आरके श्रीवास्तव,राैतहट,भदौ २६ गते ।
रौतहट जिल्लाभर लगाइएको कर्फ्यूका कारण आम नागरिकको दैनिक जनजीवन प्रभावित भएको भन्दै जिल्ला प्रशासन कार्यालय, रौतहटले आज (भदौ २६ गते) बेलुका ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक सेवा सञ्चालन गर्न अनुमति दिएको छ ।

प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएअनुसार, यस अवधिमा नागरिकहरूले दैनिक उपभोग्य वस्तु, खाद्यान्न सामग्री तथा अन्य अत्यावश्यक सेवाहरू खरीद गर्न सक्नेछन् ।
तर, सो समयमा अनावश्यक भिडभाड वा प्रदर्शन गर्न भने पूर्णरूपमा निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयले भदौ २४ गतेदेखि लागू गरिएको कर्फ्यूलाई आज बेलुका ७ बजेदेखि भोलि विहान ६ बजेसम्म पुनः निरन्तरता दिने निर्णय पनि गरेको छ ।
प्रशासनले नागरिकहरूलाई सूचना अनुसारै चल्न र सुरक्षाको दृष्टिले संयमित रहन आग्रह गरेको छ ।








