखाले असोज २० गते एक सार्वजनिक अनुरोध जारी गर्दै आम जनसमुदायलाई नदि, खोला तथा डुबान सम्भावित स्थानहरूमा जानबाट रोक्न आग्रह गरेको छ । बालबालिका, वृद्धवृद्धा लगायत जोकोही व्यक्तिलाई माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा संकलन गर्ने जस्ता कार्यका लागि पानीको छेउमा जान दिनु घातक हुनसक्ने भन्दै विशेष सतर्कता अपनाउन भनिएको छ ।
प्रहरीको सूचनामा भनिएको छ, “अबिरल वर्षाको कारणले खानेपानीको मुहान समेत दुषित हुनसक्ने देखिन्छ। सरसफाइको उचित ध्यान नदिए हैजा, झाडापखाला लगायतका रोगहरू फैलिन सक्ने सम्भावना उच्च छ।”
प्रहरी कार्यालयले देवाही गोनाही, राजपुर लगायतका क्षेत्रमा दुर्घटना भइसकेको समेत जनाउँदै जनस्वास्थ्य र सुरक्षाका लागि सजग रहन आह्वान गरेको छ । साथै, यस संकटको बेला धैर्यता र संयमता अपनाउन सम्पूर्ण जनसमुदायमा अपिल गरिएको छ ।
यसबाहेक, जिल्लाबासीलाई यथासक्य घरमै बस्न र सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरिएको छ। संचारकर्मीहरूलाई यस जानकारीलाई विभिन्न माध्यमबाट प्रचार-प्रसार गरी आमजनसमुदायमा सूचना पुर्याउन समेत विशेष अनुरोध गरिएको छ ।








